BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    जात 

    शेखर ढुङ्गेल, नासुवा, न्यू ह्याम्पसायर अमेरिकामाघ १३, २०७४

    पण्डित जगन्नाथ कि अर्धाङ्गिनी कल्याणी देवी डाको छोडेर रोइरहेकी छिन् । धन्न गाउँलेले बेलैमा देखेछन र पण्डित बाजेलार्इ बकैनाको हाँगोमा बाँधेको बाबियोको डोरीको पासोबाट बचाएर लेराए ।

    केही क्षण इन्तु न चिन्तु बनेकी पण्डित्नी बजैले आधा अङ्खोरा पानी के रित्याएकी थिइन, जोर जोरले रुन कराउन थालिन । आफ्नो एक मात्र सन्तान छोरी रुपालार्इ जाने बुझेसम्मको तथानाम गालीको वर्षा गराउन थालिन् ।

    जगन्नाथ बाजेको आत्महत्याको प्रयासको खबर सुन्ने जति सबै गाउँलेहरु हस्याङ फस्याङ गर्दै आएर आँगन र पिँढीमा जम्मा भएका छन् । पण्डित जगन्नाथ चुपचाप घुडोमाथि मुन्टो राखेर पिँढीको एउटा कुनामा झोक्राएर बसेका छन् । आँगन पिँढी वरिपरी जम्मा भएका छिमेकीहरुलार्इ देखेको न देख्यै गरी धुमधुम्ती भएर ।

    पण्डितनी बजै एकोहोरो चिच्याउँदै छिन, हे भगवान किन कोखमै मरिन यो कुलङ्घार्नी ? आज यो दिन देख्नु पर्यो । मेरा कान किन बन्द भएनन् ? यो उखर्मौलीको कर्तुष सुन्नु पहिले नै ? लौ मलार्इ मर्न देओ । कसरी मुख देखाएर बाँच्नु अब छरछिमेकी इस्टमित्रहरु सामु ? उ… हुँ… हुँ… हुँ … । हाम्रो खान दानको नाक काटिदिई बजिनीले । यस्तो हुन्छ भन्ठानेको भए छाक काटेर किन पढ्न पठाउने थिएँ नि म विदेश ? उ… हुँ… हुँ… हुँ …

    गाउँलेहरु अझै अनभिज्ञ नै छन् । किन विदेश पढ्न गएकी आफ्नी छोरीलार्इ तथानाम भन्दैछिन् पण्डितनी बजै ? पण्डित बाजेलार्इ आत्महत्या नै गर्नु पर्ने के त्यस्तो कारण पर्यो ? खुल्दुली मच्चिएको छ । गाउँलेहरुमा उता पण्डित जगन्नाथको भने वाक्य फुटेको छैन, उनी मौन छन् ।

    तल्लाघरे तामाङ काइलाकी छोरी सुन्तलीले के भयो भनेर सोध्न के खोजेकी थिइन्। कल्याणी बजै झनै चिच्याएर भन्न थालिन्, न सोध के गरी त्यसले ज्युँदै मारी हामीलार्इ । त्यो छोरी होइन हाम्री, त्यो मरिसकी हाम्रो लागि… । कुन साइतमा जन्माइछु नि ! मैले किन जन्मदै घाटी निमोठ्न सकिन त्यसको ! उ… हुँ… हुँ… हुँ … । झन्डै बाउलार्इ खाएकी अलछिनीले ! उ… हुँ… हुँ… हुँ … । पण्डित बाजे अझै चुपचाप छन् । न त केही बोल्छन् न त बुढीलार्इ सम्झाउँछन्, गाउँलेहरु एक अर्काको मुख हेर्छन के भयो के भयो ? पण्डित जगन्नाथको आत्महत्याको प्रयास अनि विदेश पढ्न गएकी एक मात्र छोरीलार्इ एकोहोरो गाली गरेको देखेर सबै आश्चर्यमा परेका छन् ।

    पासोबाट उम्काएर लेराएका छिमेकी रत्न मान दर्जीलार्इ अब त असैह्य भयो । अगाडि बढेर पण्डित जगन्नाथ नजिक पुगेर सोधे, बाजे के भयो ? के बिराम गरिन तपाईको छोरीले ? किन आफ्नो प्राण भन्दा प्यारो एक मात्र छोरीलार्इ यसरी तथानाम गाली गर्दै हुनु हुन्छ कल्याणी बजै ? के त्यस्तो पर्यो र आत्महत्या गर्न खोज्नु भएको बाजे ?

