BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    ‘आमा’

    चन्द्रा जोशी लेवनान चैत्र ९, २०७५

    आफूमा रित्तिएको महशुस गर्छु यो बेला । मानौ, एउटा खाली बोतल जस्तो । तर मेरो स्मरणशक्ति गुमेको छ म भन्दिन । किन कि, ती यादहरु ताजा छन् अझै पनि मेरो मानसपटल भरी । कसरी भुल्न सक्छु, जीवनको यथार्थ भोगाईहरु !

    हिउँदे यामको मौसम त्यो सोमवारको दिन थियो । मेरो घर नवलपरासीको दुम्कीबासको बजार नजिकै एउटा गाउँमा पर्दथ्यो । काखको नानीलाई दूध पिलाउँदै तोरीको साग केलाउँदै थिएँ । यस्तै मध्यान्ह पछिको समय हुदो हो, एक्कासी हुरी बतासको वेगसंगै पानीको ठूलो बर्षा हुन थाल्यो । पानी परेको देखेर म आत्तीए । के गरु कसो गरु भयो । नानी सुत्ने तरखरमा थी, नानीलाई सुताउँकी ? बारीमा चर्दै गरेको बाख्रा भित्र्याउ कि, आँगनमा सुकाएको धान उठाउँ ? एकैचोटी कामको चटारो थुप्रिएको देख्दा नानीलाई कोक्रोमा राखेर धान थन्क्याउन लागे । त्यसपछि बाख्रा भित्राए । अनि कोक्रोमा रुदै गरेकी नानीलाई एक दुईपल्ट हल्लाई स्कुलबाट आउने बाबु नानीको लागी खाजा किन्न पसल गए ।

    पसलबाट फर्किदा एघार महिनाको सानी नानी कुनबेला हो कोक्रोबाट झरेर घस्रिदै आँगनमा आईछ । पानीको चिसोले नानी बरफ झै जमेको देखेर म आत्तिदै कराउँदै रुन थाले । गाउँलेहरुलाई हारगुहार गरे तर, कसैले सुनेनन् मेरो बिलौना । स्कुलबाट आएको बाबु नानीलाई हातमा बिस्कुट थमाएर माटो सरीको हात धुनसम्म भ्याएकी थिइनँ । त्यतिकै ट्याक्सीमा नानीलाई हालेर भरतपुरमा रहेको जिएमसी क्यान्सर हस्पिटलतिर हान्निए । तर, उपचारका लागि अस्पताल लगेकी नानीलाई उपचारै गर्न नपाई डाक्टरले मृत घोषणा गरिदिए । नानी निलै भैसकेकी थिई । त्यो अवस्थामा हृदयमा ज्वाला दन्कियो । नानीलाई ओल्टाई पल्टाई गर्दै म ग्वाँ ग्वाँ रुन थाले । साथमा सम्हालिदिने कोही थिएनन् । नितान्त एक्लो थिएँ । साडीको आँचलले नानीको अनुहारमा भएको पानी पुछ्दै सुमसुम्याउँदै अलापविलाप गर्दै थिएँ केवल कसैको साहाराको खोजीमा म, एक्लो थिएँ नितान्त एक्लो ।

    त्यो बेला मेरो रुवाइको आवाज पर–पर सम्म पुगेको हुनु्पर्छ । त्यहाँ ओहोर–दोहोर गर्ने मानिसले मलाई ‘बिचरा, च्वँ च्वँ’ गर्दै म तिर नजर लगाउँदै हिँडिरहेका थिए । मलाई लाग्थ्यो कोही नजिक आवोस् । मलाई जीवनको परिभाषा बुझाएर जन्मपछिको मृत्युको सत्यता बुझाओस् ताकि, म आफ्नो मन थमाउँन सकु । तर, त्यहाँ हेर्ने दर्शक मात्र थिए । म चाहि उनीहरुका अगाडि कुनै नाटकको बेजोड पात्र बनेकी थिए । त्यहाँ मेरो भूमिका रुनु मात्र थियो ।

