BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    असाधारण मान्छे

    ईन्दिरा चाम्लिङ, लुभेन बेल्जियमफागुन २४, २०७५

    प्रसव पीडा त के हो र ?
    त्यो भन्दा हजार गुणा
    बढी पीडा सहेर पनि
    मुस्कुराउँदै बाँच्न सक्छौ
    छिया–छिया छातीमा पनि
    चोट दिने मान्छेकै निम्ति
    माया साँच्न सक्छौ
    नगरे हुन्थ्यो कसैले अबदेखि
    तिम्रा अद्वितीय क्षमताहरूको अवमूल्यन
    काँडामाथि टेकेरै पनि नाच्न सक्छौ
    बाटोभरी हुने बाधा, अड्चनहरूलाई
    कुनै अस्त्रबिना नै भाँच्न सक्छौ
    तिमी हौ असाधरण मान्छे

    पलपल आफू मरेर पनि
    युग–युगसम्म जिउने जीवन
    अरूलाई दिन सक्छौ
    आफू टुक्रैटुक्रा भएर पनि
    अरूलाई सग्लो जीवन सुम्पिन सक्छौ
    आफ्नो भविष्य अन्धकार भएर पनि
    अरूलाई उज्जवल भविष्य दिन सक्छौ
    आफ्नो सपना चकनाचुर भएर पनि
    अरूको सपना साकार पार्नको निम्ति
    सारथी भई जीवन सुम्पिन सक्छौ
    तिमी हौ असाधरण मान्छे

    साराका सारा रहरहरू
    अनि इच्छा र आकांक्षाहरू
    सधैको निम्ति तिलान्जलि दिएर
    साँच्चै तिमी मेसिन जस्तै भएर
    अरूकै खुसीको निम्ति बाँचिरहन्छौ
    साराका सारा पीडाहरू
    अनि दुःख र वेदनाहरू
    मुटुभरीभरी लिएर
    साँच्चै तिमी पत्थर जस्तै भएर
    अरूकै सुखको निम्ति बाँचिरहन्छौ
    तिमी हौ असाधरण मान्छे

    कतै जालमा पारिएका छन्
    कतै बल्छीमा अल्झाइएका छन्
    कतै ढडियाँमा कोचिएका छन्
    त कतै पिंजडामा थुनिएकाछन्
    तिम्रा जीवनका स्वतन्त्रताहरू
    सदियौदेखि यस्तै नाजुक हालतमा छन्
    यति धेरै विघ्न वाधाहरूमा निसासिएर पनि
    अरूकै खातिर जिउने प्रयत्न गरिरहन्छौ
    साँच्चै तिमी आफू रित्तिएर पनि
    खुशीले अरूकै अंजुली भर्ने प्रयत्न गरिरहन्छौ
    तिमी हौ असाधारण मान्छे

    तिमीलाई मान्छेहरूले नचिनेर के भो
    तिमीलाई मान्छेहरूले मान्छे नगनेर के भो
    तिमी हौ जगतकै असाधारण मान्छे
    यी साधारण मान्छेहरूले
    तिमीलाई मान्छे नभनेर के भो
    तिमी हौ जगतकै असाधारण मान्छे
    तिम्रा असाधारण गुणहरूसँग
    अनभिज्ञ छन् यी साधारण मान्छेहरू
    तिमीलाई उपभोगको थोत्रो साधन मात्र
    ठानिरहेछन् यी साधारण मान्छेहरू
    तर तिमी हौ जगतकै असाधरण मान्छे

    “ सारा संसारभरीका सृष्टिकर्ता महान् नारीहरूलाई ससम्मान
    कोटीकोटी प्रणाम“

    १६७ पटक
    प्रतिकृया दिनुहोस्