BizPati

  • आज : २०७५ चैत्र १० गते
    Headlines :

    स्वर्गजस्तो सुन्दर देश घुम्नका लागि यो उमेर काफि भएन

    पारु थापामंसिर २८, २०७५

    हामी सबै नेपालीहरूको महान पर्व दशैं सदाका वर्षजस्तै हरेक नेपालीको घरआँगनमा खुसीयाली बोकेर आयो । आफ्नो परिवारबाट टाढा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि देश फर्किएर आफ्नो परिवार, आफन्त, इष्टमित्रसँग रमाएर मिठो अनुभूति साँचे ।
    तर, हामीले यस पटकको दशैँलाई फरक तरिकाले मनाएर फरक अनुभूति सँगाल्ने अवसर पायौँ । दशैँसँगै यो पटक आन्तरिक पर्यटक बनेर आफ्नै देशभित्रको सुन्दरतालाई नजिकबाट नियाल्ने योजना बनायौँ ।

    नेपाल संसारको सबैभन्दा सुन्दर देश प्रकृतिको बरदान प्राप्त स्वर्गजस्तो देश । तर, पनि विविध कारणले हामीले आफ्नै देशभित्र घुम्न र ती सुन्दर ठाउँहरूका बारेमा जानकारी लिन सकिरहेका हँुदैनौँ । यसपाली आफ्नो देशभन्दा पर थाइल्याण्डको भ्रमण जाने योजना पनि नबनेको होइन । तर, पहिले आफ्नै देश घुम्नुपर्छ भन्ने लाग्थ्यो जहिले पनि । यसपाली सोचेको जस्तै नै भयो । मेरो श्रीमान लगायत उहाँका साथीहरूले ‘फेमली ट्रिप’ यो पटक घान्द्रुक घुम्न जाने योजना बनाउनु भएछ ।


    हाम्रो भ्रमणमा पहिलो गन्तव्य ठाउँ मुस्ताङ बनेको थियो । काखमा सानो बाबु भएको र भर्खर सकिएको बर्खाका कारण बाटो बिग्रिएको सुनेपछि घान्द्रुकमा आन्तरिक पर्यटक बनेर जाने सोच बनाएका थियौँ ।

    उहाँहरूले बन्दीपुर, पोखरा हुँदै घान्द्रुक घुम्ने योजना बनाएको सुनेपछि मनमा एकदमै खुसी र उत्साह लाग्यो । सँधै फोटोमा  देख्ने घान्द्रुक यो पाली आँफै पुगेर देख्न पाउने भएँ भनेर अत्यन्तै खुसी लाग्यो ।  हामी बन्दीपुर हुँदै घान्द्रुक जानका लागि ११ जनाको टोली ३ जना बच्चाहरूसहित काठमाडौँबाट हिड्यौँ ।


    युरोप होइन, बन्दीपुर घुम्न जाऊँ
    त्यो दिन हामी बन्दीपुरमा बस्यौँ । तनहुँको बन्दीपुर गाउँपालिकामा रहेको बन्दीपुर पनि अत्यन्तै राम्रो रहेछ । एक्दमै रमणीय । बजारबाट १० मिनेट परको टँुडिखेलबाट देखिने सेताम्यै हिमालले कस्को मन तान्दैन् होला र ! अनि ३०० किमी फराकिलो क्षितिजमा फैलिएको सुन्दर फाँट तथा पहाडहरूले पनि साँच्चै नेपाल कति सुन्दर छ भन्ने अनुभूति गराउँछ । बन्दीपुरबाट लाङटाङ, गणेश, गोरखा (मनास्लु हिमाल) अन्नपूर्ण, धौलागिरी र काञ्जिरोवा हिमालको तलदेखि माथिसम्म सुन्दर मनोरम दृश्य देखिँदो रहेछ ।

    त्यहाँका सुन्दर अनि प्राचिन घरहरू र घरका आँखीझ्यालमा लहराएका फूलहरूले त झन बन्दिपुरको सौन्दर्यतामा सुनमा सुगन्ध थपिदिएको थियो । सबैलाई भन्न मन लाग्यो युरोप होइन, बन्दीपुर घुम्न जाउँ । हाम्रो नेपालको युरोप त्यहि हो । सफा अनि सुन्दर कलात्मक तरिकाले छापिएको ढुंगाको बाटो । एकदमै सफा व्यवस्थित सहर । अझै राम्रो त त्यहाँको बजार परिसरभित्र कुनैपनि सवारीलाई प्रवेश निषेध भएकोले पनि त्यहाँको पर्यावरणमा अझ सहयोग गरेको थियो भने बालबच्चालाई डोर्याउँदै ढुक्कसँग हिड्नलाई डर थिएन । लाग्यो आखिर यस्तो पनि त सम्भव हुँदो रहेछ । काठमाडौंमा पर्यटक हिड्ने ठमेल, दरबारमार्ग, वसन्तपुर लगायतका पर्यटकीय स्थानमा यसरी नै सवारीलाई निषेध गरेमा कति राम्रो हुुने थियो ।


    पोखराबाट ५० किमीको घान्द्रुक
    हामी बन्दीपुरमा एकरात बिताएर पोखरा हुँदै घान्द्रुकका लागि हिड्यौं । पोखराबाट घान्द्रुक ५० कि.मिको दुरी रहेछ । हामी एउटा जिप रिर्जव गरेर हिड्यौं । गाडीमा घान्द्रुक जाने मुख्य बाटोमा पुग्यौं । त्यसपछि हामीले पैदल हिड्नु पर्ने थियो । पहिले पहिले गाडी नचल्दा तीन घण्टा हिड्नु पर्दोरहेछ । अहिले गाडी जानेभएपछि आधा घण्टामै घान्द्रुक पुगिँदो रहेछ । तर, हामीले हिडेर जाने सुर गर्यौ । हिड्दा सिरिरी हावा लागेको थियो । चिसो मौसम, ढुंगाले छापेको गारो थियो । हामी हिडेर आधा घण्टामा बस्ने स्थानसम्म पुग्यौँ । त्यहाँ एकछिन आराम गरेर घुम्न निस्कियौं ।

    घान्द्रुक गाउँको विशेषता
    घान्द्रुक विशेषत गुरुङ समुदायको बसोबास रहेको सुन्दर गाउँ रहेछ । कास्की जिल्लामा पर्ने घान्द्रुक विशेष गरेर अन्नपूर्ण बेसक्याम्पको पदयात्रा मार्गमा पर्ने सुन्दर पर्यटकीय गाउँ हो घान्द्रुक । मलाई त्यहाँको होमस्टे र त्यहाँ प्रदान गरिएको सेवा सत्कारले नतमस्तक बनायो । लाग्यो हामी नेपालीहरू संस्कृति अनि संस्कारका कति धनी छौं भनेर । त्यहाँका पुराना शैलीका घरहरूको शौन्दर्यताले गाउँको जीवन्तता दर्शाइरहेको थियो । क्रंकिटले जित्न लागेको अवस्थामा नेपालका कुनाकुनामा धेरै यस्ता पुराना शैलीका घरहरूले नेपाली संस्कृतिलाई बचाइरहेको छ भनेर मान्न सकिन्छ । बाटो हिड्दा खच्चडको घाँटीमा बाँधिएको घन्टीको आवाजले मन आनन्द बनाउँथ्यो ।

    बन्दीपुर घान्द्रुकका स्थानीयबासीलाई हृदयदेखि धन्यवाद छ ।  ‘तपाईहरूकै कारण यहाँका कुना कुनामा नेपाली परम्परा, संस्कृतिले जीवन्तता पाएको छ ।’

    अर्कोदिन हामी २३४६ मिटर उचाइ रहेको कोट डाँडा पुग्ने सल्लाह गरेर खाना खाएर सुत्यौं । रात बितेर बिहान भयो । बिहानको समयमा बाहिर अत्यन्तै रमणीय दृश्य थियो । सेता हिमाल हाँसेर हाम्रो स्वागत गरेको भान हुन्थ्यो । जीवनमा पहिलोपटक नजिकैबाट हिमाल हेरेको थिएँ । केहीबेरको दृश्य अवलोकनपछि हामी चिया र नास्ता खाएर कोट डाँडाका लागि हिड्यौं । जहाँबाट हिमाललाई अझ नजिकबाट नियाल्न पाइन्थ्यो ।


    कोटडाँडाको यात्रा
    कोट डाँडा जाने हामी मात्र नभएर विदेशी पर्यटक पनि थिए । उनीहरू इण्डिया, चाइना, जापान, कोरिया, अमेरिका लगायतका धेरै देशबाट आएका रहेछन् । उनीहरूका गाइडका अनुसार घान्द्रुकका लागि मात्र ९ दिनको टुर प्याकेज लिएर आएका थिए । हामीलाई भने आफ्नै देशभित्र दुईदिन घुम्न पनि १ वर्ष सोच्नुपर्ने रहेछ ।

    त्यहाँ चारैतिर हरियाली । जंगलबिचको सानो खच्चड हिड्ने उकालो बाटो । कतैकतै सानो झरना कतै पुल हुँदै हामी हिडिरह्यौं । हिड्दा बाटोमा कतै   ‘This place is like a Heaven’  भनेको सुनिन्थ्यो भने कतै सुनिन्थ्यो ‘Kathmandu is very Polluted city’ यस्तो सुन्दा आफैलाई नरमाइलो लाग्यो । हामीले पनि काठमाडौंलाई यस्तै बनाउन सके कति राम्रो हुन्थ्यो भन्ने सोचले पनि केही क्षण घेरिरह्यो ।


    हिड्दै जाँदा करिब डेढ घण्टा पछि सानो २–४ वटा घर भएको गाउँ आइपुग्यो । नाम त याद भएन । तर, त्यहाँ धेरै पर्यटकहरू आराम गरिरहेका थिए । हामी पनि एकछिन पछि आउँदै गरेका साथीहरूलाई कुर्दै त्यहि बस्यौँ र सबै जम्मा भएपछि फेरि अगाडि बढ्यौं । त्यहाँबाट घना जंगल र सानो गोरेटो बाटो हुँदै तीन घण्टा हिडेर आफ्नो गन्तव्यमा पुग्यौँ, कोट डाँडा ।

    मन थिएन छोडि हिंड्नलाई
    कोट डाँडा पुगेपछि त्यहिको होमस्टेमा बस्यौँ । त्यहाँबाट घान्द्रुक गाउँको दृश्य पुरै देखिँदो रहेछ । रमणीय दृश्य देखिन्थ्यो । हामी त्यहाँ पुग्दा अरु रसियन अनि अमेरिकन पर्यटकहरू पनि थिए । उनीहरूको अनुहारमा पनि एक किसिमको छुट्टै खुसी झल्किएको थियो । त्यहाँ कोही आराम गरिरहेका थिए भने कोही मेडिटेशन गर्दै थिए । उनीहरू सोच्दै थिए होलान् ‘यति स्वच्छ, स्वस्थ्य अनि ताजा अक्सिजन किनेर पनि पाइदैन् ।’

    २३४६ मीटर माथिको डाँडामा थियौँ हामी । जताततै जंगल त्यो बिचमा होमस्टे आहा ! कम्ता रमाइलो थिएन् । त्यहाँ बस्ने होमस्टेका सञ्चालकहरूले दालदेखि लिएर तरकारी, मासु, गाईको दूध, सबै आफ्नो बारीको अर्गानिक उपलब्ध गराएको पाइयो । केही पनि थिएन, त्यहाँ बनावटी । हामीले त्यहाँको खानासँगै खुब रमाइलो गर्यौ ।

    हामी त्यो दिन त्यहि बसेर अर्कोदिन बिहानको हिमालको दृश्य हेर्यौ । हिजो हामीसँगै बसेका गेष्टहरूले त अझ हिमालतिरै फर्केर योग गुरुसँग योगा गर्दै थिए । उनीहरूले झण्डै डेढ घण्टा योगा गरे होलान् । यस्तो लाग्यो, यत्तिका लागि उनीहरूले आफ्नो देश छोडेर नेपाल घुम्न आउँछन् जसले गर्दा नेपालको पर्यटन क्षेत्रमा आर्थिक हिसाबले पनि धेरै सहयोग पुगेको छ ।

    मन त थियो, त्यो हिमालको काखमा स्वच्छ हावा र पानी भएको ठाउँमा केही दिन रमाउने । तर, बाध्यता मन हुँदा हुँदै पनि फर्किनै परिहाल्यो । हामी बिहानको ११ बजेतिर कोट डाँडालाई बाईबाई गर्दै त्यहाँका स्थानीयको न्यानो आतिथ्यतालाई धन्यवाद दिदैँ ओरालो लाग्यौँ । घान्द्रुक हुँदै फेरि आउने बाचा सहित हिडेर बस स्टेशनमा पुग्यौ । पोखरामा १ दिन बसेर दसैं मनाउन घर पुगेका थियौँ ।

    अहो, स्वर्गको कल्पना गर्न सकिने मेरो देशमा आन्तरिक पर्यटक बनेर घुम्ने ठाउँ कति छ कति । सायद यो जुनीको उमेर कम हुन्छ होला, ती सुन्दर ठाउँहरू घुम्नका लागि ! यसपालीको मेरो बन्दिपुर र घान्द्रुक यात्रा साँच्चै नै अविस्मरणीय रह्यो ।

    ५५२ पटक
    प्रतिकृया दिनुहोस्