BizPati

  • Ad
  • आज : २०७५ साउन १ गते
    Headlines :
    Ad

    बच्चाको खेलौना फुटाउनु पनि घरेलु हिंसा मानिन्छ युरोपमा

    उदय राज गौतम, डेनमार्क माघ २, २०७४

     

    मेरो यस भन्दा पहिलाको बसी बिंयालो गर्दै लेखेको ‘युरोपमा छोरा छोरी कस्तो बनाउने ?’ शिर्षकको लेखले नसोचेको प्रतिक्रिया पायो । आजसम्म झन्डै ८५४ जनाले संजालमा शेयर गरेको अनलाईनले देखाएको छ । करिब ३ दर्जन शिक्षकहरुले नेपालबाट इनबक्स मेसेजमा फेरी लेख्नु होला भनेर घच घच्याउनु भएको छ । धेरै सकारात्मक कमेन्टहरु सम्प्रेषित भएका छन् । यसबाट मलाइ अलि उर्जा मिलेको छ लेख्नलाइ । ड्याड्डिहरु मात्र होइन थुप्रै मम्मिहरुले पनि निकै चासो राख्नु भएको छ । यो चासो र चिन्ता भनेको बिशेष गरेर आफ्ना बच्चाहरुलाई कसरि राम्रो बनाउने भन्ने नै हो ।
    डायस्पोरा आँफैमा एउटा अप्ठ्यारो पिंढी हो । आफ्ना बाबु आमाले उत्पत्तिको मुलुकबाट ग्रहण गरेको ज्ञान ,इतिहाँस ,शिक्षा , संस्कृति र परम्परा पनि छाड्न नहुने र बर्तमानमा उ जहाँ छ , त्यहाँको राजनीतिक ,सामाजिक ,शैक्षिक र सांस्कृतिक क्षेत्रमा पनि उत्तिकै निख्खर हुनु पर्ने ।

    हामि मध्ये धेरैलाइ के लाग्छ भने परिवार आफ्नो निजि मामिला हो । बालबच्चा स्याहार–सम्भार खटन–पटन हाम्रै छनौट अनुसार हुन्छ । हो,यसमा कत्ति पनि दुइ मत छैन तर परिवार पनि समाज समुदायको अभिन्न अंग हो भन्ने कुरा बिर्सनु हुँदैन ।

    युरोपका सबैजसो मुलुकमा बैधानिक रुपमा बसोबास गरि रहेका हरेकलाइ ग्यारेण्टिसाथ प्रदान गरिने सामाजिक सुरक्षाको कारणले पनि परिवार सिधै राज्यको प्रणाली भित्र छिरेको हुन्छ र त्यस बाहेकका कुरामा उसको तजबिजी अधिकार हुँदैन । एक वा अर्को रुपमा यो मामिला राज्यसँग र यसका नीति नियम मूल्य मान्यता संग पनि जोडिएको हुन्छ । जहाँ बसिन्छ त्यहाँ स्थापित व्यक्तित्व बिकास, समाज बिकास, सुरक्षा ब्यबस्था तथा स्वतन्त्रता संग सम्बन्धित नियम र मूल्य मान्यताको कदर गर्नु तथा पालना गर्नु हाम्रो कर्तब्य हो ।

    युरोपको सवालमा त यो झन् बाध्यकारी जस्तै छ । महिला हक अधिकार र बाल हितमा यहाँ अन्य महादेशमा भन्दा धेरै कानुनहरु निर्माण भएका छन् । हजारौं प्रयोग र अनुसन्धानहरु भएका छन् । बच्चाले खेलाउने भाँडा कुटी फुटायो भने पनि त्यसलाई घरेलु हिंसाको एउटा अंश मानिन्छ यहाँ । किरा, फट्यांग्रा, सांग्ला ,उडुस, धमिरा, कमिला, पशु ,पंक्षी केहि पनि मार्न वा दुःख दिन पाइदैन यहाँ । यो यहाँको सामाजिक समबेदना मात्र होइन कि कानुनी रुपमा समेत बन्देज छ । मार्नु पर्ने जीवलाई मार्ने छुट्टै निकाय हुन्छ भन्ने कुरा सबैलाई ज्ञात छ ।

