BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    के गरी बस्या छ नेपालको दुई–तिहाईको लम्फू सरकार ?

    खगेन्द्र संग्रौलामंसिर १, २०७५

     

    ‘यी पण्डितले हाम्लाई भगोडा भने । साराका सारालाई एउटै डालोमा हालेर— भगोडा !’ यो प्रसङ्ग रहरले, करले वा विवशताले विदेशमा जानेहरूको रहेछ । दम्भ, आदेश, फत्तुर र उपहासमा ठालु ध्वनित यी पण्डितले देशबाहिर जानेजति जम्मैलाई ‘भगोडा’ भनेछन् । मेजरसाहेपको तर्क छ— सरकारी जागिर खाँदै सुटुक्क भागेर विदेशमा कमाउन जानेलाई ‘भगोडा’ भन्न मिल्ला ।

    कतिकति समय बितिसक्यो, नेपाल सरकारले वार्तालाई प्रतिनिधि नै दिया छैन । ज्ञानराज जङ्गिदै भन्छन्— के गरी बस्या छ नेपालको दुई–तिहाईको लम्फू सरकार ? काखी कन्याएर ? जुम्रा मारेर ? घुस खाएर ? कि कमिसन कुम्ल्याएर ? अनि फाँटवाला मन्त्री प्रदीप ज्ञवाली नि ? के ती कुम्भकर्णे निन्द्रामा झयाप्प भा’ हुन् ? गोर्खा मुद्दाबारे बरु हिजो शाही सरकार, कांग्रेसी सरकार चासो राख्थे । आफूलाई कम्निस्ट सरकार हुन् भन्ने यो दुई तिहाई किन कानमा तेल हालीबस्या हो ? जानोस् र भन्दिनोस् दाइ, ओली सरकारको यस्तै चाल हो भने हामी भूपू गोर्खाहरू हूल बाँधेर, मुठ्ठी कसेर सिंहदरबार घेर्न आउँछौ । अनि देख्लान् अकर्मण्य दुई तिहाईवाले तिरिमिरी तोरीका फूल !

    जहाँ जाऊँ, नेपालमा उमे्रको नेपाली नेपालतिरै फर्केको देख्छु । तिनका खुट्टा विदेशी भूमिमा हुन्छन्, स्मृति–शृङखला, मन, मानस र मनोविज्ञान नेपालमा । घुमिफिरी ऊ नेपाल सरकारकै कुरा गर्छ, नेपाली नेताकै कुरा काट्छ । आखिर जानेकै त्यही छ त ऊ गरोस् के ? जहाँ बसेको छ, त्यहाँको इतिहास र समाज, राजनीति र अर्थतन्त्र, संस्कृति र मनोविज्ञानबारे ऊ त्यति धेरै जान्दैन । जति जान्दछ, त्यतिले जमाएर, आफै आनन्दित हुने गरी कुरा गर्न पुग्दैन । त्यसैले बसेको छ ब्रो विदेशमा, रातोदिन कुरा गर्छ वा कुरा काट्छ नेपालको ।

    यसपाला मेरो लण्डन यात्रा पनि अपवाद भएन । लण्डन टेकेदेखि नेपालतिर नउडेसम्म, पहिलो वाक्यदेखि अन्तिम वाक्यसम्म, प्रायः नेपालीमा कुरा भए, प्रायः नेपालकै कुरा भए । राजनीतिक चर्चामा, प्रशंसामा होस् वा निन्दामा, ओली, दाहाल र देउबा त यसै पनि आउने नै भए । यी शीर्षस्थ तीन भाइपछि मध्यम कदका दुई थान मन्त्री घरिघरि ख्याँस्स चर्चामा आए । स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डित र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली । चर्चामा आएर त केही थिएन, यिनका वचन र कर्मले लण्डनमा झण्डै मलाई कुटाए । धन्न भाषाको कौशलले कुटाइलाई तर्काएर, बालबाल बचेर म फर्केँ । र, अहिले लण्डनदेखि टाढा लण्डनको शाब्दिक कुटाइले नभेट्ने ठाउँमा  म यो चर्चा गर्दैछु ।

    लण्डनमा सुखद् संयोगवश डम्बर घले नामक एक नेपाली भेटिए । भूपू गोर्खा मेजर– फरासिला, चतुर र बाचाल । एक साँझ मलाई कमल गुरुङको रेस्टुरेन्टमा निम्ता थियो । गफगाफ र खानपीन गर्न । पोखरेली कमल ब्रो रहेछन् बडो पौरखी । यिनले ठूलै रेस्टुरेन्ट चलाएका रहेछन् । देखेँ, धरेजसो ग्राहक गोरा–गोरी छन् । भनेपछि कुराको गुह्यको व्याख्या गर्नै परेन । कमलजी संघीय समाजवादीको युके शाखाका अध्यक्ष । भेटमा घरबेटी बहिनी पुनम गुरुङ पनि हाजिर थिइन् । घले बन्धु त्यहीँ भेटिए ।

    शुरुमा मेजरसाहेप घले सोलो बोले । लाग्छ, उच्च दर्जाका सैनिक र प्रहरीको यो अम्मलै हो— आफैमात्र बोल्नु र ननस्टप बोलिरहनु । यसको कारण बुभ्mन सकिन्छ । फलामे अनुशासनयुक्त जङ्गी पेशामा दम्भी अफिसरको मातहतमा बोल्नै नपाई यिनका जिन्दगीको ठूलो खण्ड बितेको छ । जब बोल्ने ठाउँ पाउँछन्, यी ब्रोहरू पहिले बोल्न नपाएको एकएक शब्द क्षतिपूर्ति लिएरै छाड्छन् । मौका घले सरले पनि लिए ।

