BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    विवेकशील साझाका संयोजकद्धयलाई पत्र, ‘सच्चिएर जानुको बिकल्प छैन’

    जगन्नाथ काफ्ले, कर्मा तामांग पौष २९, २०७५

    बेलैमा उचित सम्बोधन र ब्यवस्थापन नभएमा हामी निर्विकल्प सुसंस्कृत राजनैतिक शक्तिका सम्बाहकहरुलाई दीर्घकालीन रुपमा घातक साबित हुने र पुन : फोहोरी राजनैतिक शक्तिलाई नै मलजल पुग्ने अवस्यम्भावी छ । वास्तवमा यो विषम परिस्थितिमा कौशलता प्रदर्शन गरी उचित सम्बोधन र ब्यबस्थापन गर्ने जिम्मेवारी भनेको केन्द्रमा बसेर नेतृत्व लिनु हुने साथीहरुकै हो ।

    विवेकशील र साझा पार्टी मिलेर बनेको ‘विवेकशील साझा’ एकवर्ष नहुँदै फुटेपछि पार्टीमा आस्था राखेका धेरै युवालाई निराश बनाएको छ । दुई पार्टी मिलेको एकवर्ष नबित्दै एकले अर्कोलाई विभिन्न आरोप लगाउँदै पार्टीका संयोजक उज्जवल थापाले शुक्रबार पार्टीबाट अलग भएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेसँगै पार्टीमा कार्यरत धेरै युवाहरुले अझै पनि संयोजकद्धयले मिलेर जानुपर्ने सुझाव दिइरहेका छन् ।
    यसैबीचमा फिनल्याण्डमा कार्यरत जगन्नाथ काफ्ले तथा  जर्मनीमा कार्यरत कर्मा तामाङले पनि शुभेच्छुकले देखाएका कमी–कमजोरीलाई नेतृत्वले सकारात्मक उर्जामा बदलेर विवादित मुद्धाहरुमा पुनर्विचार गर्दै आत्मा आलोचना गर्नु र सच्चिएर जानुको बिकल्प नरहेको बताएका छन् ।

    विवेकशील साझालाई उनीहरुले लेखेको पत्र जस्ताको तस्तै

    संयोजकद्वयज्यूहरु,
    संयोजन समितिका सदस्यज्यूहरु,
    केन्द्रीय सबमितिका पदाधिकारीहरु,
    विवेकशील साझा पार्टी
    कुशल नेतृत्व त्यो हो जसले समय र परिस्थिति अनुसार साम (मेलमिलाप गर्ने), दान(त्याग गर्ने), दण्ड(न्यायिक कारवाही गर्ने) र भेद (खराब पक्षलाई बिभाजन गरी निष्प्रभावी बनाउने) गरी कम्जोर र नीतिको कुशलतम प्रयोग गरेर आफ्ना सहकर्मी तथा शुभेच्क्षुकहरुको भावनाको पूर्णत ः कदर गर्दै सम भाव राखी अभिभावकत्व र अपनत्व सदैब कायम गर्न सामाथ्र्य राख्न सक्नु पर्दछ भने समाजको पथप्रदर्शक अनि कुशल ब्यबस्थापक हुनु पर्दछ ।

    आजको नेतृत्व आफ्ना व्यक्तिगत सोच र आचरण भन्दा बाहिर निस्केर पद्दति, आदर्श, मूल्य, मान्यता र जनभावना प्रति सदैब जिम्मेवार, जवाफदेही, पारदर्शी र संबेदनशील हुनु पर्दछ । पृथक मतको सम्मान गर्न सक्ने, आलोचना सहनशीलता, जानकार, भद्र स्वभाव, शोभनीय अनुशासन र आदर्श व्यवहार हुनु पर्दछ । प्रतिकुल परिस्थितिमा पनि चनाखो, नम्र भाव, अविचलित, जिम्मेवार, उत्साही, अनुशासित, मर्र्यािदत र लगनशील हुन सक्नु पर्दछ ।

