BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    सार्थक

    रश्मी भट्ट, न्युयोर्क अमेरीकाबैशाख ७, २०७६

    केही समयको अन्तरालपछि आज फेरी निकोल उदास देखिन्थी । मैले सदा झैं हॉस्दै गुड मर्निङ भनें । तर, उसले हात मात्र हल्लाई, केही बोलीन । मलाइ अनुमान लगाऊन गार्हो भएन–सोंचे, सायद फेरि उसलाई उसको प्रेमीले धोका दियो होला, निकै ठूलो झगडा पर्यो होला या त उसलाई छोडेर गयो होला !

    केटा साथीबाट दुःख हुनासाथ प्रायः ऊ यस्तै व्यवहार देखाउछे । अति आवश्यक नपरेसम्म कोही कसैसँग बोल्दिन पनि । नत्र अरू समयमा सँधै ठीक छ । हँसिली, रसिली, गफाडी र थोरै व्यवहारिक पनि । सकेसम्म कसैलाई बिझाउँदिन ऊ । जे होस् अरू सबै म्यानेजरको भन्दा उसको व्यवहार धेरै हदसम्म ठीक छ । सबैले खान पाउनु पर्छ, बराबर घण्टा पाऊनुपर्छ, ब्रेक समयमा दिनुपर्छ भन्दै मानव धर्म निर्वाह गर्न खोज्छे ऊ । न्यायसंगत कूरा गर्ने र अझ त्यसलाई ब्यवहारमा नै उतार्ने पात्रको पुच्छारमा भएपनि उसको नाम लेखिनु पर्छ ।

    मान्छेको निजी मामिला खोतालखुतुल गर्नु हुदैन । व्यक्तिगत तथा पारिवारीक जीवनमा कहिल्यै दखल दिनु हुदैन । यो एक असभ्यता पनि हो । विकशित मुलुकहरूमा त झन् यो संवेदनशील र ठूलो, टाउको दुःखाइको विषयवस्त नै हुन पुग्छ । यति हुदाहुदै पनि जोसँग नजिक भइन्छ, ऊसँग धेरथोर आत्मीयता, अनि व्यक्तिगत, पारिवारिक कुराहरू अनायसै शेयर हुदोरहेछ । प्रवासमा आएर कामको खोजीमा चाहार्दा,चाहार्दै मैले काम गरेको यो नै पहिलो रेष्टुरेन्ट हो र मेरो पहिलो काम पनि । यसो साइड जबहरू पनि गरियो होला । यसका अलावा विदाका दिनहरूमा काम नदिएर थला पारेको वेलामा अरू कति काम गरें हुँला । तर, ती झन कहिल्यै टिकाऊ र दिगो हुदै भएनन् । यहॉ पनि कामदारको लागि त्यो कुनै न्याय अधिकार र मानवता छैन तर विवश छु ।

    हामी नेपालीहरू मात्र नभएर,जुन देशबाट आएका भएपनि प्रवासिहरू यी पीडाहरूबाट मुक्त छदँै छैनन् । पीडाको प्रकार मात्र फरक हो । काम गर्न मनै नहुनु, सुतेर खान खोज्ने अल्छी स्वॉठहरूको कुरा गर्दैछैन म, कामको लागि मुर्छा परेर पनि अवसरै नपाऊनु र काममा चरम विभेद र अमानवीयता सहनुपर्ने अत्यन्त ठूलो दुःखको कुरा हो ।

    चौबिसै घण्टा खुल्ने,यो रेष्टुरेण्टमा आठ–आठ घण्टाको तीन सिफ्ट गरेर पन्ध्र जना म्यानेजर छन् । लगभग एकसय पॉच जना कामदारहरू छन् । एउटा मालिक र एउटा सुपरभाइजर पनि छ । तर, तिनीहरू कहिलेकाँहीं मात्र आउने हुनाले खासै सरोकार रहन्न । फेरि कामदारले भन्दा म्यानेजरले ऊनीहरूसँग फेस गर्नुपर्छ । म, दिनमा मात्र काम गर्ने हुनाले करीव दुई सिफ्टका दश जना म्यानेजरहरूसँग मैले आम्ने साम्ने हुनुपर्दछ । त्यसमा पनि खास गरी मैले फेस गर्नुपर्ने चाहिं पॉच जना म्यानेजर नै हुन् । यी पॉच जनामध्ये निकोल नै मेरो एक मात्र मनपर्ने म्यानेजर हुन् । यो चार वर्षको कामको दौरानमा निकोलसँग मेरो एक पटक पनि खटपट परेको छैन । उसले एक पटक पनि मलाई अमानवीय त के नराम्रो व्यवहार गरेकी छैन । अरु चार जनाको नाम त म लिन पनि चाहन्न र तिनीहरूको वारेमा लेख्न त धेरै टाढाको कुरा । लेंखे भने महाभारतै त नभनु एउटा सानो कृति नै तयार हुन्छ । यो स्वर्णीम मानव जीवन तिनीहरू जस्ता दष्ट र मानवताहीनहरूका लागि किन खर्च गरौ म ।

    तिनीहरूले गर्ने व्यवहारलाई हेर्ने हो भने, उँधो वगाएर उँभो खोज्नुपर्दछ । हिम्मत र साहस छ भने सबै मिलेर हात खुट्टा बॉधेर कानुनको कठघरामा उभ्याऊनुपर्छ, सकिंदैन भने तिनीहरूको मुख कहिल्यै हेर्न हुदैन । रछ्यानलाई चलायो,आफ्नै मुखमा छिटा जस्तो हुन्छ ।

    सबैलाई राम्रो व्यवहार गर्ने भएर होला, निकोल प्रिय छ । ऊ भनीरहन्छे–मलाई म्यानेजर हुनुको कुनै घमण्ड छैन,यो एउटा जिम्मवारी मात्र हो । मैले पनि तिमीहरुले जस्तै दश वर्षसम्म कामदार म्यानेजर भएरै काम गरेको हुँ । म्यानेजरले गर्ने नराम्रो व्यवहारले कत्ति दिल दुख्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । त्यसैले म सबै कामदारहरूलाई ऊत्तिकै माया गर्छु । आफ्नो तर्फबाट हुनेसम्म राम्रो र न्यायपूर्ण व्यवहार गर्छु । भलै, मेरा विरुद्धमा सबै म्यानेजर नै किन नलागुन् । म डटेर सामना गर्छु । निकोलको यही राम्रा व्यवहारले गर्दा नै म उसलाई दुःखी भएको हेर्नै सक्दिन ।

    के भयो, किन दु ःखी छौ ? आज–रुम, सोध्छु–उ,भन्छे–के हुनु नि अरू ! क्याक्सीनले छोडेर गयो मलाई । हाम्रो ठूलै झगडा पनि पर्यो । मैले अचम्म मान्दै उसलाई सोधे–क्याक्सीन ! उसले भनि–हो, हाम्रो अफेयर चलेको पनि दुई वर्ष हुन लागिसक्यो । अव विधिवत् रूपमा तिमी मेरो पति बन्,म तिमीलाई पतिको रूपमा देख्न चाहन्छु । म, पहिला पनि भनि रहन्थे तर आज चाहिं निर्णय देऊ भने । उसले त एक्कासि झर्केर तँ जस्तो दुई–दुई छोरा–छोरीकी आमा र यति बुढी आइमाईसँग मलाई विवाह गर्न र पति बन्न रहर छैन । तैंले मलाई जालमा पार्न खोजिस् मैले पनि तँलाई यसो प्रयोग गरेर हेर्न खोंजे । मेरो देशमा मेरो एकदमै सुन्दरी र भर्खरकी केटी साथी छे । ऊ, नै मेरो भविष्यको प्यारी,प्यारी साथी र श्रीमती हो । यो सुनेपछि म त ठाडै आकशबाट भुईंमा खसेजस्तै भएँ । यस्तो सीधासाधा केटाको दिलभित्र पनि यस्तो कुरुप दिल रहेछ । मेरा कयौं केटा साथीमध्ये मैले उसलाई सबैभन्दा असल ठानेकी थिएँ । यति भन्दै उ त ग्वॉ,गवॉ पो रून लागि । उसले फेरि भनि–त्यसपछि मैले एक मिनेटमा उसलाई मेरो अपार्टमेन्ट छाड्न धम्की दिएँ । यो नै तँ सँगको अन्तिम दिन हो । तँलाई कुरूप आइमाई भन्दै ऊ पनि निस्केर गयो । उसले कुरा सकी ।