    समुद्रमा सित्तै पाइने माछा मार्न पनि महँगो शुल्क तिरेर लाइसेन्स लिनु पर्ने हुन्छ । कृषि र बाली बिज्ञान बिषयमा ४ वर्ष अध्ययन नगरी किसान बन्न पनि नपाइने रहेछ । हाम्रा छोरा छोरी पढाउने शिक्षक शिक्षिकाहरुको ब्यवसायिक क्षमतामा खासै शंका गर्नु पर्दैन । तर क्लास रुम ब्यबस्थापन र फरक संस्कृति, परिवेशबाट आएको नयाँ बिद्यार्थिलाई शिक्षण सिकाइ क्रियाकलापमा संलग्न गराउने सवालमा निकै कमजोरीहरु छन् भन्ने मलाइ लाग्छ ।जहाँसम्म यहिँ जन्मे हुर्केको बच्चा हो उसको सवालमा यो कुरा लागु नहुन सक्छ । अंग्रेजीमा parental custody  भन्ने एउटा टर्म छ, त्यो भनेको जिम्मेवारिता वा जवाफदेहिता पनि हो । जसलाई बाबु आमा दुबैले अनिबार्य पालना गर्नु पर्ने हुन्छ । यसभित्र बच्चालाई सुपरमार्केट वा ग्रोसेरिमा राखिएका बस्तु खरिद गरेर ल्याउने र तयार गरेर खान दिने मात्र पर्दैन । आफ्नो बच्चा स्कुल जाने उमेर पुग्नु अघिनै उसलाई सामाजिक तथा पारिवारिक जीवनका विभिन्न पाटाहरुको बारेमा जानकारी दिनुपर्ने हुन्छ । त्यो काम कक्षा १ मा भर्ना हुनु अघिनै डे कियर संग मिलेर अविभावकले गर्नु पर्छ ।

    ठीक समयमा खाना खुवाउने, ठीक समयमा सुताउने र उठाउने कुरामा शुरु देखिनै अभ्यस्त बनाउन सकियो भने बच्चाहरुले स्कुलमा अस्वाभाविक प्रतिक्रिया देखाई स्कुलको गुनासो बाउ आमाले सुन्नु नपर्ने हुन सक्छ । यो त सामान्य कुरा भयो । अर्को चर्चा गर्नुपर्ने महत्वपूर्ण कुरा हो के भने एसियन एथनिसिटिमा बच्चाहरुसंग धेरै कम मात्र अन्तरक्रिया हुने गर्छ बाउ आमाहरुको । बच्चाहरुले केहि जिज्ञाशा राखेमा त्यसलाई खासै महत्व नदिने संस्कार छ ।

    हामीहरु पनि घरमा आएका आगन्तुकहरु संग बाले कुरा गर्दा अलि पर पर बसेर सुनिन्थ्यो । आमाको अवस्था पनि हाम्रै जस्तो हुन्थ्यो । केहि चासो राखी हाल्यो भने, ‘केटा केटीलाई के मतलव’ भन्ने हुन्थ्यो । हामीलाई पनि हो क्यारे जस्तो लाग्थ्यो । पश्चिमा समाजमा बच्चाहरुसंग ब्यापक अन्तरक्रिया हुँदो रहेछ । सिकाइको लागि यो ज्यादै अपरिहार्य क्रियाकलाप रहेछ । सार्वजनिक यातायात, चर्च , पार्क , अस्पताल ,सुपरमार्केट जहाँ सुकै होस् बच्चा लिएर हिंडेको अविभावकले आफ्नो बच्चा संग निरन्तर कुरा गरि रहेको देखिन्छ । बच्चाले सोधेको हरेक कुराको जवाफ तर्क सहित दिई रहेको हुन्छ । बच्चा लिएर हिंड्नेले साथमा कुनै सानो तिनो कार्टुन वा कथाको किताब लिएर हिंडेको देखिन्छ । आमा वा बाउसंग संगै साइकल चलाएर हिंड्ने बच्चालाई उनीहरु ट्राफिक नियम सिकाइ रहन्छन भने अस्पतालको बिश्राम कक्षमा बसेको बेलामा वरि परिको दृश्य, भित्तामा टाँसिएका स्वास्थ सम्बन्धि नियम, आदिबारे अबिभावकहरु व्याख्या गरि रहन्छन । व्याख्या गर्दा बच्चासंग हामी कुरा गरे जस्तो होइन की आफ्नै लेवलको कुनै प्रौढ संग कुरा गरेकै शैलीमा गर्ने गर्छन। ‘गाईले बुबु दिन्छ ,अनि माम संग हाम्म गर्ने र चाचा खेलाउने’ भने जस्तो नगरि सोझै दुध,भात र खेलौना भनेर सिकाउदा बच्चामा भाषागत परिपक्वता छिटो आउने बुझाइ रहेछ । यो छलफलको बिषय पनि हुन सक्ने भो तर ठूला मान्छेले बच्चासँग सकेसम्म शिक्षाप्रद तर्क बितर्क धेरै गरेर उनिहरुलाई कक्षा १ मा स्कुल पठाउनु भन्दा पहिल्यै एउटा परिपक्व बिद्यार्थी बनाउन आवस्यक रहेछ ।

    हामीले छोरा छोरीहरु स्कुलमा पढ्न पठाउछौं तर त्यहि कक्षामा रैथानेका बच्चाहरु सिक्न जान्छन । पढ्नु र सिक्नु एउटै कुरो पटक्कै होइन । पढाई र घोकाइका बाक्ला किताब ,होमवर्कको ठेली, बोक्नै नसकिने झोला भन्दा सीप सिकाउने पाठ्यक्रम गर्विलो हुन्छ । तर्क बितर्क र प्रश्न अनि थुप्रै प्रश्नहरु सोध्न आफ्ना छोरा छोरीहरुलाई उत्प्रेरित गरियो भने त्यसबाट उनीहरुको सिकाई क्रियाकलापमा ठुलो क्रान्ति आउन सक्छ । पहिलो कुरा त उनिहरुमा शब्द भण्डारको बिकास हुने,भाषा छिटो सिक्ने, निडर,आत्मविश्वासी बन्ने हुन्छन । र ,अर्को बिर्सनै नहुने कुरा के हो भने प्रश्न गर्दा eye talking .(आँखामा हेरेर बोल्न सिकाउनु) पर्दछ ।
    हाम्रो संस्कारमा ठुला मान्छेसँग कुरागर्दा झुकेर कुरा गर्नु पर्छ, सिधा नजरले आँफू भन्दा ठूलाको मुखमा हेर्नु हुँदैन भन्ने चलन छ जुन सरासर गलत छ । प्रश्न सोध्यो भने मुख मुखै लाग्यो भनेको सुनिन्छ बास्तवमा अहिले समयले कोल्टे फेरी सकेको छ । यदि आफ्ना छोरा छोरीलाई बोलक्कड बनाउन सक्नु भएन भने सिकाइको महत्वपुर्ण पाटो अधुरै रहन्छ ।
    नेपालीमा एउटा भनाइ पनि छ ‘बोल्नेको पिठो बिक्छ,नबोल्नेको चामल पनि बिक्दैन ।’ आमाको काख बाल बालिकाको प्राथमिक विद्यालय हो भन्नेमा शंकै छैन । बच्चाको पहिलो शिक्षक त आमानै हो । मातृत्व भित्र आमाको माया मात्र होइन शिक्षा पनि पर्दछ । रैथानेहरुका बच्चा १८ वर्ष पुगेपछि आमा बाउबाट अलग बस्छन त्यो यहाँको चलन हो अनि संस्कार हो । राज्यले पनि यो कुरालाई प्रोत्साहित गरेको छ । यसको अर्थ यो होइन कि संगै बस्नै पाइंदैन । १८ वर्ष भित्र उसले प्राप्त गरेको ज्ञान सीप शिक्षाले उसलाई आत्मनिर्भर बन्न सिकायो भने र एक्लै बसेर पनि म सक्षम रुपमा जिउन सक्छु भन्ने आत्म विश्वाश पलायो भने त्यसमा चिन्ता मान्नु पर्दैन।

    कसै कसैको परिवारमा बच्चा ‘इन्चार्ज’ भै सकेको हुन्छ । उसले सबै कुरामा आफ्नो हुकुम चलाउँछ भन्ने सुनिन्छ । यो त्यति ठूलो समस्या होइन । बाउ आमा दुबैको बच्चाप्रतिको नीति एउटै हुने हो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ । इन्चार्जलाई आँफू झन् ठूलो इन्चार्ज बनेर काबुमा ल्याउन सकिदैन । एउटा घटना ः झन्डै २ बर्ष अगाडिको कुरा हो । नेपाली बाउ आमा सुपरमार्केटमा सामान किन्दै हुनुहुन्थ्यो । सानी छोरी पनि संगै थिइन् । काउण्टरमा सामान स्क्यानिंग गर्ने बेला छोरीले ३–४ थरि चकलेट लिएर आइन् । बाउले ‘यो लैजाने होइन् । धेरै हुन्छ, घरमा पनि थुप्रै छ,’ भनेर सामान फर्काउन उचाले , छोरी बेस्सरी रुन थालिन् । ‘भैगो नि त खान खोजेकी छ’ भनेर आमाले समान लैजाने संकेत गरिन् । छोरी खुशी भइन् । कसैकोमा यस्तो मामिलामा बाउ अलि बढी उदार बनेको पाइन्छ । यस्तो जिद्दिवाला बच्चाहरु हाम्रा मात्र हुँदैनन्। रैथानेकोमा पनि यस्तो देखिन्छ । बच्चाले चकलेट गुटु मुटु पारेर हिंडेको बेलामा बाउ आमा दुबैले नाइँ, नाइँ भन्ने बित्तिकै भुतुक्कै हुँदै जुन ठाउँबाट झिकेको हो त्यहि ठाउँमा लगेर राखेको पनि मैले प्रत्यक्ष देखेको छु । यो त एउटा उदाहरण भयो । प्रायजसो बच्चाहरु १२–१३ वर्ष पुगे पछि युरोपमा धेरै कुरा आँफै गर्न सक्ने हुन्छन् । पुग्नुपर्ने समयको आँफै ख्याल गर्ने लगायत अन्य गतिविधिको समय तालिका ख्याल गर्छन । जुन बच्चाले स्कुलमा शिक्षकसँग तर्क बितर्क बढि गर्छ घरमा पनि गर्छ । तर, त्यो कुरा पचाउन हामीलाई अलि अप्ठ्यारो परेको हुन सक्छ । यदि बच्चाबाट काम लिनु छ भने फकाउने र उसलाई पैसा चक्लेट दिने गरियो भने यसले दीर्घकालमा राम्रो गर्दैन । यस्तो गर्ने चलनलाई यहाँ स्कुलले पनि मनाही गरेको हुन्छ ।

    फलानो यस्तो छ, मिहिनेती छ, घरको पनि सबै काम गर्छ भनेर आफ्नो बच्चालाई अरुको संग तुलना गर्नु सबैभन्दा नराम्रो कुरा हो । तुलना गर्ने ,दाँज्ने यदि गर्नु भएको छ भने आजबाट यसो गर्न छाड्नुस् । हरेक बच्चा काबिल हुन्छ । कुनै न कुनै बिशेष गुण सम्पन्न हुन्छ भन्ने बैज्ञानिक तथ्यलाइ बिर्सनु हुँदैन् । घरको राम्रो बातावरणले आफ्नो बच्चालाई होनहार बनाउन सकिन्छ । क्रमश….

    युरोपमा हाम्रा छोराछोरी कस्तो बनाउने ?

    ३३४५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad