BizPati

  • Ad
  • आज : २०७५ साउन १ गते
    Headlines :
    Ad

    विदेशमा सिकेको सिप मातृभूमिमा प्रयोग गर्दै शाही (भिडीयो सहित)

    संसार न्यूज संवाददातामाघ ३, २०७४

    युवाहरूले राजनीति गर्नेहरुसंग समस्याहरु राख्नुपर्छ । सिंचाई माग्नुपर्छ, योजना तर्जुमामा कृषिलाई प्राथमिकता दिन दबाब दिनुपर्छ, कृर्षिमा सहुलियतको ऋण र अनुदान सहि ठाउँमा पुगोस् भनेर दबाब दिनुपर्छ । तर, युवा सिर्जनशीलतामा लाग्नुपर्छ राजनीति होइन् शाही सल्लाह दिन्छन् ।

     

    बिदेशमा ज्ञान, सीप सिक्न जाने हो, फर्केर त आफ्नै देश बनाउनु पर्दछ’ तर यो भनाई नेपाली समाजमा भने ठ्याक्कै उल्टो देखिन्छ । विदेश कस्तो हुन्छ भनेर १-२ वर्ष बुझेर, उच्च शिक्षा अध्ययन गरेर, सीप सिकेर स्वदेश फर्कने भन्दा पनि विदेश आइयो अब कसरी यही स्थापित हुने ! भन्ने सोच युरोप र अमेरिका पुगेका नेपालीमा हुन्छ भने खाडी र मलेसियामा कार्यरत झन्डै २५ लाख बढी नेपालीहरु १–२ महिनाका लागि देश फर्के पनि फेरि विदेश जान बाध्य छन् ।
    अहिलेसम्म सबैको विश्लेषणमा ‘बैदेशिक रोजगारको विकल्प देशमा छैन’ भन्ने नै छ । तर देशमा धेरै गर्न सकिन्छ भन्छन, अशोक शाही । उनकै भनाईमा भन्नुपर्दा नेपाली युवामा धैर्यता, इमान्दारिता र सिक्छु र केही गर्छु भन्ने अठोट भने हुनैपर्छ । झण्डै २१ वर्ष अघि जापान पुगेका शाही अहिले धेरैजसो समय नेपालमै बिताउन थालेका छन्। सुरुमा आम युवाले जस्तै आफ्नो छुट्टै घर बनाउने सपना बोकेर जापान गएका अशोक शाहीले त्यहाँ पुगेको २–३ वर्षमै नेपालमा घरमात्रै बनाएनन् आफ्नो जीवनलाई जापानी शैलीमा पनि ढालीसकेका छन् । उनी रातमा चार घण्टा मात्र सुतेर बाँकी समय अध्ययन गर्छन् भने दिउँसो कम्पनीमा काम गर्छन । सुरुमा काम गर्दाको अनुभवलाई यसरी सुनाए ‘म त जापानीज जस्तै भएको छु, समय पनि मेरो लागि त्यतिकै महत्वपूर्ण भएको छ । तपाइलाई थाहा छ जापानमा काम गर्दा गर्दा मेरो हात प्यारालाईसिस जस्तै भएको थियो, मलाई जहिले पनि लाग्छ जापान त्यसै जापान भएको रहेनछ ।’ उनी यतिबेला जापानमा कार्यरत रहँदा सिकेको र अध्ययनबाट हासिल गरेको सीप देशमै लगानी गर्ने र नेपाली युवायुवतीलाई सिकाउने तम्तयारी गरिरहेका छन् ।

    शाहीले २१ वर्ष जापानमा रहँदा दुःखका साथै धेरै सफलता पनि हासिल गरेका छन् । सिताके च्याउ नेपालमा पनि भित्रयाउने र च्याउमार्फत देशलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने सोचका साथ ३ वर्ष देखि नेपालमै सिताके च्याउ उत्पादनमा लागेका छन् । जापान रहँदा काम गरेको सिताके च्याउ सम्बन्धिको अनुभव र अध्ययन १५ वर्षको छ ।

    जापानीज भाषामा सिताके च्याउको अर्थ खुलाउँदै उनी भन्छन् ‘सि’ भनेको कटुसको मुडा र ‘ताके’ भनेको च्याउ रहेको छ । उनको भनाइमा नेपालमा सिताके च्याउको बीउ दर्ता गर्न जाँदा नेपाली कर्मचारीले सिताके च्याउलाई यसको नाम मिर्गेच्याउ नेपालको हो भनेर दाबी गरे पनि सिताके च्याउ जापानको रहेको बताउँछन् शाही । जापानको त्यहि सिताके च्याउको स्वादसँगै नेपाली पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न उनले ‘एभरेष्ट किनोको’ को नाममा आफ्नो व्यवसाय सुरु गरेका छन् ।

