२५ मंसिर,काठमाडौँ (रासस): नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निर्वाचनपछि मुलुकमा लोकतान्त्रिक राजनीतिक क्रान्तिका कार्यभार पूरा भएको बताउनुभएको छ ।
आज विज्ञप्ति निकाल्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले संविधान निर्माण तथा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमार्फत एक शताब्दीको राजनीतिक संक्रमणकाल अन्त्य भई अब सिंगो राष्ट्र विकास र आर्थिक समृद्धिको यात्राबाट समाजवादको आधार तयार गर्ने ऐतिहासिक कार्यभारतिर मोडिन पुगेको बताउनुभयो ।
‘‘निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणापत्र, मौखिक तथा लिखित प्रतिबद्धता तथा जनस्तरबाट प्राप्त सुझाव, सल्लाह तथा माग नै आगामी दिनमा हाम्रा लागि कार्यादेश हुने छ’’ ताप्लेजुङबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसद भट्टराईले भन्नुभएको छ ।
नेता भट्टराईले सुशासन कायम गर्दै स्थानीय तहका जनप्रतिनिधि र राज्यका सबै निकायसँग समन्वय तथा सहकार्य गर्दै आफ्नो जिल्लाको भौतिक पूर्वाधारको विकास, यातायात,पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अनुभूति हुने गरी परिवर्तन ल्याइने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
संसार न्यूज संवाददातामंसिर २५, २०७४
९६ पटक
प्रतिकृया दिनुहोस्