BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    आजको कसरत : सत्य र सत्ता !

    नारायण शर्मा,दाङमाघ २६, २०७५

    सत्य र सत्ता विपरीत जस्ता !
    द्वन्द्वात्मक सम्बन्ध, परिपूरक नाता !
    सत्य नभई सत्ता हुन्न !
    सत्ताबिना सत्य स्थापित हुन्न !
    तथापि
    सत्य सुन्दर छ, सत्ता कुरुप छ !
    सत्य कल्याणकारी छ, सत्ता संहारकारी छ !
    सत्य अजेय छ, सत्ता पराजेय छ !
    सत्य स्वच्छ छ, सत्ता प्रदूषित छ !
    सत्य अविनासी छ, सत्ता नासवान् छ !
    सत्य असीम छ , सत्ता ससीम छ !
    सत्य स्थायी-कालजयी छ, सत्ता अस्थायी-क्षणभङ्गुर छ !
    सत्य प्राकृतिक/मौलिक छ, सत्ता अप्राकृतिक/कृत्रिम छ !
    सत्य यथार्थ हो र सजीव हुन्छ, सत्ता भ्रम हो र निर्जीव हुन्छ !
    सत्य प्रकाश हो, पारदर्शी र निर्मल हुन्छ,
    सत्ता अन्धकार हो, अपारदर्शी र कलुषित हुन्छ !
    सत्य निस्वार्थ हुन्छ र सत्सङ्गकारी पनि हुन्छ !
    सत्ता सस्वार्थ हुन्छ र षड्यन्त्रकारी पनि हुन्छ !
    सत्य जनसम्मत र सर्वसम्मत हुन्छ !
    सत्ता राजसम्मत र वर्गसम्मत हुन्छ !
    सत्य सूक्ति-नीति र नैतिकतासङ्गत चल्छ !
    सत्ता भुक्ती-भूती र नियतसङ्गत चल्छ !
    सत्य स्वाधीन हुन्छ तर सत्ता पराधीन हुन्छ !
    सत्य स्वाभिमानी हुन्छ, तर सत्ता अभिमानी हुन्छ !
    सत्य त्यागवादी हुन्छ र अन्तत: सुखदायी हुन्छ !
    तर सत्ता भोगवादी हुन्छ र अन्ततः दुखदायी हुन्छ !
    सत्य उर्धोन्मुखी र अन्तर्मुखी हुन्छ भने
    सत्ता उँधोन्मुखी र बहिर्मुखी हुन्छ !
    सत्यको रुप निर्मम र स्वाद तीतो हुन्छ तर
    सार र परिणाम स्वादिष्ट र स्वस्थ हुन्छ !
    सत्ताको रुप चित्ताकर्षक हुन्छ तर
    सार र परिणाम हानीकारक हुन्छ !
    सत्य संस्कार-संस्कृतिजन्य हुन्छ तर
    सत्ता विकार र विकृतिजन्य हुन्छ !
    सत्य अनन्त छ, सार्वजनीन छ,
    सार्वकालीन छ र निरपेक्ष नै हुन्छ !
    तर सत्ता भने
    सअन्त छ, अल्पजनीन छ,
    अल्पकालीन र सापेक्ष नै हुन्छ !
    त्यसैले त भनिन्छ :
    सत्य शाश्वत हुन्छ, निर्विवादित हुन्छ
    र अलङघ्य अनि अखण्ड हुन्छ !
    तर सत्ता भने लोपोन्मुख हुन्छ, विवादित हुन्छ
    र उल्लङघ्य अनि विभाजित हुन्छ !
    फेरि पनि
    एक दुईमा विभाजन भएझैं
    अथवा भनौं
    सार र रुपमा अन्तर्सम्बन्ध भएझैं
    सत्य मुख्य हो भने सत्ता सहायक अवश्य हो !
    सत्य संपूर्ण हो भने सत्ता अंश त पक्कै पनि हो !
    सत्य गन्तव्य हो भने सत्ता मार्ग अवश्य हो !
    सत्य साध्य नै हो भने सत्ता साधन अवश्य नै हो !!
    आवश्यकता यत्ती हो कि
    सत्मार्गमा सत्ता चल्नुपर्छ
    र मात्र गन्तब्यमा पुग्न सकिन्छ !
    साध्य साम्य हुनै पर्छ र मात्र सत्ता सत्य बन्छ !!

    २१२ पटक
    प्रतिकृया दिनुहोस्