BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    कोरियाबाट फर्केर अल्लो उद्योग गर्दै खोजेन्द्र

    संसार न्यूज संवाददातापौष १, २०७४

    khojendraकुनै बाध्यताले होइन्, रहले विदेश गएका थिए म्याग्दी रघुगंगा गाउपालिका वडा नं ३ का खोजेन्द्र बहादुर मल्ल । आफ्नो गाउँबाट धेरै दाजुभाई लाहुर गएको र आफू पनि एकदिन लाहुर जानुपर्छ भन्ने सोँच राखेका खोजेन्द्र बहादुर मल्ल अन्तत : इपियस भाषा परीक्षा पास गरेर २०६७ मा कोरिया पुगेका थिए ।

    पोखरामा साढे दुई महिना बसेर इपियस भाषा पढेका थिए खोज बहादुरले । भाषा कक्षाका लागि ६ हजार र त्यहाँ बस्ने खाने लगायतको अन्य खर्च २० हजार तथा काठमाडौं आएर ४ दिन भाषा परीक्षा दिदाँ झण्डै ६–७ हजार खर्च गरेका थिए उनले । पानी पोखरी परेको थियो उनको भाषा परीक्षाको सेन्टर । त्यतीबेला झण्डै ४० हजारको हाराहारीमा परीक्षा लिइए पनि पास हुने चार हजार जनामा एक भाग्यमानी खोजेन्द्र पनि थिए ।

    खोजेन्द्र भाषा परीक्षा दिएको झण्डै ६ महिनापछि कोरिया उडेका थिए । कोरियन भाषा पढेर परीक्षा त दिएका थिए तर, थोरै समय पढेकाले सबै जानेको छु भन्नेमा ढुक्क भने थिएनन् । उनलाई राम्रोसँग थाहा थिएन, कुन काममा जाँदै छन् भन्ने । ‘सम्झौता लेटर आइसकेको हुन्छ, काम के हो भन्ने नबुझे पनि कोरिया जान पाइन्न भनेर कोही बोल्ने कुरै हुँदैन् त्यत्तिकै पनि सही गरिन्छ ।’ कोरिया जाने बेलाको अनुभव सुनाए खोजेन्द्रले ।

    प्राथमिक शिक्षा रघुगंगा गाउपालिका वडा नं २ मा रहेको मुक्तिधाम स्कुलबाट पूरा गरेका खोजेन्द्रले वन विज्ञान अध्ययन संस्थान पोखराबाट आइएस्सी गरेका छन् । उनले पहाडी श्रोत विकास केन्द्र एनिमेसन कार्यक्रमको सुपरभाइजर भएर ३ वर्ष तथा सामुदायिक बन उपभोक्ता महासंघमा रेन्जरको रुपमा २ वर्ष काम गरेका छन् ।

    बुसान भन्दा दक्षिणमा रहेको पानी जहाजको पाटपूर्जा बनाउने कम्पनीमा फलाम काट्ने र पगाल्ने काम पाएका थिए खोजेन्द्रले । त्यस कम्पनीमा उनी पुग्दा झण्डै ६ सय नेपाली कार्यरत थिए । कम्पनीले नै खाने र बस्ने व्यवस्था गरिदिएको थियो । महिनाको बेसिक तलब झण्डै ८० हजार हुन्थ्यो भने ५–१० हजार आफ्नो खर्च राखेर चोखो ७० हजार घर पठाउँथे उनीहरु । ‘राम्रो कम्पनी प¥यो र ओभर टाइम पनि पाइयो भने लाख भन्दा बढी चोखो बच्छ कोरियामा’ उनी सुनाउँछन् ।

    कमाइ पनि राम्रो थियो । दिन गएको पत्तै हुँदैनथ्यो । कम्पनीको काम आठ घण्टा थियो । तर, कहिलेकाँही मात्र बढी समय काम पाउँथे उनीहरुले । काम गदै जाँदा उनलाई सधैं लाग्थ्यो मुग्लानीहरुले आफ्नै देशमा केही गर्नैपर्छ । उनले मनमनै सोच बनाए, आफै मालिक आफै नोकर बन्ने अनि सानो भएपनि आफ्नै देशमा केही व्यवसाय गर्ने । अनि त झण्डै पाँचवर्षको कोरिया बसाईलाई बिट मार्दै आफ्नै माटोमा पौरख गर्ने सोच लिएर देश फर्किए खोजेन्द्र ।

    ‘चाह्यो भने कोरियाबाट फर्केर आएका युवाहरुलाई कम्प्युटर भाषा परिक्षा गरेर फेरि कोरिया जान पाइन्छ,’ उनले भने ‘तर, मेरो दाइ पनि उतै हुनुहुन्छ साथीहरुले अझै एकपटक जाउ भने म गइन् । मलाई यहि माटोमा केही गर्न ढिलो भइसकेको भन्ने लागेको थियो ।’ कोरिया फेरि किन जानु भएन भन्ने ऐक्यबद्धताको जिज्ञासामा उनले भने ।

    उनलाई कोरिया जानु भन्दा पहिले नै अल्लोको क्षेत्रमा प्रविधिको विकास तथा आधुनिकीकरण गर्नुपर्छ भन्ने लागेको थियो । अनि त त्यहि क्षेत्रमा लागे खोजेन्द्र । २०७१ मा देश फर्केका उनले आएको ६–७ महिनामै झण्डै १० लाखको लगानीमा ‘मुग्लानी क्लोथ एण्ड ह्याण्डीक्राफ्ट कम्पनी प्रा.लि दर्ता गरे । अल्लोको खोज र अनुसन्धान अनि कम्पनीको व्यवस्थापन पछि उनले २०७४ को बैशाखमा म्याग्दीको गुर्जाबाट कच्चा पदार्थ ल्याएर प्रशोधन सुरु पनि गरे ।

    k2
    उनका अनुसार उनले गुर्जाबाट ५ हजार किलो कच्चा पर्दाथ ल्याएका छन् यसवर्ष । म्याग्दी जिल्लाका १२ सय मिटर भन्दा माथि उचाइमा पाइने अल्लोको अनुसन्धान गर्दा झण्डै ४० टनको हिसाव आएपनि व्यवसायिक हिसावले थोरैमात्र संकलन गर्न सकिएको छ । खोजेन्द्रका अनुसार सहज रुपमा वर्षको दश टनको हाराहारीमा अल्लो संकलन गर्न सकिन्छ ।
    खोजेन्द्रले यहि फागुन २०७४ भित्रै झण्डै ५ सय अल्लोको कोट निकाल्ने तयारी गरिरहेका छन् । त्यस्तै उनको कम्पनीको ३ उद्धेश्य अन्तर्गत अल्लोको कपडा उत्पादन, हस्तकलाको सामान र नेपाली कागज उत्पादन रहेका छन् । त्यहि उद्धेश्य अनुसार बासका जराबाट केही ह्याण्डी क्राफ्टका सामानहरु पनि बनाइसकेका छन उनले । जसमा धरहरा, मुक्तिनाथ मन्दिरहरुलाई दुरुस्त रुपमा कलामा उतारेका छन् ।

    mandir

    अल्लोको कपडालाई के भनेर चिन्ने त हामीले यसका फाइदाहरु के के छन त ? भन्ने प्रश्नमा उनी भन्छन् ‘यसलाई परंपरागत कपडाका रुपमा लिइन्छ । जुन हाम्रा बाउ बाजेले प्रयोगमा ल्याउँथे । अर्कोकुरा यसमा अन्य केमिकल मिसिएको हुँदैन् हातको काम हुन्छ सबै । यसलाई विदेशीले प्राकृतिक रेशाबाट बनेको, ह्याण्ड मेड तथा अग्र्यानिकका रुपमा लिन्छन् भने नेपालीहरुले यसको एकपटक प्रयोग गरिसकेपछि फेरि त्यहि खोजेका हुन्छन् । गर्मीमा सितल र जाडोमा न्यानो बनाउने यसको विशेष गुण पनि हो ।’

    तर, अल्लोको सामान बनाउनका लागि उनले धेरै अप्ठ्याराहरु आएको महसुस गरेका छन् । अल्लोको लागि आधुनिक मसिनको व्यवस्था नहुनु, सरकारी राजस्व धेरै हुनु, बाटोको असहजताले कच्चा पर्दाथ ल्याउनका लागि खच्चड प्रयोग गर्दा त्यसको लागत मूल्य अत्यन्तै बढी भएको उनी बताउँछन् । उनका अनुसार बेनीमा रहेको उनको कारखानासम्म कच्चा पर्दाथ ल्याइ पु¥याउँदा १ केजीको ११० देखि १२० रुपैयाँ लागत पर्छ । अर्को कुरा १ किलो अल्लोको ५ रुपैयाँ स्थानीय प्रशासनलाई कर तिर्नुपर्छ भने अल्लोको क्षेत्रमा अहिले पनि परम्परागत तानको प्रयोग भएको हुनाले यसमा आधुनिक प्रविधिको विकास गर्नुपर्ने हुन्छ । हाल विभिन्न एनजीओहरुले मेसिन वितरण गरेपनि त्यो केही सिमित मात्र भएको तर, व्यवसायका लागि ठिक नभएको उनी बताउँछन् । पुल्लोक इन्जिनियर कलेजबाट इन्जिनियरिङ गरेर निस्केका मेकानिकल इन्जिनियरहरुले मेसिन बनाएको भएपनि त्यसलाई परिमार्जन गरी व्यवसायिक रुपमा ढाल्नुपर्ने उनी बताउँछन् ।

    k21

    आफ्नै प्रयासमा १ करोडको अधिकृत पुँजी रहेको र तत्काल १० लाख लगानी गरेर एकल स्वामित्वमा कम्पनी सूचारु गरेको भएपनि अहिलेसम्म उनले कतैबाट अनुदान वा प्रोत्साहन पाएका छैनन् । एक पटक जिल्ला कृषि कार्यालयमा अल्लोको काम गर्ने भनेर प्रस्ताव पनि हालेका थिए । तर, त्यो पनि त्यत्तिकै भएको सुनाउँछन् उनी ।

    उनलाई खाडीका देश र मलेसियामा बस्ने नेपालीहरु भन्दा युरोप, अमेरिका तथा कोरियामा बस्ने नेपालीको बढी आस छ । उनीहरुले चाहे भने देशका युवाहरुलाई विदेश जानबाट रोक्न सक्छन् । विशेष गरेर जापान, इजरायल, कोरियामा काम गरेर कमाएको पैसा घर जग्गामा लगानी गरेका मुग्लानीहरुले पैसालाई अचल रुपमा त्यसरी थन्क्याएर राख्न नहुने उनी बताउँछन् । ‘पैसा त चलाउने हो, ढुंगा माटोमा पैसा खन्याउने दाजुभाइले अब सोच्नुपर्ने भएको छ की कम्तिमा ५ वर्ष कोरिया बस्दा १० लाखको मात्र भएपनि सानो उद्यमको सुरुवात गर्नेछु ।’

    खोजेन्द्रका अनुसार उनी कोरियामा रहँदा काम गरेको कम्पनीका ६ सय जना साथीहरुले प्रत्येक व्यक्ति १० लाख मात्रै नेपालमा लगानी गरिदिए पनि ६०० जनाको ६० करोड हुन्छ भने त्यसले झण्डै ६–७ सय व्यक्ति सम्मलाई रोजगारी दिन सक्छ । अरु देशमा कार्यरत साथीहरुको विषयमा त त्यति अनुभव छैन, कोरियामा रहेका साथीहरुलाई सम्झेर गरेको मेरो अनुमानमा इपियस मार्फत गएका झण्डै २५–२६ हजार युवाले यहि सोच राखेर आ–आफ्नो क्षेत्रमा उद्यम संचालनको सोँच बनाइदिए भने देशको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने थियो ।

    उनी भन्छन्, ‘कोरिया जाने युवाहरु सामान्य पनि व्याचलर पास गरेका हुन्छन् । उनीहरुमा जोश हुन्छ । विदेशमा सिकेको सीप हुन्छ अनि दिमाग पनि । आर्थिक शैक्षिक सबै रुपमा योग्य भएपछि उनीहरु राम्रो काम जे पनि गर्न सक्छन् । तर, बिडम्वना ३ करोडको घर किन सक्नेले १० लाख उत्पादन क्षेत्रमा लगाउन हिचकिचाउँछन् । अर्को कुरा विदेशमा बसेर नेपाल फर्केर केही गर्छु भन्ने युवालाई तिमी यो क्षेत्रमा लगानी गर्न सक्छौं भनेर बाटो देखाइदिने वा तालिम दिने काम सरकारले गरिदिनुपर्ने उनी बताउँछन् । विदेश जाने परम्पराले परनिर्भता मात्र बढाउने ठहर गरेका खोजेन्द्र भन्छन् ‘अब सुटकेश लर्तानेहरु नै अगाडि बढ्नु पर्छ, व्यवसायीक उत्पादनमा लागेर आफू मात्रै नभएर आफू नजिकका युवालाई पनि विदेश जान रोक्नुपर्छ भन्ने सोच बनाउन जरुरी छ ।’

    म्याग्दीमा जलविद्युत क्षेत्र, कृषि क्षेत्र, तथा पर्यटन क्षेत्रमा अत्यन्तै संभावनाहरु पहिल्याएका खोजेन्द्रका अनुसार पुन हिल, तातो पानी कुण्ड, म्याग्दी खोलादेखि रुकुम–डोल्पा सम्म ट्रेकिङ टुरिजमको संभावना रहेका छन् । त्यस्तै कृषिक्षेत्रतिर सुन्तला खेती अत्यन्तै संभावना रहेकोले त्यसलाई व्यवसायीक रुपमा लैजान सकिने बताउँछन् खोजेन्द्र । ऐक्यबद्धताको कार्यालयमा आएका ३१ वर्षे युवा खोजेन्द्रले संसारभरी रहेका म्याग्देलीहरुलाई म्याग्दीको विकासका लागि यी क्षेत्रमा रहेका संभावनाहरु हेरेर म्याग्दी मात्रै नभएर देशकै आर्थिक समृद्धिमा योगदान पु¥याउनका लागि हैंसे गर्न अनुरोध गरेका छन् । त्यस्तै विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघले पनि यस्ता कुराहरुमा ध्यान दिए देशले आर्थिक विकासको गति लिन बेर नलाग्ने उनको ठहर छ ।

    प्रस्तुति : चन्दा थापा

    २२३६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad