BizPati

  • आज : २०७५ चैत्र १० गते
    Headlines :

    नीलो आँसु

    कृसु क्षेत्री,अमेरिकाआश्विन ३१, २०७५

    पहिले–पहिले बुबा
    बिहानै काममा जानुहुन्थ्यो
    र,
    कमाएर ल्याउनुहुन्थ्यो बेलुकाको छाक

    पहिलो प्रहरमै उठेर
    खेतमा हलो जोत्न जानुहन्थ्यो
    कोदाली ल्याउनुहुन्थ्यो
    र,
    जोहो गर्नुहुन्थ्यो
    बिहानको गास

    कहिलेकाहीँ
    भोकभोकै निदाउनु परेको रात
    हतास नभई आमाले
    सुनाउनुहुन्थ्यो सुरिलो स्वरमा
    भोक हराउने कथाहरु
    निद्रा जगाउने लोरीहरु
    अहँ ! थाहै हुन्नथ्यो भोक पीडा
    आफ्नै भाग काटेर
    आफ्नो थाल रित्याएर
    बुबाआमा
    हाम्रो पेट भरिरहनुहुन्थ्यो हरदम

    दुःख थियो
    तर, पीडाको आभासम्म थिएन
    अभाव थियो
    तर भोकको गुञ्जाइससम्म थिएन
    सानो पराले झुपडीमा
    समसाँझै निदाउँथ्यौं
    चिन्तारहित
    टुकीको मधुरो प्रकाशमा
    हाम्रो खुसीसँगै
    उहाँहरुको मुहारमा देखिन्थ्यो
    शन्तोषको छाया
    दुःखको अथाह वेदनामा पनि
    कहिल्यै बग्दैनथ्यो
    उहाँहरुको आँखामा आँसु
    अहिले अभावले बसाईँ सरेको छ
    र,
    राजधानीमा बुबाआमाको नाममा
    एउटा महल ठडिएको छ हाम्रो

    मात्र एउटै छ अभाव
    आमा नितान्त एक्लो बाँच्नुभएको छ
    स्मृतिमा मात्र हुनुभएको छ बुबा
    एयरकण्डिसन जडित कोठामा
    सपनाजस्तो म्याट्रेसमा
    आमाको आँखाबाट
    हराएको छ निद्रा
    सट्टामा देखिन्छ निरन्तर बगेको
    नीलो हिमनदी

    सोच्छु–
    दुःखमा भन्दा
    सुखमा ज्यादा बग्दोरहेछ
    आँसु ।

    कवि कृसु क्षेत्रीको यस कविता ‘चौध वर्षपछि’ कविता सङ्ग्रहबाट लिइएको ।

    ४०२ पटक
    प्रतिकृया दिनुहोस्