BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

    सुशीला रेग्मीफागुन ३०, २०७५

    ३० फागुन, बेझाड । रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

    वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ दिनहुँ सयौँभन्दा बढी आन्तरिक पर्यटक गुराँस फुलेको हेर्न जाने र रमाउनेको जमात बढ्दो छ । समुद्री सतहदेखि दुई हजार ३४७ मिटर उचाइ र तीन हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वनैभरि गुराँस फूलले ढाकिएको छ ।

    फागुन÷चैत महीनामा गुराँस फुल्न थालेपछि चहलपहल बढी हुने गरेको रेसुङ्गा वन संरक्षण समितिका सचिव मोतीप्रसाद खनाल बताउँछन् । “गुराँस फुलेको हेर्नकै निम्ति विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक भित्रिने गरेका छन्, गुराँस फूलले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याइरहेको छ”, उनले भने ।

    तम्घास बजारदेखि गाडीमा करीब आधा घण्टाको दूरीमा रेसुङ्गा वनमा पुगिन्छ भने पैदल हिँड्दा दुईदेखि तीन घण्टा समय लाग्छ । कोही गाडीमा, कोही पैदल हिँडेर रेसुङ्गा वनमा पुगेर राताम्य फुलेका गुराँसका बोटमा चढेर फूलसँग रमाउने र फोटो खिचाउने गरेको देखिन्छ ।

    नेपालको राष्ट्रिय फूल गुराँस फुलेको दृश्यले मनका पीडा वेदना सबै हटाएको पाल्पाली सञ्चारकर्मी सुवास बिसीले बताउनुभयो । हरेक वर्ष गुराँस फुल्ने समयमा यस वनमा आएर फूलसँग रमाउने र आनन्द लिने गरेको उनले बताए । “गुराँस फूलले वनैभरि ढाकेको देख्दा नआऊँ भने पनि मनले पटक्कै मान्दैन, हरेक वर्ष गुराँस फूल फुलेकै हेर्न मात्र भए पनि रेसुङ्गा वनमा आइरहेको हुन्छु” उनले भने ।
    अहिले सडक स्तरोन्नति भएपछि पनि विभिन्न ठाउँबाट गुराँस फुलेको अवलोकन भ्रमण गर्न आउनेको आकर्षण बढ्दै गएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीका पूर्वकार्यकारी निर्देशक नरेश भण्डारी बताउँछन् । पौराणिक तथा धार्मिक महत्वसँग जोडिएको रेसुङ्गा वन लालीगुराँसका कारण पनि निकै प्रख्यात भएको छ । केही व्यक्तिले अवलोकन गर्न जाने निहुँमा फुलका हाँगा भाँच्ने र जथाभावीरूपमा फूल टिप्ने गर्दा सौैन्दर्यलाई बिगार्ने गरेको पाइएको छ ।

    ठूलो क्षेत्रफलमा फैलिएकाले पनि यसको नियमित निगरानी गर्न समितिलाई कठिन परेको छ । यो फूलले सुन्दरता र सुगन्ध दिने मात्र नभई विभिन्न प्रकारका रोगलाई ठिक पार्ने भएको हुँदा पनि फूल टिपेर घरघरमा लगेर सजाएर राख्ने गरेको पाइन्छ । यस वनमा गुराँस फूलसँगै पाँचऔले, पाखनवेदजस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छ । रेसुङ्गा वनले साविक ११ गाउँ विकास समितिलाई जोडेको छ । हालको रेसुङ्गा र मुसिकोट नगरपालिका, छत्रकोट, गुल्मी दरबार गाउँपालिकाको पानीको मूलस्रोत यही रेसुङ्गा वन रहेको छ ।

    भकारी नबुनेसम्म पुग्दैन खान साँझ र बिहान

    रम्भा गाउँपालिका–१ हुँगीका ६० वर्षीय कमल विकलाई भकारी नबुनेसम्म साँझ र बिहान हातमुख जोर्ने अर्को उपाय छैन । उमेर ढल्किँदै गयो तर जोश जाँगर युवावस्थाकै जस्तै नगरिकन साँझ बिहान उनको घरको चुल्होमा आगो बल्दैन । बुढेसकाल लागेको शरीर तर पनि बाँच्नकै लागि उनी बाँसबाट भकारी बुनेर जीविकोपार्जन गर्न बाध्य छन् ।

    विकले दुईदेखि तीन दिनको समय लगाएर एउटा भकारी सिध्याउने गर्छन् । एक भकारीको मूल्य आकार अनुसार रु दुई हजारदेखि पाँच हजारसम्म पर्छ । यही भकारी बिक्रीबाट उनको घरको चुल्होमा आगो बल्छ । गाउँघरमा धान राख्न प्रयोग हुने भकारी कृषकले खोजीखोजी खरीद गर्ने हँुदा बिक्री गर्न खासै समस्या नभएको उनी बताउँछन् । “सधैँ गाउँघर छिमेकमा सबै भकारी खपत हुँदैन, कहिलेकाहीँ छिमेकी जिल्लामा पनि पुगेर बिक्री गर्ने गरिरहेको छु”, विकले भने ।

    उनीे पाल्पाका विभिन्न गाउँपालिका तथा नगरपालिका, स्याङ्जा, तनहुँ लगायतका जिल्लामा भकारी बोकेर बिक्रीका लागि घरघरमा पुग्नछन् । भकारीबाट राम्रो कमाइ हुने भएपछि विकले अरु सामग्रीलाई भन्दा भकारी निर्माणलाई जोड दिएको छ । “एउटा भकारीबाट रु पाँच हजारसम्म कमाउन सकिन्छ, अरु सानासाना सामग्रीको तुलनामा यसबाट प्रशस्त कमाउन सकिने हुँदा भकारी बनाउन भ्याइनभ्याइ हुन्छ”, उनले भने । विकले १३ वर्षको उमेरदेखि नै डोको, भकारी र डाला लगायतका सामग्री बनाउँदै आएका छन् ।

    घरमै बसीबसी बाउबाजेबाट सीप सिकेका विकले उमेर ढल्कँदै जाँदा पनि निरन्तरता दिइरहेका छन् । उनले गाउँघरमा बाँस खरीद गरेर ग्राहकको माग अनुसार विभिन्न खालका सामग्री बनाउँछन् । यो उमेरसम्म आइपुग्दा पनि आफैँ बाँसको चोया काढेर विभिन्न सामग्री बनाउने उनलाई यस व्यवसायबाट जीवन धान्न सजिलो भएको बताउँछन् । आफूले सक्दासम्म यो व्यवसायलाई निरन्तरता दिने उनको अठोट छ ।

    ७२ पटक
    प्रतिकृया दिनुहोस्