BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    ५० हजारको तलब छाडेर कुरिलो खेतीमा लुमकला

    संसार न्यूज संवाददातापौष २१, २०७५

    २१ पुस, बेझाड (रासस) । बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै छिन् ।

    कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उनी यसतर्फ आकर्षित भएकी हुन् । “पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व्यवसाय गरिरहेको छु” घिमिरेले भनिन् ।

    उनले किसान परियोजनामा आवद्ध हुँदा मासिक रु ५० हजार बराबर तलब बुझ्थिन । विगत पाँच वर्षअघि २५ बोटबाट कुरिलोखेती शुरु गरेकी घिमिरेले अहिले तीन रोपनी क्षेत्रफलमा आठ सय बोट कुरिलो लगाएकी छिन् ।

    कुरिलोबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि दुई वर्षयता क्षेत्रफल विस्तार गरी व्यावसायिक तबरले खेती गरिरहेकी छिन् । “आफूसँग प्राविधिक ज्ञान सीपका साथै प्रशस्त जग्गा भएकाले जागिर नै गर्नुपर्छ भन्ने छैन, घरपरिवारसँगै बसेर कृषि व्यवसायबाट महीनामा लाखौं कमाउन सकिन्छ” उनी भन्छिन् ।

    खेती गर्ने प्रविधिमा राम्रो ज्ञान र अनुभवले पनि उनलाई कुरिलो व्यवसाय गर्न सजिलो भएको छ । यसवर्ष कुरिलोबाट पाँच लाख बराबरको आम्दानी हुने उनी बताउँछिन् । यहाँ उत्पादित कुरिलो प्रतिकिलो रु ४०० मा पाल्पा सदरमुकाम तानसेन र बुटवल बजारमा धमाधम बिक्री भइरहेको छ ।

    “कुरिलोको उत्पादन लिने समय नहुँदै पहिले नै माग हुन्छ, बजारमा कुरिलोको अत्यधिक माग छ तर जिल्लामा कुरिलो व्यवसाय गर्ने कृषक नहुँदा पु¥याउनै समस्या भइरहेकोले व्यावसाय बढाउने सोँचमा छु” घिमिरेले भनिन् ।

    यस व्यवसायमा उनका श्रीमान् जीवराज घिमिरेले पनि साथ दिँदै आएका छन् । घिमिरेले कुरिलो खेतीसँगै मौरिपालन व्यवसाय पनि गरिरहनुभएको छ ।मानिसको स्वास्थ्यका लागि आवश्यक पर्ने दश तत्वमध्ये आठवटा तत्व कुरिलोबाट प्राप्त हुने हुँदा पनि बिक्रीका कुनै समस्या छैन ।

    कुरिलो खेतीबाट कम लगानी र मेहनतमा कृषकले धेरै आम्दानी लिन सक्छन् । एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् ।

    घिमिरेको व्यवसाय देखेर अहिले उक्त गााउँपालिकाका दश वटा समूहले पनि कुरिलो खेती शुरु गरेको कृषि शाखा प्रमुख सन्तोष जिसी बताउँछन् ।

    १९७ पटक
    प्रतिकृया दिनुहोस्