BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    कर्णाली पुग्ने पर्यटकको रोजाइमा जैविक खाद्यवस्तु

    विजय रावतफागुन ८, २०७५

    ८ फागुन, जुम्ला । कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्लाको जैविक खाद्यजस्तु पर्न थालेको छ ।

    नेपालगञ्ज, सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगुको रारा घुम्न आउजाउ गर्ने र डोल्पा, जुम्लाहुँदै बाहिर जिल्ला फर्किने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा यहाँको जैविक खाद्यवस्तु पर्न थालेको हो । रारा, से फोक्सुण्डो, त्रिपुरासुन्दरी, कनकासुन्दरी, पाण्डवगुफा, चन्दननाथ भैरवनाथ मन्दिर, बौद्ध स्तुपलगायत कर्णालीमा रहेका पर्यटकीय तथा धार्मिकस्थल अवलोकन भ्रमण गर्ने हजारौँ पर्यटकले यहाँको जैविक खाना रुचाउने गरेका छन् ।

    पर्यटकले यहाँको मार्सी चामल, सिमी, स्याउ, स्याउको चाना र ब्राण्डी, ओखर, फापरको पीठो, कोदोको पीठो, मकै, गहुँ, आलु, गेँडागुडी र अन्य फलफूललगायतका जैविक उत्पादन खाने र घर फर्किदा नासोको रुपमा लैजाने गर्दछन् ।

    चन्दननाथ नगरपालिका–१० खल्लागाउँका रामकृष्ण चौलागाईंले २०६७ सालदेखि आरके स्याउ प्रशोधन तथा फलफूल डिष्ट्रिलरी उद्योग सञ्चालन गरेर फलफूलबाट ब्राण्डी, वाइन, चामजेली, चाना, जुस, साइटर उत्पादन गरेका छन् । सो उद्योगबाट वार्षिक रु तीन करोड बराबरको कारोवार हुने गरेको उनले जानकारी दिए । नेपालका ठूला शहरमा आफ्नो उद्योगबाट उत्पादित वस्तु पुग्ने गरेको उनले बताए ।

    होटल व्यवसायी पदमबहादुर महतका अनुसार होटलमा बस्ने अधिकांश पर्यटकले स्याउको ब्राण्डीसँग खाजा नास्ता खाने गर्दछन् । चितवन महोत्सवको स्टलमा राख्नका लागि रु सात लाख बराबरको यहाँको अर्गानिक खाद्य वस्तु तथा पेय पदार्थ लगिएको उनले बताए ।

    यस्तै चन्दननाथ–६ पुरानो बसपार्कमा रहेको न्यू कोसेली घरका प्रोपाइटर दीपराज रावतले अर्गानिक खाद्यवस्तु पर्यटकलाई पु¥याउन नसकिएको बताए । “मार्सी चामलको माग बढ्दो छ, तर जुम्लामा मार्सी चामलको उत्पादन जोगाउन चुनौती छ”, उनले बताए , “वार्षिकरुपमा मार्सी चामल रु दश लाखको कारोवार हुने गरेको छ ।”

    जिल्ला कृषि विकास कार्यालयका विज्ञ बालकराम देवकोटाकाले हरेक वर्ष जिल्लामा जैविक उत्पादन बेचबिखन गर्ने क्रम बढेको बताए । “प्राङ्गारिक उत्पादनबाट जिल्लामा हरेक वर्ष करोडौँ रकम भित्रिएको छ, अझै यसलाई बढवा दिनुपर्छ”, उनले बताए। जिल्लामा अहिले जैविक वस्तुको लेवलिङ, प्याकेजिङ र सोको महत्वबारे प्रचारप्रसार हुन थालेपछि स्थानीयले पनि जैविक खान्की बेचेर राम्रो कमाइ गर्न थालेकाले पर्यटक तथा व्यापारीका लागि किनमेल गर्न सहज भएको उनले बताए।

    घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्कअनुसार कृषिसँग सम्बन्धित उद्योग ३३६ छन् । त्यसैगरी प्राइभेट फार्म एक हजार ५३३, साझेदारी फार्म १२५, लद्युउद्यम ३२१ र वाणिज्यतर्फ दुई हजार १२९ रहेका छन् । जिल्लामा उत्पादन हुने जैविक वस्तुको जिल्लाभित्र र बाहिरका बजारमा माग बढ्दै गए पनि यसको उत्पादन भने विस्तारै घट्दै गएको छ । जैविक खाद्यान्न, तरकारी तथा फलफूलको माग बढे पनि उत्पादन घटेको विज्ञ देवकोटाले बताए ।

    कृषि ज्ञान केन्द्रका अनुसार खेतीयोग्य जमीनमा अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तन बढ्दै जानु, बालीचक्र फेरिनु तथा पछिल्लो पुस्ताको कृषिप्रतिको मोह घट्नुका कारण प्राङ्गारिक उत्पादन घट्दै गएको हो । जुम्लामा उत्पादन हुने ढटेलो र आरुको तेल, मार्सी चामल तथा महको माग अहिले विश्व बजारमा बढिरहेको छ ।

    ४८ पटक
    प्रतिकृया दिनुहोस्