    पण्डितले बिस्तारै टाउको उठाए चारैतिर आँखा घुमाए सबैको ध्यान उनी तर्फ नै थियो । सबैको जिज्ञासा थियो, के भयो बाजे, के भयो ? पण्डितले पनि एक छिन त आफुलार्इ सम्हाल्न सकेनन् तुरुक्क आँशु खसाल्दै भने, रत्न मान छोरीले हामीलार्इ जिउँदै मारी । हाम्रो नाक काटी मोरीले ।
    भयो के पण्डित बाजे हामीले पनि त थाहा पाउनु पर्यो नि त होइन ? हामी सबै छिमेकी गाउँले सधै नै तपार्इंको दुःख सुखको साथी र साक्षी दुबै होइनौ र ?

    गाउँका मुखिया झलमानले पनि मन थाम्न सकेनन् र सोधिहाले पण्डितनी बजैलार्इ, होइन के त्यस्तो बिराम गरिन् छोरीले र आत्महत्याको प्रयास गर्नु भयो पण्डित बाजेले ? के दुःख आइपर्यो ? के गरिन उनले ?

    भो भो भो त्यसको नाम न लेउ त्यो कुलङघार्नीको त्यो मरी हाम्रो लागि छोरी होइन त्यो । उ… हुँ… हुँ… हुँ … । जगनाथ पण्डितको मौनता र पण्डित्नी बजैको एकोहोरो चिच्याहटले बास्तबिकताबाट अनभिज्ञ गाउँलेहरुलार्इ विस्मात अनि झर्को पनि लाग्न थालिसकेको थियो । भिडको मनस्थिति बुझेका मुखिया झल्मानले दोहोर्याए, बाजे बजै के हो कुरो किन खोल्नु हुन्न ? के गरिन छोरीले ?

    पण्डितनी अझै चिच्याइन के भन्नु के बोल्नु ? बोल्न हुने भए पो बोल्नु । भन्न हुने भए पो भन्नु । राम्रो कुरो हो र सुनाउनु तिमीहरुलार्इ ? होइन बजै अल्लारे उमेरमा बुद्धि पुगेन होला केही गल्ति गरिन कि ? त्यस्ती लक्षिन कि असल छोरीले के गरिन् ? के भयो आज ?

    पण्डितनी बजैको सुक्क सुक्क अलिअलि मत्थर हुन् थाल्यो । ल भन्नुस्, के भयो त्यस्तो र तपार्इंले यस्तो दुःखद बाटो रोज्नु भयो ? गार्हो सारोमा हामी छदै छौ नि ? पण्डित जगन्नाथले टोपी फुकालेर आँशु पुछे अनि सुस्तरी विदेश पढ्न गएकी छोरीले पठाएको खबरको बेलिबिस्तार लगाए । पण्डितको कुरो सुनेर के-के न भयो कि भनेर अतालिएका गाउँले छर छिमेकीका अनुहारमा परिवर्तन आयो सबैको मन शान्त हलुको भयो कोही मनमनै खुसी भए ।

    पण्डित जगन्नाथ कुरो सुनेर रतन दर्जी लगायत जम्मा भएका गाउँलेहरूले खासखुस गरे । २० बर्षसम्म शिक्षक भएर शास्त्रको बयान गर्दै अरुलार्इ, “यो संसारमा मानव सेवा भन्दा अर्को धर्म छैन । स्त्री र पुरुष भन्दा तेस्रो जात छैन,” भनी अर्ती दिदै हिँड्ने समाज सेवक पण्डित पण्डितनीको कुरो सुनेर सबै छक्क परे ।

    अनि रतन दर्जी केही बोल्नै लागेका थिए हरिलाल मिजार अगाडी बढ्दै भने पण्डित बाजे रिसानी माफ होस् सानो मुख ठूलो कुरो न् भन्नु होला, “मान्छे जन्मदा न त धर्म बोकेर आउँछ न त जात नै ।” यो त हामी जस्तै समाजका अगुवाहरुले थपिदिएको कुरो न हो । पण्डित बाजे हामीले बुझ्ने र बुझाउने गर्न सकेनौ भने हाम्रा सन्ततिले हामीलार्इ धिकार्ने छन् । त्यसैले बाजे खुसी हुनुस त्यस्तो सुन्दर धेरै पढेको अनि राम्रो ब्यबहारको ज्वाईं पाउनु त भाग्य हो त्यसमा पनि बिबाह भनेको केटी केटाले आफ्नो खुसी राजीले गर्ने हो । त्यसमा पनि रोहित बिस्वकर्मा र तपाईंकी छोरी बच्चैदेखि सँगै हुर्केका असल मित्र पनि हुन् । अब बाँकि जीवन श्रीमान श्रीमती बनेर बिताउने निर्णय गरे त खुसि कै कुरो होइन ? पण्डित बाजेले देख्नै भएको छ स्वजात खोजेर बाबु आमाले जबर्जस्ति छोरा छोरीको बिहे गरिदिदा कत्तिको जीवन नर्कतुल्य भएको छ ? बिचार, इच्छा र स्वभाव न मिल्दा कतिको घर बर्बाद भएको छ ?
    सँगै रहेका आइते तामाङले सान्त्वना दिदै भने जीवनको दुःख सुखमा साथ रहने उनीहरु हुन् । हाम्रो चिन्ता त छोरीले दुःख पाउलिन कि भन्ने मात्र हो ।