    जापानी भाषामा किनोकोको अर्थ च्याउ हो, ‘एभरेष्टको च्याउ’ भन्ने अर्थ दिने एभरेष्ट किनोकोको नाममा कम्पनी खोलेर उत्पादन गरेको उनी बताउँछन् । उनको सोच छ एभरेष्ट किनोकोबाट भविष्यमा संसारका सबै देशमा नेपालमा उत्पादीत च्याउ निर्यात गर्ने । उनी आफ्नै उत्पादन गने भन्दा पनि यससम्बन्धी तालिम दिने र कृषकहरुलाई उत्पादन गर्न सक्ने बनाउने हो ।

    झन्डै ६–७ सय कटुस, उत्तिस, सउर, पैंयु लगायतका मुडामा च्याउ रोपेर नमुना व्यवसायिक सिताके च्याउ उत्पादनको रुपमा छाउनीस्थित आफ्नै घरमा राखेका छन् । त्यहाँ जापानी प्रविधिद्वारा गुणस्तरीय च्याउको बीउ बनाउने, बिउ रोप्ने हाते उपकरणहरू देखि अत्याधुनिक कम्प्यूटर प्रणाली द्वारा बिउ रोप्ने मेसिनहरु, मुडा खोप्ने मेसिन तथा स्वचालित सिचाइद्वारा मुढाहरुमा पानी दिने लगायत राखेर त्यहाँ आएर जान्न खोज्नेलाई मिहिन तरिकाले जानकारी समेत दिन्छन् शाही ।


    धादिङको जीवनपुरमा किसानलाई सिकाउन भनेर बनाइएको अत्याधुनिक ट्रेनिङ सेन्टर बाट अहिले उताको कामलाई छोडी अब किर्तिपुरमा खोल्न लागेको शाहीले सुनाए । ‘मैले किसानहरूका लागि होला भनेर ट्रेनिङ सेन्टर खोले तर, उहाँहरुमा धैर्यता र संयमता पाइन।’ शाही भन्छन्, ‘अब किर्तिपुरमा जग्गा लिएर छिट्टै खोल्दैछु त्यहिबाट आफ्नो ज्ञानलाई देशभरीका युवामा बिस्तार गर्न सोंच बनाएको छु ।’

    उनका अनुसार सिताके च्याउको बीउको बारेमा नेपाली किसानले केहि बुझ्न पाएका छैनन् । ३ दिने क्लास हुन्छ सिताके च्याउ सम्बन्धी । त्यसले किसानलाई केही नहुने बेकारमा किसानको पैसामात्र खर्च हुने बताउँछन् शाही । च्याउ रोप्न जंगलका मुडा काट्दा बन विनास हुँदैन र रु भन्ने चिन्तालाई स्पष्ट पार्दै शाही भन्छन् ‘बिल्कुल बन विनाश होइन, मुडा काट्नु भनेको रिसाइकिलिङ गर्नु हो । किनकी हाँगा भन्दा केहि माथि काटिँदा हाँगाहरु फैलिएर जान पाउँछन् त्यसैले बन बिनास गर्दैन उल्टो संरक्षण हुन्छ ।’ शाही भन्छन् ।

    शाहीका अनुसार एउटा मुडामा च्याउ फलाउने अवधि भनेको ३ वर्ष सम्म हो । त्यसपछि कतिसम्म फल्छ भन्ने मुडामा भरपर्छ । मुडामा मेसिनले स–साना प्वाल बनाएर च्याउँको बीउ रोपिन्छ । एकपटक च्याउको बिउ रोपेपछि बिउरोपेको ६ महिनामा सिताके च्याउ उम्रन थाल्छ तर, गुणस्तरीय च्याउको बिउ हुनुपर्छ । एउटा मुडाबाट एकवर्षसम्म दुई महिनाको अन्तरालमा ६ पटक च्याउ निकाल्न सकिन्छ यसरी ३ वर्षसम्म लगातार उत्पादन दिन्छ यसको लागि वातावरण अनुकूलित ग्रीनहाउस बनाउन आवश्यक छ । यसरी तयार गरिएको मुडामा बिउ रोपिएको मुडालाई पहिला पानिमा भिजाउन जरुरी हुन्छ । कति समय भिजाउने भन्ने मुडामा भरपर्छ । मुडा धेरै सुकेको छ भने २४ घण्टा समय राख्नुपर्दछ भने नयाँ मुडा ३ घण्टामात्र भिजाए हुन्छ । यस प्रक्रियालाई ‘कोल्डसक’ भनिन्छ, मुडालाई भिजाउँदा मुडा पानीमा डुबेको हुनु जरुरी छ । आधा मुडा डुबाएर हुँदैन् मुडा पानीमा राखेपछि माथि तैरिने हुनाले माथिबाट गर्हाै बस्तुले थिच्नु पर्ने बताउँछन् शाही । वातावरणलाई बुझे मुडाको स्याहार गर्न पनि सजिलो छ । सिताके च्याउमा कुनैपनि विषादी राख्नु नपर्ने बताउँछन् शाही । मात्र समयसमयमा पानी दिए पुग्ने हुँदा खेती गर्न पनि सजिलो छ । आजकल छिटो उत्पादन गर्न काठको धुलोको मुडामा पनि खेती सुरु गरिएको छ । तर, यस्ता मुडाहरू तयार गदा ल्याबमा १२१ डिग्री तापक्रममा ब्याक्टेरिया मार्नु पर्ने हुन्छ । यसले यस्ता च्याउलाई प्राकृतिक च्याउ भन्न नसकिने उनी बताउँछन् । तर, मुडामा गरिने उत्पादन सय प्रतिशत अर्गानिक हुने उनी बताउँछन् । च्याउ, फङ्गस (ढुसी) एकप्रकारको किरा हो । थुप्रै ढुसीमध्ये सिताके खान हुने च्याउ हो । चिस्यान मौसममा उम्रने भएकाले बिउ राख्न जनवरी देखि मार्चसम्मको सिजन अत्यन्त उपयुक्त हुने उनी बताउँछन् ।

