BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    लिवियामा ५ नेपाली बन्धक, उद्धार गरिदिन परिवारको अनुरोध (भिडियोसहित)

    चन्दा थापा,(चन्द्रिका) माघ २, २०७५

    विदेश जाने क्रममा खिचिएको पाँच भाइको फोटो

    २ माघ, काठमाडौं । अफ्रीकी देश लिवियामा रहेका ५ नेपालीलाई केहिदिन देखि बन्धक बनाएर नेपालमा रहेका परिवारसँग रकम मागिएको छ ।

    बन्धक बनाएर रकम मागिएपछि नेपालमा रहेका आफन्त इन्तु न चिन्तु भएका छन् । ‘पैसो पठाउँदैमा उनीहरुको उद्धार हुन्छ नै भन्ने निश्चित पनि छैन ।’ परिवार भन्छ ‘भरोसा छ मात्र सरकारी पहलको ।’

    ‘एउटा पाकिस्तानी हुँ भन्नेले बारम्बार पैसा मागेर हैरान बनाएको छ, बेखवर छोरालाई सम्पर्क गर्न दिन्छ कि ! छोराले पेटभरी खान पाउँछ कि भनेर पैसा खोजी पठाउनै नखोजेको पनि होइन, तर, त्यसको ग्यारेन्टी कसले गर्ने ? १३ लाख १२ हजार रुपियाँ बुझाएर युरो कमाउन इटाली गएको मेरो छोरो यसरी अलपत्र पर्ला भन्ने सोचेकै थिइन् । छोराको उद्धार छिट्टै हुनेछ भनेर भगवान पुकारेकी छु ।’ पासपोर्ट नं ०९६६४४५९३ बाहक रंजीत केसीकी आमा दिपाले संसारन्युजसँग बेदना सुनाइन् ।

    बन्धक हुने पाँच जनामा दिपाको छोरा रंजित केसी बाहेक दिरस थापा, ओम गुरुङ, शुरेस केसी र अमन लोझा इटाली जान सँगै हिडेका हुन् । रंजीतका बाबु गणेशका अनुसार केहि दिन अघि सम्पर्क हुँदा उनीहरुलाई बन्धक बनाएको ठाउँमा यी पाँच बाहेक अन्य धेरै नेपाली भएको छोराले बताएका थिए ।

    ‘कस्तो ठाउँमा छ, के कसरी राखेको छ, मोबाइल खोसेका छन् रे ! यहाँबाट लगेको जुत्ता पनि बन्धककारी गुण्डाहरुले लगाएर थोत्रो चप्पल दिएको, दारी कपाल, कपडा नुहाइ धुवाइ केही गर्न नपाएको, कहिलेकाँही त अलिकति पिठोमा हारालुछ गर्नुपरेको के भनौ हजुर मेरो छोरोको पत्तो लागेर सरकारले उद्धार गर्छ भन्दै मन सम्हालेकी छु’ संसारन्युजसँग उनले थपिन् ।


    भर्खरै साउदीबाट छुट्टिमा आएको छोरालाई बिहा गराएर यतै राखौं भन्ने योजनामा थिए, लाख, लाख कमिन्छ आमा भन्दै जसरी पनि जान्छु भन्यो, कुरो बुझिएन । चिनेजानेकै छिमेकी जितकाजी गुरुङले इटालीनै पु¥याएर काम लगाएर फर्कने होलान् भन्ने आसा गरें । एकपटक २ लाख फेरि ५\५ लाखको २ पटक चेक र १ लाख १२ हजार छुट्टै गरी १३ लाख १२ हजार उसैलाई बुझाएकी हुँ ।

    पारिवारीक श्रोतका अनुसार रंजीतका लागि उनका बाबुआमाले रकम बुझाएझै अरु ४ जनाले पनि १३ देखि १४ लाख सम्म रकम बुझाएका छन् । त्यसबाहेक ओम गुरुङ र शुरेस केसीका परिवारले त लिवियाको प्रहरी खोरबाट छुटाउन यहाँबाट थप पैसा पठाइसकेका थिए ।

    यस्तो छ कथा ?

    पोखराका जीतकाजी गुरुङले युरोप लैजान्छन् भन्ने थापा पाएपछि यि सबै पीडितहरुको जिद्दीमा परिवारले रकम जुटाएर उनीहरुलाई भाद्र २२ गते पोखराबाट काठमाडौं पठाउँछन् । जीतकाजी काठमाडौंसम्म आएर सन्तोष पराजुलीलाई जिम्मेवारी दिन्छन् ।

    संतोषको जिम्मामा रहेका उनीहरु असोज ४ गते काठमाडौंबाट दुवई पुग्छन् । दुवईमा उनीहरु १८–२० दिन बसेर कार्तिकमा लिविया पु¥याइन्छ । लिवियाबाट उनीहरुलाई इटाली लैजाने भन्दै पैसा नपुगेको बहानामा मानसिक यातना बढाइन्छ । यसैक्रममा ५ मध्येका २ भाइ ओम गुरुङ र शुरेस कार्की प्रहरीबाट पक्राउ पर्छन् । दलाल र गुण्डाहरुमार्फत् पैसा मगाएपछि उनीहरु प्रहरीबाट त रिहा हुन्छन्, तर गुण्डाहरुको कब्जामा बन्धक नै बनाइन्छ । यो विचमा उनीहरुका पासपोर्ट, पर्स, राम्रा जुत्ता र कपडा समेत खोसिन्छ ।

    ढिलो चाडो लैजालान् भन्ने आसामा रहेका उनीहरुले परिवार नआत्तिउन भनेर धेरै नसुनाएका पनि होलान् तर ज्यादती बढेर पैसा नआए ‘मार्ने’ धम्कि नै आएपछि उनीहरुले घरमा परिवार र अभिवावकलाई गुहार्न थाले । पुसको २५\२६ तिर पाकिस्तानी हुँ भन्ने व्यक्तिले पैसा मागेपछि परिवारले उद्धार र सहयोगका लागि प्रक्रिया अगाडि बढाएको हो ।

    यि ५ जनाको संक्षिप्त विवरणसहित प्रवासी नेपाली सम्पर्क समितिले सरकार तथा सम्बन्धित निकायलाई उद्धारको अनुरोध सहित पत्राचार सुरु गर्यो । गैरआवासीय नेपाली संघ अफ्रिकाका संयोजक सुनिल कार्की र एनआरएनए कोषाध्यक्ष हिक्मत थापा लगायतले लिवियाबाट यि ५ बाहेक अरु नेपाली समेतलाई उद्धार गर्न सरकार तथा सम्बन्धित विदेशी निकायसँग पनि प्रयास गरिरहेका छन् । ‘हामीले सम्बन्धीत निकायमा पहल गरिहेका छौं । नेपाली दूतावास इजिप्टका राजदूतज्यूलाई पनि अनुरोध गरिसकेका छौं, लिवियामा पनि बुझ्ने प्रयास गरिरहेका छौं ।’ कोषाध्यक्ष थापाले संसारन्युज डटकमलाई बताए ।


    नेपालमा पनि यता रंजीत केसीकी आमा दिपा र बाबु गणेश, दिरस थापाको आन्टि सुनिता पुन, शुरेस केसीकी श्रीमती र आफन्त, अमनकी दिदी भुमिका तथा ओम गुरुङकी सासु आमाले उनीहरुको उद्धारका लागि हार गुहार गरिरहेका छन् । यस क्रममा उनीहरु बैदेशिक रोजगार विभागमा उजुरी दिएर जीतकाजी गुरुङलाई पक्रा पुर्जि जारी गराएका छन् । मंगलबार उनीहरुले परराष्ट्रमन्त्रालयलाई समेत निवेदन दिई उद्धारको अनुरोध गरेका छन् ।

    यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका उपसचिव शुरेस अधिकारीले संसारन्युजसँग भने, ‘इजिप्टमा भएको नेपाली दूतावास र दिल्लीमा भएको लिवियाली दूतावाससँग समन्वय गरी घटनाक्रम र सत्यतथ्य पत्ता लगाउने तथा उद्धारका लागि पहल गर्ने प्रक्रियामा रहेको र नेपालको पनि गृहमन्त्रालय लगायत सरोकारवाला निकायलाई जानकारी सहित अनुरोध गरेका छौं ।’

    यस विषयमा प्रवासी नेपाली सम्पर्क समितिकी सुसन गौतमले उनीहरुको उद्धारका लागि पहल भइरहेको बताएकी छन् । उनले भनिन् ‘हामीले नेपाली दूतावास इजिप्टमा यो जानकारी गराइसकेका छौं र आइओएम लिवियाले पनि उद्धारको विशेष पहल गरिरहेको छ ।’

    ४२० पटक
    प्रतिकृया दिनुहोस्