BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    आजका पुष्पकमल !

    खगेन्द्र संग्रौलामाघ १३, २०७५

    गजप छ बा ! पुष्पकमल आफ्नो इतिहासलाई कुल्चिँदै, आफ्नो एजेण्डालाई थुक्दै, आफ्नो प्रतिबद्धताको तेजोबध गर्दै जहाँ गएका छन्, त्यहाँ उनी असल मानिन्छन् । किन ?

    वृक्ष असल हो, वृक्षमा लाग्ने ऐजेरु खत्तम । आत्मजीवी वृक्ष  आफ्नो खाना आर्फै बनाउँछ, परजीवी ऐजेरु वृक्षलाई चुसेर जिउँछ । उपकारी वृक्ष अलिकता आफ्नो लागि, अलिकता अरुको लागि जिउँछ, हरिप ऐजेरु केवल आफ्नो लागि र पूरै आफ्नो लागि जिउँछ । त्यो पनि हर्दम् अर्काको जिउमा टाँसिएर, अहोरात्र अर्कालाई चुसेर ।

    कुरा अब पुष्पकमलको । हिजोका पुष्पकमल आज रहेनन्, आजका पुष्पकलम हिजोका होइनन् । हिजो लोक भन्थ्यो— पुष्पकमल फ्याङ्ला हुन् । काँधमा इतिहासको ठूलो जिम्मेवारी छ, तर जिम्मेवारीको गुरुताको पर्बाह नगरी बोल्छन् । नसोची बोल्छन्, बोलेर बिगार्छन्, बिगारेर सपार्न खोज्दैनन् । यदाकदा मैले बिगारेँ भनिटोपल्छन्, र भन्दाभन्दै भनेको बिर्सिन्छन् । बिगारेर कहिल्यै नसच्याउने बिगार सिंह मिस्टर पुष्पकमल ! यो हो पुष्पकमलको हिजोको औतार । पुष्पकमलले रचेको, लोकले देखेको । देख्नेले देखेको भनेको, सुन्नेले देख्नेले भनेको कहिल्यै नमानेको ।

    अनि आजका पुष्पकमल ? यी अर्कै मनुवा हुन् । मूल औतारबाट कायाकल्प भएका । स्खलित अर्थात् जीवनको उदात्त उचाईबाट तल निकृष्ट रसातलमा गिरेका । प्रतीकात्मक अर्थमा भनूँ भने निहित स्वार्थको खुँखार परचक्र्रीका पाउबाट पैदा भएका । यी पुष्पकमल बोल्दैनन् । बालकृष्ण समको भाषामा बोलिहाले तौलीतौली बोल्छन्, मनको ढोका खोल्दैनन् । छनलाई बोल्ने यिनको पुरानो अम्मल छ । बोल्न जिब्रो चिलाउँछ । घरिघरि बोलूँबोलूँ लाग्छ । बरा पुष्पकमलका ओेठ खुल्न के खोज्छन्, उनका आँखा ख्वामित् ओलीमाथि परिहाल्छन् । अनि डर लाग्छ । के को डर ? पदका लागि कृपा नपाइएला कि ? रहलपहल स्वाँगे प्रतिष्ठा खुइलिएला
    कि ? धनदौलत बटुल्ने मेसो टुट्ला कि ? ठाँठबाँट, ऐसआराम, मोजमज्जा आदिको मुहान सुक्ला कि ? कतै भौतिक अस्तित्व नै पो खतरामा पर्ला कि ? बस्, आदि इत्यादिको डर । बिचरा निरन्तर नानाओली डरहरूको लखेटाइबाट हैरान छन् श्री पुष्पकमल ।

    हिजोका कमसल पुष्पकमल ज्याती बकबक गर्थे । तथापि ढङ्ग नपुगे पनि त्यो बकबकमा लोकको अमनचैनको चिन्ता बोल्थ्यो । त्यो पटरपटरमा समयको धड्कन झल्किन्थ्यो । र, त्यो टाइँफाइँकर्ता जानी नजानी इतिहासका पदचाप सुनिरहेको हुन्थ्यो । ती पुष्पकमल धोरथोर जीवन्त थिए । बेढङ्गे थिए, तथापि ती जनताका साथी थिए, शुभचिन्तक थिए, न्यायको संग्राममा सहयोद्धा थिए । अनि आजका असल पुष्पकमल ? यिनको तालै बेग्लै, सुरै बेग्लै । निर्मला हत्याकाण्ड घटित हुन्छ । आजका पुष्पकमलभित्र कताकता हिजोका पुष्पकमलको शेष धुकधुकी सल्बलाउँछ । उनलाई अन्यायविरुद्ध बोल्न खसखस लाग्छ । तर सम्झनामा झल्याँस्स ओली सर आउँछन् । पुष्पकमल देख्छन्— ओली सर निर्मला हत्याका जिउँदा प्रमाणलाई लुकाउन आतुर छन् । पुष्पकमल भयभीत हुन्छन् । र, बोल्न तम्सिएको जिब्रोलाई चिम्टीले च्याप्प अँठ्याउँछन् । किन ? जहाँ श्रीराम बोल्छन्, त्यहाँ नाथे हनुमान बोल्दैन । बोल्न मिल्दैन । अदपले दिँदैन । स्वार्थले बक् बन्द गर्छ ।

    मन्त्री र सांसद मध्ये दिनको सूर्यसामु भष्टाचार गर्छन् । पुष्पकमल बोल्दैनन् । किन ? किनभने ओली सरले यिनको भष्टाचारको प्रतिरक्षा गरिसकेका हुन्छन् । राजा बन्न रहर गर्ने राष्ट्रपतिको खर्चालु बिलासले सगरमाथाको शिखर छुन खोज्छ । पुष्पकमल बोल्दैनन् । किन ? किनभने कार्यकारी ओलीका नाकमा राष्ट्रपतिको विलासमोहबाट बास्ना आउँछ । रेल, तेल र पानीजहाजका बतासे किस्सा सुनेर यथार्थवादी लोक अट्टहास गर्छ । पुष्पकमल बोल्दैनन् । किन ? किनभने यी बतासे किस्साहरू कार्यकारी ओलीका मौलिक सिर्जना हुन् । क्रान्तिको रगतपच्छे गर्भबाट जन्मेका नवजात प्रदेशहरू अख्तियार र श्रोतसाधन नपाएर धुरुधुरु रुन्छन् । पुष्पकमल बोल्दैनन् । किन ? स्वयम् ओली प्रभु सिंहदरबारमा सारा अख्तियार र श्रोतसाधन मुठ्याएर बसेका देखिन्छन् । आन्तरिक जनवादको गलो निमोठिँदा पार्टी प्याकप्याक हुन्छ । पुष्पकमल बोल्दैनन् । किन ? अँठ्याउने हात ओली महोदयका हुन्छन् । बजार भाउले आकाश छुन्छ र गरिब जनगण अर्ध–भोको रहन अभिशप्त हुन्छ । पुष्पकमल बोल्दैनन् ।
    किन ? सुखसुबिधाको चाङमाथि उभिएका ओली ब्रोको तथ्याङ्कमा बजार भाउ घटेको घटेई हुन्छ । आखिर श्री ओलीसामु पुष्पकमल किन यतिबिधि मौन ? किन यतिबिधि थुरथुर ? किन यतिबिधि निस्तेज ? किन यतिबिधि मृतवत् ? किनभने ओली सर दिने उच्च आसनमा छन्, पुष्पकमल तल माग्ने धूलोमा छन् । किनभने ओली रैथाने हुन्, पुष्पकमल आयातीत । ओली मालिक हुन्, पुष्पकमल ओलीमाथि आश्रित । ओली दम्भी कृपादाता, पुष्पकमल आत्महीन याचक ।

    गजप छ बा ! पुष्पकमल आफ्नो इतिहासलाई कुल्चिँदै, आफ्नो एजेण्डालाई थुक्दै, आफ्नो प्रतिबद्धताको तेजोबध गर्दै जहाँ गएका छन्, त्यहाँ उनी असल मानिन्छन् । किन ? किनभने जहाँ यथास्थितिको पूजा हुन्छ, त्यहाँ पूजक असल मानिन्छ । जहाँ सनातनी रुढिको जयगान हुन्छ, त्यहाँ गायक असल मानिन्छ । जहाँ इतिहासको आँधीबेरीबाट उठेका रक्तरञ्जित मुद्दाहरूको बध गर्न हर्दम् यत्न गरिन्छ, त्यहाँ बधकारी नवागन्तुक असल मानिन्छ । बस्, आजका पुष्पकमल असल, हिजोका पुष्पकमल कमसल । कसका दृष्टिमा ? तिनका दृष्टिमा, जो शोषक सत्तामा हिजो ढलिमली गरिरहेका थिए । र, तिनका दृष्टिमा जो उही शोषक सत्तामा आज पनि ढलिमली गरिरहेकै छन् ।

    आजका असल पुष्पकमलको चित्तमा आक्कल–झुक्कल हिजोका कमसल पुष्ककमलको शेषांश बोल्न खोज्छ । कन्दै भन्न खोज्छ त्यो— पुकदा सर, खै त्यो हाम्रो समानताको प्रिय मु्द्दा ? खै त्यो हाम्रो पहिचानको दमित आकांक्षा ? खै त्यो हाम्रो बराबरीको मान्यता धर्मनिरपेक्षता ? खै त्यो हाम्रो सर्वसमावेशिताको सपना ? खै त्यो हाम्रो न्यायोचित प्रतिनिधित्वको चाहना ? र, खै त्यो हाम्रो आरक्षणको कामना ? असल पुष्पकमललाई कसोकसो हल्का जङ चल्छ । र, उनी ड्याङ्ग केही भन्न खोज्छन् । तर उनी हठात् झस्किन्छन् । काम्दै यसो हेर्छन्— श्रीरामतुल्य मान्यवर खड्गप्रसाद ओली समीपमा छन् । यी जे जे मुद्दा हुन्, यी सबै तिनका बैरी हुन् । अब भन्नोस्त ब्रो, श्रीरामलाई जे जे मन पर्दैन, मातहती हनुमानलाई त्यो त्योको पैरबी गर्न कसरी मिल्छ ? बरा लोकका याबत् सपनालाई लत्याउँदै आप्mनै तुच्छ स्वार्थको झुत्रे झोला बोकेर श्रीरामसामु भिख माग्न अभिशप्त हनुमानका यी नानाओली दुःख !

    १५७ पटक
    प्रतिकृया दिनुहोस्