BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    आँखाभरी आँशु बनाउँदै थापाले भने ‘यो बाटो कसले बनायो ?’

    संसार न्यूज संवाददातामाघ १०, २०७५


    दाङका इन्जिनियर कृतिबहादुर थापाले युगाण्डामा नेपाल र नेपालीको नाम उँचो बनाएका छन् । भारत, बहराइन, इथोपिया तथा कतारमा काम गरिसकेका इन्जिनियर थापाको नेतृत्वमा युगाण्डाको राजधानी कम्पला र एन्टवे सहर जोड्ने झण्डै ५१.४ किलोमिटर बाटो बनेको छ । उक्त बाटोको लागत ४७६ मिलियन अमेरिकी डलर रहेको छ भने सो रकम एक्जिम बैंक अफ चाइनाले युगाण्डा सरकारलाई ऋण सहयोग गरेको हो । यो योजना ५ वर्षको रहेको र अब निर्माण कार्यको अन्तिम चरणमा रहेको थापा बताउँछन् ।

    देशले समिृद्धि मागिरहेको र विकास निर्माणका काममा विदेशी विज्ञको नेतृत्व तथा कामदारको सहभागीता रहिरहेको बेला देशले उत्पादन गरेका विज्ञहरू भने विदेशको विकास निर्माणमा व्यस्त हुनुपर्ने बाध्यता नेपाल र नेपालीको लागि विडम्बना नै मान्नु पर्दछ ।

    विदेश जानुअघि सडक विभागमा समेत काम गरिसकेका थापा भन्छन्, ‘देशले हाम्रो विज्ञता चिन्ने कहिले होला ?’ हालै सम्पन्न एनआरएनए अफ्रिकाको क्षेत्रीय सम्मेलनमा आफ्नो प्रस्तुती दिएका थापाले आफूले बनाएको बाटोको भिडियो देखाउँदै आँखाभरी आँसु बनाउँदै भनेका थिए, ‘यो बाटो कसले बनायो ? नेपालीको छोराले !’

    थापाको इन्जिनीयरिङ्गमा युगाण्डामा बनेको सडक ।

    बिभिन्ना बाध्यताले आफ्नो विज्ञता विदेशमा लगानी गरिरहेका नेपाली विज्ञहरूलाई नेपाल सरकारले देश फर्कने वातावरणको निर्माण गरिदिएर देश निर्माणको महत्वपूर्ण दायित्व सुम्पियोस्, आफ्नी आमालाई कसरी सिर्गान सकिन्छ भन्ने मनमा लिएर उनीहरूले तन, मन, धन र सीप देशमै लगानी गर्ने सक्नेछन् । यो वातावरण सरकारले निर्माण गरोस् भन्ने उनको भनाई छ ।

    हाल थापाको कम्पनीले चाइना, इथोपिया र युगाण्डामा काम गरिरहेको छ । विदेशीनु समयको माग रहेकोले यसमा कसैलाई पनि दोष दिन नमिल्ने थापा बताउँछन् । तर, सरकारले राम्रो तथा दबाबरहित वातावरण बनाइदिएमा विदेशमा रहेका इन्जिनियर लगायत धेरै विज्ञ जनशक्ति देश निर्माणका लागि स्वदेश फर्कनेमा थापा ढुक्क छन् । ‘नेपाली विश्वको जुन कुनामा भएपनि हाम्रो मन नेपालमै भइरहन्छ,’ थापा भन्छन्, ‘आफ्नै देशमा काम गर्न पाए सबै नेपाली खुसीसाथ देश फर्कनेछन् ।’


    युगाण्डामा काम गर्ने शैली अन्तर्राष्ट्रिय रहेको बताउने थापाले नेपालको काम गर्ने तरिका अप्ठ्यारो रहेको आफ्नो अनुभव सुनाउँछन् । ‘अरु यहाँको पनि कृषिप्रधान देश नै हो, यहाँका ८० प्रतिशत जनता कृषि उत्पादनमा लागेका छन् । नेपालमा पनि त्यहि नै हो’ युगाण्डाका बारेमा थापा भन्छन्, ‘तर वातावरण नेपालको भन्दा यहाँको स्वस्थ्य छ, यहाँको तापक्रम बढीमा २७ र कममा १४ सम्म हुन्छ । यहाँ ३ वटा वर्षाकाल हुन्छ ।’ थापाका अनुसार युगाण्डामा कृषि र पर्यटनको क्षेत्रमा रोजगारीको राम्रो अवसर रहेको छ ।

    प्रस्तुति : चन्दा थापा (चन्द्रिका)

    हेर्नुहोस् उनले युगाण्डामा बनाएको इन्टवे कम्पला शहर जोड्ने बाटो :

    ४७५ पटक
    प्रतिकृया दिनुहोस्