BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    बाबुरामको ‘कृषि उद्यम’ : संग्रहणिय दस्तावेज

    निलकण्ठ तिवारी माघ २७, २०७५

    ‘कृषि नपढेको मुन्छेले लेख्ने पुस्तकको हैसियत कस्तो होला ?’ एकजना सरकारी अधिकारीको ठाडो जवाफ पाएका वावुरामले अन्तरीक्षबाटै पृथ्वीलाई हेर्नुपर्दछ भनेर यो किताव लेखेको बताएका छन् । साँच्चिकै भन्दा कितावको समग्र पाटो उनैले जीकिर गरेजस्तो छ ।

    कृषिजन्य बस्तुमा मात्रै खरब बढिको ब्यापारघाटा देशले ब्यहोरेको र झण्डै दुई तिहाइ मत पाएर वामपन्थीहरुले सरकार चलाएको बेला उनको यो पुस्तक बजारमा आएको छ । यो पुस्तक, समाजवाद र सरकारको सम्बन्ध यस अर्थमा छ कि समाजवादको मुख्य आधार स्वाधीन पूँजीको न्यायीक वितरण हो । पूँजी मध्ये पनि ‘स्वाधीन’ हुन सक्योे र वितरण न्यायिक हुन सक्यो भने समाजवाद अर्थयुक्त हुन्छ । स्वाधीन पूँजीको सिधा सम्बन्ध आत्मनिर्भर अर्थतन्त्रसँग जोडिएको हुन्छ । आत्मनिर्भरताका लागि उत्पादन जरुरी छ ।

    उत्पादन त्यो पनि व्यवसायिक प्रकारको उत्पादनले मात्र हाम्रो जस्तो देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । उत्पादन वा व्यवसायिक उत्पादनका लागि उत्पादनमैत्री वातवरणको जरुरी त छ नै, त्यसबाहेक उत्पादनको सोँच, योजना निर्माण, व्यवस्थापन र प्रतिफल हाँसिलका श्रृखंला उत्तिकै महत्वका छन् । अझ गहिराइमा भन्ने हो भने सपना, सोँच,इच्छा र कामनाले आफै परिणाम दिदैंनन् र किताव आफै साध्य पनि होइन । तर, यो पुस्तकमा समृद्दिको मूल आधार कृषि उद्यम नै हो भन्ने मनसुवाका साथ कृषि उद्यमलाई सफल बनाउन सकिने आधार तथा उपायहरु प्रस्तुत गरिएको छ । यसअर्थमा यो किताब केवल नाम र किताबका लागी होइन,माटो निष्ठा र देशप्रतिको कर्तब्य सहित गरीखान खोज्नेका लागी असाध्यै महत्वपुर्ण दस्तावेज पनि हो ।


    पुस्तकको खण्ड १ को कृषि उद्यम सुरु गर्नु अगाडि शीर्षकमा पोखराकी गोमा ढकालले ‘योजना बनाएको भए १५ रोपनी फर्म व्यवस्थापन गर्न १ करोडले पुग्दो रहेछ, योजना नबनाएर काम गर्दा डेढ गुणा रकम बढि खर्च भयो’ भनेको विषयलाई महत्व दिदैं ‘एलोबेरा’ र ‘स्टेभिया’ को अनावस्यक हल्ला तथा रुद्र गिरी प्रवृत्तिले किसानलाई परेको मर्का समेत चित्रण गरिएको छ । कृषि उद्यमी हुन आवस्यक सोँच, मानसिकता, तत्परता र योजना चाहिन्छ भन्दै ढकालले यसमा ‘विजनेश आइडिया’ समेत पस्कने जमर्को गरेका छन् । कृषि सम्बन्धी मदन भण्डारीको दृष्टिकोण समेत राखेका उनले कृषि उद्यमको मोडेल, लागत विश्लेषण र उत्पादिन वस्तुको मूल्य तोक्ने तरीका समेत कितावमा पारेका छन् ।