    जनभावनामा अडिग रही सदैब सम्मानित र उचित मार्गदर्शक हुन सक्नु पर्दछ । यसैगरी आफ्ना सहकर्मीहरुलाई अविचलित, जिम्मेवार, उत्साही, अनुशासित, मर्यादित र लगनशील बनाउन सक्ने क्षमतवान् हुनु पर्दछ । जो संग यी दुर्लभ गुणहरु हुन्छन् ती मात्र कुशल नेता हुन् । रहरले कोही पनि नेता हुन सक्दैन, सीमित क्षणको लागि कोहि पनि शक्तिमा पुग्न सक्छ ः शक्ति दुरुपयोग गर्छ ः यस्ता नेतृत्वले जनभावना बमोजिम काम गर्न नसकेर बिस्तारै आलोच्य र बिस्थापित हुदै किनारा लाग्दछन् । त्यसैले नेतृत्व सदैब सीमित र आदर्श मात्र हुन्छ ।

    एउटा कुरा नेतृत्व बर्गले के बुझ्नु पर्छ भने आफ्ना अनुयायीहरु यी माथिका तत्वहरुमा पूर्ण हुन सक्दैनन् त्यसैले आफुलाई पछ्याउछन् । नेतृत्व गर्ने चाहना, क्षमता र तत्परता नहुन सक्छ । उनीहरु कोहि परिस्थितिको दास हुन सक्छन्, असक्षम हुन सक्छन्, अबुझ हुन सक्छन्, जानकार नहुन सक्छन्, निपुर्ण नहुन सक्छन्, अनुशासित नहुन सक्छन्, अमर्यादित हुन सक्छन्, नेतृत्वलाई अविश्वास गर्न सक्छन्, अभद्र हुन सक्छन्, जिम्मेवार नहुन सक्छन्, अविचलित हुन सक्छन्, लगनशील नहुन पनि सक्छन् त्यसैले उनीहरुको व्यवहार संधै जायज हुन्छ । त्यसैले अनुयायी तथा सहकर्मीहरुलाई अशल नेतृत्वको आदर्श मार्गदर्शन, कुशल ब्यबस्थापन र उचित सम्बोधनको जरुरी पर्दछ ।

    अब प्रश्न उठ्छ कि के हाम्रो विवेकशील साझा पार्टीमा हामीले कुशल नेतृत्व दिएका छौं या असल नेतृत्व पाएका छौं त ? प्रमाणित गर्ने जिम्मेवारी नेतृत्व बर्गकै जो जिम्मेवारी बोक्न अगाडी तम्सनु भएको छ । यहाँ भुल्न नहुने कुरा के हो भने विवेकशील साझा पार्टी एक पार्टी मात्र नभएर सुसंस्कृत राजनैतिक बसाल्ने परिपाटी हो र अर्को कुरा कुनै पनि पार्टीले बोकेको बिचार, मूल्य र मान्यता भनेको बीज अथवा पुरुष तत्व हो यो सजीव हुनुपर्छ भने समाज भनेको प्रकृति अथवा स्त्री तत्व हो यो उर्वर हुनु पर्दछ । यस्तै नेतृत्वले आफ्ना बिचार, आदर्श, मूल्य र मान्यता ः बीज तत्वलाई र अनुयायीहरु मार्फत समाज ः प्रकृति तत्वलाई उर्वर बनाउनु पर्दछ अनिमात्र हाम्रो विद्यमान समाजमा आफूलाई स्थापित गरेर समृद्द समाजमा रुपान्तरण गर्न सकिन्छ । जसरी लाभकारी जडिबुटीका बीज पहाडका कुना कन्दरामा छरिएका हुन्छन् । त्यस्तै हाम्रो विवेकशील साझा पार्टीका लागि काम लाग्ने बिचारहरु पनि मोफसलमा छरिएर रहेका हुन सक्छन् त्यसलाई केन्द्रीय नेतृत्वले पहिचान र पृष्ठपोषण गर्नु पर्दछ ।

