BizPati

  • आज : २०७५ चैत्र १० गते
    Headlines :

    आफूले बनाएको जहाज नेपालमा हस्तान्तरण गर्न तयार छन्, प्रमोद

    'म आफूलाई एक पाईलट र इन्जिनियर दुवै भन्न रुचाउँछु'

    ऐक्यबद्धता सम्वाददातामंसिर २८, २०७५

    विदेशमा नेपालीहरू थ्रिडी काम मात्र गरिरहेका छैनन, आफ्नो फुर्सद्को समयको सदुपयोग गरेर ज्ञान र सिपलाई पनि चम्काइरहेका छन् । यस्तै उदाहरण प्रस्तुत गरेका छन्, नेपालीमूलका अमेरिकी नागरिक प्रमोद रेग्मीले । 

    आफ्नो भविष्य खोज्दै सपनाको संसार अमेरिका पुग्ने क्रममा २३ बर्षको उमेरमा २०५४ सालमा अमेरिका पुगेका हुन्, रेग्मी । अमेरिकाको अरिजोना राज्यको फिनिक्स सहरमा बसोबास गर्दै आएका रेग्मीले आफैले जहाज बनाएर त्यसको सफल उडान समेत भरेका छन् । उनले बनाएको बीमानले अमेरिकी सरकारको हवाइ विभागमा सूचिकृत भएर उडान अनुमति समेत पाइसकेको छ ।

    पेशाले सुरूमा इन्जिनियर रहेका प्रमोदलाई सानैदेखि पाइलट बन्ने रहर थियो । अमेरिकामा उनले Mesa Technical School बाट Electrical Engineerको अध्ययन पूरा गर्नका साथै Aerosim Abation बाट पाइलट कोर्सपनि पूरा गरी लाइसन्स समेत लिए । पाइलट बन्ने चाहना पुरा भएपछि उनको मनमा आफैले जहाज बनाउने सोच आयो । मान्छेको स्वभावै हो एउटा सफलतामै रमाउन सक्दैन, नयाँ नयाँ चाहना बनाउँछन् र चाहँदैमा ती सबै चाहनाहरू पुरा पनि हुँदैनन् । प्रमोदले आफैले जहाज बनाउने चाहना मात्र बनाएनन्, आफ्नो फुर्सद्को समयलाई एकछिन पनि खेर नफाली निरन्तर खटेर लागि परे । उनले आफ्नै ग्यारेजमा १४ महिना लगाएर जहाज बनाएर अमेरिकी आकाशमा उडाएरै देखाए । उनले बनाएको जहाजले अमेरिकी सरकारको हवाई विभाग US Govern of FAA मा ४ जुन २०१८ मा सूचिकृत हुनुका साथै उडान अनुमति समेत लिइसकेको छ ।

    काठमाडौँस्थित बालाजुमा बुबा केशव रेग्मी र आमा अम्बिका रेग्मीको कोखबाट जन्मिएका उनी तरुण माविबाट एसएलसी, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट आधारभूत प्राविधिक शिक्षा र त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेपछि थप अध्ययनका लागि अमेरिका पुगेका हुन् ।

    जहाज बनाउन डेढ बर्षसम्म सम्पर्कविहीन जस्तै भएर आफ्नै ग्यारेजको बन्द कम्पाउण्डमा लगातार जुटे । यति व्यस्त भएकी उनको परिवारसमेत उनलाई भेट्न ग्यारेज नै पुग्ने गथ्र्यो । जहाज बनाउन सोच बनाउनु जोसुकैका लागि सहज हुन्छ, तर त्यसलाई कार्यान्वयनमा उतार्नु अर्को कुरा हो । फेरि उनले बनाएको सोच पुरा गर्न मनले सोच्दैमा हुने कुरा पनि थिएन, त्यसका लागि ठूलो धनराशीको आवश्यकता पर्दथ्यो । पर्याप्त आर्थिक स्रोत र प्राविधिक सामग्री जुटाउनु सबैभन्दा ठूलो चुनौती थियो । 

    ‘तँ चिता म पुरा गर्दछु’ भने झैँ उनले जहाज जसरी पनि बनाउने कुरालाई चाह बनाए र त्यो चाह पुरा पनि हुँदै गयो । प्राविधिक सामान पनि अमेरिका र अन्य देशबाट जुटाउँदै जहाज बनाइ छाडे । 

    कुल लागत डेढ करोड नेपाली रुपैयाँमा जहाज बनाए । १४ जुन २०१८ मा जहाजले पहिलो उडान भ¥र्याे । जसको समयावधि डेढ घण्टाको थियो ।

    जहाजै बनाउने सोच कसरी बनाउनु भयो भन्ने जिज्ञासामा उनी भन्छन् “पेशाले ईन्जिनियर भएपनि जब मैले पाईलटको लाईसेन्स लिएँ तब मलाई पनि अरुहरूले जस्तै प्लेन बनाएर आफैं उडाउने रहर जाग्न थाल्यो । जब जब पाईलटिङ क्षेत्रमा भिज्दै गएँ अनि अरुहरूले पनि प्लेन बनाएर उडाउन सक्छन् भने मैलेमात्र किन नसक्ने ? भन्ने जिज्ञासा ममा पलाउन थाल्यो ।” त्यो जिज्ञासालाई चाहत बनाए । त्यो चाहत पारिवारिक सपोर्टका कारण आफ्नो पुरा हुन सकेको उनी बताउँछन् । 