    पुस्तकको खण्ड २ मा उनले कृषि उद्यममा हुने ठगी र त्यसबाट बच्ने उपाय बताउँदै ठगिन सक्ने काम र संभावना समेत उजागर गरेका छन् भने खण्ड ३ को कृषि उद्यममा श्रोत व्यवस्थापन अन्तर्गत किसानको पैसा कहाँ के मा खर्च हुन्छ ? वीउ, मल, सिँचाइ र विषादी व्यवस्थापन सँगै नविकरणीय उर्जा र प्रविधिको प्रयोग, बजारीकरण र जोखिम व्यवस्थापन समेत लेखेका छन् ।

    के कृषि उद्यमबाट धनी हुन सकिन्छ भन्ने ? खण्ड ४ अन्तर्गत धनी हुन सकिने जिकिर पेस गरेका छन भने कृषिमा महिलाको लागि अवसर र चुनौती, कृषि उद्यममा साझेदारी व्यवसाय,उन्नती परियोजना र कृषि क्षेत्रको समुन्नती समावेश गरेका छन् । पुस्तकको खण्ड ५ मा शहरी खेती अन्तर्गत वेवास्ता गरिएका रैथाने बालिहरुको विवरण दिएका छन भने खण्ड ६ मा खेतीपाती शिर्षक अन्तर्गत नेपालमा गरिने खेतीहरु, व्यवसायीक तरकारी खेती, तरकारी उत्पादनमा ख्याल गर्नुपर्ने विषय, तरकारीको बीउ उत्पादन, ठूला होटलमा विदेशी कृषि उपज, तरकारी बालीमा खाद्य तत्व व्यवस्थापन, वेमौसमी तरकारी खेती र प्लाष्टिक घर निर्माण, तरकारी वालीमा लाग्ने धेरै किराहरु, तरकारी विक्रि नभए के गर्ने ? च्याउखेती, मौरी पालन, फलफूल खेती, कफि, चिया लगायतको उत्पादन विधि सिकाइएको छ ।

    पुस्तकको खण्ड ७ को पशुपंक्षीपालन अन्तर्गत व्यवसायीक गाइ भैसी पालन, पशु पोषण तथा आहारा व्यवस्थापन, माछापालन, नेपालमा कृषि शिक्षा र यसका चुनौती, कुन ठाउँमा कस्तो उद्यम गर्ने ? विषय समावेश छन भने सम्भावना शीर्षकको खण्ड ८ मा कृषि उद्यममा देखिएका सकरात्मक संकेतहरु र कृषि उद्यमीलाई चाहिने सम्पर्क नम्बरहरु उल्लेख गरीएका छन् ।

    हिपात कृषि साप्ताहिकद्धारा प्रकाशित ३०६ पृष्ठको ‘कृषि उद्यम’ लेखकले भनेजस्तै कृषि र पशुपन्छी उद्यममा देखिएका समस्या समाधानको प्रयास त हुँदै हो त्यसबाहेक यो नेपालको कृषि क्रान्तिका लागि मन–बचन र कर्मले समर्पित नयाँ पाइला पनि हो । निश्चय पनि कृषि क्रान्तिका कुरा दस्तावेजमा लेखेर मात्रै हुँदो रहेनछ भने जस्तै समाजवाद पनि पशुपतिनाथको कृपाले नआउने पक्का छ । यो पुस्तक यतिबेला भावना, विधि र व्यवहारको मिलन गराउने नयाँ जर्मको सहित आएको छ ।

    लामो समयदेखि भ्रष्टाचारविरुद्ध कलम चलाएका र कृषि पत्रकारितामा जोड दिदैं आएका लेखक बाबुराम ढकालको यो पुस्तक कमजोरीरहित भने छैन । भावनामा प्रष्फुटित कतिपय कुराहरु परीपक्व छन भन्न सकिदैँन भने पूस्तकका खण्डहरु र खण्डमा भएका उपशीर्षकको सिलसिला मिलेको छैन । यि प्राविधिक र सामान्य कमजोरी रहेपनि उनले लेखेको पुस्तकको वजन कसैसँग तुलना गर्न सकिदैंन । उत्पादन, आत्मनिर्भरता, स्वाधीनता र समृद्धिमार्फत् समाजवादको सपना देखेका माटो र कृषि प्रेमीलाई उनले संग्रहणीय दस्तावेज ल्याएर ठूलै गुण लगाएका छन् भन्न सकिन्छ ।

    ४९६ पटक
    प्रतिकृया दिनुहोस्