    ‘जस्तालाई तस्तै घोडालाई निस्तै’ भनेझैं, ठीकै भयो जस्तो पनि लाग्यो । सकेसम्म दिल कसैको नदुखाउनु झन् असल र प्रियजनहरूको दिल दुखाइयो भने त्यो भन्दा ठूलो पाप के होला र ? हैन यो, विदेशी आइमाइहरू आफ्ना छोरा नाती जस्तो उमेरको व्यक्तिलाई पनि कसरी प्रेमी र पतिको रूपमा हेर्छन् हँ ? यिनीहरू मलाइ जस्तै सबै कामदारहरूलाई एक–एक गरी उसले आफ्नो दुःखी अनुहार देखाइरही आज । विगत सबै विर्सेर खुशी र शक्तिशाली बन भन्दै सबै कमदारले उसलाई शान्त्वना दिए । दुःखमा माया पाउन व्यवहार राम्रो हूनु पर्दोरहेछ ।

    निकोलले प्रमाणित गरेर देखाई । एकै छिनमा दुःख भुले जस्तै ऊ त हॉस्न पो थाली । ऊ जति चॉडै दुःखी हुन्छे उती नै छिटो खूशी पनि भइ हाल्छे । एकै छिनमा ऊ सदा जस्तै सामान्य भएर काम गर्न लागि । सॉच्चै विर्सेर हो वा भोलिदेखी कुनै अर्को नवयुवकलाई जालमा फसाउने सुरले हो उही जानोस्’

    पहिलो वर्ष त कसैको केही कुरा पनि मलाई थाहा भएन । मलाई रेष्टूरेण्टको काम सिक्न, स्थापित हुन र सबैलाई चिन्न नै एक वर्ष लाग्यो । विदेशीहरू यस्तै हुन्छन् अलि–अलि त नेपालतिर पनि सुनेकै हो । यहॉ आएर प्रत्यक्ष बुझ्ने मौका मिल्यो । उसको अहिलेको यो क्याक्सीन प्रेमीबारे भने मलाई पनि अलि राम्रै थाहा छ । मेरो कमको दोस्रो, तेस्रो वर्षमा पनि मैले दुई,तीन केटा साथी देखेकै थिएँ । ऊनीरू स्टोर छोडेर किन गए थाहा छैन । ऊ केटा साथीविना चार दिन पनि एक्लै वस्न सकिदन रे अनि धेरै दिन मिल्न पनि । उसका पीठ पछाडि यस्तै कुरा हुन्छ । क्याक्सीन डिभोर्स पछिको उसको कतियौ केटासाथी हो त्यो त मलाई थाहा छैन । विदेशीहरूलाई केटाकेटी साथी बनाऊनु फेर्नु, छोड्नु, हामीलाई कपडा फेरे भन्दा पनि सॉच्चै सस्तो रहेछ । हाम्रो देशमा भए निकोल कति नराम्रा उपनामहरूले पुकारिने थिई । ऊ शिर ठाडो गरेर हिंड्न पनि नसक्ने थिई । पुरूष जस्तै जे मन लाग्यो ऊ त्यसो गर्न नसक्ने थिई । जे होस्, यहॉ म्यानेजर बनेर सबैको प्यारी प्यारी त भएकी छ ।

    व्यक्तिगत जीवनमा त्यति सफल नभए पनि उसको पेशागत जीवन त सफलै देखिन्छ । उसको पहिलो विवाह आमावावुकै रोहवरमा अठार वर्षकै उमेरमा भएको थियो । उसबाट दुई छोराछोरी छन् । छोरी पच्चीस की र छोरो बीस वर्षका छन् । पहिलो श्रीमानलाई डिभोर्स दिएको पनि पन्ध्र वर्ष भईसक्यो रे । उमेर सोध्न पनि भएन,सोधे पनि वताउने छैन । किन कि, उसलाई अझै कति केटा साथी बनाउनु होला ! उनीहरुसँग धेरै जवान देखिनु होला । के–के सपना होलान् उस्का ! निश्चित उमेरसँगै बुढो हुदै जानुपर्ने कुरालाई स्वीकार्न सक्दिन ऊ । उसलाई मात्र होईन, समाजका धेरै धेरै मानिसहरूलाई बुढो हुन मनै हुंदैन तरपनि हुनैपर्छ ।
    अस्ति भर्खरको एउटा कुरा,म भन्दा ठीक पन्ध वर्ष जेठो व्यक्तिलाई मैले दाई भनेर सम्बोधन मात्र के गरेको थिएँ,ऊ त रिसले आगो हुँदै दुःख मान्दै भन्यो–‘कृपया मलाई दाइ नभन्नुस्, भाइ नै भनी दिनुस्, तपाइले भाइ भनेकै सुहाउँछ । पचास वर्षमै नपूगेको मैले उ पैंसठ्ठी वर्ष पुगेकोलाई भाइ भन्नपर्ने रे ! त्यो पनि हॉसो गरेर होइन, सत्यमै । कति लाज शरम पचेको मान्छे । उसको नजरमा सय वर्ष पो भए कि ! महिलाहरु आफ्नो उमेर सत्य भन्दैनन् भनिन्छ समाजमा तर जीवनमा पहिलोपटक यसप्रकारको पुरूष भेंटे मैले ।

    निकोल तिमीले पहिलो वच्चा कति वर्षमा पायौ ? चौबिस वर्षमा । अव मलाई सजिलो भयो अठार वर्षमा विवाह, चौबिस वर्षमा पहिलो वच्चा उसको उमेर पच्चीस वर्ष अर्थात् पचास वर्षको हाराहारीमा निकोल । यस उमेरमा आएर निकोलको यस्तो चर्तिकला ठीक लागेन मलाई । दुई दुई वच्चाको आमा भएर यो त सार्है फोहरी खेल पो भयो त ? अरू मानिस र साथी भाइसँग गर्ने व्यवहार राम्रो भएर पनि यो आफ्नो केटा साथीसँग किन नमिलेकी होली ? सधैंँ किन झगडा गर्छे होली ? मलाई असाध्यै जान्न मन लाग्छ ! फेरि केटा साथी पनि ऊ आफू समान र आफूभन्दा बुढाहरूलाई त हेर्दै हेर्दिन । उसलाई भर्खरको केटालाई नै जालमा फसाउन मन पर्छ । उसलाई धनी ,गरीव ठूलो, सानो, पढेको नपढेको कुनै मतलव छैन । ओनर, सुपरभाइजर, जनरल म्यानेजर, कुनै पनि म्यानेजर केटा साथीहरूलाई त ऊ आँखा पनि लगाउँदिन । हाम्रो देशमा साठी,सत्तरी वर्षका बुढाहरूले भर्खरका जवान युवतीमाथि आँखा लगाए जस्तो, विहे गरेर घरजमै वसाएजस्तो,अचम्मै गर्छे वा ! पूरूष मात्रै को हो र ? निकोलको व्यवहारबाट प्रष्ट हुन्छ । असल मानिसको कमजोरीको पाटो पनि उघार्नु पर्छ । ताकि, उनीहरू अझ असल हुन सकुन् । आज मैले निकोलको संपूर्ण राम्रा पाटोहरूलाई कम महत्व दिए जस्तो गरेर यही पाटो ऊघारीरहेछु ।

    पुरापूर सज्जन त निकोल पनि कहॉ छ र ! को हुन सक्छ यो दुनियॉमा ! म, हामी, कोही पनि । कोही एकदमै सुन्दरी र भर्खरकी यूवतीले क्याक्सीनसँग बोल्यो मात्र भने पनि ऊ रन्किएर आगो जस्तै हुन्छे । अझ छोइए भने र चार–पॉच मिनेट नै बोले भने त इष्र्याले हेरी नसक्नुको बनाउँछे अनुहार । उसको प्रेमीलाई अरूलाई भन्दा अलि सजिलो र थोरै काम पनि लगाउँछे । मीठा–मीठा खानेकुराको चाङ लगाइदिन्छे । सायद मानवीय स्वभाव होला । जति नै बराबरी भनेपनि प्रियजनकै अगाडि त यो कहॉ लागु हुन्छ र ? फेरि मलाई र कोही कट्टर धार्मिक इण्डियन, बंगाली आइमाईहरूलाई पनि ऊ पटक्कै शंका गर्दिन । उसलाई थाहा छ रे, लगभग सय प्रतिशत हामी जस्ता महिलाहरू आफ्नो धर्म, संस्कृति फेर्न र आफ्नो लोग्ने बाल वच्चा छोडेर दोस्रो विवाह गर्न त के, सोच्न पनि सक्दैनौ, चॉहदैनौ भन्ने कुरा । आहा ः निकोल थोरै भए पनि तिमीले म र म जस्ता नारीहरूको विचार र भावनालाई कदर गरीदिएकोमा । झनै राम्री लाग्छे निकोल । त्यसकारण उसको प्रेमीसँग जति पनि बोल्न र अप्ठ्यारो पर्दा सहयोग लिन सक्छौं हामी । म मनमनै भन्छु सधैभरी निकोलकै पालोमा काम गर्न पाउँ ।

    बल्ल,बल्ल एक घण्टा मिल्ने ब्रेकमा आकलझुकल ऊ पनि हुन्छे । मेरो अंग्रेजी भाषा राम्रो छैन तरपनि उ बुझ्छु भन्छे । म, खुसीले फुरूङ्ग हुन्छु । मलाई उ सँग केही भन्न मन लागिरहेको थियो । नभन्दै ऊ आई, टन्न खाजा लिएर । रेष्टुरेन्टको सबै कुरा छोडेर पहिल्यै सरी भन्दै म उसलाई भन्छु–नराम्रो नमान निकोल, अव तिमी पनि विस्तारै बुढ्यौलीको संघारमा टेक्दैछौ, छोडिदेऊ यी सबै दुःखका घुम्ती, मोडहरू चक्करहरू,घनचक्करहरू,यौनका लालसाहरू ।

    पैसा र भोग विलासका कुराहरूमा मान्छे आफूसँग जे जति र जस्तो छ अघाऊने बानी गर्नुपर्दछ । पैसा यस्तो हो सय कमाए लाख र लाख कमाए अरव कमाउने सपनाले मान्छे प्यासी नै रहन्छ । तर, जीवन बॉच्न सक्ने अवस्था चाहिं हुनै पर्यो । भोग विलास पनि त्यस्तै हो अनि तिम्रो यो केटासाथी बनाउने इच्छा पनि । कति बनाउने, फेर्ने, छोड्ने र फेरि बनाउने । यसले बेकार तिम्रो टाउको दुःखी रहेको छ । यति राम्रा छोराछोरी दिने पतिलाई किन छाडेको ? अव जति नै साथी बनाऊ कोही नटिक्ला जीवनभर तिमीसँग । ऊ मेरो कुरालाई कति पनि नसुनेको जस्तो नाटक गरेर एकोहोरो खाइ मात्र राख्छे । फेरी म भन्छु–तिमी त जिससलाई मान्छ्यौ होइन, समय मिलाएर विहान वेलुका चर्चमा जाऊ । प्रार्थना गर, मानिसहरू सँग भेटघाट गर । अव अरू कुनै केटासाथी नवनाउ हुन्न ! ‘ओ माई गड हाउ मच इडियट टकिङ्ग ।’ ऊ मुर्छा परेर हॉस्छे । मेरो एकोहोरो पुराणले ऊ मुख खोल्न वाध्य भई ।

    हा,े म जिससलई मान्छु । अगाध आस्था पनि छ ईश्वरप्रति । तर, म चर्च जान चाहन्न । त्यहाँ जानेहरू सबै जीवनदेखी हारेका, थाकेका र जीवन जीऊन नजानेका पागलहरू मात्र भेटिन्छन् । फेरी म कहाँ बुढी भएकी छु र ? म त एकदम भर्खरकी अनि जवान पो छु त । म त अझै अर्को बिस वर्षसम्म यस्तै रमाउन र काम गर्न चाहन्छु । इच्छा छ भने वरू म तिमीलाई चर्च लगी दिन्छु । फेरी मज्जाले हॉस्छे । म उसलाई फेरी संझाउछु–तिमीले त भन्यौ म्यानेजर भएर काम गरेको मात्र पनि बीस वर्ष भइसक्यो । दश वर्ष कामदारको रूपमा, यो तीस वर्षमा तिमीसँग केही न केही पैसा पनि वचेको होला । वरू आफ्नै देशमा गएर दुःखीहरुको सेवा गर । उसको पारो तातेछ क्यारे, चिच्याउँदै भनि–वाहियात, इडियट यो काम गर्न त मेरो देशमा थुप्रै नेताहरू छन् । समाजसेवीहरू छन् । त्यो काम उनीहरुको हो । मलाई केको दु ःख ! यस्तो हाड घोटेर परदेशमा वसेर कमाएको पैसा वचाएर बुढेसकालमा अझ राम्रा राम्रा ठॉऊमा घुम्ने योजना छ मेरो त । त्यो पनि एक्लै कहॉ हो र, एउटा गतिलो केटासाथीसँग । केटा नभेटिए कोही मजस्तै बुढासँग । ऊ फेरी मज्जाले हॉस्छे । मलाई भने मेरा यति राम्रा कुरा हावामा उडाइदिएकोमा भित्र कता–कता दुःख लागेर आउछ । म अझै सोध्छु–तिमीलाई आफ्ना सन्तानको चिन्ता लाग्दैन ? उ भन्छे–के को चिन्ता ! छोरी अध्ययन सकेर एउटा राम्रो जागीर गरी रहेकी छे । उसँग उसको केटा साथी पनि छ । ऊ आफ्नो जीवन मभन्दा वडो इन्जोय गरिरहेकी छ । केही टाढा छ तर फोनमा दिनहु कुरा गर्छन् । छोराले भने पढाइ पूरा गर्न बॉकी नै छ । पढाइ पूरा गरेर आफ्नो कैरिअर बनाउँछ । अनि एऊटी केटी साथी खोजेर वसेपछि म त सबै जिम्मेवारीबाट मुक्त हुन्छु । अझै यो भन्दा स्वतन्त्र भएर चरा जस्तै आकाशमा उड्नेछु । एउटा समान्य मानिसले सामान्य नै भएर जिउन पर्छ । एकवारको जिन्दगी जसरी भए पनि हॉसी–खुशी रमाएर जीऊनु पर्छ । तिमीहरू हाम्रो जस्तो जिन्दगी पनि जीउन चाहँदैनौ मनमा दश थरी कुरा खेलाइ रहन्छौ र दिमागलाई वोझिलो बनाउँछौ । सधैं दु ःखी र चिन्तित हुन पुग्छौ । तिमी पनि एक यस्तै हुनुपर्छ । त्यसैले प्राय ः सिरीयस देख्छु र तिम्रो आफ्नो वास्तविक उमेर भन्दा बढी देखिन्छ्यौ पनि । यो यस्तै चिन्ताको परिणाम हो बुझ्यौ । त्यसैले चिन्ता छोड,रमाउन सिक । तिमी त नेता, कवि, शिक्षक समाजसेवी हुनु पर्ने, कसरी यस्तो रेष्टुरेन्टमा काम गर्न आएको ? एक सेकेणड पनि खेर नफाली एकोहोरो श्रम मात्र गर्नुपर्ने ठॉऊमा यति धेरै भावुक र सफा मानव मन लिएर कसरी टिक्न सकौली खै ?

    कति चॉडै एक घण्टा वितेछ । ऊ त जान्छु पनि नभनी दौडेर माथि गई । तेस्रोपटक पनि उसलाई भन्न खोजेका मेरा कुराहरू हावामा विलीन भएजस्तो लाग्यो । धन्न उसले मलाई ‘सक्नेले आफै गर्नु नि किन अरूलाई ऊपदेश दिनु’ भनेर जवाफ फर्काइन् ।

    म पनि कति न उसलाई वदल्न खोजेजस्तो । अर्ति उपदेशको पोको नै दिन खोजे जस्तो किन हुन पर्यो होला ? दशवटा प्रेमी बनाओस् कि, बीसवटा, पचासवटालाई लिएर हिनोस् कि छोडोस्, मलाई किन छुच्चो हुनुपर्यो ! यो त उसको जीवन हो । स्वतन्त्रता हो । अनि नितान्त ब्यक्तिगत कुरा पनि । वरु एक घण्टामा आधा घणटा वचाएर फेसबुक हेरेको भए साथीभाइले राम्रा–राम्रा गीत गजल, कविताहरू पो राखेका थिए कि ? नभए आमा दिदी वहिनीसँग कुरा गरेको भए उनीहरू झन् कति खुशी हुने थिए होलान् ! भोलिदेखी निकोलले पनि मलाई पटक्कै राम्रो मान्ने छैन र यो रेष्टुरेन्टको सामान्य जागीर पनि छोडेर म अर्को कामका लागि रूवावासी गर्दै हिंड्नु पर्ने होला ! कामबाट घर त फर्किए । तर, मलाई फिट्टीकै निन्द्रा लागेन । कहिले उज्यालो होला र काममा जॉऊला अनि निकोललाई देखौंला भईरह्यो ।

    जसोतसो काममा त पुगें तर निकोल त्यहाँ थिइन् । दुष्ट सोचका म्यानेजरहरूलाई‘ निकोल खै ?’ भनेर सोध्न पनि मन लागेन । ऊ सधैँ पॉच बजे आऊथी अनि म छ बजे । भित्तामा टॉसीएको स्क्याजवल हेंरे । उसको समय वदलिएको त थिएन । मन अमीलो भयो । गएको एक घणटा नबित्दै दुष्ट म्यानेजरहरूले ब्रेक दिए । अव बॉकी आठ घण्टा चाहिं भोकै कसरी उभीएर काम गर्ने होला ?

    चुपचाप तोकिएका खानेकुराहरू हालेर ब्रेक फास्ट खाने ठाऊमा गएँ । खान भन्दा पनि निकोल किन आइन ? भन्ने कुराले नै चिन्तित बनायो । बिरामी पो भइ कि, मदेखी धेरै नै रीस पो उठ्यो कि ? यहि सोचाइमा डुब्दै थिएन, ऊ त एक्कासि चिच्याउदैँ आएर वेस्सरी अंगालो पो हाल्दै भनि– म तिम्रो कुराले यति प्रभाबित भए कि, रातभरी तिम्रै बारेमा सोचीरहें । हे ईश्वर तिमी पहिल्यै किन असल मानिसहरूसँग भेट गराउंदैनौ ? जसले जीवनको सही मार्ग देखाउँछ । कस्तै दुःखमा पनि असल बनेर बॉच्न सिकाउँछ । त्यो एउटा व्यक्ति तिमी हौ । तिमी मलाई, असल म्यानेजर भन्छ्यौ, तर म भन्दा तिमी झन् धेरै असल छ्यौ । तिमीले एक मिनेट पनि काम ठगेको मलाई आजसम्म थाहा छैन । ओनर र सुपरभाइजरसँग मैले गतसाल नै तिमीलाई पुरस्कृत गर्नुपर्छ र किचेन म्यानेजर बनाऊनुपर्छ भनेर माग राखेको थिएँ, उनीहरूले सहमति पनि जनाएका थिए । तर, कति बेला दुष्ट म्यानेजरले भड्काएर नहुने बनाएछन् । तिमी सार्है सीधा छौ । देखेको सत्य फ्याट्ट भन्छं्यौं । यस्तो असललाई बॉच्न चौपट्ट गाह्रो छ । थोरै चतुर त बन्नै पर्छ । अनि सुन–तिमीलाई मात्र म सत्य भन्छु–वास्तवमा म डिभोर्सी होइन । मैले जति प्रयास गरे पनि उसलाई यहॉ ल्याउन सकिन । ऊ अति असल र इमान्दार छ । म दुई दुई वर्षमा उसलाई भेट्न जान्छु । ऊ पनि म भनेपछि हुरूक्क हुन्छ। एक असल पतिको आँखामा छारो हालेर मैले धेरै कुकर्म गरेंकी छु जस्तो लाग्छ । भोलि नै गएर म उसलाई झिकाउन हार गुहार गर्छु । सकिन भने गएर उसकै सेवा गरेर वस्छु । ‘वरू आज दुई घण्टा ढीलोसम्म मसँगै काम गरेरै जाउ न है ।’ ‘हुन्छ’, किन नहुनु मैले भने ।

    निकोलमा आएको सकरात्मक परिवर्तनले मेरा आँखाबाट निकै बेरसम्म खूशीको आँसु छचल्किरह्यो ।
    समाप्त

    २२७ पटक
    प्रतिकृया दिनुहोस्