    त्यही बेला एउटा एम्बुलेन्समा काठमाण्डौंबाट आउने बस दुर्घटनामा परी मृत्यु भएका सातजनाको शव पोष्टमार्टमको लागि ल्याएको गाडी गेटबाट सट्ट भित्र छिर्यो । मलाई आफ्नो पीडाको अगाडी अरुको पीडा ठूलो हो भन्ने लागेन । तर म स्वार्थी भने हैन, किन कि, म आफ्नो पिडा समाल्न नसकेर मात्र हो । जे त भयो भनेर मन आफैँ बुझाउनु छ अनि पीडा आफैले सहनु छ भन्दै घरजानका लागि ट्याक्सीको व्यवस्था गर्दै थिए । त्यहिबेला झट्ट मेरो कानमा यो ठाउँको मान्छे पनि दुर्घटनामा परेछ भनेको सुन्दा मनमा चिसो पस्यो । फनक्क फर्केर नर्सतिर लम्किएर सोधपुछ गर्दा मेरै श्रीमानको नाम दियो । त्यो नाम सुनेपछी म संसारबाट नै लोप हुन्छु कि जस्तो भए । एकाएक अस्पतालको छत मात्र होइन, आफूमाथि आकास खसेर गर्लम्म मलाई च्यापेजस्तो भयो । मनले पत्याउनै सकेन, अस्तिको दिन मात्र ‘म रामरी घर फर्की आउँछु तिमी पनी रामरी बस्नु है, नानी बाबुको हेरबिचार गरेर भन्दै हासीखुशी बिदा भएको मान्छे । काठमाण्डौ अफिसको कामले जानु भएको स्वामीको यस्तो घटनाले मलाई एकैछिनमा बिक्षिप्त बनायो । यस्तो खबरले म अवाक भएर जमिनमा ढलेजस्तो भए । तै पनि प्रकृतिले मलाई फेरि सम्हालिउ भनेर मेरो परीक्षा लिएजस्तो लाग्यो । मनलाई बिस्तारै सम्हालेर भित्र गई सेतो कपडा उघारेर हेरेकी मात्र के थिए, म कतिबेला बेहोस भएछु पत्तै भएन ।

    भोली बिहान, सातबजेको हुँदो हो । जब म होशमा आउदाँ गाउँका ठूला बडा मान्छेले हल्लाखल्ला गर्दै थिए । कता कता होस आएको जस्तो, आफू कहाँ कता भएजस्तो, त्यहाँ सबै विराना जस्ता लागे । मैले झट्ट सुने, ‘अहिले सम्म पनि ज्ञानुको होश आएन । अब अलिकती पनि ढिला नगरी लास उठाउनु पर्छ नत्र सडेर गन्हाउँछ’ त्यो सुन्दा मेरो आङ्ग जिरिङ्ग भएर फुल्यो । म जुरुक्क उठेर श्रीमानको लास तेर्साएको ठाउँमा गई उसैगरी रुन कराउन थाले । चिच्याउँन थाले । स्वामीको अनुहार र शरीरका जताजतै भागहरुमा सुमसुम्याउँदै रुन थाले । तर, त्यहाँ मलाई रुन कराउँन दिएनन् । मेरो आफन्त र समाजले मेरो काखबाट नानी र श्रीमानलाई खोसी बुढाको लास अघि र पछि–पछि नानीलाई लिएर गए ।

    मलामीहरु फर्किदा नत मेरो सिउँदोमा सिन्दुर नै थियो । नत हातमा चुरा अनि नत गलामा पोते र रातो साडी नै थियो । समाजले मेरो खुसी सबै तोडफोर गरी पानीमा बगाई दिएका थिएँ । म त्यो बेला बिरुप लाग्दी उजाड पहाड जस्ती भएकी थिएँ क्यारे । त्यतिबेला मेरा स–साना छोराछोरी पनि मेरो नजदिक आएनन । उनीहरु मेरो प्रतिबिम्ब हुन डराउथे । म जति उनीहरुको नजीक जान खोज्थे उती उनीहरु म देखी टाढा जान्थे । त्यो देखेर त झन मलाई आफै पनि संसार छोडेर जाउँ झै लाग्यो । रुदा रुदा म र मेरो जीवन सुकिसकेको थियो पानी नभएको उजाड तलाउ जस्तो ।

    श्रीमानको मृत्यूपछि म झन कमजोर भए । मेरो रुवाई कालो कोठाको निस्तब्ध भित्र कता हो कता हराएर जान्थ्यो । त्यसको दुईदिन पछि आमा र बाबा आउनु भयो । उहाँहरु मलाई अंगालो हालेर रुन थाल्नु भयो । त्यसपछि मात्र मेरो बाबु नानी नजिक हुन थाले । प्रकृतिको ठूलो शक्ति छ । समयसँगै पीडाहरु पनि विस्तारै विर्साइदिँदै जान्छ । आमा बाबाको अंगालोभरीको माया अनि मेरा छोराछोरीको मायाले म फेरि विस्तारै पीडा भुलाएर अगाडि बढ्ने कोशिषमा लागें ।
    समयले बिस्तारै फड्को मार्न थाल्यो । श्रीमानले दुर्घटनामा ज्यान गुमाएको वापत पचास हजार रुपैयाँ क्षतिपुर्ति रकम पाए । त्यही रकमले सानो चियापसल खोले । दुईजना नानी र बाबुको स्याहार सुसार गर्दै मनलाई दरिलो बनाई समय संगै लड्दै संघर्ष गर्दै जीवनलाई अगाडि बढाउन थाले । बाबु नानी पनि हुर्कदै गए ।

    एक रात निस्तब्ध रात थियो । जिन्दगीलाई सम्झेर म रुदै थिए । म रोएको छोराले थाहा पाएछ । उसले नजदिक आएर भन्यो, ‘आमा किन रुनु भएको ? यसरी नरुनु होस् न मलाई पनि रुन मन लाग्छ तपाईँ रोएको देखेपछि ।’ भन्दै उ पनि रुन थाल्यो । त्यो बेला मैले साडीको सप्कोले उस्को आसु पुछीदिदै गर्दा उस्ले प्वाल परेको साडीको सप्को देखे छ र भन्यो, ‘म ठूलो भएपछि मेरी आमालाई राम्रो साडी, पेटीकोट, चोलो पैसा बोक्ने झोला किनेर ल्याइदिन्छु अनी राम्रो चप्पल पनि है आमा ।’ उस्को कलिलो कण्ठबाट त्यो ध्वनी गुंजिदा मन थाम्न नसकेर रोएको त्यो रात अझै पनि सम्झना छ मलाई । म, कहाँ भुल्न सकुला र त्यो रात !

    महिना भन्दा भन्दै फेरि केही वर्ष बितेर जादै थियो । एकदिन सदा झै चियाँ पसलमा दूध ल्याउने नेवार दाजु उनी मेरा गाउले पनि थियो । अरु दिन झै त्यो दिन पनि जिस्कीदै दूध भाडामा खन्याई सकेपछी ठिङ्ग उभिएर मतिर हेर्दै उनले भने, ‘ज्ञानु तिमीलाई मैले चिन्दै आएको बर्षौ भयो । तिमी पनि एक्लै छौ म पनि एक्लै । घरमा आमा र छोरी बाहेक मेरो अरु आफन्तको नाममा कोही छैन । तिमी पनि दुई नानीबाबुको साथमा यति ठूलो जिम्मेवारी निभाउँदै आएकी छौ । मलाई तिमीप्रति दया लाग्छ । तिमी जस्तो लगनशील नारीको आवश्यक छ मलाई । अनि तिमीलाई पनी म जस्तो पुरुषको साथ । यस्मा तिम्रो के मनसाय छ ज्ञान ? हुन्छ भने म तिम्रो छोराछोरी सम्हाल्न तयार छु ।’ मैले सोचे नेवार दाजु जिस्कीएको होला । तर हैन रहेछ । उनले गम्भिर भएर आफ्ना कुरा पोखेका रहेछन् । मैले हुन्न दाजु म तपाईलाई दाजु जस्तो मान्छु भनेर उनको कुरा टारिदिए ।

    त्यस्को केही महिनापछि फेरि उसैगरी नेवार दाइले बिबाहको प्रस्ताव राखे । मेरो आमा बाबालाई साक्षी राख्दै उनले भने ‘मलाई तिम्रो साथ र सहयोग चाहिएको छ भन्दा पनि मेरो छोरीलाई आमाको ठूलो आवस्यकता छ ज्ञान, उसको आमा तिमी मात्र बन्न सक्छौ भन्ने पूर्ण विश्वास छ । म पनि तिम्रो बच्चाको असल बाबु बनेर हेरबिचार सुरक्षा गर्न सक्छु । तिमीलाई कुनै कुराको कमी महशुस हुन दिन्न । यो मेरो चाहाना भन्दा पनि मेरी छोरीले तिम्रो कुरा गरिरहन्छे । ‘ज्ञानु आन्टीलाई आमा भनुम् बाबा, उहाँ त मेरो आमा त होला है आमा जस्तै लाग्नु हुन्छ । मलाई कती माया गर्नुहुन्छ आमाले जस्तै । आमा, ज्ञानु आन्टी जस्तै ? आमा भन्छु नि !’ भन्छे उस्को इच्छा पूरा गर्नको निम्ति र मेरी आमालाई पनि तिमीलाई साह्रै असल नारी लाग्छ रे । बुहारी हुने लायकको छौ भन्नु हुन्छ । फेरि हाम्रो जात पनि त मिल्छ ।’ मैले नेवार दाजुको कुरा सुनीरहे अनी आामा बाबाको कुरा पनि । तर, मलाई स्वीकार भएन उनको बिहे प्रस्ताव ।

    हुन त नेवार दाजुले मलाई पाउन हो । या त फेरि उस्को आामा र छोरीको लागि हो त्यो त कुरा उ नै जानुन् । तर, मलाई पनि नेवार दाजु कता कता असल व्यक्ति नै लाग्थे । मैले उनको आमालाई ‘आमा’ नै भनेर सम्बोधन गर्थे । अनी छोरीलाई ‘छोरी’ भनी स्नेहपूर्ण माया गरी केस कोरिदिने । काखमा राख्ने । आफ्नो बच्चालाई जे खान दिन्थे उस्लाई पनि नछुटाई दिन्थे । मेरी कान्छी छोरी हौ, भनेर आफ्नै जस्तो मानेर माया गरेर पनि होला, नेवार दाजुले यस्तो चाहना गरेको । हुन त उनी पनि विश्वासिलो र भरपर्दाे मान्छे नै हो । उनको श्रीमती गाउँमा छँदा सुत्केरी व्यथामा नै छोरीलाई जन्मदिएपछि बितेकी थिइन् रे । त्यसपछी छोरीलाई बोकेर बजारतिर छिरेका थिए रे नेवार दाजु ।

    मैले उनीसँगको सम्बन्ध चाहँदा चाहदैँ पनि आफ्नो बच्चाको भविष्यमा असर पर्ला भनेर इन्कार गरे । समाजको आँखा बन्द गरेर नेवार दाजुसँग सम्बन्ध अगाडि बढाउन सकिन । नेवार दाजुले पनि अर्को बिहे गरेनन् । उनकी छोरीले मलाई नै आमा भन्छे अझै पनि । बेला बेलामा ममताको छाहारी खोज्दै मलाई भेट्न आउछे र दुुःख बगाएर जान्छे ।

    मेरा छोराछोरी पनि ठूलो हुदै गयो । एउटी आमाको निम्ति आफ्ना बच्चाहरु हुर्किदै जानु नै आमाको लागि त्यो लाभदायक बन्छ । मलाई पनी त्यो बेला त्यस्तै भएको थियो । छोराछोरीप्रति गर्बले छाति फुल्थ्यो । होटल गरेर अरुको जुठो भाडा माझेर जेनतेन गर्दै भए पनी राम्रोसँग पढाएकी थिए उनीहरुलाई । मेरो सम्पूर्ण माया ममता उनीहरुमाथि थोपरीदिए तर पनि केही कमी भएछ क्यारे, मेरा मायामा छोरा छोरीलाई । खै केमा चुकेछु थाहै भएन ।
    जसो तसो जिन्दगी बित्दै थियो । छोराले अष्ट्रेलिया पढ्न जान्छु भन्यो । जाउ भनी जग्गाधितो राखेर पठाए । गएको केही बर्षमा आधा ऋण तिर्यो । त्यसपछि कमाई राम्रो भएन भनेपछि त्यही जग्गा बेचेर ऋण तिरे । धेरैपछि थाहाँ भयो छोराले बुटवलको केटीसँग बिहे गरेको रहेछ ।

    एकपल्ट बुहारीलाई नि घरमा ल्याएको थियो । छोरीले पनि गाउँकै संस्थामा काम गर्ने मगरको छोरासँग बिहे गरेर गइ । तर उनीहरुको बैबाहिक जीवन केही समयका लागि मात्र भयो । छोरीको लागि पनी एकपाटो जग्गा बेचेर खर्च जुटाई इज्रायलतिर पठाइदिए । एक दुई वर्षसम्म सम्पर्कमा आई । त्यसपछि कता छे केही थाहा भएन ।

    सम्पर्कमा नआएकी छोरी, धेरैवर्षपछि सम्पर्कमा आई र भनी, ‘आमा मैले यतैको केटासँग बिहे गरेर बसेकी छु । म नेपाल आउन सक्दिन राम्रोेसँग बस्नु है ! छोरा जन्मिएको छ, केही सालपछि आउछु भनेर भन्न त भनी तर आजसम्म आएकी छैन । बेलाबेलामा भने यसो फोन गरेर सोध्छे, ‘कस्ती छौ आमा ?’ उसको बोलीमै चित्त बुझाउने बानी परेको छ आजभोली मलाई पनि । इजरायलमा सुखै छ आमा भन्छे । तर, मलाई के थाहा उसलाई सुख छ कि दुःख छ भनेर ।

    दिन दिनै म पनी बुढी हुदै गए । केही काम गर्यो भनेपनि शरीर थाक्छ । काम गर्ने जोश पनि आउँदैन आजभोली । छोराछोरी प्रतिको विश्वास पनी हट्दै गयो । एक्लै रहन सक्ने हिम्मत र आँट ममा रहेन । त्यसैले पसल पनि बेचीदिए ।

    संसार कति सुन्दर छ त्यो अनुभव सम्म गर्न पाईन । संसारको सबैभन्दा सुन्दर चिज स्वास्नी मान्छे हो रे तर, आफूलाई कहिल्लै आफू सुन्दर चिज हुँँ भन्ने लागेन । मन त सधैं सुन्दर फूलहरु स्यार्हानमै लाग्यो । अनि सुन्दर संसारको रचना गर्दागर्दै बित्यो जीवन । जीवन सधैं हतारमा बित्यो । आफूलाई सुन्दर देख्ने र हेर्ने समय ममा कहिल्यै भएन । बाहिरी संसार कस्तो थियो अनि कस्तो छ कल्पना सम्म पनी गरिनँ । सानो छदाँँ आमा बाबाको संसार नै सुन्दर संसार लाग्यो । बिहेपछि स्वामी र घर नै सुन्दर संसार बन्यो । त्यसपछि छोराछोरी अघिपछि पछी झुम्मिदा त्यही नै मेरो सुन्दर संसार हो भन्ने लाग्यो । यहि भन्दा भन्दै सिंगो जीवन वित्यो । छोराछोरीको निम्ती कती धैर्य गरु ?

    मेरो जिन्दगी एक्लो हुँदै अप्ठ्यारो परिस्थितिमा गुज्रदै गयो । बिरामी पर्दा होस्, या तातो पानी तताएर दिनेबेला होस् या सुखमा हाँँसी दिने साथमा कोही थिएन । बेला–बेलामा नेवार दाजुको छोरीले भन्छे ‘आमा आउँनु होस्, म संगै बसौ म पनि तपाईकी कान्छी छोरी हँु, मेरो पनि को छ र ? अब बाबा पनि बित्नु भयो । हजुरआमा पनी बित्नु भयो । ज्वाँईले सधै आमालाई लिएर आउँ भन्नु हुन्छ ।’ अत्यन्त करुण स्वरमा उस्ले यसो भन्दा हृदय चिरिन्छ । जस्लाई छोरी स्वीकार्न मनले असहज मानेको थियो उ नै छोरी बनेर बुढेसकालमा माया देखाउँछे । तर, उस्ले राम्रो शब्द बोली भन्दैमा त्यसका पछि लागेर के जानु । होस्, भनी छोराछोरीलाई दिएर बचेको घर जग्गा बेचेर आँधा सम्पति बैंकमा राखेर आधा सम्पति देवघाटको बृद्धा आश्रममा दान गरिदिए । किन कि, बाँकी जीवन बृद्धाआश्रममा नै बिताउने अन्तिम निर्णय गरेकी थिए । तर, यहाँ पनि मलाई शान्ति मिल्दैन मनमा पीडा भईरहन्छ ।

    एकहोरो टोलाईरहने बानी बस्यो । सायद यो बुढेशकाल पनि हो कि । मलाई देख्ने प्राय मान्छे भन्छन् ‘ज्ञानुको होस गुमिसक्यो अब ।’ जब छोराछोरीले कस्ती छौ ? आमा भनेर बोल्छन् केहीबेर मनमा हल्का शान्ति मिल्छ । तर, आमा अब हामी तपाईसंगै बस्ने गरी आउँछौ या त हामीसँग बस्नु आउनुहोस् भनेर कहिले भनेनन् । त्यो आसाले मलाई बृद्धा बनाईसकेको थियो । केशहरु फुलेर पनी हिमालको पहाड जस्तै भएको आफैले देख्थे । दिग्दारी लाग्थ्यो ऐनाको सामु उभिन पनि ।

    नेवार दाजुको छोरी भेट्न आउँदा आमा भनेको सुन्दा यहाँ बृद्धाहरु भन्छन् ‘जाउ ज्ञानु छोरीसँग छोरी हुदाँहुदै किन यहाँ टोलाएर बस्छ्यौं ! तिमीलाई यहाँ पनि कहाँ सुख छ र ! यहाँ त हामी जस्तो बेबारिशे मान्छेहरु बस्ने ठाउँ हो । जहा आफन्त खोज्दा कतै पाईन्न । आखिरमा उ तिम्रो छोरी नभएर के भो त तिम्रो छोरी भन्दा चार गुणा असल छिन् । तिमीमा आफ्ना सन्तानप्रति आस्था र भरोसा अब माटोमा मिलीसकेको हामीले स्पष्ट तिम्रो मुहारमा पाउँछौं । जाउँ तिमी छोरीसँग ।’

    तर मनले मान्दैन, नेवार दाजुको छोरीको लागि भार बनेर बस्नलाई । केही महिनापछि उस्को सासु बितेको खबर आयो म भेट्न गए । त्यसपछि मलाई ज्वाँईले फर्कन दिनु भएन । मलाई यहाँ बस्न सहज छैन भनेकी पनि थिए मैले । तर, ज्वाँइले त्यो ठाउँ छोडेर, घरबार बेचेर मेरो निम्ति बुटवल बसाई सर्ने निर्णय गर्नुभयो । मैले जम्मा गरेको पैसा हातमा थमाई दिँदा पनि कुनै लोभलालच नगरी त्यो रकमले बरु घरको एक कोठामा सानो पसल खोलेर राखीदिनु भयो मेरो दिनचर्या यसैमा भुलोस् भनेर । म यहाँ सन्तुष्ट छु खुशी छु । सबैको साथमा आफूले गर्न सक्ने पसलबाट आम्दानी पनी राम्रै भएको छ । छोरी पाए । ज्वाँइलाई छोराको रुपमा पाए । तर, ज्वाँइलाई ज्वाँइ भनेको मन पर्दैन भन्नुहुन्छ । आँखाको नानी जस्ता नाति र नातिनी पाएकी छु । फेरि म छोराछोरीको आमा भए ।

    कथाकार जोशीले हालै मात्र ‘ऋतु’ उपन्यास बजारमा ल्याएकी छन् ।

    ४३३ पटक
    प्रतिकृया दिनुहोस्