    “हामीले समयको व्यवस्थापन गर्न जान्यौं भने असम्भव कुरा पनि सम्भव हुँदो रहेछ भन्नेकुरा मेरो बिगतको अनुभवले मलाई सिकाएको छ । कुनैपनि कार्य सफल गर्न समयको व्यवस्थापनका साथै दह्रो आत्मविश्वास, लगनशिलता, कठिन मेहनत एवम् कामको निरन्तरताको परिणामस्वरुप मेरो यो परियोजना सफल भएको हो ।” समय व्यवस्थापन बारे गरिएको सवालमा उनको यो जवाफ थियो । 

    अमेरिकामा जहाज बनाउनु भयो के नेपालमा बनाउन सम्भव छैन भन्ने अर्को जिज्ञासामा उनी भन्छन् “संसारमा असम्भव भन्ने केही छैन । विदेशी भूमिमा नियम कानुन साथै प्लेनको लागि आवश्यक पर्ने पार्टपुर्जा सर्वसुलभ दरमा पाईने हुनाले प्लेन निर्माण गर्न सहज छ । तर नेपालमा आवश्यक सामान अन्तबाट मगाउनु पर्दा सम्भव छैन । नेपालमा सरकारी नीति नियम र भौगोलिक अवस्थाका कारण सजिलो छैन । यसका साथै आर्थिक एवम् प्रशासनिक झन्झट बढि हुने हुनाले बिदेशको तुलनामा प्लेन बनाउन पनि त्यती सहज छैन ।”

    जहाज बनाउने क्रममा कस्ता चुनौती सामना गर्नुभयो भन्दा उनी भाषागत समस्या र समयको चुनौती नै सबैभन्दा ठूलो भएको उनी बताउँछन् । नेपाली भनेपछि अलिकति शंकाको नजरले हेर्ने गरेको र यी लगायत झिना मसिना भाषागत समस्याहरू पनि केही थिए । पेशाले इन्जिनियर भएकोले जागीरबाट समय निकालेर काम गर्नु सबैभन्दा ठूलो चूनौती रहेको र समयको व्यवस्थापन नै सबैभन्दा जटिल समस्या भएको उनले बताए । 

    पेशाले तपाई पाइलट हुनुहुन्छ, सँगै जहाज पनि बनाउन सफल हुनुभयो आफूलाई के भन्न रुचाउनु हुन्छ भन्ने सवालमा उनी भन्छन् “इन्जिनियर मेरो पेशा हो । प्लेन बनाउने इन्जिनियरिङको एक पाटो भएकोले प्लेन बनाउने र प्लेन उडाउने व्यक्ति एक अर्काका परिपुरक हुन् । म आफूलाई एक पाईलट र इन्जिनियर दुवै भन्न रुचाउँछु ।”

    “सन् २०१९ भित्रमा अमेरिकामा ५० वटा स्टेट भ्रमण गर्ने र ठूलो एवम् लामो दूरीसम्म उड्नसक्ने क्षमता भएको जहाज बनाएर विश्व भ्रमण गर्ने” अबको योजना सुनाउँछन् । 

    यदि नेपाल सरकारले तपाईको विज्ञता खोज्यो भने तपाई तयार हुनुहुन्छ ? भन्दा उनी यसलाई आफ्नो अहो भाग्य बताउँछन् । भन्छन् “नेपाल सरकारले म जस्ता युवाहरूको आवश्यकता महशुस गरेमा म आफूलाई अत्यन्त भाग्यमानी ठान्नेछु । आफूले सिकेको ज्ञान र सिप मुलुकको लागि दिन कुनै कन्जुस्याँई गर्नेछैन ।”

    यदि आफूले बनाएको जहाजलाई संग्राहलयमा राख्न चाहे हस्तान्तरण गर्न तयार रहेको बताउँछन् उनी । “नेपाल सरकारले मेरो प्लेनलाई कुनै संग्रहालय वा अन्य ठाउँमा राख्न चाहेमा मैले बनाएको पहिलो प्लेन नेपाल सरकारलाई हस्तान्तरण गर्न चाहन्छु ।” उनी भन्छन् “नेपाल सरकारले मैले बनाएको प्लेनलाई नेपाल ल्याउने अनुमति दिएमा नेपालमै एउटा संग्रहालय बनाएर प्लेनलाई व्यवस्थापन गर्ने मेरो योजना रहेको छ । मैले बनाएको प्लेन नमुनाको रुपमा नेपाल सरकारले सुरक्षित राखोस् । सम्पूर्ण नेपालीको लागि यो एउटा ऐतिहासिक कार्य बनोस् ।” तर मेरिकाबाट प्लेन ल्याउने कामको लागि लाग्ने खर्चको व्यवस्था भने सबै नेपाल सरकारले नै गरिदिनुपर्ने उनको अपेक्षा छ । हालै नेपाल आएर फर्किएका उनलाई आफ्नो योजना सरकारीस्तरमा कतै राख्ने अवसर पाउनुभयो भन्ने जिज्ञासामा “उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई भेटेर कुरा राख्दा सकारात्मक कुरा गर्नुभएको भए पनि पछि कुनै पहल नभएको देख्दा खासै चासो लिनु नभएको हो की !” उनले गुनासो सुनाए ।

     

     

    ४२१ पटक
    प्रतिकृया दिनुहोस्