BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    गाउँपालिकाको उदाहरणीय कार्य, तीन भैसी पाल्नेलाइ अनुदान र शिशुछोरीलाई १० हजार

    संसार न्यूज संवाददाताचैत्र १९, २०७५

    ईच्छा कामना गाउँपालिका चितवनले व्यवसायिक भैसीपालनमा लाग्नेलाई ३ लाख रुपैयाँ अनुदान दिने भएको छ । गाउँमा प्रसस्त कृषिको सम्भावना भएको र कृषिबाटै गाउँपालिका, प्रदेश अनि देशमै आर्थिक समृद्धि हुने ठहर गरेको गाउँपालिकाले कृषि तथा पशुपालनलाई गाउँपलिकाको मुख्य आर्थिक आधार मानेर अगाडि बढेको छ ।

    ‘जमिन बाँझो छ, युवा विदेशमा छन, यहाँ रहेका युवाहरु ५ हजारको जागिरे बन्छन् तर, आफ्नो बारीमा उत्पादन र गोठमा एउटा भैसी पालेर आत्मनिर्भर बन्न नसकेको अवस्था छ,’ गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले संसारन्युजसँग भनिन्,’ त्यसैले पनि हामीले कृषि र पशुपालनलाई बढी जोड दिएका छौं, हाम्रो गाउँपालिकामा यसको धेरै सम्भावना छ ।’

    गाउँपालिकाले र्भैसी मात्र नभएर, बाख्रा, कुखुरा, बंगुर पालनमा पनि अनुदान दिन लागेको हो । यसका लागि किसानले गाउँपालिकामा आएर आफ्नो व्यवसाय दर्तागर्नुपर्ने हुन्छ । त्यसपछि गाउँपालिकाको कृषि कार्यालय किसानका घर–घरमा पुगेर अनुगमन गरेर मात्र अनुदान दिइन्छ ।

    ‘हामीले पहिले अध्ययन गर्छौ, उहाँहरुले फर्म दर्ता गर्नुहुन्छ त्यसपछि कस्तो प्रकारको व्यवसाय हो, त्यहि अनुसारको अनुदान दिन्छौं । तर, उहाँहरुले पनि ५० प्रतिशत लगानी गनुपर्छ । किनकि आफ्नो पनि लगानी भइसकेपछि आफ्नो पसिनाको माया लाग्छ र व्यवसाय राम्रो हुन्छ । अध्यक्ष गुरुङले भनिन्, ‘त्यसले किसानलाई मात्र फाइदा नभएर गाउँपालिकाको आर्थिकस्तर माथि उकास्न सहयोग पु¥याउँछ ।’ हाल सम्म २०० भन्दा बढीले गाउँपालिकामा अनुदानका लागि निवेदन दिएका छन् ।

    यसका लागि गाउँपालिकाले यो वर्ष ५३ लाख रुपैयाँ छुट्याएको छ । आगामी वर्षहरुमा बजेट बढाउँदै लैजाने पनि अध्यक्ष गुरुङको भनाई छ । जसमा ३ वटा भैसी पाल्नेलाई १ लाख र बाँझो जमिनलाई उर्वर बनाएर सामुहिक रुपमा उत्पादनमा लाग्नेलाई १ लाख अनुदान दिइनेछ ।

    इच्छाकामनामा रहेका २५ हजार घर परिवारलाइ गाउँमै उत्पादन भएको दूध पुर्याउने र शुद्ध र ताजा दूध खुवाउने सपना छ अध्यक्ष गुरुङको । उनी भन्छिन्, ‘मुग्लिङ देखि महखोला सम्म कसैले तातो र ताजा एक गिलास दूध पिउन खोज्यो भने पोकाको दूधमै भर पर्नुपर्छ । एउटा पोका दूधको ५० रुपैयाँ पर्छ । ८० रुपैयाँ लिटर भैसीको दूध किनेर किन नखाने ? तागत पनि बढ्छ अनि स्वस्थ्य पनि भइन्छ । त्यसैले पनि भैसी पालनमा जोड दिइएको हो ।’

    उत्पादन भएको दूधको बजार व्यवस्थापनका लागि प्रत्येक घरपरिवारमा ताजा दूध खाने बानी बसाल्ने तथा डेरीमा बढी जोड दिने रहेको गाउँपालिकाको योजना रहेको छ । ‘त्यसका लागि होम शर्भिस, टोल सर्भिस तथा वडामा समेत सर्भिस पु¥याउनका लागि प्रक्रियामा छौं ।’ अध्यक्ष गुरुङले भनिन् ।

    तरकारी तथा फलफूल उत्पादनमा जोड
    त्यस्तै तरकारी उत्पादनमा लागेका किसानको बजार व्यवस्थापनका लागि अहिले उत्पादन भएको फिस्लिङको व्यस्त बजारमा पुगिरहेको हुनाले अझ बढी व्यवसायिक उत्पादनमा लगाउने र गाउँमै कलेक्सन सेन्टर राखेर त्यहाँ उत्पादन भएका र त्यहाँको बजारमा खपत भएर बढी भएको तरकारीलाई काठमाडौं, पोखरा, वीरगन्ज, गोरखा लगायतका बजारमा पठाउनका लागि गाउँपालिकाले योजना बनाएको पनि गुरुङले बताइन् ।

    त्यस्तै अहिले पनि गाउँपालिकाको ३–४ र ५ वडामा व्यवसायिक रुपमा काक्रा खेती भइरहेको पनि अध्यक्ष गुरुङले जानकारी दिइन् । गाउँपालिकाले फलफूल उत्पादनमा पनि बढी जोड दिएको छ । एक सुन्तला किसानले सिजनमा १० लाख भन्दा बढी सुन्तला बेच्छ भने त्यस्ता फलफूल व्यवसायमा बढी जोड किन नदिने ? अध्यक्ष गुरुङले भनिन् ।

    बालिका बचत खाता
    त्यस्तै गाउँपालिकाले अर्को उदाहरणीय कार्य पनि गरेको छ । महिला अध्यक्ष भएकाले महिलाको पीडामा बढी सचेत रहेकी अध्यक्ष गुरुङले छोरी जन्मिनुपर्छ, छोरीले पनि यो धर्तीमा बाँच्ने अधिकार पाउनु पर्छ र छोरीले पनि देशको नेतृत्व लिन सक्नुपर्छ भन्ने भावना सुनिश्चित गर्नका लागि भिडियोमा हेरेर छोरी भएमा भ्रुण हत्या गर्ने चलन निरुत्साहित गर्न आफू लागि परेको बताउँछिन् । ‘ हामीले नारी दिवसका दिनबाट ‘बालिका बचत खाता’ खोलेर जन्मिदासाथ गाउँपालिकाका तर्फबाट १० हजार रुपैयाँ ती बालिकाको नाममा मुद्दति खातामा राखिदिने घोषणा गरेका छौं ।’ अध्यक्ष गुरुङले भनिन्, ।

    ‘त्यस खातामा बाबु आमाले पनि बचत गरिदिनुपर्छ भनेका थियौं । तर कति बाबु आमालाई घरकै गर्जो टार्न समस्या हुने भएकोले सक्र्नुहुन्न । हामीले राखिदिएको पैसा ति बालिका १८ वर्ष पुगेपछि मात्र निकाल्न पाउँछीन त्यसमा ब्याज बढी रहन्छ । पछि उनको शिक्षालाई सहयोग पुगोस् भन्ने सोचले हो । गाउँपालिकामा ५ वटा बर्थिङ सेन्टर रहेको र त्यहाँ जन्मिएका बालिकाको रेर्कडका आधारमा कार्यक्रम अघि बढाउँदै लगेको पनि अध्यक्षले बताएकी छन् ।

    स्कुलको विकास र ई–हाजिरी
    अध्यक्ष गुरुङे आफैले पनि २३ वर्ष अध्यापन गराइन् । स्कुल, स्कुलमा पढाइने शिक्षा तथा विद्यार्थीको पीडा राम्रैसँग बुझेकी उनले निजी श्रोतबाट पढाउने शिक्षकको लागि १८ हजार तलब र ६२ जना शिशु शिक्षकका लागि सरकारको तर्फबाट आउने ६ हजारमा ४ हजार गाउँपालिकाले व्यवस्था गरेर १० हजार रुपैयाँ पुयाईएको बताएकी छन । ‘६ हजारले उसले घर कसरी चलाउँछ, भन्नुस् त ! अभिभावक, समाज अनि देशकै पाइलट बन्नुपर्ने शिक्षकले सबैको सपना पूरा गर्नका लागि आर्थिक अभावमा कसरी सुरक्षित अबतरण गर्छ,’ उनले भनिन् ।

    इच्छाकामना गाउँपालिकामा हाल ६४ वटा स्कुल छन् । शिक्षाको स्तर वृद्धि गराउनका लागि गाउँपालिकाले ती स्कुलमा अनुगमन, निरीक्षण गर्ने मात्र नभएर अभिभावकले आफ्ना बालबालिका प्रति देखेको सपना पूरा गर्नका लागि हर प्रयास गरेको अध्यक्ष बताउँछीन् । त्यसका लागि शिक्षकहरुलाई तालिम दिइने गरिएको छ । साथै अभिभावकले पनि आफ्ना छोराछोरीलाई जिम्मेवार, अनुशासित, नैतिकवान र समाजसुधारको मार्गमा लगाएमा मात्र बालबालिकालाई भोलीका योग्य नागरिक बनाउन सकिने अध्यक्ष गुरुङको भनाई छ । ५–६ घण्टा हिडेर स्कुल जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि नजिककै स्कुलहरुमा क्लास अपग्रेड गराउँदै लगिने पनि अध्यक्षले जानकारी दिइन् । त्यस्तै बालबालिकाको नियमित हाजिरीका लागि पनि स्कुलले अब २०७६ बैशाख १ देखि ई–हाजिरीको व्यवस्था गर्न लागेको छ । यसले बालबालिकालाई कक्षमाा निरन्तरता बनाउन सकिने अध्यक्ष गुरुङको भनाई छ ।

    प्राविधिक शिक्षा
    अहिलेको मुख्य आधार प्राबिधिक शिक्षा रहेको ठहर गरेको सो गाउँपालिकाले प्राविधिक शिक्षालयको परियोजना अघि बढाएको छ । यसका लागि गाउँपालिकाले जेटिए शिक्षा, कम्प्युटर शिक्षा लगायतमा विशेष ध्यान दिएको छ । प्राविधिक शिक्षा लिनका लागि गाउँपालिकाका युवा युवती अन्यत्र जानु नपरोस् भन्ने नै रहेको अध्यक्ष बताउँछिन् । गाउँपालिकाले इन्जिनियर र ओभरसियर पढ्नका लागि अन्यत्र जाने ३ जना विद्यार्थीलाई ५०–५० हजार छावृत्ति समेत प्रदान गरेको छ ।

    चुनौती र अवसर दुवै छ
    गाउँपालिकाको अध्यक्ष, त्यसमा महिला हुनुहुन्छ काम गर्ने क्रममा बाधा अप्ठेराहरु पर्दैनन् ? भन्ने संसारन्युजको प्रश्नमा अवसर र चुनौती दुवै रहेको बताउँछिन् अध्यक्ष गुरुङ ।
    ‘मलाई गाउँपालिकामा पुरुष सरह काम गर्न कुनै असहजता छैन । जनताले मलाई अहिलेसम्म असक्षम भनेको वा यसले नेतृत्व दिन सक्त्नि भनेको थाहा छैन्’ उनले भनिन् ‘ उहाँहरुले महिलाको नेतृत्व भएको स्थानीयतहमा भ्रष्टाचार हुँदैन् भनेर सह्राना गरेको पनि सुनेकी छु । मैले कहिल्यै पनि ‘यो काम मैले गर्न सकिन, तपाइले गरिदिनोस्’ भनेर पुरुष साथीहरु गुहारेकी छैन । मलाई अबसर र चुनौती दुवै छन् ।’

    तर एउटा नमिठो अनुभव भने गरेकी छु । चेतनाको कमि र मानिस आफै सुध्रन्छु भनेर आफूलाई सुर्धाने कोशिषमा लागेन् भने त्यसले घर परिवार, टोल, छिमेक र देशलाई नै प्रभाव पार्छ । पहिलो कुरा उसमा सकारात्मक सोच आउनुपर्छ । हरेक मानिसले आफू स्वयममा परिवर्तन गर्नु जरुरी छ । त्यसपछि सबैतिर सकरात्मकताको सन्देश जान्छ । यसका लागी गाउँपालिकामा जनचेतना जगाउने कार्यक्रमहरुको तयारीमा पनि लागेका छौं । उनले भनिन् ।

    तिला गाउँपालिकाको उदाहरणीय कार्य, घर-घरैमा डाक्टर

    ९३१ पटक
    प्रतिकृया दिनुहोस्