BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    समग्र विकासलाई दिशाबोध गर्ने व्यवहारिक दस्तावेज

    दिनेश कुमार थपलियापौष २८, २०७५

    यो पुस्तक पढ्दा मेरो छाती गर्विलो भएको, मन दृढ संकल्पित बनेको, विचारमा जुझारुपन आएको, चिन्तनमा सकारात्मकता थपिएको, धारणामा स्पष्टता आएको र अब केही गरौं भन्ने सोचका साथ आफ्नो माटोप्रतिको मोह प्रगाढ भएको महशुस गरें मैले । त्यसैले यस पुस्तकले यस्ता सबै चाहाना र आवश्यकता पुरा गर्न राजनैतिक नेतृत्व, कर्मचारी वर्ग, अध्येता, अनुसन्धानकर्ता र जिज्ञासु सबैलाई खुराक दिनेछ भन्ने बलियो विश्वास गर्न सकिन्छ । यो पुस्तक पढ्ने जो कोहीमा आफू जहाँ पुगेपनि, जे भएपनि, जे गरेपनि, जस्तोसुकै अवस्थामा रहेपनि आफ्नो ठाऊँको विकासको लागि केहि न केहि त गर्नैपर्छ भन्ने भावना जागृत हुन्छ र आफ्नो माटो र भूगोलप्रति सोच्न बाध्य हुन्छ हरेक व्यक्ति ।

    विकास र समृद्धि चाहने लाखौं लाख मनका भावनाहरूलाई बुझेर सरल रूपमा संग्रह गरिएको यो पुस्तक समाज विकासको व्यवहारिक योजना भएकोले म यो पुस्तक पढ्नको निम्ति आग्रह मात्र गर्दिन, पढेर, बुझेर र मनन गरेर तदनुसार आफ्नो तहको विकासको कार्य थालनी गर्न आव्हान पनि गर्दछु ।

    नेपालमा लामो समयको राजनैतिक परिवर्तन पछि संविधानसभाले निर्माण गरेको संघीय संविधान अनुसार पुनर्संरचना भएको राज्यको स्वरुप बमोजिम संघीय, प्रादेशिक र स्थानीय तह निर्वाचनमार्फत गठन भई सञ्चालनमा रहेका छन् । स्थानीय तहको स्वरुप र संरचनालाई हेर्दा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० गाउँपालिकाहरुले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान अनुसार सेवा प्रवाह, विकास निर्माण र न्यायिक कार्यको जिम्मेवारी बहन गरिरहेका छन् । सेवा प्रवाहको व्यवस्थालाई हेर्दा हाल गठित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाअन्तर्गत गठित ६७४३ वडा समितिहरु जनताको नजिकको सेवा प्रदायक इकाईको रुपमा स्थापित भएका छन् । त्यसैले अब राजनैतिक एजेण्डाको टुङ्गो लागेको र आर्थिक सामाजिक विकासमार्फत समृद्धिको एजेण्डाले प्राथमिकता पाएको भन्न सकिन्छ ।

    अहिले हरेक व्यक्तिका मनमा मेरो नगरपालिका वा गाउँपालिकाले नागरिकको आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउन र नागरिकका माग र आवश्यकताका सेवाहरू घरदैलोमा प्रवाह गर्न के कस्ता काम गरे हुन्थ्यो भन्ने विविध इच्छा, आकांक्षा र चाहाना प्रबल भई नयाँ नयाँ बिचार तथा सोंचहरू सार्वजनिक हुन थालेको देखिन्छ । यस्ता कतिपय सोंचविचारहरू प्रगतिशील र अनुकरणयोग्य देखिएका छन् । लाग्छ, अब आम नागरिकहरुमा शान्ति, विकास र समृद्धिको भोक जागेको छ र प्रगतिको नयाँ अध्याय प्रारम्भ हुने चरणमा छ । सबै क्षेत्रका नागरिकहरूमा आफ्नो गाउँ र शहर, टोल, बस्ती वा समुदाय आधुनिक सुविधा सम्पन्न होस् भन्ने चाहना प्रवल हुँदै गएको छ, हिजोआज । यस्तै भोकले भौतारिएर तथा चाहनाले तड्पिएर सुन्दर र समुन्नत विश्रान्तीको खोजीमा निरन्तर क्रियाशील व्यक्ति श्री जगन्नाथ काफ्लेलाई ‘समृद्ध नेपालको मार्गचित्र’ पुस्तकमार्फत पढ्ने अवसर पाएँ मैले ।