    हामीले नियालिरहेका छौं कि अहिले विवेकशील साझा पार्टीभित्र नेतृत्व र सहकर्मी तथा शुभेक्षुकहरु बीच दुरी पैदा भएको छ । यो परिस्थितिले जो कोही नेतृत्व, सहकर्मी र शुभेच्क्षुकहरुलाई असाध्यै बेचैनी, पीडा र छट्पटी महशुष भएको छ । निर्दिष्ट लक्ष्यभित्र एक प्रकारको अविश्वसनीय वातावरण र भित्रभित्रै द्वन्द पैदा भएको छ । बेलैमा उचित सम्बोधन र ब्यवस्थापन नभएमा हामी निर्विकल्प सुसंस्कृत राजनैतिक शक्तिका सम्बाहकहरुलाई दीर्घकालीन रुपमा घातक साबित हुने र पुन ः फोहोरी राजनैतिक शक्तिलाई नै मलजल पुग्ने अवस्यम्भावी छ । वास्तवमा यो विषम परिस्थितिमा कौशलता प्रदर्शन गरी उचित सम्बोधन र ब्यबस्थापन गर्ने जिम्मेवारी भनेको केन्द्रमा बसेर नेतृत्व लिनु हुने साथीहरुकै हो ।

    हुन त हामीलाई शत प्रतिशत भरोसा छ कि केन्द्रमा नेतृत्व लिईरहनु भएका संयोजकद्वय, संयोजन समिति र केन्द्रीय समितिले पार्टीको बिधान बमोजिम नै आफ्नो बर्गतले भ्याएसम्म अहोरात्र खटेर काम गरिरहनु भएको छ तर हुन सक्छ सूचना प्रवाहको कमीले हो, या प्रशिक्षणको कमीले हो, या सदस्य साथीहरुलाई जिम्मेवारीमा अभ्यस्त बनाउन नसकेर हो अथवा हाम्रा बिरोधीहरुका भेद नीतिको प्रयोगले हो हाम्रा आदर्श नेतृत्व र सहकर्मी तथा सुभेच्क्षुक बीच एक प्रकारको अविश्वसनीय वातावरण सिर्जना भएको छ । यो कुरा केन्द्रमा बसेर नेतृत्व लिनुहुने साथीहरुले अवस्य पनि स्वीकार र मनन गर्नु हुने छ भन्ने हाम्रो बिश्वास छ ।

    मोफसलबाट आएका सहकर्मीका गुनासार आरोपहरु (सामाजिक संजाल र व्यक्तिगत भेटका आधारमा उतारिएको) ।
    –केन्द्रीय नेतृत्वले आफुलाई चित्त नबुझेको कुरा र व्यक्ति प्रति बढाई चढाई गरेको ।
    –आफ्नो सन्निकट नभएको कारणले वास्तविक प्रतिभा पहिचान गरेर अवसर नदिईएको ।
    – विधानले दिएको शक्तिको आडमा अनावस्यक दम्भ देखाएको ।
    – शुभेक्षुक र सहकर्मी सदस्य साथीहरुको ब्यबहारिक र जायज माग उठाउदा पनि नेतृत्व बर्गले उपेक्षा र अबमुल्यन गरेको ।
    –उचित समयमा उचित सूचना प्रवाह नगरेको ।
    –नेतृत्व क्षणिक आवेगमा आउने गरेको ।
    –दिनरात संगठनको काममा खटिएर आफ्नो व्यक्तिगत भविष्य सबै दाउमा राखेर लागिपरेका युवाहरुलाई नै विभिन्न चरणहरुमा पाखा लगाइएको ।
    –संगठनको साख बढाउने अभियानहरु संचालन गर्न गराउन नसकेको ।
    –सदस्य तथा संगठन बिस्तार गर्ने कुरामा प्रभावकारी काम गर्न नसकेको ।
    –दीर्घकालीन प्रभाव पर्ने कुरामा सचेत गराउँदा र आन्तरिक लोकतन्त्रको कुरा उठाउँदा सुनुवाई नहुने ।
    –नेतृत्वको कमि कमजोरी र ध्यान नपुगेको कुरामा बोल्दा अनुशासनको कुरा उठाउने
    –सुसंस्कृत राजनीतिको आदर्श, मूल्य तथा मान्यता शब्दमा सिमीत भएको र ब्यबहारमा लागु नभएको ।
    – पद्दतिका आधारमा नभई मनोगत र एकपक्षिय रुपमा अघि बढ्न खोजेको ।
    –संक्रमंकालीन समय भनेर सिमित व्यक्तिले असीमित अधिकार र व्यक्तिगत मनोमानी निर्णय गरेको ।
    –केन्द्रिय नेतृत्वको बेला बेलाको गलत निर्णय र ब्यबहारले गर्दा धेरै सहकर्मी र शुभेच्क्षुकहरु गुमाएको ।
    –नेतृत्वले गलत रणनैतिक निर्णयहरू लिएको पार्टीको छवी गिरेको र बैकल्पिक शक्तिको औचित्य प्रति नै आम सर्वसाधारणको शंका उठेको ।
    – सदस्य साथीहरुलाई उचित समयमा उचित प्रशिक्षण र जिम्मेवारी नदिईएको ।
    –केही केन्द्रीय साथीहरु प्रभावकारी काम गर्नुको साटो शक्तिको लागि काम गरिरहेको ।
    – विरोध गर्ने साथीहरुलाई थप उत्तेजित बनाउने गरी लाञ्छना लगाउने तथा विना आधारका कुरा गरिदिने ।
    –फेरी “पूर्व (विवेक शील “ र “पूर्व–साझा “ जस्ता परिचयात्मक शब्द प्रयोग गरेर फुटको राजनीति गरेको ।
    –पूरानै राजनीतिक पार्टीको चरित्र देखाएको ।
    यस्ता अझ सैयौं गुनासाहरु सहकर्मी र शुभेच्क्षुक साथीहरुको माझमा रहेको पाईएको छ । सायद यी गुनासाहरु हाम्रा आदरणीय केन्द्रीय नेतृत्व साथीहरुले पनि पाई सक्नु भएको छ । यो विद्यमान अवस्थामा जसरी नेतृत्व अगाडी बढेको छ त्यसैगरी अगाडी बढ्न कदापि मिल्दैन । यो अवस्थामा हरेकले एक एक पाइला सकारात्मक परिवर्तन गरेर मात्र अगाडी बढ्नु पर्दछ । आफूले गल्ति गरेको आफैंले देखिंदैन त्यसैले शुभेच्छुकले देखाएका कमी कमजोरीलाई सकारात्मक उर्जामा बदलेर जो सुकैले पनि विवादित मुद्धाहरुमा पुनर्विचार गर्नु, आत्मा आलोचना गर्नु र सच्चिएर जानु को बिकल्प छैन ।
    अब केन्द्रीय नेतृत्व साथीहरुले तुरुन्त बिस्वासको वातावरण सिर्जना गर्ने र सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई अपनत्व महशुष गराई उच्च मनोबलका साथ तथा हरेक तहमा बसेर काम गर्ने साथीहरुको भावनालाई अधिकतम् रुपमा समावेश गरी अघी बढ्ने परिस्थिति निर्माण गर्नुपर्ने जरुरी हामीले देखेका छौं । यसका निमित्त एउटा बृहत सम्मेलन गर्ने तथा सम्भव भएसम्म सबै सदस्यहरुसँग सक्षात्कार गरेर सदस्यहरुबाटै गुनासो र समस्या मन्थन गर्ने र त्यहींबाट समाधान निकालेर अहिलेको विषम परिस्थितिबाट निकास निकाल्न सुझाव सहित अनुरोध गर्दछौं । आवश्यक परेको खण्डमा हामी मध्यस्थताको भूमीका निर्वाह गर्न पनि तत्पर रहेको कुरा समेत जानकारी गराउन चाहन्छौं ।’
    भवदीय
    जगन्नाथ काफ्ले
    कर्मा तामांग
    (२०७५–९–२८)

     

    ५६१ पटक
    प्रतिकृया दिनुहोस्