BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    देउरुपाको संकल्प

    बालकुमार क्षेत्री, पर्वत, हाल, अफगानिस्तानचैत्र २, २०७५

     

    सन्त बहादुरको परिवार (सङ्युक्त) सगोलमै रहदै आइरहेका थिए । त्यस परिवारमा बुढीआमा दुई छोरा, दुई बुहारी, ठुलो छोरा बुहारीबाट एक नाति र एक नातिनी थिए । दुई छोरीहरुको बिहे भएर आ–आफ्नो घर बसाई सकेका थिए । कान्छी बुहारीबाट सन्तान भइसकेका थिएनन् । ठूलो छोरा हर्कबहादुरको पढाई अलि कमजोर भएको हुनाले ८ कक्षासम्मको पढाई सकेर उनी घरको काममा आमा बाबालाई सघाउन लागे ।

    समय बित्दै जादा गाउँकै एकजना आफन्तको सहयोगमा उनले घर बनाउने सिकर्मीको काम सिकेपछि त्यही कामलाई निरन्तरता दिन थाले । कान्छा छोरा धन बहादुरले १० कक्षा पास गरेको हुनाले पल्लो गाउँमा रहेको (प्रा बि) स्कुलमा शिक्षक आबस्यक परेको हुँदा उनलाई अबसर प्राप्त भयो र अस्थायी दरबन्दीमा अध्यापन गराउन लागे ।

    घरका मुलि सन्त बहादुरको क्यान्सर बिमार उपचारका अभाबका कारण ५० बर्षको अल्पायुमै मृत्यु भैसकेको थियो । बुढी आमाको पनि स्वास्थ्य त्यति राम्रो थिएन। बेलाबखत बिमारले सताइ पनि राख्थ्यो । जेठि बुहारी सुन्तली बिहे गरेर त्यसघरमा आएको झन्डै बाह्रबर्ष बितिसकेको थियो । तर, कान्छी बुहारी देउरुपा भित्र्याको मात्र दुई बर्ष पुगेको थियो । उनीहरुका इष्टमित्रहरू पनि निकै नै थिए । आफुहरु कतै जानू नपाएपनि त्यस परिवारमा पाउनाहरुको आवत–जावत चाहि चलिरहन्थ्यो । खासगरी छोरीहरुको एउटै पल्लो गाउँमा बिहे भएको हुनाले आइ जाइ भइरहन्थ्यो ।

    कान्छी बुहारी देउरुपाको अघिल्लो दिनको साँझबाटै टाउको दुख्ने,रिंगटा लागेको भएपनि पाउनाहरु नन्द–अमाज्यु तथा सबै परिवारलाई खाना खुवाएर काम धन्दा सबै सकेर खाना पनि नखाई सुतेकी थिइन् ।

    बिहान उठेर सधैंको उहि कामधन्दा घर लिपपोत, गाइबस्तुको घाँस, गोठको काम (कुडो दानापानी,परिवारको खाना आदि इत्यादी) कामले दिन बितेको पत्तै हुदैनथ्यो ।
    एकदिन बिहानको कुरा हो, नन्द र अमाज्यु आफ्नो घर फर्किसकेका थिए । सासुआमालाई खाना दिएर केहिबेर आराम गर्छु भनेर देउरुपा आफू सुत्ने ठाँउ गोठको धन्सारमा रहेको एक कोठा थियो, त्यतैतिर लागिन् । जब कोठा पुगिन् बच्चाहरुले सबै समान तथा लुगाहरु छरपष्ट बनाएका थिए ।

    लामो सुस्केरा हाल्दै समान र लुगाहरु मिलाइन् र केहिबेर आराम गर्ने मनसायले बिस्तरामा पल्टिन् देउरुपा । आँखा बन्द गरेर निदाउने कोसिष गरिन् तर निदाउन सकिनन् । निद लाग्ने कुरा त परै जाओस् मनमा अनेक कुराहरु खेल्न थाले । आफ्नो बाबू आमा दाजुभाइ दिदीबहिनी तथा संगी साथीहरू अनि आफ्नो–आफ्नो जन्म ठाँउ र आफ्नै बाल्यकालको सम्झनाले सताउन लाग्यो ।

    चारबर्ष अगाडि १७ बर्षको उमेरमै बिहे भएपछि ठूला ठूला सपना बोकेर देउरुपमा त्यो घरकी सदस्य बनेर आएकी थिइन् ।

    देउरुपालाई शुरुका दिनहरुमा दिनभरी खटिएर काम गर्न निकै धौ–धौ परेको थियो । तर, बिस्तारै बिस्तारै कामको बानी बस्दै गयो । उनले परिवारको मन जित्नलाई अहोरात्र मेहनत गर्थिन् । जति काम गर्दै जान्थिन् घरका सदस्यहरुले अझ धेरै कामको अपेक्षा राख्दथे ।

    घरको सारा सरसफाइदेखि लिएर गोठको काम अनि बिरामी सासुआमाको रेखदेख पनि उनकै जिम्मेवारी भित्र पर्दथ्यो । भान्सामा काम गर्दा कहिलेकाही सानातिना गल्ति हुन्थे । जस्तै (नुनको भाडाको ढक्कन नकस्सिनु, चिनिको डिब्बा पहिलेकै ठाँउमा राख्न बिर्सनु, मसला पिनेर सिलौटो ढुङ्गा पखाल्न बिर्सनु) ती कुरा जेठानी दिदीको लागि तिलको पहाड बन्थ्यो ।
    चट्नीमा नुन राख्न र दालमा जिम्मुले झान्न बिर्सदाको त कुरै नगरौ रडाको नै मच्चिन्थ्यो । यति पिडा हुँदापनि घरमा झगडा बढछ भन्ने डरले उनले आफ्ना श्रीमानलाई पिडा पोख्न पनि सक्थिनन् ।

    कहिलेकाही माइतीघर जाने रहर जाग्थ्यो । तर, घरको कामबाट कहिले फुर्सद नमिल्ने र माइतीघर टाढा हुँदा रहर मनमै दबाउन पर्ने उनलाई बाध्यता पनि थियो । खासगरी जेठानी दिदीलाई देउरानीको काम पटक्कै मन पर्थेन । सासुआमाको स्वास्थ ठिक नहुनु पनि देउरुपाको लागि थप पीडा बनेको थियो । घरमा सासुआमाको कुनै कुराको पनि सुनुवाइ हुन्थेन । सासुआमाले पनि ठूली बुहारीको धेरैजसो कुराहरुमा साथ दिन्थिन् । अन्यथा झनै रडाको मच्चाएर घरमा अशान्ति छाउने सम्भावना थियो ।

    बिचारी देउरुपा आफैले आफैंलाई धिक्कार्दै मन मनै सोच्ने गर्थिन छिटो बिहे गरेर आफ्नो खुट्टामा आफै बन्चरो हानेछु । कस्तो भोगाइ रहेछ जिन्दगी । दिनभर अरुको लागि काम गर्यो फेरि पनि साँझमा कसैको मुहार हसिलो र खुशी देखिदैन । आफूले खाए÷नखाएको बारेमा सोध्ने हेक्का श्रीमानलाई पनि हुदैनथ्यो । उनी आफैंलाई प्रश्न गर्थिन्, के सबैका सगोल अर्थात् संयुक्त परिवारमा यस्तै क्रियाकलाप हुन्छन त ? आफ्नो माइतीघरको सम्झना आउथ्यो । चित्तबुझ्दो जवाफ आफैले नपाए पछि लामो सुसेली सुसेल्दै काममा लाग्थिन् ।

    यस्तै प्रकारले दिनहरु बित्दै गए । घाँसको भारी बोकेर घरतिर आउदै गर्दा अचानक उनलाई चक्कर लाग्यो । उनी घाँसको भारी सँगै लडिन् । गाँउलेहरु मिलेर उनलाई अस्पताल लगे। जाँच पश्चात् थाहा भयो कि उनको पेटमा गर्व रहेको पाचौं महिना शुरु भैसकेको रहेछ । डाक्टरले उनलाई आराम गर्नुपर्ने सल्लाह दिएपछि उनका पति मान बहादुरले पनि ख्याल राख्न थाले ।
    श्रीमानले उनलाई ख्याल राखेको देखेर अरु सदस्यहरुको व्यबहारमा पनि थोरै परिबर्तन आयो । सासुआमाले पनि घरमा आउने नयाँ बंशको लागि ख्याल गर्न थालिन् ।

    पूरै परिवारमा एकछत्र शासन चलाउने जेठानी दिदी पुतली पनि पहिला भन्दा अलिक नरम हुन थालिन् तर आउने वाला नयाँ पाउना र देउरानीको स्वास्थ्यको बारेमा उनलाई कुनै चासो थिएन । यो कुरा देउरुपाले राम्रो सँग बुझेकी थिइन् ।

    चिकित्सकले दिएको समय आयो । नयाँ पाउनाको आगमन पनि भयो । छोरी जन्मिदा भन्दा छोरा जन्मदा धेरै खुशी हुने नेपाली समाजले चाहे अनुसारको खुशी प्राप्त हुँदा परिवारमा पनि थप खुशी थपियो । सबै राजी खुशी नै देखिन्थे । घरको बाताबरण पनि शान्ति हुँदै गयो । बच्चाको एक मुस्कानले देउरुपाको बितेका दिनका सारा पीडाहरु सबै गायब हुन्थे । सुत्केरी अवस्थामा बिहान बेलुका श्रीमानले ख्याल गर्थे । बाँकी दिनको समयमा जेठानी दिदीले बाध्यताबस भएपनि तातोपानी मात्र दिएर भएपनि आफ्नो कर्तब्य पूरा गरेको देखाउँथिन् ।

    दिन बित्दै गयो । बच्चा पनि चार महिनाको पुगिसकेको थियो । बच्चा र आमा दुबैको स्वास्थ्य पनि राम्रो थियो । देउरुपाले घरमा सकेको काम गर्नपनि शुरु गरिन् । उनले गरेको काम दिदीलाई पटक्कै मन पर्दैनथ्यो । पहिला जस्तै फेरि कच–कच सुरु हुन लाग्यो । देउरुपा चुप लागेर काम गर्थिन् । सधैं सबैकुरा र व्यबहार सहेर बस्थिन् ।

    एकदिन, देउरुपा सबै काम सकेर आफ्नो कोठातिर लागिन् । कोठामा पुगेपछी उनको मनमा कुरा खेल्न थाल्यो–उनले अबदेखि आफ्नो सुख र खुशीसँग कहिलेपनि सम्झौता गर्ने छैनन् । आफूसँग भएको कुनैपनी अन्यायको विरुद्ध आवाज उठाउने छन् । आफूलाई लागेको कुरा सबैसँग राख्नेछिन् । सोच्दा सोच्दै खै कतिबेला निदाइन्, त्यो पत्तो भएन तर बिहान उठ्दा यिनै नयाँ सोचहरु उनको मनमा दृढ भएर बसेका थिए । कोठामा घामको प्रकाश छिरेको थियो । घामको किरणसँगै प्राण भन्दा प्यारो बाबु खेलिरहेको थियो । देउरुपा मुस्कुराइन् । अनि संकल्प गरिन् आफूमाथि जे–जे अन्याय भयो, ज–सले गरे, उनीहरुलाई सकारात्मक रुपमा परिवर्तन गरेर परिवार र समाजलाई थप मजबुत बनाउदै लैजाने संकल्प गरिन् ।

    नोट :कथा र कथाका पात्रहरु काल्पनिक हुन् । कसैको पारिवारिक जीवनसँग मेल खाएमा सँयोग मात्र हुनेछ ।

     

    ४११ पटक
    प्रतिकृया दिनुहोस्