    तपाइँ आफ्नो गाउँ कस्तो होस् भन्ने चाहनुहुन्छ ? भनी प्रश्न गर्दा सबैको उत्तर एउटै हुनसक्छ ‘मेरो गाउँ र शहर राम्रो होस् । तर यो राम्रो भित्र के के हुनु पर्छ भन्ने कुरा भने सहजै खुट्ट्याउन सकिंदैन । किनकी यो स्थानगत आवश्यकता र सम्भाव्यता एवम् व्यक्तिको सोच, चिन्तन र धारणा अनुसार फरक फरक हुनसक्छ । कुनै कुरा कसैको लागि न्यूनतम आवश्यकता हुन्छ भने सोही कुरा अर्काेको लागि विलासिताको वस्तु बन्न सक्छ । विकास र समृद्धिको यस्तै विचारहरुको विश्लेषण गर्ने हो भने हामी यसको लामो फेहरिस्त तयार गर्न सक्छौं । आखिर ‘राम्रो’ भनेको के हो ? कस्तो हुन्छ ? कसरी चिन्ने ? कसरी प्राप्त गर्ने ? यो सम्भव त छ तर कसरी र कहिले ? यिनै प्रश्नहरुको चित्तबुझ्दो उत्तर खोज्न लालायित र प्रतिबद्ध व्यक्तिको रुपमा चिने मैले एउटा अध्येता, सिर्जनशील, नवप्रवर्तक, अनुसन्धानकर्ता र सामाजिक अभियन्ताको रुपमा जगन्नाथ काफ्लेलाई ।

    पूर्वाधार सुविधाको दृष्टिले कुनै ठाउँको चित्रण गर्दा राजमार्गबाट नगरपालिका वा गाउँपालिका केन्द्र जोड्ने तथा केन्द्र र बस्तीसम्म जाने मोटरबाटो, साइकल र पैदलयात्री हिड्ने छुट्टै ट्रयाक, एउटा बस्तीदेखि अर्काे बस्तीलाई जोड्ने सडक सञ्जालसहितको सडक पहुँच पुगेको होस् भन्ने अपेक्षा सबैको हुनसक्छ चाहे गाऊँको होस् वा सहरको । खानेपानी र सरसफाईको कुरा गर्दा चौबिसै घण्टा आपूर्ति हुने सफा र पर्याप्त पिउने पानी, बजारमा सर्बसुलभ प्रशोधित र बोतलबन्द पिउने पानी, गाउँपालिका वा नगरपालिका भित्र बग्ने सफा नदी, खोला, आकाशे पानी संकलन, भण्डारण तथा उपयोग, थोपा तथा फोहोरा सिंचाईको व्यवस्था, खुला तथा प्लाष्टिक पोखरीको व्यवस्था र तालतलैया एवम् अन्य पानीका श्रोतहरुको व्यवस्थापन, पानी परे वा नपरे पनि बग्ने ढल निकास, हरेक दिन नागरिकले कुहिने र नकुहिने गरी छुट्याएर जम्मा गरेको फोहोर संकलन तथा प्रशोधनस्थल वा सेनिटेरी ल्याण्डफिल्ड साइटसम्म लैजाने व्यवस्था, कम्तीमा एक घर एक शौचालय, कौशी वा करेसामा रुखबिरुवा र तरकारीबारी, तथा व्यक्तिगत, सामुदायिक र वातावरणीय स्वच्छताको चाहाना सबैलाई हुनसक्छ । गाउँ र नगरपालिकाका ठाउँठाउँमा पार्कहरू र भुइँचालो आएको अवस्थामा सुरक्षित रुपमा भेला हुने फराकिला ठाउँहरू तथा खुल्ला क्षेत्र र विपद् व्यवस्थापनको पर्याप्त प्रावधान, धुवाँ, धुलो, फोहोर र दुर्गन्धबाट मुक्त भएको र निर्मित पूर्वाधारहरुको गुणस्तरमापन गर्ने प्रयोगशाला समेत सञ्चालनमा रहि स्तरीय सेवा पाउने अभिलाषा सबैमा हुन्छ । के यस्तो विचारलाई अन्यथा भन्न मिल्ला र ?

    जलविद्युत क्षमतामा संसारकै उत्कृष्ट सम्भाव्य देश कहलिएता पनि अझैसम्म उज्यालोको खोजीमा रूमलिएका हाम्रो निम्ति सबै बस्ती तथा सडकमा विद्युत आपूर्ति, घरघरमा उर्जाको पर्याप्त व्यवस्था, सौर्य उर्जाको प्रयोग भै सहरका प्रत्येक बाटो र गल्लीमा बत्ती जडान भै उज्यालो हुने व्यवस्था मिलाउन पाए हुन्थ्यो भन्ने आशा गर्नु स्वभाविकै हुन्छ । अझ ‘हाम्रो पानी हाम्रै लगानी’ भन्ने अवधारणाका साथ विद्युत उत्पादन र बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्न पाए कति काइदा हुँदो हो भन्ने तत्परता र जागरुकता देख्दा साँच्चै आनन्द आउँछ । युवावर्गलाई ठाउँ ठाउँमा क्रीडास्थल, खेलकुद ग्राम र रंगशाला तथा समय समयमा प्रतियोगिताहरू सञ्चालन हुनसक्ने पूर्वाधार व्यवस्था भएको हेर्न सबैलाई मन लाग्छ । औद्योगिक ग्राम, पर्यटन पूर्वाधार, आफ्नो मौलिकता र स्थानीय प्रविधि एवम् पहिचान झल्कने रमणीय स्थानहरु, पर्यटन केन्द्र, कोशेली घर, रिप्लीकाको व्यवस्था सबैतिर होस् भन्ने सपना नागरिकले देख्नै पर्छ । आधा घण्टा हिँडेपछि पुगिने वनमाथि नागरिकको पहुँच, सामाजिक, आर्थिक क्षेत्रको सेवा प्रवाह तथा विकासका गतिविधिहरू सम्बन्धी सिर्जनात्मकता, नवीन अभ्यास र अनुसन्धानलाई प्रोत्साहन गर्दै आम्दानी र उपयोग गरिएको सुविधाको आधारमा कर तिर्ने व्यवस्था भएको हेर्ने र भोग्ने चाहाना नेपाली जनताले धेरै अगाडि देखि राखेका छन् । के अब पनि यस्तो धारणालाई बढी महत्वाकांक्षी भन्न हुन्छ र ?

    हामी नेपाललाई कृषिप्रधान देश भन्छौं । अझैपनि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा कृषिमै निर्भर छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन हाम्रा प्रयासहरु केन्द्रित हुनुपरेको छ । यस्तो अवस्थामा भूमीको वर्गीकरण गरी कृषि क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक क्षेत्र, व्यापार व्यवसाय क्षेत्र, विद्यालय विश्वविद्यालय जस्ता शैक्षिक संस्था रहने क्षेत्र, स्वास्थ्य क्षेत्र, आवास क्षेत्र, तथा खुल्ला क्षेत्र निर्धारण गर्ने गरी भू–उपयोग योजना बनेको, वैज्ञानिक क्रान्तिकारी भूमिसुधार गरी प्रति इकाई जमिनबाट अधिकतम उत्पादन लिने र किसानको आम्दानी बढाएर राष्ट्रिय बजार एवम् औद्योगिकीकरणको आधार तयार गर्ने तथा कृषि र कृषि क्षेत्रको उत्पादकत्व वृद्धिको लागि सिंचाइ, मलबीऊ, कृषि औजार, किटनाशक औषधी र रोग कम लाग्ने प्रविधि, र कृषि उपज बिक्री गर्न बजारको व्यवस्था गरिएको सबैले हेर्न चाहन्छन । एकीकृत बस्ती विकास योजना तथा शहरी पूर्वाधार विकास योजना र आवधिक तथा विषयगत योजनाहरु बनेको, टेलिफोन, बिजुली, इन्टरनेट, केबुल आदिको सुविधा र तारको जमीनमुनि व्यवस्थापन भएको व्यवस्थित र बसौं बसौं लाग्ने आफ्नो ठाउँ सबैलाई मन पर्छ । के यस्तो अपेक्षा हरेक नागरिकको अधिकार हैन र ?

    शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत अधिकारको विषय भएकोले सबै नागरिकको पहुँच हुनेगरी आवश्यक पूर्वाधारसहितको आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षालय, औपचारिक तथा अनौपचारिक शिक्षा दिने निरन्तर व्यवस्था, प्राविधिक शिक्षा, साक्षरता कार्यक्रम, विशेष शिक्षा लगायतका कार्यक्रम र बाल विकास केन्द्रको व्यवस्था हुनु अनिवार्य नै हुन्छ । आफ्नो पहुँचमा एउटा सुविधासम्पन्न अस्पताल वा स्वास्थ्य संस्था, वडास्तरमा आवश्यक दक्ष जनशक्ति, औषधि, उपकरण, प्रविधि र स्वास्थ्यकर्मीसहितका स्वास्थ्य चौकी र घुम्ती स्वास्थ्य सेवा सञ्चालन, र हरेक नागरिक बिरामी परी उपचार गराउँदा सरकारले तोके बमोजिमको औषधिमुलो निःशुल्क पाउने व्यवस्था भै अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाबाट उन्मुक्ति चाहानुलाई संविधानप्रदत्त मौलिक हक प्रतिको नागरिक चासोको रुपमा बुझ्नु पर्दैन र ?

    हामीलाई थाहै छ समता, समानता र समावेशीताको उपयुक्त संयोजन भएको समाज अहिलेको युगको माग हो । यसको निम्ति महिला, बालबालिका, दलित, जनजाति, पिछडिएको समुदाय र अपाङ्गता भएका व्यक्तिहरुको पहुँच हुने समावेशी विकास, बालबालिका तथा, जेष्ठ नागरिक र अशक्तहरुलाई विश्राम गृह, आवश्यक स्वास्थ्य सुविधासहितको वृद्धाश्रम र प्रत्येक टोल, बस्ती र समुदायमा जेष्ठ नागरिक क्लब वा समूह गठन गरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना र सञ्चालनको व्यवस्था लोकतान्त्रिक कल्याणकारी मुलुकमा अपरिहार्य नै हुन्छ । समुदायका सबै आर्थिक सामाजिक अवसरहरुमा समान सहभागिता सहितको मर्यादित, न्यायपूर्ण, सुरक्षित, भरोसायुक्त र सभ्य समाजको विकास गर्नु सबैको कर्तव्य नै हो । यस्तो सामाजिक वातावरणको चाहना पनि नागरिकको नैसर्गिक अधिकार हैन र ?

    विकास र समृद्धि सबैको साझा एजेन्डा हो र यो सबैको संलग्नता, साझेदारी, समन्वय, सहकार्य, सहभागिताबाट मात्र सम्भव हुन्छ । यसमा आर्थिक कारोबार र लगानीलाई व्यवस्थित र पारदर्शी बनाउनु पहिलो शर्त हो । त्यसैले आफ्नो क्षेत्रको विकासको निम्ति निजी तथा सार्वजनिक उद्यमशीलता एवम् विकास निर्माणमा गरिने लगानी र असंगठित आर्थिक कारोबारलाई निरुत्साहित गर्दै संगठित वित्तीय संस्थाहरुको माध्यमबाट आर्थिक कारोबार हुने प्रणाली स्थापित गर्नुपर्छ । साझा सहकारी संस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, पूँजी बजार तथा अन्य वित्तीय संगठन मार्फत नागरिक बचत तथा लगानीलाई प्रोत्साहित गर्नु पर्छ । निजी क्षेत्रको व्यवसायिकता, उद्यमशीलता, व्यवस्थापन दक्षता, नविनतम सोच, पूँजी र प्रविधिको अधिकतम परिचालन गरी आफ्नो गाउँ तथा नगरपालिकाको समृद्धिको सशक्त साझेदार बनाउन सक्नु पर्छ । निजी लगानी आकर्षित गर्न स्थानीय तहबाटै आवश्यक सहुलियत र सुविधासहित उनीहरुको सामाजिक उत्तरदायित्व स्पष्ट पार्नु पर्छ । एकल एवम सामूहिक रुपमा निजी उद्यमशील पूँजी तथा अन्य श्रोतहरु जुटाएर अथवा कसैको ज्ञान र शीप, कसैको पूँजी, कसैको जमिन, कसैको श्रम, कसैको प्रविधि जुटाएर शेयर लगानी, शेयर स्वामित्व र शेयर लाभ पद्धतिमार्फत व्यवसायिक उद्यमशीलता एवम् विकास निर्माणमा लगानी गर्ने पद्धति स्थापित हुनुपर्छ । आखिर सार्वजनिक, निजी, सहकारी एवम् सामुदायिक साझेदारीले खोजेको यस्तै अवस्था हैन र ?

    यी माथि उल्लेखित सबै बिषयहरु समेटेर चिन्तन गरिएको पुस्तकको बजारमा अभाव भएको बेला श्री जगन्नाथ काफ्लेले सकारात्मक र व्यवहारिक चिन्तनसहित ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक प्रकाशन गर्न लागेको यस अवसरमा यो पुस्तक पढेर आफ्ना अभिव्यक्ति पोख्न पाउने थोरै भाग्यमानी मध्ये म पनि एउटा हुँ । यो पुस्तक पढ्दा मेरो छाती गर्विलो भएको, मन दृढ संकल्पित बनेको, विचारमा जुझारुपन आएको, चिन्तनमा सकारात्मकता थपिएको, धारणामा स्पष्टता आएको र अब केही गरौं भन्ने सोचका साथ आफ्नो माटोप्रतिको मोह प्रगाढ भएको महशुस गरें मैले । त्यसैले यस पुस्तकले यस्ता सबै चाहाना र आवश्यकता पुरा गर्न राजनैतिक नेतृत्व, कर्मचारी वर्ग, अध्येता, अनुसन्धानकर्ता र जिज्ञासु सबैलाई खुराक दिनेछ भन्ने बलियो विश्वास गर्न सकिन्छ । यो पुस्तक पढ्ने जो कोहीमा आफू जहाँ पुगेपनि, जे भएपनि, जे गरेपनि, जस्तोसुकै अवस्थामा रहेपनि आफ्नो ठाऊँको विकासको लागि केहि न केहि त गर्नैपर्छ भन्ने भावना जागृत हुन्छ र आफ्नो माटो र भूगोलप्रति सोच्न बाध्य हुन्छ हरेक व्यक्ति । उहाँको यो अभियानमा सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

    अहिले जनतालाई वास्तविक रूपमै सार्वभौमसत्ता सम्पन्न तुल्याई शासनमा उनीहरूको अर्थपूर्ण सहभागिताद्वारा लोकतान्त्रिक गणतन्त्रलाई स्थानीय तहदेखि नै संस्थागत र मजबुत बनाउने अवसर प्राप्त भएको छ । स्थानीय तहहरू राजनीतिक, वित्तीय, प्रशासनिक, सेवाप्रवाह र विकास व्यवस्थापनका दृष्टिले सक्षम शासकीय इकाईको रूपमा रूपान्तरण भएका छन् । यसबाट सरकारलाई जनताको नजिकमा पु¥याई शक्ति र श्रोत साधनमाथि नागरिकको पहुँच स्थापित गर्ने र आफ्नो ठाउँको विकास निर्माण र सेवा प्रवाहको कार्यमा स्थानीय सहभागिता, स्वामित्व र समर्पण कायम हुने अवस्था सिर्जना भएको छ । यो जनताको विश्वास र भरोसामा विकास कार्य अगाडी बढाउने अनुकूल वातावरण हो । यसले जनतामा शासन प्रति सचेतना र सहभागिता मात्र बढाउँदैन, अधिकार प्रतिको चासो र कर्तव्य प्रतिको जागरूकता पनि अभिवृद्धि गर्दछ । यो सम्मृद्धिको सपना साकार पार्ने संकल्पलाई मूर्तरूप दिन हाम्रो गन्तव्य र भविष्यलाई मार्गदर्शन गर्ने आधार पनि हो । शान्ति, विकास, सुशासन र समृद्धि अब सँधै भनिरहने नारा होइन, हामीले सँधै अनुभूत गर्ने उपलव्धी बन्नु पर्दछ । यो अपेक्षित परिणामको निम्ति हामी सबैले केही न केही गर्नैपर्छ, यसरी गरिने काम सुविचारित ढंगले योजनाबद्ध रूपमा गर्नुपर्छ भन्ने विषयको साङ्गोपाङ्गो तस्विर यो ‘समृद्ध नेपालको मार्गचित्र’ पुस्तकभित्र छ भन्ने मलाई लाग्दछ । विकास र समृद्धि चाहने लाखौं लाख मनका भावनाहरूलाई बुझेर सरल रूपमा संग्रह गरिएको यो पुस्तक समाज विकासको व्यवहारिक योजना भएकोले म यो पुस्तक पढ्नको निम्ति आग्रह मात्र गर्दिन, पढेर, बुझेर र मनन गरेर तदनुसार आफ्नो तहको विकासको कार्य थालनी गर्न आव्हान पनि गर्दछु । यो पुस्तक समग्र विकासलाई दिशाबोध गर्ने व्यवहारिक दस्तावेज हो भन्ने मेरो बुझाई छ । सम्पूर्ण सफलताको शुभकामनासहित ।

     

    १२८८ पटक
    प्रतिकृया दिनुहोस्