    मेजर घलेको वाक्प्रवाहमा झ्याट्ट मन्त्री लालबाबु पण्डित आए । मिस्टर पण्डितको नाम उच्चारण गर्नु के थियो, मेजरसाहेपको स्वरको पारो चढ्यो । ‘ल सुन्नोस् सर,’ रोषमिश्रित स्वरमा तिनले भने, ‘यी पण्डितले हाम्लाई भगोडा भने । साराका सारालाई एउटै डालोमा हालेर— भगोडा !’ यो प्रसङ्ग रहरले, करले वा विवशताले विदेशमा जानेहरूको रहेछ । दम्भ, आदेश, फत्तुर र उपहासमा ठालु ध्वनित यी पण्डितले देशबाहिर जानेजति जम्मैलाई ‘भगोडा’ भनेछन् । मेजरसाहेपको तर्क छ— सरकारी जागिर खाँदै सुटुक्क भागेर विदेशमा कमाउन जानेलाई ‘भगोडा’ भन्न मिल्ला । अरुलाई भन्न कसरी मिल्छ ? झन् भूपू गोर्खाहरूलाई ‘भगोडा’ भन्न कसरी मिल्छ ? गोर्खाहरू विदेशमा रहरले होइन, करले आएका हुन् । ती त्रिपक्षीय सन्धिको बाटो भएर अएका हुन् । आफ्नो खून र पसिना, बिछोड र बिलौनाको क्षतिपूर्ति खोज्दै आएका हुन् । ती विशेष कित्ताका आप्रवासी हुन् । विदेशमा पसिना, आँसु र रगत बगाएर नेपालीहरूले पठाएको रेमिटेन्सको रकमले तबल, भत्ता सुबिधा होसर्ने अनि तिनैलाई ‘भगोडा’ भन्ने ? ए पण्डितजी !

    अर्को एक प्रसङ्गमा त एक बलवान् तन्नेरी झण्डै मैमाथि खनिए । रिसले रन्किँदै, मेरो नाकतिर चोर औँलो ठड्याउँदै ती गर्जिए, ‘हाम्लाई भगोडा भन्ने को यो लालबाबु पण्डित ? नेपाल यसका बाउको बिर्ता हो ?’ हेर्नुस् त मलाई फसाद ! म न मन्त्री लालबाबु पण्डित, म न यो दुच्छर वचनको वक्ता । हैट्, जिन्दगीमा भैपरीआउने सकसहरू !

    आयो कुरा अब परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको । लण्डनमा एकजना गोर्खाली न्याययोद्धा छन् । नाम हो तिनको ज्ञानराज राई । यी हुन्— भूपू गोर्खा आन्दोलनका दुईमध्ये एक धारका अग्निवर्षी नेता । सुनेर म त्यसैत्यसै चकित भएँ, ‘अपराधी ब्रिटिश सरकार’ त यिनका जिब्राका टुप्पामै रहेछ । कुरैकुरामा ज्ञानराज ब्रोले भने— वार्ताद्वारा भूपू गोर्खाका बाँकी मागहरूलाई फस्र्यौट गर्न वार्ता समिति छ । त्रिपक्षीय वार्ता समिति । त्यसमा तीनतीनजना वार्ताकार रहने सहमति भा’छ । भूपू गोर्खाका तीन, नेपाल सरकारका तीन र ब्रिटिश सरकारका तीन वार्ताकार । कतिकति समय बितिसक्यो, नेपाल सरकारले वार्तालाई प्रतिनिधि नै दिया छैन । ज्ञानराज जङ्गिदै भन्छन्— के गरी बस्या छ नेपालको दुई–तिहाईको लम्फू सरकार ? काखी कन्याएर ? जुम्रा मारेर ? घुस खाएर ? कि कमिसन कुम्ल्याएर ? अनि फाँटवाला मन्त्री प्रदीप ज्ञवाली नि ? के ती कुम्भकर्णे निन्द्रामा झयाप्प भा’ हुन् ? गोर्खा मुद्दाबारे बरु हिजो शाही सरकार, कांग्रेसी सरकार चासो राख्थे । आफूलाई कम्निस्ट सरकार हुन् भन्ने यो दुई तिहाई किन कानमा तेल हालीबस्या हो ? जानोस् र भन्दिनोस् दाइ, ओली सरकारको यस्तै चाल हो भने हामी भूपू गोर्खाहरू हूल बाँधेर, मुठ्ठी कसेर सिंहदरबार घेर्न आउँछौ । अनि देख्लान् अकर्मण्य दुई तिहाईवाले तिरिमिरी तोरीका फूल !

    हैट्, न्यायप्रेमी लण्डने गोर्खा ब्रोहरूका कुरा क्या चर्का ! कामकुरो बिगार्ने अरु नै छन्, कसो म पो घानमा नप¥या ! बाटो लाग्ने बेलामा मेजर घले र सत्याग्रही ज्ञानराजले विन्ती बिसाए— दाइ, सरकार हाम्रा कुरा सुन्दैन । यसको हेप्ने पुरानो संस्कार छ, हामीलाई हेप्छ । तपाईँ गएर जमाएर भन्दिनोस्— मन्त्रीहरू मुख सम्हालेर बोलून् । सरकार भूपू गोर्खाका माग पूरा गराउन कूटनीतिक पलह गरोस् । नत्र तिनको निठुरी सिंहदरबारअगाडि आएर बालिन्छ आगो !

    ३४२ पटक
    प्रतिकृया दिनुहोस्