दिलु थापा मगर,गैंडाकोट ४, नवलपुर भाद्र १८, २०७५
छ मनमा जहर या सुधा देखिदैन
नदेऊ भो ऐना व्यथा देखिदैन
यो शीर झुक्छ श्रद्धाले पत्थरहरूमा
भलै मुर्तिमा देवता देखिदैन
छ ओझेल जीवन सहारा दिनेको
धराभित्र जसरी जरा देखिदैन
कहाँबाट बर्सिन्छ पानी नयनमा
हृदयभित्र कहिल्यै कुवा देखिदैन
कहाँ गर्नु उजुरी यो दिल कुल्चिनेको
त्यो दिलभित्रको पैतला देखिदैन