    शाहीले ३ वर्ष भयो नेपालमा सिताके च्याऊँ व्यवसायिक रुपमा उत्पादन गर्न सुरु गरेको । उनको च्याउको मुख्य मार्केट हरेक शनिबार शितल निवासको छेउमा लाग्ने अर्गानिक मार्केट ‘शेपा मार्केट’ हो । उनले उत्पादन गरेको च्याउ त्यहिबाट धेरै भिआइपीहरूको घरमा पुग्छ च्याउ किलोको १ हजार पर्छ । ’


    ‘तपाईहरूले बजारमा किनेको च्याउको क्वालिटी र वेट (तौल) हेर्नुभएको छ ?’ शाही भन्छन्, ‘वास्तवमा सिताके च्याउ कस्तो क्वालिटीको हुनुपर्छ भन्ने उपभोक्तालाई थाहा नै छैन ।’ शाहिका अनुसार ताजा टिपेर राखेको च्याउको छाता खैरो र तल सेतो हुन्छ भने सुकाएको DRY सिताके च्याउ गोल्डेन कलर हुन जरुरी छ यदि त्यो च्याउको छेउ छेउमा कालो देखिएको छ भने त्यसमा क्वालिटी कम हुन्छ भनेर बुझनुपर्छ । ‘यी हेर्नुस, हामीले च्याउ टिपेर राखेको ३ दिन भयो जस्ताको तस्तै छ ।’ टिपेर राखेको च्याउको क्वालिटी देखाउँदै उनले भने । टिपेर च्याउ घाममा सुकाउँदा घामबाट प्राप्त हुने भिटामिन ‘डि’ समेत त्यसमा थपिने उनले सुनाए । उनी च्याउका बारेमा ल्यावमै आएर जान्न खोज्नेलाई सिताके च्याउको मिठो परिकार पनि बनाएर खुवाउँछन् । अनि कसरी बनाएर खाने भन्ने पनि सिकाउछन् ।


    सिताके च्याउको माग अन्तर्राष्ट्रिय रुपमा उच्च छ । यदि आफुले भने अनुसारको उत्पादन हुने हो भने सबै उत्पादन आफुले किनिदिने उनले बताए । नेपालमा थुप्रै सम्भावना छ तर नेपालका युवाहरूमा धैर्यता नभएको जेमा पनि राजनीति मिलाउने गरेको उनी बताउँछन् । धैर्यता नहुँदा ३ दिनको तालिम ६ महिनासम्म दिंदा पनि नबुझने गरेको अनुभव सुनाए । शाही थप्छन् ‘जापानमा सानैदेखि प्राविधिक शिक्षा पनि सिकाइन्छ । तर, यहाँ मास्टर्स गरेका युवा छन् काम केही जानेका छैनन् ।’ युवाहरू धैर्यताका साथ उत्पादनमा लाग्न जरुरी रहेको उनको जोड छ । राजनीति गर्नका लागि नेताहरूनै पर्याप्त रहेको र युवाहरूले आफ्नो उर्जाशील समय उत्पादनमा लगाउनु पर्ने उनको जोड छ ।

    युवाहरूले राजनीति गर्नेहरुसंग समस्याहरु राख्नुपर्छ । सिंचाई माग्नुपर्छ, योजना तर्जुमामा कृषिलाई प्राथमिकता दिन दबाब दिनुपर्छ, कृर्षिमा सहुलियतको ऋण र अनुदान सहि ठाउँमा पुगोस् भनेर दबाब दिनुपर्छ । तर, युवा सिर्जनशीलतामा लाग्नुपर्छ राजनीति होइन् शाही सल्लाह दिन्छन् ।

    शाही यतिबेला जापान छोड्ने की नेपाल छोड्ने भन्ने दोधारमा छन् । तर, उनी दृढता व्यक्त गर्छन् ‘म देशमै फर्केर सिताके च्याउको बृहद् विकासमा लाग्छु ।’ सिताके च्याउका बारेमा अथाह ज्ञान हासिल गरेका शाहीको ज्ञान नेपाली युवामा प्रसारित हुनसके र राज्यले उनको ज्ञानलाई सहि सदुपयोग गर्ने वातावरण बनाउन सके यसले देशको आर्थिक समृद्धिमा योगदान पुग्छ भन्ने विश्वास गर्न सकिन्छ ।

    प्रस्तुती : चन्दा थापा ।

    २३८६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad