BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    हिंसा पीडितसँग सोधपुछ गर्ने वैज्ञानिक पद्धति

    न्यायाधिश, टेक नारायण कुँवरचैत्र २, २०७५

    अमेरिकामा भएको एक अध्ययन अनुसार वर्तमान न्याय प्रणालीमा यौन हिंसाबाट पिडित व्यक्तिहरुले कानून कार्यान्वयन गर्ने निकाय अर्थात् त्यहाँ कार्यरत कर्मचारीहरुले उनीहरुलाई उत्साहित होइन निरुत्साहित गर्दछन् भन्ने अनुभव गरेको तथ्य देखिएको छ । (Campblle 2005, 2006) । उक्त अध्ययन अनुसार ४३ प्रतिशतदेखि ५२ प्रतिशत पीडितहरु जो न्यायका लागि कानून प्रणालीमा सम्पर्कमा आएका थिए उनीहरु प्रतिको सरकारी व्यवहार असहयोगी मात्र हैन, आत्मसम्मानमा चोट नै पुग्ने खालको थियो भन्ने अभिव्यक्ति दिएका छन् । यस्तो अनुभवबाट कानून कार्यान्वयन गर्ने निकायप्रतिको अविश्वास झल्किन्छ । यस अवस्थामा अपराध पीडितसँग सोधपुछ गर्ने वैज्ञानिक पद्धतिको विकास भएको छ । यसका केही महत्वपूर्ण सवालहरु निम्म बमोजिम छन् :

    १– अपराधबाट प्रभावित महिला तथा बालबालिकामा अपराधबाट पीडित हुनुको कारणले गर्दा गम्भीर मनोवैज्ञानिक प्रभाव परेको हुन्छ । न्यायिक प्रक्रियामा पीडितले आफूमाथि आइपरेको अपराधबाट हुने पीडाको सम्बन्धमा मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियासम्म आइपुग्दा घटनाबारे जस्ताको तस्तै अभिव्यक्ति गरेको अवस्थामा मात्र न्याय सम्पादन कार्य सहज हुन जान्छ । त्यस्तो प्रक्रियामा अपराधको उजुरी गरिने ठाउँ प्रहरी, मुद्दाको अनुसन्धान गरिने ठाउँ प्रहरी, अभियोजन गरिने ठाउँ सरकारी वकिल र न्याय सम्पादन गरिने ठाउँ अदालतमा पिडितको न्यायमा पहुँचको सहजताका लागि उपयुक्त वातावरण सिर्जना गरिनु आवश्यक छ ।

    २–उपयुक्त वातावरणको अभावमा पिडितहरु झन् पीडित हुने अवस्था आइपर्दछ । बलात्कार, मानव बेचबिखन, यौन हिंसाजस्ता अपराधबाट पीडित महिला तथा बालबालिकालाई न्याय सम्पादनको सिलसिलामा संरक्षण र सम्मानपूर्वक व्यवहार प्रदान गर्न नसक्दा पीडितले हिनताबोधको अनुभव गर्ने र खुलस्त रुपमा घटनाको यथार्थ विवरण चित्रित गर्न सक्दैनन् । यसबाट अन्ततः उचित न्यायिक निष्कर्षमा पुग्न कठिनाई हुन्छ ।

    ३–कानून कार्यान्वयन गर्ने निकायहरुले अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अवलम्बन गर्दा उनीहरुलाई संरक्षण, सहयोग र पुनस्र्थापनाको विकल्प दिनुका अतिरिक्त सहज वातावरणमा पीडितको अन्तर्वार्ता लिने प्रक्रियालाई महत्व दिनुपर्दछ । मुद्दाको महत्वपूर्ण पक्षको रुपमा मात्र होइन घटनाको प्रत्यक्ष अनुभूत गर्ने साक्षीको रुपमा समेत पीडितलाई लिन सकिन्छ । त्यसैले पीडित मैत्री वातावरण निर्माण गरी गम्भीरतापूर्वक पिडितको भनाई अभिलेखीकरण गर्न सम्बन्धित निकायहरुले संवेदनशीलता देखाउनु पर्दछ ।

    ४–पीडितले अनुभव गरेको traumatic experience बाट उसको दिल दिमागमा ठूलो हलचल पैदा भै neurochemistry मा परिवर्तन ल्याइदिन्छ, जसले दिमागमा पूर्व स्मरण रहने भागमा गंभीर असर पर्न गई घटनाका दृष्य र त्यसका क्रमागत स्मरण गर्ने क्षमतामा दखल परेको हुन्छ । जस्तैः जबर्जस्ती करणीबाट पीडित व्यक्ति आफूलाई के भएको थियो भन्ने सम्बन्धमा जानकारी लिँदा शुरु प्रश्नबाटै उसले भएजतिको घटना क्रमबद्ध रुपमा सम्झने र व्यक्त गर्ने वातावरण निर्माण गरिनु पर्दछ ।

    ५–पिडितले आफ्नो कुरा जुनसुकै बेला व्यक्त गर्दा सही तरिकाले व्यक्त गर्न सक्ने हुनुपर्दछ । यस सम्बन्धमा Russlle Qmrand n] “Forensic Experiential Trauma Interview (FETI)”  विधिको विकास गरेका छन् । यस विधिबाट पिडितको भनाई संकलन गर्दा मूलतः मानवीय संवेदनाको स्नायु विज्ञानलाई आधार मानेर गरिन्छ । यसमा मुख्यत ः निम्न कुराहरुलाई मध्यनजर राखेर अनुसन्धान गरिन्छ ।

    1. Critical stress debriefings
    2. Chlid forensic interviews
    3. The neuroscience of trauma & memory

    ६–यस पद्धतिमा पीडितसँग अन्तर्वाता लिँदा निजलाई परेको शारीरिक र मानसिक तथा भावनात्मक पिडा एवं कठिन परिस्थितिलाई हृदयंगम गरेर शुरु गरिन्छ । यसलाई अन्तर्वार्ताकारले आफैंलाई परेझैं (empathetic)पिडा महशुस गर्दै सहानुभूतिपूर्वक ९(with compassionate) शुरु गर्नु पर्दछ । पीडितले अत्यन्त आत्मियता महशुस गर्ने वातावरण बनाउनु पर्छ । जसले गर्दा पीडितले आफूले भोगेको कुरा व्यक्त गर्न सक्षम र सबल हुन जान्छ ।

    ७– अन्तर्वार्ताकारले प्रयोग गर्ने प्रत्येक शब्दले पीडितलाई घटना सम्बन्धी तथ्यहरु एक एक स्मरण गर्दै क्रमागत रुपले अभिव्यक्त गर्न सक्षम बनाउनु पर्दछ । यो अत्यन्त संवेदनशील सीप पनि हो अन्तर्वार्ताकारको । घटनापछि पीडितले लिएको मानसिक दबाबलाई यसले हलुको बनाउँदै जाने हुँदा सत्य तथ्यको उद्घाटन हुने संभावना बढ्दै जान्छ । विस्तृत रुपमा घटना दुरुस्त उतार्न सघाउ पुग्छ ।

    ८–विभिन्न अध्ययनहरुले के देखाएको पाइन्छ भने यौनिक हिंसामा परेका पीडितहरुले उपयुक्त पीडितमैत्री वातावरणमा आफ्ना भनाई राख्ने अवस्था सिर्जना गरिएमा मात्र खुलस्त र नढाँटिकन अनुसन्धान अधिकृतलाई आफू पिडित भएको घटनाबारे बताउन सक्तछन् । जब उनीहरु आफ्नो सुरक्षाको पूर्ण प्रत्याभूति भएकोमा विश्वस्त हुन्छन्, आफूलाई आनन्दित महशुस गर्दछन्, पीडकबाट कुनै खतरा छैन भन्ने ठान्दछन् । त्यतिबेला आफ्नो सम्पूर्ण अनुभव र अनुभूति खुलस्त रुपमा अनुसन्धानकर्ता समक्ष राख्न कत्ति पनि हिच्किचाउँदैनन्

    ९–अनुसन्धानकर्ताले पीडितलाई शान्त र सहृदयी वातावरण बनाई उनीहरुको आत्मसम्मानमा कत्ति पनि ठेस नपुग्ने गरी सोधपुछ गरेमा उनीहरुले बढी भन्दा बढी सूचनाको संप्रेषण गर्ने र अनुसन्धानमा सहयोग गर्ने हुन्छन् । यसको परिणाम स्वरुप प्रमाण सहित घटनाको यथार्थ विवरण संकलन गर्न अनुसन्धानकर्तालाई सहजता हुन्छ ।

    १०– यस विषयमा भएका आजसम्मका खोज र अनुसन्धानले के पनि पुष्टि गर्दछ भने पिडितले घटनाको प्रतिरोध गरे कि गरेन ? उनी किन पीडक सँगसँगै गएको, बसेको हो ? जस्ता प्रश्न सिधै सोध्न हुँदैन । यदि त्यस्तो प्रश्न राखेमा उनीहरु सत्य कुरा अभिव्यक्त गर्नु भन्दा पनि प्रतिक्रिया जनाउन उद्धत हुने गर्दछन् । यस्तो प्रश्न अनुसन्धानको निम्ति महत्वपूर्ण र आवश्यक हुनसक्छ तर प्रश्न सोध्ने उचित समय, प्रश्न सोधाईको तरिका र उनीहरुप्रति प्रश्नकर्ताले देखाउने भावभंगीमा निर्भर गर्दछ ।

    ११– पिडितलाई आफू पीडित भएको घटनामा साक्षीको जस्तो व्यवहार कदापि गर्नुहुँदैन किनभने उनीहरुले अन्य साक्षीले जस्तो अपराध गरिएको देख्ने नभई घटनाबाट पिडा भोगाईको अनुभव गर्ने हो । तसर्थ उनीहरुसँग अनुसन्धानकर्ताले आफैंले अनुभव गरेझैं em}+ (empathy) उनका पीडा बुझ्ने र  compassion राख्न सकेमा अपराध अनुसन्धानका निम्ति आवश्यक सूचनाहरु भरपूर मात्रामा लिन सकिन्छ ।

    १२–यदि पीडितलाई सिधै के भएको हो भनेर प्रश्न राख्यो भने उनीहरु सही कुरा अभिव्यक्त गर्न अनिच्छुक देखिन्छन् । तर सहानुभूति र आफैंले पीडाबोध गरी सोद्धै जाँदा उनीहरु प्रश्नकर्तामाथि विश्वस्त हुँदै आफूले भोगेको शारीरिक र मानसिक पीडालाई अत्यन्त उपयोगी तवरले स्वभाविक रुपमा अभिव्यक्त गर्न सक्षम हुने देखिएको छ ।

    १३– यसरी एउटा त्यस्तो approach हो जसमा सहानुभूति, विश्वास र पीडित केन्द्रित दृष्टिकोणलाई केन्द्रमा राखिन्छ । कुनै पनि भयानक घटनामा अत्तालिएको व्यक्तिसँग यस पद्दतीबाट जानकारी प्राप्त गर्दा व्यवसायिक अनुसन्धानकर्ता आवश्यक पर्दछ । उसले पीडितका मर्म र भावनालाई अत्यन्त सुक्ष्म ढंगले आत्मसात गर्ने प्रयत्न गर्दागर्दै पनि कहिलेकाहीँ पीडितहरुले सो भावनालाई बुझ्न सक्दैनन् । अनुसन्धानको प्रारम्भिक चरणमा यस्तो देखिनु अस्वभाविक होइन पनि ।

    १४– पीडितको स्मरणहरुलाई पीडा अभिव्यक्तिको माध्यमबाट बाहिर उतारी अभिलेखबद्ध गर्दा उनका स्मृतीहरु छरिएर अभिव्यक्त हुने, शिलशिला छुट्न जाने र प्रष्टता नहुने जस्ता समस्याहरु आइ पर्दछन् । त्यस्तो अन्तर्वार्ता लचकतामा आधारित हुनुपर्छ । प्रत्येक पीडित तथा साक्षीहरु फरक स्वभावका हुन्छन् । उनीहरुको ज्ञान, क्षमता र स्वभाव फरक फरक हुने भएकैले गर्दा फरक अवस्थामा फरक किसिमले संवाद गर्नुपर्ने हुन्छ ।

    १५–प्रहरीमा महिला तथा बालबालिका इकाई, सरकारी वकीलमा साक्षी र पीडित संरक्षण इकाई तथा अदालतमा साक्षी संरक्षण तथा पीडित मैत्री कक्ष एवं पीडितमैत्री वातावरण निर्माण गर्नमा पछिल्ला दिनमा गरिँदै आएका प्रयासहरुलाई पीडितसंग सोधपुछ गर्दा तालिमप्राप्त मनोपरामर्शविदको सहयोग लिने पद्धति अपनाउन सकेमा न्याय सम्पादन प्रकृया अझै बढी प्रभावकारी हुनेछ ।

    ६७७ पटक
    प्रतिकृया दिनुहोस्