BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    युरोपमा हाम्रा छोराछोरी कस्तो बनाउने ?

    उदय राज गौतम, कोपनहेगन डेनमार्कपौष २५, २०७४

    ‘धेरै चक चक नगर है पुलिस बोलाइ दिम्ला,’ ६ महिना जति अगाडिको कुरा हो , एक जना साथीको घरमा चिया पिउंदै नेपालको चुनाबी गफ गर्दै गर्दा उनको ३ बर्षे छोरालाइ शान्त पार्न प्रयास गर्दै थिए उनि । संसारको जुनसुकै कुनामा पुगे पनि मान्छेले आफ्नो बानी पटक्कै छाड्दो रहेन्छ ।

    हामी सानै छंदा पनि पुलिसको बारेमा अलि अलि सुनिन्थ्यो । कसै कसैले पुलिसका कुरा गर्यो भने सातो जान्थ्यो । मैले पहिलो पटक ६ कक्षामा पढ्दा पुलिस देखेको थिएँ । सिधा हेर्दा केहि होला भन्ने भयले छड्के नजरले हेरेको निकै अग्लो मुश्ले थियो त्यो । धेरै दिन सम्म पुलिस देखेको त्यो दिनको सम्झना आई रह्यो । घरमा कहिलेकाँही बाले रेलको टीटीको बारेमा कुरा गर्नु हुन्थ्यो । टीटी पनि पुलिस जस्तै हुन्थ्यो रे भन्ने सुनेको । अहिले समय बदलिएको छ । प्रविधिको विकासले साना साना नानीहरुले पनि सानै उमेरमा हामीले पत्याउनै नसकिने राम्रा नराम्रा कुराको ज्ञान हाँसिल गरिसकेका हुन्छन । जन्मेको वर्ष दिन नपुग्दै आइ फोनको स्क्रिनमा औंला डुलाउन थाल्छन । अंग्रेजी कार्टुन हेर्ने बच्चाहरु ३ वर्ष नपुग्दै फिरिरी अंग्रेजी बोल्छन ।

    ‘कत्ति धेरै हेर्छस है ?’ भनेर बच्चाको हातबाट थ्वात्त मोबाइल, आइ प्याड तान्ने मम्मीहरु घर घरै छन् । पुलिस बोलाइ दिन्छु भन्ने ड्याडी र बिना तयारी हातबाट मोबाइल थुत्ने मम्मिहरु उस्तै कोटीका हुन् भन्दा फरक पर्दैन । हरेक बाउ आमाहरु आफ्ना सन्तानको लागी जे गर्न परे पनि तयार हुन्छन् । जुन स्वाभाविकै पनि हो । सन्तान राम्रा बनुन्, ज्ञानी बनुन् र असल कुरा मात्र सिकुन भन्ने हरेक बाबु-आमाको चाहना हुन्छ । घरमा पाहुनाहरु आइ रहने, छर छिमेक साथिभाइ भेटघाट गफ गाफ दैनिक दिन चर्या जस्तै भै रहन्छ । हरेकका हातमा मोबाइल नहुने कुरै भएन । लामो समय मोबाइलमा गफ गर्ने बानीको कारण साना–साना बच्चाहरुको चक चक बाउ आमालाई दिक्क लाग्दो नै हुन्छ । बाउ आमाको मनोकांक्षा पुरा गराउन बच्चाहरु ध्यानमा लिप्त हुने कुरा पनि भएन । केटाकेटीको स्वभावनै निदाएको समय बाहेक अरु समयमा सक्रिय भै रहनु हो । जुन बाल स्वास्थ विज्ञानको हिसाबले निकै जरुरी र महत्वपुर्ण हुन्छ ।

    जब केटाकेटी सक्रिय भै रहन्छन त्यति बेला लामो समयसम्म सामाजिक संजालमा झुन्डिन र मोबाइलमा गफ गर्न पाइने कुरा भएन । अनि उनीहरुबाट छुटकारा पाउने एउटै उपाय भनेको उनीहरुलाई पनि आँफू जस्तै कुनै कुरामा ब्यस्त बनाउनु नै अचुक उपाय हो । त्यसको निम्ति मोबाइल वा आइ प्याड त दिनै पर्यो । कम्तिमा पनि टेलिभिजनमा कार्टुन लगाई दिनु पर्ने हुन्छ । धेरै बच्चाहरु त टेलिभिजनमा भन्दा मोबाइल र आइ प्याडमै रमाउने हुन्छन् । किनकी टेलिभिजन आफ्नो रुची अनुसार चल्दैन । पश्चिमा समाजमा साना साना नानीहरुलाई कसरी ह्यान्डल गर्ने भन्ने निश्चित नियम, बिधि र परम्पराहरु हुन्छन् । उनीहरु बच्चाहरुलाई पिटपाट गरेर ठिक ठाउँमा ल्याउने भन्ने कहिल्यै सोच्दै सोंच्दैनन् ।

    एक पटक एक जना बच्चाकी आमाले सार्बजनिक बसमा यात्रा गर्दै गर्दा बच्चाले दुख दिए पछि पिठ्युमा ड्याम्म पारिन् । घटना सन् २०१६ अप्रिलको अन्त्यतिर हुनु पर्छ । म पछाडिको सिटमा थिएँ । ठूलो जिउकी अस्वेत महिलाले त्यस्तो हर्कत गरे पछि बसमा ४–५ जना अन्य पश्चिमा महिलाहरु जुरुक्क आफ्नो सिट बाट उठेर उनलाई गालि गरे । यो डेनमार्क हो यहाँ बच्चालाइ दुव्र्यवहार गर्न पाइदैन भन्दै उनलाई कडा मिजासले सम्झाए । बच्चा रुँदै थियो, उनीहरु ओर्लिने थलो आइ पुगेछ । त्यहीं झरे ।

    हाम्रा बच्चाहरु किन भनेको मान्दैनन् ? जे जे खोज्यो त्यहि किन्दिनु पर्छ । आँखा झिमिक्क नगरी मोबाइल हेर्छ । खाना खानै मान्दैन । आदि आदि गुनासा यत्र तत्र सुन्न पाइन्छ । बच्चाले स्कुलमा गएर बाउ आमाको बारेमा गुनासो गरेको, घरमा खुशी नभएको समेत यदा कदा सुन्न पाइन्छ । डेनमार्कमा यो समस्या बढ्दै गएको र दिनहुँ जसो स्कुलले अविभावकलाई पत्र काटेर बैठकमा बोलाइ रहने गरेको सुन्न पाईन्छ । यदि पटके रुपमा बैठकमा जाने प्रक्रिया दोहोरिई रहेको अवस्थामा स्कुलले बच्चाहरु सरकारी निकाय (कम्युन) लाइ जिम्मा लगाई दिने र आफ्ना प्यारा छोरा छोरीबाट आमा बाबुलाई छुट्टयाई दिने सम्म हुन सक्छ । यो समस्या बिशेष गरेर रैथाने बासिन्दाहरुलाई भन्दा आप्रवाशीहरुलाई पर्ने समस्या हो ।

    रैथानेहरु अभ्यस्त हुन्छन । उनीहरु सँग बच्चालाई के कस्तो व्यवहार गर्ने अथवा गर्न हुने र नहुने नियम कानुनको बारेमा बच्चा जन्माउनु भन्दा पहिलानै जानकारी गराइन्छ । बाल मनोविज्ञान बारे आमा बाबु अलि सचेत हुन्छन । विज्ञहरु संग बेला बेला परामर्श लिन्छन । आप्रवाशिहरुको भन्दा उनीहरुले गर्ने कामको प्रकृति पनि अलि सहज नै हुन्छ । आफ्ना बच्चाको सवालमा उनीहरु हप्तामा कम्तिमा पनि २ पटक शिक्षकहरु संग परामर्श गरि रहन्छन् ।

    बच्चा सामान्य बिसन्चो भए पनि उनीहरु आफूले काम गर्ने ठाउँ बाट सहजै बिदा पाउछन् । स्कुल बिदाको समयमा बाबुआमाहरुले पनि बिदा लिन्छन । एक वर्षको बिदा, चाडपर्व आदिमा उनीहरुका बच्चाहरु पनि बाबु आमा संगै घुम्छन रमाउछन् । काम, बिदा, घुम फिर, मनोरंजन बार्षिक क्यालेण्डर अनुसार तय हुन्छ । तर, आप्रवाशी बाबु आमाहरुको सवालमा यी सबै बन्दो बस्त थोरैका मात्र हुन सक्छ । अथवा बिरलै हुन्छ भन्दा पनि फरक पर्दैन । क्रिसमस बिदामा रैथानेहरु आफ्ना रिति रिवाजमा बाबु आमा संगै रमाउँछन्, घुम फिर गर्छन तर दशैँ तिहार, रमजान मान्ने बाबु आमाहरु त्यो बेलामा काम गर्छन । स्कुल खुल्छ दुवै थरिका बच्चा भेट हुन्छन । शिक्षकले पालै पालो कक्षामा सोध्छन ‘ल भन त तिमीहरुले क्रिसमसको बिदामा के के गर्यौ ? के के खायौ ? घुम्न कहाँ गयौ ? के के कुरामा दिक्क लाग्यो ? घरमा क्रिसमसको रुख छ ? शान्ता क्लाउसले के के उपहार दिए ?’ आदि आदि ।

    यहाँ सजिलै अनुमान लगाउन सकिन्छ कि ति बच्चाहरु कसले कसरी शिक्षकले सोधेका प्रश्नको जवाफ दिन्छन् । बच्चाले गरेको रेस्पोन्स अनुसार शिक्षकले सबै बुझ्छ र कसको घरको बाताबरण कस्तो छ सहजै अनुमान लगाउँछ । बच्चालाई केहि सिकाउनु भन्दा पहिला उसको मनस्थिति बुझ्ने चलन रहेछ यता तिर । म आँफै नेपालमा छंदा झन्डै १८ बर्ष शिक्षण गरें । यता युरोप तिर आएर यहाँको शिक्षण पद्धति बुझ्दा लाग्यो, अब पुरातन पद्धतिको सिकाइ म्याद सकिएको दबाइ जस्तै भै सकेछ । बाल मनोबिज्ञान बारे बाउ आमालाई कम्तिमा ३ महिना औपचारिक शिक्षानै दिन जरुरि रहेछ । हरेक बच्चालाइ उसको नाम बाट बोलाउने, बच्चाको रुचि अनुसारको समुहमा खेलाउने, काम दिने, सिकाउने, प्रोत्साहन गर्ने मात्र होइन कि कति पटक ट्वाइलेट जान्छ देखि लिएर उसको खेल्ने,रिसाउने, खाने, निदाउने, अल्छी मान्ने, दिक्क मान्ने, हाइ काड्ने सम्मका यावत गतिविधिहरु शिक्षकको निगरानीमा हुनुपर्ने नियम रहेछ यहाँ । बच्चाले स्कुलमा हाइ काड्यो भने त्यसको सिधा जवाफदेहिता अविभावकले लिनु पर्ने हुन्छ । बच्चा अलि दिक्क मनस्थितिमा देखियो भने उसको पारिवारिक गतिबिधि बारे शिक्षकले नोटमा उतार्ने गर्छन । बिदेशमै जन्मे हुर्केको बच्चाले सबै कुरा आफ्नो रैथाने साथीको जस्तै अनुभूति र कल्पना चाहना गरेको हुन्छ ।

    पश्चिमाहरू बच्चालाई सानै देखि अलग सुताउछन् । बच्चाको सुत्ने खेल्ने कोठा अलग हुन्छ । आप्रवाशिहरु धेरैको बच्चा ठूलै हुने बेला सम्म संगै राख्ने चलन छ । प्रत्येक शुक्रबार गेट टुगेदर हुनेहरुकोमा त झन् बच्चाको बारेमा खासै ध्यान पुर्याइएको हुँदैन । ठूलाहरू रमाउने र सानाहरू रमाइलो हेर्ने अवस्था श्रीजना भयो भने स्कुलबाट धेरै समस्याहरु आउन थाल्छन् ।

    पीटरलाई मैले बिगत ७ वर्ष देखि चिनेको छु । उ ४० बर्षको अबिबाहित प्रौढ हो । हट्टा कट्टा जिउको पिटरलाइ एक दिन मैले उसको अनुमति लिएर तेरो बारेमा केहि प्राइभेट कुरा सोधौं है भने । ‘भैहाल्छ नी’, भन्ने उसको स्वीकृति पछि ‘बिहे गर्ने छोरा छोरी पाउने रहर छैन तँलाई ? भनेर सोधेको उसले पनि ‘मलाइ र मेरो प्रेमिकालाइ त खासै रहर छैन तर देशको निम्ति एउटा बच्चा जन्माउने कि भन्ने सल्लाह हुँदैछ’ भनेर फ्याट्ट उत्तर दियो । हामीहरु आफ्नो बुढेसकालको सहाराको निम्ति बच्चा जन्माउछौं ।

    रैथानेहरु देशको निम्ति बच्चा पाउंछन् । त्यति मात्र होइन बच्चा पश्चिमा समाजमा जन्मिन्छ, यतै स्कुल जान्छ, यहींका रैथानेहरु उसका खेल्ने साथी संगी हुन्छन । भाषा यहींको बोल्छ । रहन सहन यतैको सिकेको छ । हाम्रो चाहना फरक भै दिन्छ । बच्चाले सबै संस्कार हामीले जस्तै सिकोस, आफ्नो अड्कल पडकल अनुसार चलोस् भन्ने हुन्छ । जुन हुन सक्दैन । मंगली (नाम परिबर्तन) ५ बर्षकी भईन् । डेनमार्कमा जन्मेकी हुन् । यहींको भाषा बोल्छिन् । नेपालीहरुले बोलेको बुझ्छिन तर त्यति बोल्दिनन् । उनी साथीको घरमा जाने गर्छिन तर साथी उनको घरमा अहिलेसम्म आएकी छैनन् ! साथीको घरमा खेल्ने चिज प्रसस्त रैछन, कोठा पनि छुट्टै रहेछ तर उनलाई त्यो सुबिधा रहेनछ । ‘मेरो साथीको जस्तै मलाइ पनि छुट्टै कोठा किन नभाको ? एक दिन आफ्नो घरमा उनले मनको गाँठो फुकाइछन्…. । क्रमश

    ७०३७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad