BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    छोरी चेली जोगाउनु कसरी ?

    भुवन तामाङ, झापाचैत्र ३०, २०७५

    छोरी चेली भएको घरै उज्यालो हुन्छ । जुन घर गाउँमा छोरीचेलीहरू छन् त्यहाँ खेतीपाती लगाउन र उठाउन साह्रै सजिलो हुन्छ । जहाँ छोरीचेलीहरू छन् त्यहाँ कुनै कार्जे सम्पन्न गर्न पनि साह्रै सजिलो हुन्छ । छोरीचेलीहरू नभएका घर, गाउँ साह्रै उराठ लाग्दो हुन्छ । छोरीचेली घर, गाउँको गहना हुन् तर उनै छोरीचेली जोगाउन पनि उत्तिकै हम्मेहम्मे पर्छ अभिभावकहरूलाई । त्यसमा पनि केही पैसा कमाउन थाले भने त गतल नियत भएकाहरू पछि लागि हाल्छन् । यस्तै कथा छ यहाँ एउटा ।

    ‘सुप्रिया’ले धेरै प्रयास पश्चात इजरायलको भिसा झार्छिन् र यात्रा तय गर्छिन् । उनका अभिभावक विमल र नविना हुनसम्म खुशी हुन्छन् । आफन्त र छरछिमेक पनि खुशी हुन्छन् । दिन बित्दै जान्छन्, सुप्रियाले काममा अनुभव बटुल्दै जान्छिन् । काम गर्ने ठाउँमा उनी विश्वसनीय र भरपर्दी हुँदै जान्छिन् । तब उनलाई महिनाको लाख कमाउन गाह्रो हुदैन । घरमा रहँदा पकेट खर्च त के आपूmलाई चाहिने अत्यावश्यक महिलाजन्य लत्ताकपडा किन्न पनि पैसा हुन्नथ्यो सुप्रियासँग । हाटबजार जाँदा चटपटे र पानीपुरी खाने पैसा नि हुन्नथ्यो । सौन्दर्य प्रशाधन किन्ने चाहना त सपनामै सीमित हुन्थ्यो तर सुप्रियाको आजको आर्थिक स्थिति फरक छ । उनी महिनामा लाख भन्दा बढी कमाउँछिन् । टिप्स् पाउनु त छँदै छ ।
    सुप्र्रिया अब सामाजिक सञ्जाल फेसबुकमा पनि देखा पर्न थाल्छिन् बिभिन्न पोजका फोटासहित । गाउँमा छँदा कालो चस्मा लाएको मान्छे देख्दा डरले घरभित्र लुक्थिन् तर अब त उनी आपैm नै कालो चस्मामा सामाजिक सञ्जालमा देखापर्न थाल्छिन् । बाह्य दुनिया तथा विदेशको प्रभाव उनमा पनि पर्न थाल्छ ।

    सुप्रियाले घरमा बाबा आमालाई मनग्गे पैसा पनि पठाउन थाल्छिन् । देखिने गरी घरको आर्थिक अवस्था फेरिन थाल्छ । सुप्रियाले बाबालाई मोबाईल फोन पार्सल गरेर पठाइदिन्छिन् र फेसबुक आइडी खोल्न लाउँछिन् । सुप्रियालाई बारम्बार मोबाइलमा देख्न र उनीसँग गफिन पाइन्छ । गाउँमा विमल र नविनाको स्टाटस नै फरक हुन थाल्छ । ‘हेर विमल र नविनाको छोरी कस्ती बुद्धी भाकी विदेश गई । विदेशबाट बाबा आमालाई पैसा, सामान अनि के के हो पठाउँछे । छोरी हुनु त सुप्रिया जस्ती पो’ भन्न थाल्छन् गाउँलेहरू । विदेशी चकलेट त कति पटक चुसेचुसे गाउँलेहरूले पनि तर सुप्रियाले पैसा सजिलै कमाएको भने होइनन् । त्यहाँ कुनै घरमा ज्येष्ठ नागरिकको स्याहासुसार गरेर, उनीहरूको गुहुमुत् सोहोरेर, नुहाइधुवाई गरिदिएर, लुगा धोइदिएर, खाना ख्वाइदिएर, भाँडा माझेर, कतिपटक गाली र कुटाइसमेत खाएर दुःखले कमाएको पैसा हो ।

    दुःख गरेअनुसार बाह्रवर्ष पुग्दासम्ममा सुप्रियाले घरमा निकै पैसा पठाइ सक्छिन् । उनका बाबा आमा बिमल र नविनाले सुप्रियाको नाममा तीनतले विल्डिङ् घर किन्छन् । आकर्षक घरेडीहरू पनि किन्छन् । ‘केही गरी सुप्रिया नेपाल फर्कि नै हाले पनि उनलाई बाँच्न गाह्रो पर्ने छैन अब ।’ यस्तै सोच्छन् सुप्रियाका बाबा आमा तर विस्तारै सुप्रियाले घरमा पैसा पठाउन छाड्छिन् । भन्छिन्

    ‘काम टुटेकोले पैसा पठाउन सकिन । भिसा सकियो लुकेर बसेको छु । अर्को काम तय भएपछि र भिसा थपिएपछि फेरि कमाइ गर्छु ।’ उनका बाबा आमा ‘होला त नि’ भनि पत्याउँछन् तर आप्mनी छोरीको फेरिएको व्यबहारदेखि अचम्भित बनेका छन् । सोधुँखोजुँ भने पनि कसलाई सोध्नु ? छोरीले जे भने पनि सोझा बाबा आमाले पत्याउँछन् ।

    गाउँघरमा पनि खासखुस् कुरा चल्छन्, ‘होइन सुप्रियाले त पैसा पठाउन छाडी रे नि हाव ! विमल र नविना त फिटिफिटी परिराछन् त । विदेशी पैसा खेलाउने बानी परेका उनीहरू पानीबिनाको माछा जस्तै प्याक्ल्याक् प्याक्ल्याक् भएका छन् पैसा बिना ।’ गाउँलेहरू चोचोमोचो जोर्दै गफिन्छन्, ‘हाव सुप्रियाको फेसबुक आइडीमा त को हो खाइलाग्दो केटाको फोटोपो देखिन्छ अरे त ।’ कोही ‘आबुइ होर ?’ भन्छन् । कोही जिब्रो प्ल्यात्त्त पारेर आश्चर्य प्रकट गर्छन् । कोही भन्छन्, ‘सुप्रियाको चालामाला ठीक छैन है । फँसि जस्तो छ विमल र नविनाकी छोरी । केटीहरू विदेश जानु पनि ठीक होइन र छ । पैसा कमाउने केटीको पछि लाग्ने दुष्ट कति हुन्छन् हुन्छन् । हाव छोरीचेली जोगाउनै साह्रो छ है आजको जमानामा ।’
    नभन्दै, एकदिन एक खाइलाग्दा युवक विमल र नविनाको घरमा आएर भन्छन्, ‘बुबामुमा ! म सुप्रियाको साथी । म पनि एउटा तालिममा इजरायल जाँदैछु, सुप्रियाको घर र
    घडेरीको धनीपुर्जाहरू ल्याइदिनु भनेकी छिन्, हजुरहरूलाई घर खर्च भनेर पाँचलाख पैसा पनि छाडेर आइदिनु भनेकी छिन्, मलाई इजरायलमै फिर्ता गर्छु भनेकी छिन्, त्यसै भएर म बुबामुमालाई भेट्न आएको ।’

    कहिल्यै नदेखेको नचिनेको मानिसको कुरा कसरी पत्याउनु ? तर पाँचलाख रुपैँयाले उनीहरूको मन लोभियो तै पनि छोरीसँग कनफर्म गर्न फोन सम्पर्क गर्न कोशिश गर्छन् । मरे फोन उठ्दैन । ति युवा सुय्रियालाई फोन गर्छन् सुप्रिया सम्पर्कमा आउँछिन् र ति मानिसकै सामु सुप्रिया बाबाआमालाई भन्छिन्, ‘त्यत्रो पैसा परेको घर जग्गा छ हजुरहरूलाई फकाएर आफन्तहरूले बद्मासी गर्न सक्छन् । त्यै भएर धनीपुर्जा यतै मकहाँ नै पठाइदिनु अनि बुबा मुमालाई घरखर्च गर्न पाँचलाख मिलाइदिएको छु । एकमहिनापछि अरु पैसा पठाइदिन्छु । उहाँ मेरो इजरायली भाषा सिक्दादेखिकै साथी हुन् विश्वासी छन्, है त बुबामुमा !’ तर आमाको मनले मान्दैन छोरीको कुरा । आमा नविना सुटुक्क छोरीसँग फोनमा कुरा गर्न चाहन्छिन् । नविना अर्को कोठामा ढोका थुनेर सुप्रियालाई सोध्छिन् । सुप्रियाले आमा नविनालाई
    ‘मामु ! उहाँ तपाईहरूको हुनेवाला ज्वाँई हो के । कस्तो कुरा नबुझेको’ भन्छिन् । अन्ततः सुप्रियाका बाबुआमाले पाँचलाख थाप्छन् र धनीपुर्जाहरू ती मानिसलाई पठाइदिन्छन् ।
    फेसबुकमा सुप्रियाबारेका म्याटर भाइरल हुन थाल्छ । सुप्रियाको फेसबुक आईडी वालमा सुप्रियाको सट्टा ति युवाको फोटो छ्यापछ्याप्ती देखा पर्न थाल्छन् । यस्तो देखेर सुप्रियाका साथीहरू पनि छक्कै पर्छन् । गाउँघरमा त गफको खुराक नै यही बनिदिन्छ । विमल र नविना शरमले टाउको उठाउन सक्दैनन् । ‘हे छोरी ! के गरेकी यस्तो’ भन्दै पुर्पुरोमा हात राखेर घरभित्र लुक्छन् ।

    केही बर्ष पछि । एक शहरको एक चल्तीको चोकको किनारमा एक अधबैँसै महिला चिया बेचिरहेकी देखिन्छिन् । एउटा ग्यास ट्याङ्की र स्टोभको सहारामा कित्लीभरी चिया पकाएर तात्तातो चिया बेचिरहेकी महिलाको नाम चियाका पारखीहरूले
    ‘इजरायली दिदी’ राखिदिएका छन् । इजरायली दिदी भन्छिन्,
    ‘पन्ध्रवर्ष इजरायल बसेको पुरस्कार हो यो । ल खाओ तातो चिया ।’ चियाका पारखीहरू गलल हाँस्तै र के के भनेर जिस्कँदै चिया पिउँछन् । नजिकै एक खाइलाग्दो बालक धुलाम्मे भएर खेलिरहेको देखेर चियाका पारखीहरू सोध्छन्, ‘अन्त ए इजरायली दिदी ! यो नानी चैँ कस्को हो नि हौ ?’ तर मौनता नै इजरायली दिदीको जवाफ भइदिन्छ ।

    सुप्रिया अन्ततः विदेश, त्यसमा पनि इजरायल गएका युवतीहरूलाई सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट प्रेमको नाटक गरेर फसाउनेको जालमा परिछाड्छिन् । आमा बाबुलाई बिर्सेर अर्काको छोरालाई सजिलै विश्वास गर्दा सुप्रियाले पन्ध्रवर्ष इजरायलमा अर्काको गुहुमुत सोहोरेर कमाएको करोडौँ बढीको सम्पत्ती बिनासित्ती गुमाउँछिन् । सडकछाप हुन पुग्छिन् सुप्रिया । विहे गर्ने उमेरले पनि डाँडा काट्छ । मानिसहरू भन्छन्, ‘हाव आइमाईको मन कतिछिटै पग्लिन्छ हो की ?’ कोही भन्छन्, ‘आइमाईहरू नै उस्ता । कति सजिलै मनपेट दिन्छन् । मनपेट दे पछि त पटाहा लाइहाल्छन् नि, हाव दाइँ गरिहाल्छन् नि फटाहाहरूले । दुःख पाइस् मङ्गले आप्mनै ढङ्गले भनेको यही होला ।’ सतित्व पनि लुटाउनु, कमाको धन पनि लुटाउनु अनि उमेर पनि बिताउनु, कतिसम्म ठगिएकी, उप्m ! आखिर समाजले नारीलाई नै दोषी देख्छ ।

    गाउँलेहरूको खिसिटिउरी र दुर्बचनको पहिरोले थिचेपछि सुप्रियाको बाबा आमा विमल र नविना जायजेथा सस्तैमा बेचेर आप्mनो थातथलो छाडेर कतै टाढा बसाइ सरेर जान्छन् । फेरि कहिल्यै देखा नपर्ने गरी । विमल, नविना र सुप्रियाले एउटा कथा या किस्सा छाडेर गएपनि यस घटनालाई गाउँलेहरूले एउटा गतिलो सन्देशको रुपमा भने लिन्छन् । भन्छन्, ‘छोरीचेली जन्मायो हुर्कायो पढायो तर जताततै लामा र तिखा दाह्रा भएका हिंस्रक ब्वाँसैब्वाँसा छन् । अर्काको धनसम्पत्ती र छोरीचेली बिगार्ने कुलङ्घार र पापीहरू सलह जस्तै छ्याप्छ्याप्ती छन् । यस्ताहरूदेखि होसियार हुनै पर्छ । के गर्नु र हाम्रा छोरीचेली जोगाउनु कसरी ?’

     

    ११३ पटक
    प्रतिकृया दिनुहोस्