BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    समाजमा मैले भोगेका पुरुषहरु

    चन्दा थापा, चन्द्रिका फागुन २४, २०७५

    घाँस दाउरा, धारा, पधेँरा अनि भान्सा, सायद यस्ता कुराहरु उहाँहरुको जीनमै नभएकोले पनि हो कि, उहाँहरु भन्दा सम्झेजस्तो गर्ने, अँ है भन्ने जस्ता कुराहरु गर्ने तर, मनैदेखि यो गर्नुपर्छ भनेर नआउने भएकोले उहाँहरु यस्ता कुरालाई नजरअन्दाज गर्नुहुन्छ जस्तो लाग्छ ।

    मैले देखेका र भोगेका धेरै पुरुषहरु छन् । बुबा, दाजु भाइ, श्रीमान अनि पुरुष साथीहरु । बाल्यकालमा म माथि कसले के व्यवहार गर्यो र छोरी भएर जन्मेकी मेरा बाध्यताहरु कस्ता थिए त्यो त्यतिधेरै सम्झन सक्तिन् । तर पनि बाल्यकालमा छोरा र छोरीबीच बाबुआमाले गरेको विभेद भन्दा पनि छोरा र छोरीमा आउने परिवर्तन पनि यहाँ उल्लेख गर्न मन लाग्यो ।
    मैले, मेरो छोरा ४ वर्षसम्म सँगै राखेर हुर्काए उसको नजिकमा अर्को बालक साथी नभएकोले उसले जे गर्यो त्यसमा खासै मतलब राखिन् । तर जन्मभूमि पाल्पा छोडेर काठमाडौमा कर्म गर्दा भने मैले मेरो भदालाई ८ वर्ष देखि र भदेनीलाई ३ वर्षदेखि भोग्दै आएकी छु उनीहरु मेरै काखमा हुर्किदै आएका छन् ।

    मैले या उस्को आमा या हजुरआमाले यस्तो कहिले सिकाएका छैनौ कि, छोरीले यस्तो गर्नुपर्छ वा छोराले यस्तो गर्नुहुन्न भनेर । तर, पनि मेरो भदाले अहिलेसम्म आमाले बर्ढान लागेको कुचो समाएर बर्ढान थालेको देखिन । तर, मेरी ३ वर्षकी भदेनीले भने आमाले कुचो समाएर बर्ढादा उ बर्ढान थाल्छे, मैले भाडा माझ्न लाग्दा उ, बस्ने कुर्सी तानेर मसँग बराबर भएर भाडा माझेको हेर्छे र भन्छे ‘ठूली मैले पनि भाडा माझ्छु’ उसकी आमाले कपडा धुन थाल्दा उ आफ्ना साना कपडा समाएर धुन थाल्छे, आमाले गरेको मेकअप देखेर उ मेकअप गर्न थाल्छे, यतिमात्र कहाँ हो र, दुवइमा भएको आफ्नो बाबुसँग फोनमा कुरा गर्दा ‘मलाई मेकअप बक्स ल्याइदिनु’ भनेर माग गरिछे ।

    लाज र डर नै महिलाको धेरै प्रगतिका बाधक हुन्छन् भन्ने विचार बोकेकी मैले भदेनीलाई सानैदेखि निडर बनाउनुपर्छ भन्ने सोचले ‘चिच्याएर बोल्न हुँदैन’, भनेर घरमा सबै परिवारसँग भन्छु । तर, उ निडर त बन्छे, बेला बेला स्वभाविक रुपमा ठूलो मान्छे जस्तै गरेर लजाउँछे । भदैेनीको यस्ता हरकतले मलाई बारम्बार प्रश्न गर्छ के छोरीको रगतमै त महिला होस् र तैले यो–यो गर्नपर्छ भन्ने हुन्छ कि यात फेरि के हो त ? उसको बानीले के सन्देश दिन्छ भन्ने प्रश्नले घेरिरहन्छ मलाई ।

    हामी अफिसमा धेरैजसो महिलाहरु छौं । केही पुरुष साथीहरु पनि हुनुहुन्छ । संचारमाध्यममा काम गर्दा समावेशीका नारा लेखिरहँदा र पढिरहँदा साना तिना कुरामा पनि समावेशी नै होस् भन्ने खोज्छ मनले । मैले धेरैपटक विचार पनि गरेकी छु । कहिलेकाँही सहयोगी दिदी नआँउदा म आफू खाजा बनाउन भान्सामा छिर्छु । जाडोमा ४–५ पटक र गर्मीमा २–३ पटक चिया पनि बनाउँछु । तर, कहिलेकाँही बिचारै गर्न पनि पुरुष साथीलाई ‘साथी, आज तपाइ चिया बनाउनुस् न भनेर अनुरोध गर्दा उहाँहरुको जवाफ हुन्छ ‘मलाई चिया बनाउन आउँदैन ।’ प्रगतिशील सोच विचार बोक्ने साथीहरुबाट पनि त्यस्तो भनेको सुनिदैन कि, ‘आज खाजा यो खाउँ, यात फेरि आज चिया म बनाउछु वा खाजा म बनाउँछु ।’ कहिलेकाँही त यस्तो लाग्छ पुरुष साथीहरु आफ्नो कार्यक्षेत्रमा, आफ्ना साथीहरुका लागि खाजा या चिया बनाउँदा आफू तल परिन्छ भन्ने पो सोच्नुहुन्छ कि ! यदि समाज, परिवार, घर अनि कार्यालयमा साथीहरुवीच समावेशीता सोच्ने हो भने पुरुष साथीबाट भित्रबाट सोच आउनु पर्छ कि मैले पनि यस्ता कामहरु गर्नुपर्छ र हुन्छ ।

    मैले धेरैपटक अफिसमा विचार पनि गरेकी छु । हाम्रा पुरुष साथीहरुलाई यदि सहयोगी दिदीले टेबुलमा पानी लगेर नराखिदिनेहो भने उहाँहरु दिनभरी एक गिलास पानी पनि पिउनुहुन्न । पानी सार्नका लागि किचनमा पुग्न गा¥हो मान्नुहुन्छ उहाँहरु ।

    घाँस दाउरा, धारा, पधेँरा अनि भान्सा, सायद यस्ता कुराहरु उहाँहरुको जीनमै नभएकोले पनि हो कि, उहाँहरु भन्दा सम्झेजस्तो गर्ने, अँ है भन्ने जस्ता कुराहरु गर्ने तर, मनैदेखि यो गर्नुपर्छ भनेर नआउने भएकोले उहाँहरु यस्ता कुरालाई नजरअन्दाज गर्नुहुन्छ जस्तो लाग्छ ।

    हुन त, पुरुष साथीलाई मेरा बिचारहरु नराम्रो पनि लाग्ला । तर हामी महिलाले तपाइहरुका लागि चिया, खाजा बनाउनका लागि किचनमा पस्न हुने, हामीलाई तल परेको महसुस नभइ भोकाउनु भएको साथीहरुलाई खुवाउन पाउँदा छाति गर्वले फुलेको महसुस हुन्छ । तर, तपाइहरुमा किन त्यस्तो हुँदैन ? त्यस्तो बेलामा कि त तपाइहरु बाहिर गएर एक्लै खानुहुन्छ या त फेरि दिनभर भोकै बस्नुहुन्छ त्यो तपाइको स्वास्थ्यका लागि उचित हुन्छ त ? किन तपाइहरुको मन स्वतस्फूर्तरुपमा त्यस्ता कुरा गर्न आउँदैन के त्यो गर्दैमा तपाइहरु सानो मान्छे बन्नुहुन्छ ?

    त्यस्तै अको तितो घटना पनि छ मसँग । विहे भएपश्चात मुम्बई गएकी थिए म । मेरो छोरा मुम्बईमै जन्मियो । झण्डै ६ महिनासम्म दिउँसोमा सुत्ने र रातिमा रुने गर्दथ्यो उ । दिउँसो डिउटी गएर आएका मेरा श्रीमानले यहि सोच्दै थिए, सायद ‘यो दिनभरी घरै बसेर सुत्छे, केही काम हुँदैन ।’ के दिउँसोमा काम नगरेको भनेर आरोप खेपेकी मैले रातिमा सुत्नै नपाउने हो त ? रातभरी जाँगा नै बस्नुपर्ने हो त ? मलाई मात्र होइन नेपाली समाजमा नेपाली संस्कारमा धेरै महिलाहरुले यस्तै नियति भोग्नु परेको छ कि ! बच्चा सम्हाल्ने जिम्मा सिर्फ महिलाको मात्र हो त ! रातको १–२ बजे बच्चा रुँदा उनी जुरुक्क उठेर औला ठड्याउँदै आँखा रातो–रातो पारेर भन्थे ‘यसलाई बाहिर लिएर जाँ’ अर्कै देश अर्काको समाज अनि त्यो कहालीलाग्दो अध्याँरो रातमा म छोरालाई लिएर कसरी बाहिर जान सक्थे ! अनि छोरालाई काखमा हल्लाउँदै दुई हातले पछाडि टेकेर झुल्दै रात कटाउँथे । त्यतिबेला मलाई लाग्दथ्यो के मेरा श्रीमानले यति पनि सोध्न सक्तैनथे, ‘छोरालाई के भयो ? कतिबेर देखि रोएको छ ? जाउँ तिमी एकछिन आँखाको विष मार, म बाबुलाई भुलाउँछु ।’ म, मात्रै होइन, धेरै नेपाली महिलाहरुले आफ्ना पुरुष साथीबाट यस्तो सहानुभुतिको शब्द वा सहयोग कमै मात्र पाउँछन् ।