    छोरी खुसी छिन भने बाबु आमाको लागि त्यही ठूलो खुसी हो । के छ जातमा बाजे ? के हो जात भनेको ? हामी सबै एउटै समाजका मानव जाति होइनौ र ? समाज कै एक अर्काका सहायक होइनौ र ? तपार्इंहरूले किताब समात्नु भयो अरुले औजार समाते र मानव समाजको आवश्यकतालार्इ सहज र सरल बनाइदिए सम्मान गर्नु पर्छ समाजका कर्म योद्धाहरुलार्इ । अब हामीले बदल्नु पर्छ बाजे यो समाजलार्इ सबै मिलेर । मानव मानवबिच विभेद देख्ने मानसिकता । कस्तो अचम्म ! जसले मुर्ति बनाउँछ उसलाई हेला गर्छन र मुर्तिलार्इ पूजा र सम्मान । दर्जीले सिलाएको लुगा लगाएर सान देखाउँछौं तर उसलाई सानो जात भन्छौं । यो त मानव सभ्यता कै कलङ्क भएन र जगन्नाथ बाजे ?

    रतन दर्जीसँगै बसेका बिर्ख रार्इले थपे, म त अचम्म भए है बाजे तपार्इं पनि यस्तो गुनासो पोख्दा । तपार्इंले नै होइन दुर्इ महिना अगाडि मात्र तल्लाघरे काईला काजीको छोरा रमेशले शहरबाट मित्रलाल परियारकी छोरी बिहे गरेर लेराउँदा काईला काजीलार्इ, “जात हेर्ने होइन आजको जमानामा सिल स्वभाव र पढाई हेर्ने हो । आफ्नो छोराको खुसी हेर्ने हो । उसको रोजाईमा हामीले जात भनेर भाँजो हाल्न हुन्न आशिर्वाद दिनु पर्छ भन्दै गृह प्रवेशको लागि पाठ गर्नु भएको ?”

    अनि तपार्इं नै होइन भन्या रातोमाटे शिवहरि बाजेको छोराले गार्इ खाने केटी बिहे गर्दा, मानवीय मूल्य र मान्यताको परिभाषा दिएर सम्झाएको ? विदेशमा जात र भातको विभेद नहुने हाम्रोमा मात्र किन त बाजे ? ती सबै आदर्शका कुरा झुठा थिए ? पण्डित जगन्नाथ टोलाएर उनिहरुको कुरो सुनिराखेका छन् । पण्डितनी बजैको रुवाइ पनि कम भैसकेको छ ।

    धेरै जसो गाउँलेहरु आ आफ्नो घर धन्दा वित्यो भन्दै घरतिर लाग्न थालेका थिए । नजिकका छिमेकी रतन दर्जी, ठूले मिजार, बिर्ख तामाङ, आङछिरिङ शेर्पा, हिरासिंग गुरुङ, रामबाबु बिस्वकर्माका परिवार सबै पण्डित बाजेलार्इ सम्झाइरहेका थिए । आखिर पण्डित बाजेका आफन्त र दुःखमा साथ दिने पनि तिनीहरु नै थिए । उनका सगौलका गुठियारहरु सबै बसार्इं सरेर शहर पसिसकेका छन् ।

    पण्डितनी बजै पनि सँगै आएर बसिन् । हिरासिंग गुरुङ पनि जगन्नाथ बाजेको दुखेसो देखेर सम्झाउन थाल्यो, ल हेर्नुस बाजे तपार्इंले सुन्नु भयो होला तपाई कै साइलो दाइको छोराले शहरमा जुत्ता कारखाना खोलेर बसेका छन् । के उनको जात गयो त ? हेर्नुस शहर पसेका कति चेलीबेटीहरुले कपडा सिउने पसल खोलेर बसेका छन् खोइ त जात गएको छैन ? मेरै नाति सेनामा जागिरे छ । उ सहनाई बजाउँछ । कप्तानको छोरा सानुभाइ बिस्वकर्मा र उ सँगै बस्छन, सँगै खान्छन । खोइ कुनै भेदभाव छैन त ?

    सुरुदेखि नै सँगै बसेर पण्डितको कुममा हात राखिरहेको आङछिरिङ शेर्पाले पनि थपे, हेर बाजे आज म पनि केही भन्छु तिमी हाम्रो छिमेकी पनि हो साथी पनि । तिमीले हामीलार्इ धेरै कुरो सिकायो । तिमी नै यस्तो सोच्छ ? दर्जी न भएको भए तिमी नाङ्गै हुन्थ्यो । तिमीलार्इ लुगा सिउन आउछ ? मिजार काजी न भएको भए तिम्रो खुट्टाको छाला जान्थ्यो । तिमीलार्इ जुत्ता सिउन आउँछ ? अरु त अरु बाजे बिस्वकर्मा न भएको भए तिम्रो मन्दिर खाली हुन्थ्यो । तिमीलार्इ मुर्ति कुँद्न आउँछ ? कुरो गर्छ पण्डित बाजे । डाडाघरे काजीको छोरीले पनि त परियारसित नै बिबाह गरेर सुखसित बसेकी छिन नि ।

    हिरासिंह गुरुङले फेरि थपे, केही वर्ष अगाडिको कुरो त हो नि होइन बिर्ख ? निगाल पानीका डिठ्ठा बाजेको एक्लो छोरीले पनि मानबहादुर बिस्वकर्मा सित नै बिहे गरेर गएकी अहिले दुबै जनाले त्यही गाउँमा स्कुल चलाएर बसेका छन् । कति हासीखुसी छन् उनीहरु । अहिले त डिठ्ठा बाजे ले घरमा संगै राखेका छन् । स्कुल र घरको ब्यबहार चलाएका छन् । छोरी भएर पनि छोराको जस्तो जिम्मेवारी सम्हालेकी छिन् । डिठ्ठा बाजेका दुर्इवटै छोरा त कता हुन् कता बेपता छन् रे ।

    सबै को कुरो सुनेपछि पण्डित जगन्नाथको मन अलि शान्त भयो । आखिर जो गाउँलेहरुले खाइस भन्लान भन्ने डर थियो, ती सबैले समझदारिता देखाए । उल्टो उनैलाई सम्झाएपछि झनै हलुङ्गो भयो बजैको मन पनि ।

    उनी बिस्तारै बोले तिमीहरुले ठिक भन्यौ, “मानिस शास्त्रिय ज्ञान र किताब पढेर मात्र बुद्धिमान न बन्दोरहेछ । भोगाइको अनुभव अनि अन्तस्करणमा चेतना आउनु पर्दोरहेछ । तिमीहरुले आज मेरो आँखा खोलिदिएका छौ ।
    के गर्ने अप्रत्यासित रुपमा त्यस्तो खबर पठाइन्, उनी रुन कराउन थालिन न आफुलार्इ सम्झाउन सकें न उनलाई । आवेशमा आएर …

    अन्त कतै न चिनेको भए पनि त हुन्थ्यो नि हेर त उही पल्लो गाउँकोसित मलार्इ कस्तो भयो होला भन त तिमीहरु नै ? झन राम्रो भयो पण्डित बाजे, एकले अर्कालार्इ चिनेका छौ । केटाका बाबु पनि पढे लेखेका छन् । गाउँको मात्र हो र जिल्ला कै नाम चलेका समाज सेवक हुन् । त्यस्तो घरको बुहारी हुनु त छोरीको लागि पनि हाम्रो लागि पनि खुसीको कुरो हो बाजे ।” ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन,’ भन्ने कुरो मैले सम्झाउनु पर्छ र जगन्नाथ बाजे ?

    हो दाजु भाइ हो, अरुलार्इ अर्ति उपदेश दिन सजिलो हुँदोरहेछ । आफुले आफैंलार्इ सम्झाउन झन गार्हो । त्यो पर्दा मात्र अनुभव हुन्छ । अरुलार्इ बाटो देखाइदिन सजिलो आफैंलार्इ बाटो खोज्न निक्कै मुस्किल । तिमीहरु मेरो साथमा छौ । म अब विस्मात गर्दिन । उनलाई पनि सम्झाउँछु ।

    हो धेरै भयो, हामीले बुझ पचाएको, समाजमा सानो र ठूलो जातको रेखा कोरेर आपसी बन्धुत्व र मानवीयतालार्इ भुलेको । यो फुलबारी जस्तो सुन्दर गाउँका बासिन्दा हामी एउटै परिवार हौं । विभेद र एक अर्कामा बैमनस्यता राख्नु हुँदैन । म, भोलि बिहानै सदरमुकाम गएर छोरी ज्वाईंलार्इ बधाई दिन्छु । दशैँ आउँदै छ, त्यही बेलामा बोलाएर गाउँमै फेरि धुमधामसित बिहे गरिदिन्छु । ए हरि, मेरो सम्धीलार्इ अहिले जाँदाजाँदै उनको घरमा पसेर म भोलि भेट्न आउँदै छु भनी खबर छोडिदेउ है !

    बिहेमा मलार्इ तिमीहरु सबैको साथ चाहिन्छ । मेरा दाजुभाइ कता हुन् कता, आउँछन आउँदैनन थाहा छैन । भैहाल्छ नि बाजे, ‘ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा’ । तपार्इंले हामीलार्इ कति अमूल्य ज्ञान दिनु भयो ? हाम्रा सन्तानलार्इ पढाएर योग्य बनाउनु भयो, हामी गाउँले तपार्इंको सधै ऋणी छौं बाजे ! अरु सबै गाउँ छोडेर हिँडिहाले तपार्इं गाउँमै बसेर यो गाउँको ठूलो सेवा गर्नु भएको छ । हामी सधैं तपार्इंको खुसी चाहन्छौँ कि कसो बिर्ख ?

    हो ठिक भन्यौ । हामी सब एउटै परिवार हौं । एक अर्काको दुःख सुखमा साथ दिन्छौं । चाडपर्व मेला पातमा सँगै सँगै छौं । हामी सब एक अर्काका पुरक हौं । आपद विपद सुख दुःखमा सधै साथै छौं । परिवार न भए के त ?
    कुरो हुँदै थियो गाउँका मुखिया पनि सदरमुकामबाट हस्याङफस्याङ गर्दै आइपुगे । बाजेले झन्डै बित्यास पारेको खबर चारैतिर फैलिसकेछ । उनले त सदरमुकाममै सुनेका रे !

    ल जाउ सबैलार्इ चिया बनाएर लेराउ । एक कप चिया खाएर आ-आफ्नो काममा लागौं । अब साँझ पनि पर्न लाग्यो । ल मुखिया, काजी, हरि, बिर्ख, मलार्इ तिमीहरुको साथ चाहिन्छ । भव्य भोज गर्नु पर्छ मेरी छोरीको बिहेमा । हुन्छ बाजे तर मेरो एउटा सर्त छ, मुखियाले भने, ‘सर्त ? कस्तो सर्त मुखिया काजी ?’

    तपार्इंकी छोरीको बिहे, भोज खर्च मेरो । ठट्टा न गरन मुखिया काजी । मैले तिमीसित छोरीलार्इ विदेश पठाउँदा लिएको ऋण अझै चुक्ता गर्न सकेको छैन । छोड्नुस ऋणको कुरो बाजे । तपार्इंकी छोरी मेरी पनि छोरी हुन् । तपार्इं निःशुल्क मेरा छोराछोरीलार्इ पढाएर मलार्इ सधैको लागि ऋणि बनाउनु भएको छ । यो पूण्य काम गर्ने मौका दिनुस् मलार्इ ।

    बाँकी बन्दोबस्तको जिम्मा मेरो भयो बाजे, रतन दर्जीले थपे । लौ जे-जे गर्नु छ तिमीहरु गर, बाबै । म केही बोल्दिन तर गाउँमा कोही छुट्नु हुन्न नि ?

    समय बित्न कति बेर ? दशैँ लाग्यो, गाउँले सबै मिलेर पण्डित बाजेकी छोरीको बिहे भव्यसित गरिदिए । गाउँका पुराना मित्र पूर्ण बिस्वकर्मा र पण्डित जगन्नाथ सम्धी सम्धी भएर अँगालो हाले । हर्षको सीमा रहेन । धेरैले हर्षको आँशु बगाउँदै वर बधुलार्इ आशिर्वाद दिए । त्यहाँ कसैको विमती थिएन । गाउँमा एउटा अनुपम बिहे भएको थियो । त्यो गाउँलार्इ शिक्षित पार्ने पण्डित जगन्नाथको सबैले प्रशंसा गरे, स्याबासी दिए ।

    “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।” पण्डित जगन्नाथको उक्त व्यवहारले गाउँ, देशदेखि विदेशसम्म सन्देश गयो ।

    ३१८९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad