BizPati

  • आज : २०७५ चैत्र १० गते
    Headlines :

    नेपाल फोहोर, हिलो र गन्धले कुरूप बन्दैछ

    डा अरुणा उप्रेतीपौष २२, २०७५

    जता हेर्यो उतै नजरमा, राम प्यारा छन्’ भन्ने एउटा भक्ति गजल छ । त्यो गाउँदा म सम्झिन्छु, ‘नेपालमा जता हेर्यो, उतै फोहोर सारा छन् ।’ म अचम्ममा पर्छु, किन मैलेमात्रै नेपालको सौन्दर्य देख्न सक्दिन, वर्णन गर्न सक्दिन ? सायद मेरो आँखा नै फोहोरी हो कि ?

    केही अघि नेसनल जोग्राफीमा नेपालका अति सुन्दर घुम्नैपर्ने दस ठाउँको फोटो आयो । सबै खुुसी भए, तर त्यो बेला म सम्झिरहेको थिएँ– थापाथलीको पुलमा हिँड्दा गनाउने वागमती, विभिन्न ठूलठूला बसपार्कमा फ्याँकिएका कागज र फोहोरका थुप्रा जो वर्षातसँगै हिलोमा परिणत हुन्छन् । त्यो बेला म सम्झिरहेको थिएँ– भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा थुप्रिएका फोहोर ।

    लोन्ली प्लानेटले २०१७ सालमा घुम्नुपर्ने देशहरूमध्ये नेपाललाई पनि राखेको देखेर सबै खुसी नै भयौँ होला, पर्यटकहरूको घुइँचो बढनेछ भनेर । यसै बीचमा रारामा आन्तरिक पर्यटकहरू गएर त्यहाँको सौन्दर्य अवलोकन गरेको समाचार सुनेर पनि खुसी भयौँ । तराईका मन्दिरहरूको दर्शन गरेर त्यहाँको प्रसाद लगाएर फोटो खिच्नेहरूको भिड हेर्दा नेपाल त कति आधुनिक देश रहेछ भनेर गुन्न करै लाग्छ ।

    फेवाताल र राराको अगाडि सेल्फी खिचेर माछापुच्छ्रको फोटो खिचेर फेसबुकमा राख्दा हामी आहा नेपाल त स्वीट्जरल्यान्ड जस्तै छ पनि भन्छौं । तर यी सबै ठाउँमा फोहोर फैलिरहेको किन बिर्सने ? हामी सबै भन्छौं, “‘नेपाल राम्रो छ, हिमाल राम्रो छ ।” तर त्यो सुन्दरताको वरिपरि मानिसले थुपारेको फोहोरलाई चाहिँ वास्तै गर्दैनौं । पशुपतिनाथ परिसरको हालत पनि यस्तै छ ।

    डोटीको शैलेश्वरी जाँदा होस् वा मनकामना जाँदा बाटोमा फोहोरका डंगुर फ्याँकेको हुन्छ । तर आध्यात्मिकताको नशाले गर्दा त्यो फोहोरले नेपालीलाई त पटक्कै छुँदैन । तर लोन्ली प्लानेट पढेर कोही पर्यटक यी तीर्थस्थलमा गए भने तिनले के विचार गर्लान् त ? के नेपालीहरूलाई फोहोरी हुने रोग नै लागेको छ त ? यसो हुँदो हो त ५ तारे होटल, निजी स्कुलहरू पनि त फोहोर नै हुनुपर्ने हो । सैनिक र प्रहरीका गुल्म पनि फोहोर नै हुनुपर्ने हो, ठूलठूला व्यापारीका घरहरू पनि फोहोर नै हुनुपर्ने हो । तर यी सबै ठाउँ सफा छन् ।

    तर सरकारी कार्यालय, शौचालय, चाहिँ किन फोहोर भएका होलान् ? कुनै सरकारी कार्यालयमा जाँदा सचिव, सहसचिवको कोठा कुन हो भनेर सोध्नुपर्छ । तर शौचालय कहाँ छ भनेर त सोध्नै पर्दैन । किनकि शौचालयबाट आएको ‘बास्ना’ले स्वत देखाउँछ । यदि नेसनल जोग्राफीले यस्ता ठाउँहरूलाई फोटो खिचेर देखायो भने ?

    कोही व्यक्ति जतिसुकै राम्रो भए पनि यदि उसको जीउभरि मयल छ, नाकबाट सिँगान बग्छ, पसिनाले शरीर र  मुख गन्हाएको छ, आँखामा किचर परेका छन् भने उसको नजिक को जान चाहला ? जतिसुकै सुन्दर रेशमी वस्तुको लुगा वा सुनको धागोले बनाएको लुगा लगाए पनि ऊसंग को पो साथी बनोस्’ ? नेपाल पनि सुन्दर व्यक्तिजस्तै छ, तर फोहोर, हिलो र गन्धले कुरूप बन्दैछ ।

    नेपालको सौन्दर्यको वर्णन पढेर यदि कुनै विदेशी साथीले आफू नेपाल आउन लागेको खबर इमेलबाट पठायो भने म त भन्नेछु, ‘नेपालका डाँडाकाँडा, हिमाल त सुन्दर छन् । मानिसहरू पनि आतिथ्यप्रेमी छन्, तर तिमी नेपाल आउँदा फोहोर सहन सक्ने, प्रकृतिलाई हामीले नष्ट गरेको संस्कृति हेर्न र सहन सक्ने शक्ति भएमात्र आऊ । यहाँ आएपछि तिम्रो मन यहाँको फोहोरी मानिसको विवेकहीनता, जताततै थुक्ने, जताततै रछ्यान बनाउने प्रवृत्तिले दिक्क भएर भाग्न खोज्छौ भने त तिम्रो त्यति धेरै पैसा र समय नष्ट हुनेछ । नेपालीहरू जताततै थुक्छन् । नदीनाला फोहोर पारेका छन् । सडक, मन्दिर, पाटीपौवा सबै दुर्गन्धित बनाएका छन्, शौचालय बनाए पनि त्यसको व्यवस्थापन गर्न जानेका छैनन् होइन भने टाढा बसेर टिभी र युट्युव, किताब र पत्रिकामा नै नेपालको सौन्दर्य हेरेर आनन्द लेऊ ।

    १७५ पटक
    प्रतिकृया दिनुहोस्