BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    युएईबाट फर्केर भैसी पालनमा लागेका टोप बहादुर भन्छन्–‘अब लाइफमै विदेश जाँदिन’

    संसार न्यूज संवाददातामाघ ५, २०७५

    युएईको अलऐनमा रहेको डिजेलका ठूला–ठूला ट्याङ्कि निर्माण गर्ने लिमा कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्थे, खैरेनी नगरपालिका ९ चितवनका टोपबहादुर विक । दिन राम्रैसँग बितिरहेको थियो । उनलाई लागेको थिएन, यस्तो आपतमा परौँला, या आरोप भोगौँला भन्ने । तर, समय र परिस्थितिको अगाडि केही लागेन, नसोचेको आरोप लगाइयो उनिमाथि । त्यसले उनलाई जेल पु¥यायो । यदि त्यहाँका नेपालीहरूको आर्थिक सहयोग र माया नपाएको भए उनी युएईमै हराउने स्थिति पनि आइलाग्थ्यो ।

    घटना विवरण
    २०१४ जुन २ तारिख, सामान लिफ्टिङ गर्ने बक्समा मान्छे राखेर २०–२२ मिटर माथि लैजादै थियो क्रेनले । ड्राइभर थिए पाकिस्तानी । क्रेन थियो, अर्को कम्पनी साका गल्फको । टोप बहादुरको कम्पनीले उक्त क्रेन भाडामा लिएको थियो । क्रेनको बक्सभित्र बसेर माथि काम गर्न जाँदै थिए दुई थाइ र एक इण्डियन नागरिक । त्यहाँ टोपबहादुरको काम भनेको सिग्नल (रिगर) दिने काम थियो । अचानक क्रेनको बक्स माथिबाट तल खस्यो । दुई थाइ नागरिकको घटनास्थलमै मृत्यु भयो । इण्डियन नागरिकको खुट्टा फ्याक्चर भयो । त्यहि क्षणमा प्रहरी आयो । सोधपुछ ग¥यो । पाकिस्तानी र उनलाई सँगै लिएर गयो र सोधपुछ भयो ।

    टोपबहादुरलाई अरबि भाषा नआउने हुनाले आफूले गर्दै नगरेको आरोपको सजायको भागीदार बन्नुपर्यो ।
    भाषाको कमजोरीकै कारण आफू फस्न पुगेको टोपबहादुरको भनाइ छ । ‘मुख्य कुरा भाषाका कारणले म फसेको हुँ’ ती दिन सम्झदैँ टोपबहादुरले भने, ‘पाकिस्तानी नागरिकका कारण म फसेँ ।’

    टोपबहादुरको मुद्दा अदालतमा
    उनलाई त्यहाँको अदालतले २ महिना जेल र ब्लडमनि स्वरुप १ लाख दिराहाम (झण्डै ३० लाख रुपैयाँ) जरिवाना सुनायो । उनी जेल परे । जेलमा कष्टकर जीवन बिताए । तर, चोरी, बलात्कार लगायतका केसमा जस्तो यातना भोग्नु नपरेको बताउँछन् । ‘साँझ बिहान खाना खान दिन्थ्यो, सोधपुछ गथ्र्यो, यातना खेप्नु परेन्’ उनले भने ।

    जेलमा रहँदा पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजाय भोगिरहेका अनिस खालिङ पनि भेट भएका थिए । उनीहरूको खाना खाने टाइममा भेट हुन्थ्यो । अनिस भन्थे ‘दाइ पिर नमान्नुस् । तपाईको केस ठूलो रहेनछ, छिट्टै निस्कि हाल्नुहुन्छ ।’ पछि अनिस पनि ब्लडमनि बुझाएर रिहा भए ।

    रिहा भएरपनि फर्कन पाएनन्
    टोपबहादुरको २ महिनाको जेल सजाय कानुनी प्रक्रिया पूरा गर्दासम्म ४ महिना २२ दिन भइसकेको थियो । उनको कम्पनीले अदालतमा पैसा तिरिदिने भनेपछि टोपबहादुर जेलबाट निस्किए । उनले केही समय कम्पनीमै काम गरे । देश फर्कनका लागि पैसा नतिरेको भएर फर्कन मिलेन् । २०१७ सम्म त्यहि कम्पनीमा काम गरे । कम्पनीले पैसा तिरेर देश पठाउँछु भन्दै काममा लगायो । तर, अन्तमा कम्पनी बन्द भयो । कम्पनीको लाइसेन्स पनि नविकरण भएन । उनको कम्पनीले हुण्डाइ कम्पनीसँग सहकार्य गरेकाले त्यहि हुण्डाइ कम्पनीमा काम गरे केही समय । तर, उनले आफ्नो कम्पनीमा काम गरेको १८–१९ हजार दिरहाम पारिश्रमिक पाएनन् ।

    नेपाली दूतावासको शरणमा
    कम्पनीले ब्लडमनि तिरिदिन्छ र मलाई देश फर्काउला भन्ने टोपबहादुरको आशा निरासामा परिणत भयो । हुण्डाइ कम्पनीले पनि ‘तेरो दूतावासमार्फत् कानुनी प्रक्रिया अगाडि बढाउ’ भनेपछि उनी दूतावास गए । त्यसपछि नेपाली दूतावास युएई र एनआरएनए युएईको पहलमा युएईमा रहेका नेपालीबाट उनका लागि ४० दिनमा उक्त रकम जम्मा गरियो ।

    बिडम्वना पैसा तयार भएपछि पनि उनी देश फर्कन पाएनन् । अदालतले टोपबहादुरको जिम्मा लिएको कम्पनी खोज्यो । कम्पनी नभएको पत्तो लागेपछि मात्र दूतावासको पहलमा उनी ब्लडमनि तिरेर २०७५ साउन १० मा देश फर्किए ।

    ‘जीवन यतै सकिने भयो भनेर डराएको थिएँ । तर, सबैको सहयोगले नेपाल फर्किन पाएँ’ ऐक्यबद्धतासँग खुसी व्यक्त गरे टोप बहादुरले ।
    दुबईबाट फर्किएपछि उद्यम

    घर फर्केपछि उनले दुई महिना आराम गरेँ । परिवार आफन्त साथीभाइसँग दुबईका दुःख बिसाए । अनि स्वदेशमा स्वरोजगार हुन सुरु गरे, पशुपालन उद्यम ।
    ‘मैले उहि सोचेर आएको थिएँ, अब देशमै केही गर्छु भनेर, त्यसैले पनि सहज भयो आउनासाथ पशुपालन व्यवसायमा हात हालेँ ।’ उनले सुनाए ।

    टोपबहादुर फर्किंदा घरमा दुईवटा दुहुना भैसी थिए । त्यसैलाई व्यवसायिक बनाउनका लागि उनले साना किसान बैंकबाट ३ लाख ऋण लिए । त्यसैको गोठ बनाए र केही पैसा गाई किन्नमा लगानी गरे । हाल उनको गोठमा ७ वटा गाई र भैसी छन् । उनले दिनको २० लिटर दूध उत्पादन गर्छन् । त्यसबाट उनले मासिक ३० हजार आम्दानी गर्छन् । अहिले खुसी हुनुहुन्छ त भन्ने ऐक्यबद्धताको प्रश्नमा उनी भन्छन्, ‘धेरै खुसी छु, हामीजस्ता मजदुरले खाडीमा बसेर पनि ३०–३५ हजार नै कमाउने हो । तर, त्यहाँ एक्लो भइन्छ । यहाँ आफ्नो देश, आफ्नो भूमि अनि आफ्नो परिवारसँग बसेर खुसीले काम गर्न पाइन्छ’ टोपबहादुर भन्छन्, ‘अब लाइफमै विदेश जाँदिन् ।’ त्यहाँजत्तिकै लगनशील भएर ६ घण्टामात्र खटेपनि यहि नै धेरै गर्नसकिने टोप बहादुरको भनाई छ ।

    टोपबहादुरलाई उनकी श्रीमती लक्ष्मी विकले पनि सघाउँछिन् । टोपबहादुर बिहानै मोटरसाइकलमा दूध राखेर ब्रमनगर भवानी दूध डेरीमा लैजान्छन् । त्यहाँ फ्याट अनुसार दूधको मूल्य तोकिन्छ । श्रीमान जेलबाट छुटेर घर फर्केपछिको खुसी व्यक्त गर्दै लक्ष्मी भन्छिन्, ‘उहाँ जेल परेको खबरले कति पीडा दियो भन्ने व्यक्त गर्नै सकिन्न । अहिले सँगै बस्न पाउँदा खुसी छु । अब यहि केही गर्छु भन्नुभएको छ ।’ लक्ष्मीले भनिन् ।

    टोपबहादुरका एक मात्र छोरा सुमन सुनार पनि उच्च शिक्षाका लागि जापान पुगेका छन् । ‘म जेल परेपछि पीडामा परेको बेला उ प्लस टु सकेर मावलीको सहयोगमा जापान पुगेछ । आफू गएको ऋण तिरेर अहिले पढाइ अगाडि बढाएको छ ।’ छोराको कुरा सुनाउँदै खुसी बाँडे, टोप बहादुरले ।

    सरकारसँग टोपबहादुरको आग्रह
    मेहनत गरे जहाँ पनि हुन्छ भनेर आफ्नै देशमा केही गर्न लागिपरेकाहरूको मनोबल उच्च बनाउन स्थानीय सरकार लागिपरोस्, देशमा रोजगारीको अवस्था नभएर विदेश जाँदा यसरी अनाहकमा युवाले पीडा खेप्न नपरोस् भनेर सरकारले रोजगारीको दिगो व्यवस्था गरोस् । साथै विदेशबाट फर्केका कामदारले पाउने भनेको सरल र सहज ऋणको व्यवस्था कार्यान्वयनका लागि सरकारले तत्काल तदारुकता देखाओस् ।

    प्रस्तुति : चन्दा थापा (चन्द्रिका)

    ३४१ पटक
    प्रतिकृया दिनुहोस्