BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    विश्वभर फैलिँदै भेनेजुएला सङ्कटको तरङ्ग

    जीवन भण्डारीफागुन ४, २०७५

    जीवन भण्डारी, काठमाण्डौ । विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ । भेनेजुएलाका लागि त्यहाँको प्राकृतिक स्रोत साधन र राजनीतिक प्रणाली नै मुख्य अभिशाप भएको छ । कतिपय विश्लेषकहरु यतिखेरको भेनेजुएला सङ्कट यसै कारणले सिर्जना हुन पुगेको बताउने गर्छन् ।

    बाहिरी बाहना राजनीतिक कारण देखाएपनि त्यहाँको स्रोत साधनको उपयोगको चाहले अहिले मुख्य शक्तिराष्ट्रहरु ध्रुवीकृत हुन पुगेका बताइन्छ । उनै शक्तिराष्ट्रहरुको प्रभावमा परेर अन्य देशहरु पनि पक्ष र विपक्षमा उभिएका छन् । भेनेजुएलाको पेट्रोलियम पदार्थमाथी कब्जा गर्ने नियतले भेनेजुएलाप्रति सवैभन्दा बढी अमेरिकाले आँखा गाडेको छ भने उसलाई निषेध गर्न चीन र रुस उभिएका छन् ।

    चीन र रुससँग बैचारिक निकटता भएका शासकहरुले देशमा लगानीका लागि अमेरिकालाई निषेध गर्दै चीन र रुसलाई अगाडी बढाएपछि अमेरिका रुष्ट भएको छ । त्यही रिस पोख्न अमेरिकाले त्यहाँको विपक्षी नेताहरुलाई निर्वाचन बहिष्कारदेखि अन्तरिम राष्ट्रपतिको स्वघोषणा गर्न लगाउनेसम्म गराएको धेरैको आरोप छ । अमेरिकाले लोकतान्त्रिक व्यवस्था नभएको आरोप लगाउने गरेको भेनेजुएलामा विश्वचर्चित समाजवादी नेता ह्युगो चाभेजको उदयसँगै बाह्य हस्तक्षेप बढेको देखिन्छ ।

    सैनिक पृष्ठभूमिका पूर्वराष्ट्रपति ह्युगो चाभेजले सन् १९९२ मा सत्ता हत्याउन प्रयास गरे पनि त्यो सफल हुन सकेन र उनी दुई वर्ष जेलमा कोचिए । त्यसपछि सन् १९९८ मा नयाँ समाजवादी संविधानको बाचासहित उनी राष्ट्रपतिमा निर्वाचित भए । चाभेज सत्तारोहण गर्दै गर्दा भेनेजुएला अहिलेकै जस्तो समस्याबाट ग्रसित थियो । भेनेजुएलाका सडक आन्दोलनकारीले भरिन्थे । आफ्नो कार्यकालमा उनले भेनेजुएलाको संविधान, भूमिसुधार, रोजगारी, गरिबी निवारण, छात्रवृत्तिको व्यवस्थालगायत धेरै क्षेत्रमा सुधारको थालनी गरे ।

    आफ्नो देशका प्राकृतिक श्रोतसाधनलाई अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुबाट हटाएर उनले राष्ट्रियकरण गरे भने जनताका आधारभूत आवश्यकताको दायित्व राज्यले लिने व्यवस्था गरे । आफ्नो देशका कम्पनीलाई हटाएकाले उनको १४ वर्षे कार्यकालमा अमेरिकाले आर्थिक र राजनीतिक हस्तक्षेप गरिरह्यो । उनलाई अमेरिकी इसारामा गिरफ्तार गरिएको मानिने करिब ४७ घन्टे घटनाका बारेमा बनेको डकुमेन्ट्री अहिले पनि विश्वचर्चित छ । उनलाई गिरफ्तार गरेर सत्ताच्युत गराउने प्रयास चर्को जनदवावपछि असफल भएको थियो । अनेक अवरोध र हस्तक्षेपका बाबजुद शासनमा सक्रिय रहेकै बेला ५८ बर्षको उमेरमा क्यान्सरका कारण सन् २०१३ मा चाभेजको निधन भयो । त्यसपछि निकोलास मदुरोले उनकै उत्तराधिकारीको रूपमा भेनेजुएलाको नेतृत्व गरिरहेका छन् ।

    दयनीय दैनिकी
    चाभेजकै उत्तराधिकारीको रुपमा मदुरोले सत्ता सम्हालेपछि पनि अन्तर्राष्ट्रिय समुदायको व्यवहार भने भेनेजुएलाप्रति अहिले पनि उस्तै नै छ । शक्तिराष्ट्रहरुको हानथापका कारण बाह्य लगानी र व्यापारमा समस्या भएपछि भेनेजुएला लामो समयदेखि आर्थिक संकटमा छ । यतिसम्मकी त्यहाँका महिलाहरू आफ्ना आवश्यकता पूरा गर्नका लागि आफ्नो लामो कपाल समेत बेच्न बाध्य हुने गरेको चर्चा छ ।

    खाद्यपदार्थ लगायतका अत्यावश्यक वस्तुदेखि औषधिसम्मको अभाव भएकाले भोक र रोगले मृत्युवरण गर्नेहरुको संख्या बढ्दो छ । संकट बढ्दै गएपछि लाखौँ नागरिक विस्थापित भएका छन् । गत वर्ष मात्रै मदुरोले देशको मुद्रा परिवर्तन गरेपछि महँगी अझ बढेको छ । सन् २०१५ मा कूल गार्हस्थ उत्पादन ६ प्रतिशतले घटेकोमा २०१६ मा १६ प्रतिशतले र २०१७ तथा २०१८ मा १४ प्रतिशतले घटेको विश्व वैंकले देखाएको छ ।

    चौतर्फी संकट बढेपछि राष्ट्रपति मदुरोले रुस र चीनसँग ऋणका लागि याचना गरेका छन् । भेनेजुएलाको अहिलेको आर्थिक संकटलाई विपक्षीहरुले राजनीतिक कारणले उत्पन्न भएको दाबी गर्छन् भने मदुरोका समर्थकहरुले यसलाई अस्विकार गरेका छन् । मदुरो नेतृत्वको सरकार नै यो संकटको कारक भएको ठान्नेहरु सरकार विरोधी आन्दोलनमा छन् भने उनीहरूलाई अमेरिकाले परिचालन गरेको दाबी गर्दै सरकार भने दवाउने प्रयासमा छ । जसका कारण जनताले राजनीतिक र आर्थिक दुवै संकट भोगिरहनु परेको छ । आर्थिक कारणले सृजित रोग र भोकले मृत्यु हुनेहरुको एकिन तथ्यांक आउन सकेको छैन भने पछिल्लो राजनीतिक संघर्षका क्रममा कम्तीमा दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको विवरणहरु सार्वजनिक भएका छन् ।

    राजनीतिक ध्रुवीकरण
    विपक्षीहरुले बहिस्कार गरेको केही महिना अगाडि भएको निर्वाचनबाट मदुरो दोस्रो कार्यकालका लागि निर्वाचित भएको भन्दै पदबहाली गरेपछि राजनीतिक संघर्ष बढेको हो । विपक्षीहरुले आफूहरुले बहिस्कार गरेको निर्वाचन अवैध रहेको र अवैध निर्वाचनबाट निर्वाचित भनिएका मदुरो बैध हुन नसक्ने भन्दै मदुरोलाई राष्ट्रपति मान्न तयार भएका छैनन् । राष्ट्रपति नभएको अवस्थामा राष्ट्रिय सभाका अध्यक्षले कार्यबाहक राष्ट्रपति बन्ने भेनेजुएलाको संवैधानिक व्यवस्था छ । त्यही व्यवस्थालाई टेकेर राष्ट्रिय सभाका अध्यक्ष ३५ वर्षीय हुवाँ गुएइदोले केही दिनअघि आफूलाई अन्तरिम तथा कार्यबहाक राष्ट्रपति घोषणा गरेका थिए ।

    उनको घोषणाले राजनीतिक संघर्षलाई थप चर्काएको छ । गुएइदोको घोषणालाई अमेरिका, बेलायत, फ्रान्स, ब्राजिल, क्यानडा, अर्जेन्टिना, अष्ट्रेलिया, कोलम्बियासहित दर्जनबढी देश र युरोपेली संघका देशहरुले समर्थन गरेका छन् । तर रुस, चीन, मेक्सिको, क्युबा, बोलिभिया, इरानलगायतका देशले भने गुएइदोको घोषणालाई अवैधानिक भएको दाबी गर्दै मदुरोलाई नै आधिकारीक राष्ट्रपति मानेका छन् । भेनेजुएलाको सरकारी सेना, सर्वोच्च अदालतलगायतका मुलुक भित्रका अधिकांश आधिकारीक संस्थाहरुले पनि ५६ वर्षीय मदुरोकै पक्ष लिएका छन् ।

    गलत नीति नै द्धन्द्धको दाउ
    नेताको नियत ठिक भएपनि नीति खराब भयो भने देश कसरी संकटमा फस्दै जान्छ भन्ने उदाहारणको रुपमा पनि भेनेजुएलाको नीतिलाई लिइन्छ । तत्कालिन राष्ट्रपति चाभेजले तेलको निकासी व्यापारवाट आएको आम्दानीले नै समाजवाद निर्माण गर्ने कोशिस गरेको बताइन्थ्यो । उनले देशको औद्योगिक क्रान्ति, कृषि क्रान्ति आदि मार्फत् अन्य आन्तरिक आर्थिक उपार्जन तर्फ ध्यान दिनुभएन । तेलको आम्दानीमा मात्रै निर्भर अर्थतन्त्रले गर्दा तेलको मूल्य वढ्ने गर्दा सरकारको आय पनि वढ्ने र तेलको मूल्य घट्दा सरकारको आय घट्ने तर ब्ययभार घटाउन नसक्ने हुँदा अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न भयो ।

    एकातिर औद्योगिक र अन्य आर्थिक क्षेत्रमा क्रान्ति गर्न नसक्दा अर्थतन्त्र असन्तुलित हुन थाल्यो भने अर्कातिर सत्ता र पार्टी भित्र भ्रष्टाचार व्यापक रुपमा मौलाउन थाल्यो । चाभेजले राष्ट्रियकरण गरेका व्यवसायहरुमा शासक निकटस्थहरुको रजाई भयो । समाजवाद उन्मुख केही कार्यक्रमहरु लागू गरिएपनि नयाँ तरिकाले सरकार, पार्टी, सत्ताका अरु अंगहरु र सरकारी अर्थतन्त्रमा व्यक्तिगत स्वार्थीहरुको नियन्त्रण बढ्दै गयो । तर ती स्वार्थिहरुलाई परास्त गर्ने क्षमता पार्टी र सरकारको नेतृत्वले देखाउन सकेन । परिणामस्वरुप भेनेजुएलाको अर्थतन्त्र झन भन्दा झन धरासायी वन्दै गयो र जनतामा आक्रोस बढ्यो, त्यही आक्रोसलाई उपयोग गर्दै बैदेशिक र विपक्षी शक्तिहरुले टाउको उठाउने ठाउँ पाए । अर्थतन्त्र धराशायी हुँदै गएको र जनअसन्तोष चर्केको मौका छोपेर संसदमा बहुमत भएका संसदका अध्यक्ष तथा विपक्षी नेता गुएइदोले आफूलाई राष्ट्रपति घोषणा गर्ने आँट गरेका हुन् ।

    सन् २०१५ मा चुनावबाट बनेको संसदमा कूल १६७ सिट मध्ये विपक्षी गठवन्धनका ११२ र मदुरोको गठवन्धनका ५५ जना सदस्य रहेका छन् । विपक्षी नेता गुएइदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गराएपनि बैधानिक सत्तामा पुग्न भने सजिलो छैन । सत्ता प्रवेशका लागि न्युनतम केही प्रक्रिया पूरा गर्नैपर्छ । उनले आफूलाई राष्ट्रपति घोषणा गराएपछि मुलुक थप अनिश्चितता र द्धन्द्धतर्फ धकेलिएको छ । यस्तो अवस्थामा सरकारले बन्दुकको बल र विपक्षीले विदेशीको बल बढाउदै लैजादा मर्कामा पर्ने आम नागरिक नै हुन् । विश्वमा शक्ति राष्ट्रको इशारामा सत्ता परिवर्तन भएका थुप्रै उदाहरण त छन् तर त्यो दिगो र फलदायी भएको भने कमै छ । त्यसैले देशलाई विदेशी खेल्ने मैदान बनाएर मुलुकमा स्थिरता होइन, अधोगतिको यात्रा सुरु हुन्छ भने नेताहरुको आफ्नै भविश्य र जीवन पनि खतरामा पर्छ । देशको समस्या समाधानका लागि जनतालाई छाना र खाना, रोगीलाई औषधीको तत्काल व्यवस्था गरी देशी तथा विदेशी स्वार्थीको प्रभाव र लोभमा नपरी समझदारीमा जानु नै भलो देखिन्छ ।

    १०३ पटक
    प्रतिकृया दिनुहोस्