    अहिले नेपाली समाजमा धेरैले भन्ने गर्छन् नेपाली महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिइएको छ । देश तथा विदेशमा त्यसको जय–जय पनि छ । तर, त्यो अधिकार सिमित महिलाले मात्र दोहोयाएर पाएका छन् भन्न म हिच्किचाउदिन । घरका महिला, समाजका महिलाईलाई यो ३३ प्रतिशत अधिकारले कति छोएको छ भनेर पुरुष साथीहरुले मनन गर्न जरुरी छ । घर अनि समाजका महिलालाई कसरी बाहिरी बातावरणमा घुलमिल गराउन सकिन्छ भनेर पुरुषले खुल्ला मनले नै सोच्नु जरुरी हुन्छ ।

    समाजमा कतिपय यस्ता पुरुष साथीहरु पनि हुनुहुन्छ, उहाँहरुले  आफ्नी श्रीमतीलाई बाहिर जाउँ त भन्नुहुन्छ, निस्कन पनि दिनुहुन्छ तर बेलुका घर आएपछि कतिजना पुरुष साथी बनाएर आइस्, वा त सँगै ‘को’ पुरुष थियो । कतिपयले त कार्यक्रममा कोही पुरुष साथीहरुसँगै आफ्नी श्रीमतीले फोटो खिचेकी छन् भने त्यसमा आपत्ति जनाएर सँगै फोटो खिच्नुमा ‘केही कुछ छ’ भनेर मनमनै आफूलाई शंकै शंकाको लंकामा जलाउनुहुन्छ । उहाँहरु कहिल्यै पनि सोच्नुहुन्न कि, यो पनि एउटा मान्छे हो, यसको पनि समाजमा इज्जत मान सम्मान र अस्तित्व छ, के गलत र के सहि उनले पनि छुट्याउन सक्छिन भन्ने भरोसा गर्न सक्नुहुन्न । कतिपय श्रीमान गलत बाटोमा हिड्दा श्रीमतीले उनलाई सच्याउने हर प्रयास गर्छिन् र सच्याएरै पनि छाड्छिन् । तर त्यहि गल्ती महिलाले गर्ने हो भने, श्रीमानले यो, काम नलाग्ने भइ अब यसलाई डिर्भोस दिनुपर्छ भनेर उनलाई गल्ती सच्याउने कुनै मौका दिदैंनन् ।

    जबसम्म महिलालाई घरकी लक्ष्मीका रुपमा मात्र हेरिन्छ अनि घरभित्रका काममा मात्र सिमित राखिन्छ तबसम्म समाज र देशले खोजेको समावेशीता कहिल्यै आउँदैन । जबसम्म नारी ढुक्क भएर बाहिरी वातावरणमा जान सक्तिनन्, सामाजिक कार्यमा भाग लिनबाट बञ्चित बनाइन्छ, सामाजिक वाद-विवाद वा निर्णायक क्षेत्रमा महिलालाई तिमी सक्छौ, गर्छौ र गर्नुपर्छ भनेर पुरुषको साथ हुँदैन् तबसम्म महिलाले यस्तै नियति भोग्नुपर्ने हुन्छ र महिलाको विकास विना समाज र देशको समृद्दि अनि विकास हुँदैन भन्ने सबैले मनन गर्नुपर्छ ।
    आज १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा यो विषय अझ सान्दर्भिक बनेको छ ।

    ८३४ पटक
    प्रतिकृया दिनुहोस्