BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    मास्टर साब

    सीता आस्था ढुङ्गेल,मेची नगर झापाचैत्र १६, २०७५

    ऊ हेर्दा धेरै भलाद्मी देखिन्छ, विद्वान पनि छ । आफूलाई सक्षम ठान्छ, हो ऊ सक्षम छ । सबैलाई ज्ञानगुनका कुरा सिकाउछ । बालबालिकाहरुलाई पढ्ने प्रेरणा दिन्छ, उत्साही बनाउछ । शिक्षाभन्दा ठूलो कुरा अरु हुनै सक्दैन र शैक्षिक प्रमाण–पत्रभन्दा सम्मानित अरु प्रमाण–पत्र मान्न सकिदैन । अझ छोरी मान्छेहरुले त अहिलेको समयमा पुरानो युग बोकेर हिड्नु हुन्न ।

    यो विज्ञानको युगमा ज्ञानको कमि भएर अनि असक्षम भएर बाच्नुको खासै अर्थ रहन्न । त्यसैले सक्षम र आत्मनिर्भर बनेर सम्मानित जीवन जिउनु नै आत्मसन्तुष्टिको अर्कोपाटो र उज्यालो भविष्यको निर्धारण हो भन्ने उसको मुख्य धारणा हो ।

    बुढापाकालाई पनि उत्तिकै सम्मान गर्छ । कलेजमा सबै विद्यार्थी रिझाएर पढाउन सक्ने क्षमता छ उसमा । उसलाई कमजोर देख्नेहरु कोही छैनन् । लवाईखवाई, हिडाई, बोलाईले नै उसको असल व्यक्तित्व झल्काउँछ ।

    दिनहुँ जसो बिहानको समयमा खुल्ला मैदानमा बालबालिका भेला गरेर खेलाउछ, खुशी छन् उनीहरु । उसको विरोधमा कसैले बोल्यो भने प्रतिकारमा उत्रिनेको सङ्ख्या कम हुन्न । बढी चाहि बालिका, किशोरी, युवती र महिलाहरु सङ्गनै रमाइराखेको देखिन्छ । हुनसक्छ नारी धर्ती हो, नारी आकाश हो । नारीको पूजा गर्नु, नारीको सम्मान गर्नु र अघि बढ्न प्रेरणा दिनु त उसको विद्वताको प्रमाण होला । सबै यही ठान्छन् । सबैले छोरीहरुलाई उसकैमा विश्वस्त भएर ट्युशन पढ्न पठाउँछन् ।

    राज्य पक्षका पनि धेरै निकायमा राम्रो सम्बन्ध बनाएको ऊ हरेक क्षेत्रबाट सम्मानित हुँदै आएको छ ।

    “ऊ त परिवार छोराछोरी भको मान्छे, सबैको अभिभावक, गलत नियत राख्न सक्दैन छोरीहरुमा” यसरी नै आमाहरु फुर्सदको समयमा गफिएका छन् ।

    एक साँझ ऊसङ्ग पढ्ने सबै विद्यार्थीहरु साँझ सात बज्दा घर फर्कन्छन् । सावित्रा अरु फर्किसक्दा नि ऊ फर्किन्न । कक्षा दशमा पढ्छे ऊ जेहेन्दार र मेहेनती केटी हो, घरपरिवारले ठान्छन् छोरी धेरै मेहनती र जिज्ञासु भएकाले मास्टरसङ्ग अरु केही सोध्ने कुरा लिएर बसेकी होली । त्यति एउटी छोरी छे केही त बनाउनु छ, मेहेनती पनि छे । होस् न त पढोस् । यही भरोसामा बाबु–आमा बस्छन् । आठ बज्छ, नौ बज्छ, दस बज्छ र पनि छोरी घर नफर्केपछि बाबु–आमा खोज्न जान्छन् । छोरी पनि हुँदिन मास्टर पनि भेटिदैन ।

    “सावित्रा र मास्टर हराए” गाउँमा हल्ला चल्छ । कोही मजाक गर्छन् कोही दुःखी हुन्छन् ।
    “मेरी छोरी गत्तिली छ भन्थी, रातारात हराउन थाली” कुरा काट्नेहरुलाई पनि ठूलै विषय मिल्यो । सहानुभूति राख्नेलाई पीडा र आफ्नै छोराछोरी असुरक्षित महसुस हुनथाल्यो । तीन दिन खोजेपछि सावीत्राको लास जङ्गलमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला पर्यो ।

    गाऊँ नै आतङ्कित भयो । कसले यसरी विभत्स हत्या गर्यो ? हजार प्रश्नहरु जन्मिए । मास्टरले आफू काम विशेषले शहर गएँको थिएँ भन्दै घटनाप्रति दुःख व्यक्त गर्यो र नियमित आफ्नै काममा व्यस्त भयो ।

    हत्याराको खोजी र कार्वाहीको माग गर्दै गाउँलेहरुले सडक तताए । अनुसन्धानमा सावित्राको ट्युशन मास्टरलाई पनि ल्याउन गाउँलेहरुको माग थियो ।

    प्रहरीले गाउँका जुल्फी पालेका र ट्याँटु खोपेकाहरु अनुसन्धानको दायरमा ल्यायो, गाउँको लाटो लठेब्रो र मानसिक सन्तुलन गुमाएहरुसम्मलाई ल्याएर सोधपुछ गर्यो ।

    गाउँका सम्मानित मास्टर साब प्रहरी अनुसन्धानको घेरामा परेनन् ।

    “मास्टर साब र हाम्रा हाकिम साब त्यस रात सङ्गै डिनर खाएका थिए रे” प्रहरीहरुको तल्लो तहमा निकै चर्चा छ ।

    १९१ पटक
    प्रतिकृया दिनुहोस्