BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    कहाँ होलान् गोपाल ठाकुर ?

    बाबुलाल भण्डारीफागुन ३०, २०७५

    २०३७ को अन्ततिर पृथ्वीनारायण कलेज पोखरामा स्नातक तह पढ्दै गर्दा पोखराका बाम नेता सुरथ बहादुरसँग सम्पर्क बाक्लो बन्यो । सुरथजी पुस्पलाल समूहको अञ्चल स्तरीय कार्यकर्ता हुनुहुन्थ्यो भने हामी विद्यार्थी फाँट नेप्रवियुमा सक्रिय थियौं ।

    उमेरमा वहाँ त्यतिखेर ४५ को सेरोफेरो हुनुहुन्थ्यो र साँच्चै भन्नु पर्दा सुरथजीमा जस्तो उत्साह, विश्वास र आशावादीता अरु राजनीतिकर्मीमा मैले कमै भेटेको छु । पार्टी प्रतिको वहाँको निष्ठा र समर्पण अद्वितीय नै थियो । अखिल र नेविसंघमा हजारौँ विद्यार्थी देखेर हामीमा कहिलेकाहीँ लघुताभाष हुन्थ्यो र उत्साह भर्न सुरथजी कलेजमा आइ रहनुहुन्थ्यो ।

    त्यसै वर्ष कलेजमा पोखराकै स्थानीय एकजना भर्खरको ठिटो प्रमाणपत्र तहमा भर्ना लिन आयो । पातलो शरीर, गोरो हँसीलो अनुहारले उसको व्यक्तित्व आकर्षक देखिन्थ्यो । उमेरमा सानै भएपनि पब्लिक स्पिकिङ्गमा भने उ बिछट्टै राम्रो थियो । राजा वीरेन्द्रको पोखरा सवारी हुँदा उसले स्वागत भाषण गर्न पाएको थियो रे भन्ने विद्यार्थी बीच चर्चा थिए । कलेजमा उ माले समूहको अखिल पाँचौमा आवद्ध थियो र उसैवर्ष कलेजको विद्यार्थी युनियनको चुनावमा समेत उम्मेदवार बन्यो ।

    एकदिन कामरेड सुरथसँगै बगरमा हिँड्दै गर्दा हाम्रो भेट उनै फुच्चे अखिल कार्यकर्तासँग भयो । सुरथले आफ्नो हकी स्वभाव देखाउँदै भने ‘तिमीले राजनीति अझै बुझेका छैनौ, बाबु ! तिमीलाईँ थाह छ मालेले जनमत संग्रह वहिस्कार भन्दै पहेंलोलाई सहयोग र्पुयायो र अन्तिम घडीमा मात्र झारा टार्नलाई वहिस्कार फिर्ता लियो । यो पार्टी दरबारले युज गरेको पार्टी हो र त्यहाँ नेताहरुले दामोदर शमसेरको पैसा खान्छन् । तिमी जस्तो लायकको र बोलक्कड मान्छे गलत पार्टीमा बस्दा भविष्य चौपट हुन्छ । हाम्रो पार्टी र विद्यार्थी संगठनमा आऊ, तिम्रो भविष्य निकै उज्ज्वल छ ।’

    त्यो फुच्चेले ज्येष्ठता र स्थानीयतालाई पनि सम्मान गर्दै खासै विवाद गरेन र हल्का जवाफ सहित पिण्ड छुटाएर गयो ।

    फर्केर हेर्दा आज पूरा ३८ वर्ष बितिसकेका छन् । त्यतिबेलाको त्यही फुच्चे विद्यार्थी पटक–पटक कास्कीबाट सांसद निर्वाचित भई क्याबिनेट तहको मन्त्रीको जिम्मेवारी सम्हाली सकेको छ । आजसम्म उसको कुनै अनियमितताको अभियोग नलागेको स्वच्छ राजनीतिज्ञको छवि बनेको छ । तर उता सुरथजीको मृत्यु अत्यन्त अस्वाभाविक बन्न पुग्यो । वहाँले आत्महत्या गर्नु भयो रे भन्ने सुनियो । संभवत माले माक्र्सवादी एकीकरणपछि माक्र्सवादी कार्यकर्ताको बिचल्ली र पार्टीको कार्यदिशाले बहाँलाई चरम निराशा पो दियो कि !

    २००६ मा नेकपा स्थापना भएदेखि आजसम्म नेकपाको नाममा सिमित चाटुकार मालामाल भएका छन् र ३ वटा सिङ्गासिङ्गै पुस्ता र हजारौँ लाखौँ सोझा र इमानदार नेता कार्यकर्ताको बिल्लिबाँठ भएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति जतासुकै जाओस् शुद्धता, सिद्धान्त र विचारको नाममा कार्यकर्ताहरुको कुर्बानी आज पनि त्यही ढङ्गले जारी नै छ !

    यहींनेर अर्को एउटा पात्रको नाम स्मरण भइरहेको छ । उनी हुन् नेकपाका नेता र बारा कोचर्वाका निवासी गोपाल ठाकुर । नेप्रवियुको केन्द्रिय कार्यालय न्ह्योखामा तत्कालिन अध्यक्ष बोर्ण कार्की, यो नाचिज र उनै ठाकुरले उनले तराई घरबाट ल्याएको सख्खर र च्युराको भरमा कैयौँ छाक टारेको अझै पनि याद आउँछ । अंग्रेजी साहित्य र भाषा विज्ञानका २५ वर्ष अघिका स्नातकोत्तर उनी १३ वर्ष सम्म रेडियो नेपालको भोजपुरी कार्यक्रमका प्रस्तोता पनि रहे ।

    पहिलो संविधान सभाका सदस्य ठाकुर राजनैतिक ज्ञान, सुझबुझ र अनुभवले मधेसी समुदायका इनेगिने बुद्धिजीवीमा पर्छन् र २०४१ मा राजकाज मुद्दामा ७ महिना जेलजीवन बिताइसकेका छन् । उनी देशलाई असाध्यै माया गर्छन् र लैनचौर र दिल्ली कनेक्सन हुने शंकास्पद समूहसंग नाता जोड्न उनको नैतिकताले दिँदैन । पदको लागि पार्टीभित्र गुटबन्दी गर्ने र पाखुरा सुर्किने स्वभाव पनि उनमा छैन ।

    संघीय र प्रादेशिक संसदका लागि त्यत्रा मान्छेहरुलाई टिकट दिइयो र त्यसपछि पनि कैयौँ आयोग र निकायहरुमा आ–आफ्ना नजिकका मान्छेलाई पार्टीले भर्ती गर्दै गयो र अहिले पनि गर्दैछ । तर गोपाल ठाकुर त्यहाँ कतै अटाउन सकेनन् । उनी भन्दा कैयौं जुनियरहरुले आज संघ र प्रदेश सरकारमा रजाइ गरिरहेका छन् तर गरीब परिवारबाट आएको मधेसको एउटा इमानदार बुद्धिजीवीलाई पार्टीले सम्झिन आवश्यक देखेको छैन र उनलाई लगभग भूमिका विहिन बनाइएको छ । उनी अविवेकको सिकार बनेका छन् । आफ्नै पार्टीपंक्तिसंग न्याय गर्न नसक्ने नेकपाले देश र समाजलाई कस्तो न्याय देला ? (यो पनि स्पष्ट गरिहालौँ यो नितान्त निजी विचार हो र का.गोपालसंग यस अकिंचनको लामो समयदेखि संपर्क र भेटघाट छैन ।)

    २०० पटक
    प्रतिकृया दिनुहोस्