BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    ‘आरा’

    देबेन्द्र केसी,गुल्मी, हाल दिल्लीचैत्र २३, २०७५

    बा, आफू सुत्नुभएन । तर, हामीहरु मस्तसँग सुत्यौ । बाले खानुभएन हामीहरु टन्न खायौ । त्यो आराको कमाईले बाले पाँच छोराछोरी हुर्काउनु भयो । पढाउनु भयो र बढाउनुभयो । ‘त्यो सत्रबर्षे उमेरमा तेरी आमा नभेट्टिएको भए र यो आरा नभएको भए म आज ज्यूँदो कहाँ रहने थिँए र ?’ बा ले आजकल कहनुहुन्छ ।

    ‘आरा’ जीवनको बहुउपयोगी सरल यन्त्र । सुकेको काठलाई आफ्नो रुप रंग र ढंङ्गमा ल्याउनका लागि काट्न प्रयोग हुने एकप्रकारको औजार । आरा आवश्यकता अनुसार दुई जनाले प्रयोग गर्न सकिन्छ । तर, आजकल त बिजुलीबाट चल्ने आराहरु पनि बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । तर, मेरो बिषयबस्तु अलिकति पुरानो जमनाको भएकोले यहाँ हाते आरा र दुई जनाले लाउन मिल्ने ठूलो आराको प्रसंग कोट्याउदै छु । आराले मेरो ‘पारा’ कहाँ पुर्याइदियो र मेरो ईज्जत, हुर्मत, बालापन र गासदेखि बास कसरी सम्हालिदियो, आराकै पौरखबाट दुई अक्षर चिनेको ‘म’ आज आरा र आरा चालककै गुणगानको लागि दुई अक्षरहरु बुनिरहेछु ।

    आराको स्वर आफैमा कोकिलकण्ठी हुँदैन । घना जङ्गलमा ‘घ्यार्र–घ्यार्र’ गर्ने आरा शान्त जंङ्गलको मौनता भङ्ग गर्ने र बन्यजन्तुलाई पनि तर्साउने खालको हुन्छ । तर त्यहि आराको कठोर स्वर मलाई भने औधी प्यारो लाग्थ्यो । जव आराको घ्यार–घ्यार मेरो कानमा ठोकिन्छ अनि म हर्ष र उत्कण्ठाले पुलंकित हुन्छु । मेरो नाकले सुकुनको सास फेर्छ । नयनहरुबाट अश्रुधारा बगिदिन्छन् । अनि मेरो बालापन र मेरा ‘बा’ लाई झल्झली सम्झिन्छु । नजिकमा भए मेरा ‘बा’ को काखमा पल्टिएर धित मरुन्जेल रुन्थे जस्तो लाग्छ । तर म नौडाँडा पारीको बिरानो मुलुकमा कलम र क्यामेरासँग पौठेजोरी खेलिरहेछु । अनि कंक्रिटको जंङ्गल यो महानगरमा त्यो आरा चालक मेरा बा को चरम अभाव खेपिरहेछु ।

    ख्याउटो ज्यान । नखौरिएका दाह्री । पट्पटी फुटेका पैतला । पीडाले च्यापिएको छाती तर, अदृश्य मनोबल र मलाई ‘कलमबिर’ बनाउने अघोषित शर्तहरु…घना जङ्गलमा काठका केस्राहरु केलाउदै आरा लगाउदा निस्कने धुलोमा लट्पटिएको ‘बा’ को दिनचर्यामा मेरो भविश्यको सुनौलो ‘सपना’ ले ढाडस दिलाउथ्यो । कतिखेर घरधनी ले पानी र नास्ता ल्याउछ भन्दै प्याक–प्याक मुख बाउदै ‘आरा चालक’ मेरा बा ले कयौ काठका केस्रा बनाउनुभयो होला । तर, बा का दःुखले पछ्याउन छोडेनन् ।

    दिनभरीको थकान भुलाउने खरको त्यो झुपडी बर्षात्को पानी झेल्ने अवस्थामा थिएन । बा काठको धुलोमा नखेलेसम्म मुखमा माड जाँदैन्थ्यो । बा ले ‘जग’ का काठ फेर्नुभयो । गाँउका भत्केका घर चिटिक्क पार्नुभयो । पैसावालाका पलङ्ग बने तर, हाम्रो झुपडी त्यस्तै रहयो । छानामा खरले छोडेन तल चुहिन छोडेन ।

    बा ले भनेको , म जन्मिँदा करानथाना हजुरआमाले खुसी भएर एक रुपैया बक्सिस दिएकी थिइन् रे ! ‘कुल’ को जेठो छोरो ‘म’ जन्मिँदा बा लाई हजुरआमाले रुँदै भन्नुभएछ ‘लौ तेरो अघि–पछि गर्ने साथी जन्मियो । अव म मरे पनि नाति खेलाउने धोको रहने छैन ।’

    बर्षात्मा ओडिने सेउ मा मलाई सुताएर ‘धोद्रा’ को पखेरामा गाई बस्तु चराउने मेरी हजुरआमाले कहिले यो ‘बबुरो’ ठुूलो होला र बा को अघि पछि गर्ला भनेर मलाई नियालिरहनु हुन्थ्यो रे ! म पछि भाइ जन्मियो । बहिनी जन्मिइ । खुसी थपिदै गयो । तर, बा ले आराको धुलो खाने क्रम भने रोकिएन बरु झन थपिदैं गयो ।

    म सानो थिएँ । तर, हरेक कुराले मलाई पिरोलिरहन्थ्यो । मैले खस–खस लागेपछि बा लाई सोधेर हैरान पार्थें । ‘बा सबैका घर ढुङ्गाका छन तर हाम्रो मात्रै खरको घर किन नि ! सबै भन्दा बढि यहि प्रश्न गर्थेँ । ‘बाबु, ढुङ्गामुनी बस्ने त मरेपछि हो ज्युँदै कहाँ ढुङ्गामुनी बस्नु भनेर मैले ढुँङ्गेघर बनाएको छैन बुझिस्’ यहि भनेर बा ले सम्झाउदा म बालाई औधि बुद्धिमानी र अन्य गाँउलेहरुलाई बुद्धिहिन सम्झिन्थेँ । आज बल्ल थाहा भयो ढुङ्गेघर बनाउने पैसा नभएर पो बा ले मलाई यस्तो भन्नु भएको रहेछ ।

    बा ले कहिल्यै कसैको कुभलो सोच्नुभएन । कसैको दुई पैसा खानुभएन । बरु बाटो लामो होस्, घुमेरै घर आउने तर छोटोबाटोको लागि कसैको आँगनबाट हिँड्नु भएन । ऋण काढेर तामझाम देखाउनु हुन्न भन्दै मलाई सम्झाउनुहुन्थ्यो बा । भन्नुहुन्थ्यो ‘बाबु कसैसँग ऋण काढेर चप्पल लगाई, अव माग्न आउने बेला भयो भन्दै बारी–बारी चप्पल लगाएर भाग्नु भन्दा बरु खाली खुट्टा नै गाँउको बाटो सबैले देख्नेगरी हिँड्दा केहि लाज हुँदैन ।’

    मन भरी थकाइ । दिमाग भरी व्यथा । एकोहोरो आराकै हुटहुटीमा शरिर लखतरान भएपनि बिचमा हँसाएर माहोल हल्का बनाउथे बाले । पीडा भुलाउनका लागि सायद भगवानले बरदान दिएका थिए बालाई, सबैलाई हसाएर मन हल्का बनाइदिन्थे ।

    म कक्षा ६ मा पढ्थें । एक दिन शखरखण्ड खन्न आमा, बा र म तल बारीमा गयौ । शखरखण्ड खन्दाखन्दै आमाले बालाई सोध्नुभयो यता त स–साना खुजुरा शखरखण्ड रैछ, हजुरकोतिर कत्रा निस्किए’ बा ले मुसुक्क हाँसेर भन्नुभयो, ‘यता नि त्यै बाबुको ढुकुर जत्रै निस्किएका छन्,’ आमा त्यो बेलामा लजाउनु भयो । तर, मैले त्यतिबेला बुझ्नि । तर, आज सम्झदा लाज लाग्छ ।

    बालाई बाल्यकालमा खान,लाउन अभाव थिएन । हजुरबा गाँउका थरी (जान्ने–सुन्ने व्यक्ति) भएकोले प्रसस्त खेतबारी थियो । पढाईमा पनि बा अव्वल थिए रे । बा ले त्यति बेला पनि सात क्लास पढेका िथिए रे । पढेर मास्टर बन्ने तथा लाहुरे बन्ने भन्ने कुरामा बाको जोस नचलेको पनि होईन । तर, हजुरआमाले हकार्नुभएछ ‘तँ पढेर मास्टर बन्नी अनि तेरो यत्रो सम्पति चाँहि कल्ले हेरिदिने ?’ बुकी फूल्न दिन त भएन नि, लाहुरे बनिस् भने मलाई यहाँ एक्लै छोडेर जान्छस्’ बा ले न त हजुरआमा लाई छोडेर लाहुर नै जानसक्नु भयो, नत पढेर मास्टर बन्न नै । केवल एक असल ‘आरा चालक’ बन्नुु भयो मेरा बा ।

    बाको एउटी दिदी हुनुहुन्थ्यो । भर्भराउदो जवानी । बिस बर्षमा भर्खर टेक्नुभएको थियो । घरमा बिहेको कुरा चल्दै थियो । एकदिन हजुर बा गाँउका कोहि बृद्धको अन्तिम संस्कारमा ‘घुमाउने घाट’ जानुभएको थियो । हजुरआमाले दिउसो छोरीलाई घाँस र दाउरा लिन ‘केराउछरे’ पठाउनु भएछ । दिउसो घाँस काट्न गएकी छोरी साँझ सम्म नआएपछि खोजबिन सुरु भयो । बा पनि एउटा हातले कट्टु समाउदै र अर्को हातले सिँगान पुछ्दै हजुरबाको पछि लागेर ‘केराउछरे’ पुग्नुभएछ । त्यहाँको कारुणिक दृष्य देखेर हजुर बा त्यहि ढल्नुभएछ । बा एकोहोरो चिच्चाउनु भएछ । दिउसो कोरीबाटी गरी चिटिक्क परेर आएकी छोरी खोलाको दुई ढुङ्गा बिचको कापमा मृत अवस्थामा फेला पर्नु भएको थियो रे मेरी फुपु । हत्या थिएन र आत्महत्या पनि थिएन बस भबितव्य थियो । डोकाभरि घाँस र डोको माथि दाउरा बनाएर बोक्न खोज्दा घोप्टिएर डोकैसित खोलामा लडेको अवस्थामा भेटिएकी थिईन् रे फुपु । बाको एकमात्र दिदी, अल्पायु मै बाटो लाग्नु भएछ । बाले कहानी सुनाउदै जाँदा आशुँधाराले गला अबरुद्ध पाथ्र्यो ।

    आफ्नी फूलजस्ति छोरीलाई अल्पायुमै गुमाएपछि हजुरबा कैयन दिन अचेत बन्नुभयो । छोरी पन्चतत्वमा बिलिन भईन् । क्रियाक्रम सकियो तर हजुरबाको चेत खुलेन । बर्बराउदा बर्बराउदै अर्धपागल जस्तै हुनुभएछ । यता हजुरआमालाई छोरीको मृत मुख सम्म हेर्न नदिएर घरमै ढोका थुनेर राखिएछ । मिलेको घर अनि सम्हालिएको परिवार सबै लथालिङ्ग भयो । भताभुङ्ग भयो । शोकै शोकमा ओछ्याननै नछोडेर हजुरबा पनि स्वर्गबासी हुनुभयो । बाको एकमात्र आस्थाको किल्ला ढल्यो । अव आफू बाँचेर पनि के नै हुन्छ र ? भन्ने सम्ममा बा पुग्नुभएछ । तर, हजुरआमाको लागि भएपनि बाँच्ने भनेर हजुरआमाकै अघिपछि गर्न थाल्नुभएछ । बाले जीवनको अतित कोट्याउदै जानुभयो म सुन्दै गएँ । धेरैपटक रुँदै गएँ ।

    छलीले छल पठाएर बा लाई छल गरिसकेको थियो । हजुरआमा र बा टुहुरा जस्ता भए । हजुरआमा डाँको छोडेर रुँदा ‘नरोउ आमा म ज्यूँदै छु‘ भनेर बा ले ढाडस दिनुहुन्थ्यो रे ! ‘बाघ जस्ता तेरा बा र उडेको चरो छोप्ने तेरी दिदी गैहाली तँ बबुरोले खै के गर्लास् र !’ हजुरआमा भाग्य भएकी अभागी हुनुभएको थियो । अझै पनि बाको जीवनमा बज्रपात रोकिएन । हजुरआमा बारीको कान्लाबाट खस्नुभएछ । एउटा हात भाँच्चियो ।

    बा, खाएको भातको गाँसपनि घाँटीबाट तल झरेको देखिने पातलो हुनुहुन्थ्यो रे ! हजुरबाले छोडेर गएको सम्पति बाहेक अरु केहि थिएन बा को भागमा । त्यहि सम्पतिको किचलो झिकेर आफन्तीहरुले सताउनु सम्म सताएछन् । घर फोरिदिने, कुखुरा मारिदिने मात्र नभएर आमा–छोरालाई त्यो समाजबाटै खेदाउँनका लागि केही बुद्धिजीवीले न्वारान देखिको बल पनि लगाएछन् ।

    बालाई उमेरले भन्दा पनि परिस्थितिले परिपक्क बनाएको थियो । पढाईमा अब्बल भएकोले मास्टर बन्ने या लाहुरे बन्ने इच्छा भएपनि हजुरआमाको मुख हेरेर आफ्ना ईच्छाहरु गर्भमै मार्नुभएको थियो रे बाले । ‘सबै कुरा छोड बाबै, एउटी लिखौटी बिहे गर, कमसेकम तँलाई मन बुझाउने बाटो त हुन्छ’ भनेर बारम्बार हजुरआमाले सुनाएपछि सत्र बर्षको उमेरमा बा ले घरजम गर्नुभएछ ।

    बा, बिस बर्षको हुँदा आमा जम्मा पन्ध्र बर्षकी हुनुहुन्थ्यो । म जन्मिएछु । त्यो फुटेको भाग्य । टुटेको मुटु । लथालिङ्ग र भताभुङ्ग परिवारमा आशाको दियो बनेर । अनि बाको साथी, बुढेसकालको साहारा, हजुरआमाको असिम माया बनेंर म ‘बबुरो धर्तीमा आएछु । म जन्मेपछि मेरो सलामतीको कामना गर्दै सिमे, भुमे, कुलदेवता, जलदेवता भाक्नुपर्ने भाक्नुभयो । मिठो, मसिनो खुवाउनु भयो । सम्पतिमा आफन्तकै बक्रदृष्टी परिसकेको थियो । बाले पढाई छोडिसक्नुभएको थियो । मेरो सुन्दर भविश्यको कल्पनामा बाको सहारा ‘आरा’ बनिसकेको थियो । एउटा सिकारु केटा पोख्त ‘आरा चालक’ बनिसकेको थियो । बिधीको बिधानले लथालिङ्ग पारेको हाम्रो घरलाई ‘आरा’ ले जोडेर ल्याउदै थियो ।

    बा, आफू सुत्नुभएन । तर, हामीहरु मस्तसँग सुत्यौ । बाले खानुभएन हामीहरु टन्न खायौ । त्यो आराको कमाईले बाले पाँच छोराछोरी हुर्काउनु भयो । पढाउनु भयो र बढाउनुभयो । ‘त्यो सत्रबर्षे उमेरमा तेरी आमा नभेट्टिएको भए र यो आरा नभएको भए म आज ज्यूँदो कहाँ रहने थिँए र ?’ बा ले आजकल कहनुहुन्छ ।

    ‘मलाई बिबसताले बाँच्न सिकायो र परिस्थितिले हाँस्न’ बा ले कहिलेकाँही आफ्ना पुराना कुरा पोख्नुहुन्छ । बा ले पिर, दुःख, बिबसता र निरासा पचाउने हिम्मत राख्नुभयो । बा बिबसताले खारिनुभयो र परिस्थितिले तिखारिनुभयो ।

    आजकल मेरा बा बहुमखी प्रतिभाका धनी बन्नुभएको छ । आरादेखि ल्याप्टपसम्म समाउनु भएको छ । परिवार मात्र होइन, समाजको पनि नेतृत्व गर्न हरदम अगाडि बढेको पाउँछु । पहाडदेखि तराईसम्म सम्पतिको मालिक बन्नुभएको छ । छोराछोरीहरुको प्रगतिमा मख्ख बन्नुभएको छ । अनि नाति, नातिनीहरुको लाड र प्यार बन्नुभएको छ । तर, पनि बाले आफ्नो धरातल बिर्सनु भएको छैन । आराप्रतिको मोह अझै हटेको छैन । बा भन्नुहुन्छ, ‘आरा’ मेरो अर्की दुलही हो ।

    मलाई पनि कुनै शंङ्का छैन । मेरो ईज्जत, हुर्मत, शिक्षा, पहुँच सबैमा आराको कमाई मिसिएको छ । आराको ‘घ्यार,घ्यार’ को आवाज र बा को पसिना सिँचिएको छ ।

    म शहरमा संघर्ष गरिरहेको छु । तर, आरा र आरा चालकले गाँउबाट मलाई धरातल नबिर्सिन हरदम खबरदारी गरिरहेछन् । म सिडियो स्टेसनदेखि रेडियो स्टेसनसम्म पुग्छु ।

    गोल्डस्टारदेखि फाईभ स्टारको दुरी तय गरें । बाँसको चेपबाट निस्किएर समाचारको खेप बनाँए । तर, आराले के पायो ? आरा चालकलाई कहिले सम्म धुलो मै रोमलिनुपर्ने हो ? मैले सोँचे अव शहरबाट गाँउ जाँदैछु बा लाई मिठो–मसिनो केहि लगिदिनुपर्छ । म मोबाईल सोझ्याँछु र बा लाई फोन लगाएर सोध्छु, ‘बा म आउदै छु, के ल्याईदिँउ ?’ बाले भन्नु भयो, ‘बाबु, अरु के ल्याउछस् र बरु एउटा राम्रो कम्पनीको आरा लिएर आईज हैं ।’

    २१६ पटक
    प्रतिकृया दिनुहोस्