BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    दूरसञ्चारकर्मीहरुले किन सम्झने, भरतमोहनलाई ?

    संसार न्यूज संवाददाताफागुन २२, २०७५

    २२ फागुन, काठमाडौं । कम्युनिष्ट सरकारले ७० वर्षेलाई गोली हानेर मार्छ भनेर खुब हल्ला चलेको थियो २०५१ सालतिर । त्यतिबेला कम्युनिष्ट पार्टीका रुपमा नेकपा एमाले नै चर्चामा रहेको थियो । तर, २०५१ सालमै संसदमा सबैभन्दा ठूलो दलको रुपमा दर्ज भएको नेकपा एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्यो । मनमोहनकै पालामा अर्थमन्त्री बनेका भरतमोहन अधिकारीले ९ महिने कार्यकालमा सामाजिक हितका लागि महत्वपूर्ण निर्णय गरे । उनले ७० वर्षपछि गोली खाएर मरिन्छ भन्ने डर बोकेर बसेका वृद्धबृद्धाका लागि ‘जेष्ठ नागरिक भत्ता’ ल्याएपछि त कम्युनिष्ट सरकारले मार्ने होइन बचाउने रहेछ भनेर बृद्धबृद्धामा नयाँ आसा संचार गरेको थियो ।
    त्यस्तै भरतमोहनले अन्य क्षेत्रमा पनि धेरै लोकप्रिय निर्णयहरु गरेका छन् । जसमा ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने कार्यक्रम पनि महत्वपूर्ण थियो ।
    यतिबेला भरतमोहन संसारबाट विदा भइसकेका छन् । उनको फागुन १८ मा  उपचारका क्रममा ८३ वर्षको उमेरमा मृत्यु भएको छ । प्राय : सबैका लागि लोकप्रिय रहेका भरतमोहनले गरेका कामहरुको चर्चा हरेक क्षेत्रमा चलिरहेको छ ।
    यस्तै दरसंञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कंडेलले पनि दूरसंचारकर्मीले सम्झनै पर्ने भरतमोहन अधिकारी भनेर आफ्नो अनुभव लेखेका छन् ।
    कंडेलको भनाई जस्ताको तस्तै
    २०५१ साल तिरको कुरो होला । म नेपाल दूरसंचार संस्थानको संचालक थिए । त्यति खेर बोनसको नाममा जम्मा प्रतिव्यक्ति वढीमा रु ३,००० तिनहजार मात्र पाउथे कर्मचारीले । कर्मचारी संगठनहरु बोनस बढाउन माग गर्दै आन्दोलन गरी रहेका थिए । संस्थानको नाफा निकै भए पनि बोनस थोरै थियो । मेहेनतको फल पाउनु पर्दछ भन्ने कर्मचारीहरुको माग जायज नै थियो । नेपाल सरकारको स्विकृतिविना संचालक समितिले यसबारे कुनै पनि निर्णय गर्न नसक्ने अवस्था थियो । अनि हामी अर्थमंत्री भरत मोहन अधिकारीज्यूलाई भेट्न गयौ र कर्मचारीका माग जायज छन, केही त गर्नु पर्यो भनी उहालाई भन्यौ । अनि उहाले एक अत्यन्त महत्वपूर्ण कुरा गर्नु भयो, भन्नु भयो ।

    “कर्मचारीका माग जायज छन । तर बोनस रकम वढाउदा घाटा लाग्ने संस्थानहरुले पनि संस्थान भएकै कारण उनीहरुका कर्मचारीहरुले पनि सोही बमोजिम माग राख्न थाल्छन । सो पुरा गर्यो भने सरकारले ती संस्थानहरुलाई अनुदान दिनु पर्ने हुन्छ, जो सरकारले गर्न सक्दैन । बोनस शव्द नराखी नाफा गर्ने संस्थानहरुले नाफाको केही अंश भत्ताका रुपमा प्रगतिसँग लिंक गरी ल्याए भने सरकारले विचार गर्न सक्दछ, नाफाबाट वितरण गर्न कुनै आपत्ति हुदैन, कसैलाई भत्ता ख्वाउन अनुदान सरकारले दिनु पर्दैन । नाफा गर्न योगदान दिने कर्मचारी पुरस्कृत हुनु पनि पर्दछ ।’

    कर्मचारीका माग संवोधन गर्ने बाटो खुल्यो, अनि संस्थानको सेवा सुधारका बिभिन्न प्रगति सूचांकहरुलाई समावेश गरी ‘प्रोत्ताहन भत्ता’ दिनका निम्ति सूत्र निर्माण गर्यौ, सुत्र बनाउने जिम्मा संचालक समितिले मलाई दिएको थियो, जुन मैले मिहेनतसाथ पुरा गरें । र प्रगतिसंग आवद्ध सो सूत्रका आधारमा नाफाको केही हिस्सा कर्मचारीहरुलाई उपलव्ध गराउने प्रथा सुरु भयो नेपाल टेलिकममा । सो भत्तावारे अर्थमंत्रालयका कर्मचारीहरुले भाँजो हाल्न प्रयास नगरेका होईनन, कति पटक ल्यापटप बोकेर सो ब्याख्या गर्न म अर्थ मंत्रालय पनि पुगेको हुं । तर अर्थमंत्रीकै जोडबलले सोमा नेपाल सरकारको स्विकृति भयो र संचालक समितिले लागु गर्न सक्यो ।

    दूरदर्शी, अर्थशाष्त्रका ज्ञाता एवं राम्रा काम गर्न पछि नहट्ने भरत मोहन अधिकारीज्यूले समस्त दूरसंचार कर्मीलाई लगाएको यो गुन कहिले विर्सन सक्दैनन ।’

    उहांप्रति हार्दिक श्रद्धान्जली हामी सवैले गर्नै पर्दछ ।

    ८७३ पटक
    प्रतिकृया दिनुहोस्