BizPati

  • Ad
  • आज : २०७५ साउन १ गते
    Headlines :
    Ad

    कान्छाबाको गुरे गोरु, तर्साउने झण्डा र पार्टी एकता

    उदय राज गौतम , हाल डेनमार्कमाघ १४, २०७४

    धेरै पहिलेको कुरा हो, म सानै छंदा हाम्रा कान्छाबाको गोठमा गुरे गोरु थियो । म जतिबेला पनि कान्छा बा कहाँ गइ रहन्थें । जाँदा दुइ वटा फाइदा हुन्थ्यो । पुजा गरेर घरमा पोको ल्याउँदा संगै ल्याएका केरा, सुन्तला लगायत समय अनुसारका फलफुल कान्छाबाले लुकाएर मेरा लागि राखी दिनु हुन्थ्यो । अर्को फाइदा गुरेको स्याहार सम्भार कसरि गरेर होला यस्तो चिल्लो बनाउने भन्ने अक्कल पनि सिक्न पाइने । गुरेका अरु सबै गुन राम्रा थिए तर २ वटा कुरामा त्यो भयङ्कर बैमानी थियो । अरु बेला ठिकै थियो साँझ बाँध्ने बेलामा कान्छा बा बाहेक अरु लाइ परै टिप्थ्यो । गोरुले हान्छ (कतै कतै मार्छ पनि भन्ने चलन छ) भन्यो भने कान्छाबाले हान्दैन भन्ने । हान्छ भनेर गोरुको बयान बिगार्नु हुँदैन भन्ने मान्यता थियो हाम्रा कान्छाबाको । अर्को असती काम तेस्ले के गथ्र्यो भने गोठको पछाडी करेसो साँघुरो थियो । त्यसलाई बेला बेला त्यो करेसामा जानै पर्ने निस्केर जाने ठाउँ अर्कोपट्टि बाट गाईका साना साना बाच्छीहरु छिर्थे तर गुरे अटाउंदैनथ्यो । अनि बीचबाट फर्किन खोज्थ्यो । फर्किंदा उसलाई महा प्रलय हुन्थ्यो च्यापिएर तै पनि उसले त्यहाँ जाने बानी बेला–बेलामा दोहोर्याई रहन्थ्यो ।

    विज्ञानले जनावरहरुमा अति छोटो प्रकारको सम्झना शक्ति हुने प्रमाणित गरेको छ । अभ्यासद्वारा मात्र मानिसको दिर्घ स्मरण शक्ति हुने र लामो समय अभ्यास छाड्ने हो भने मानिसले पनि स्मरण शक्ति गुमाउंदै जाने प्रमाणित गरेको छ । लामो समय प्रयोग नगर्ने हो भने हामीले इमेल फेसबुक आदिको पासवर्ड बिर्से जस्तै । विवेकको सहि प्रयोग गर्न सक्ने खुबी भएको कारणले गर्दा नै मान्छे जनावर भन्दा फरक भएको हो । श्रवण शक्ति र दृश्य शक्तिको सहयोगले मानिसले सीप सिक्छ भने जनावरले त्यसको प्रयोग गर्न सक्दैन । शब्द ,संख्या, कला ,रंग आदिको भेद जनावरलाई हुँदैन । गोठको कर्सोको भेउ गुरेले नपाउनुको कारण पनि त्यहि होला भन्ने मलाइ लाग्छ । गोलाकार, लाम्चो , तिनकुने वा बर्गाकार आदि कुराको ज्ञान गुरेलाई पनि थिएन। जब उ चेपिन्थ्यो न उता जान सक्ने न फर्किन सक्ने।

    २०३६ साल थियो । त्यति बेला देशब्यापी बिद्यार्थी आन्दोलन भयो । गाउँकै स्कुलमा हामीले काठमाण्डूमा भएको गोरखापत्र संस्थानमा आन्दोलनकारीले आगो लगाए भन्ने सुन्यौं । नजाती लाग्यो । पछि हामि पनि स्कुलमा आन्दोलन गर्नुपर्छ भन्ने शिक्षा पाए पछि आन्दोलनको घोषणा गरियो । पाकिस्तानका सैनिक शासक जियाउल हकले प्रधानमंत्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएको बिरोधमा शुरु भएको आन्दोलन पर्बतको कुन–कुना सम्म पुग्यो र हामीले पढ्ने बोके खोलासम्म पुग्यो । केहि स्थानीय माग राख्दै राष्ट्रिय मागलाई सर्मथन गरि आन्दोलन भयो । त्यतिबेला म बिद्यार्थी युनियनको सभापति थिए । चैत्रको अन्तिममा शुरु भएको आन्दोलन राजा बिरेन्द्रले जेष्ठ १० मा जनमत संग्रहको घोषणा नगरुन्जेल जारि भयो । अब बहुदलको पक्षमा जनमत जुटाउन आमसभा गर्नु पर्छ भन्ने सल्लाह भयो । झन्डा एउटा निलो र अर्को हँसिया हतौडा पनि भाको जुलुसमा लिएर हिड्ने भन्ने सल्लाह भयो । स्कुल नजिकै २०१५ सालका सांसद आदरणीय डिग बहादुर गुरुङको नेतृत्वमा आम सभा हुँदै रहेछ । बिद्यार्थीहरुलाई स्वागत छ भन्ने निम्तो पाइयो । कक्षा हापेर आम सभामा जाने सल्लाह भयो । हाम्रा २ वटा झण्डा पनि लैजाने कुरा भयो लगियो । कम्युनिष्टको झन्डा देखेपछि नेपाली कांग्रेसका नेताहरुले झण्डा नहटाएसम्म आमसभा नगर्ने भन्न थाले । झण्डाको भेद बल्ल त्यतिबेला हामीलाई थाहा भयो । हामीले झण्डा लिएर स्कुल फक्र्यौं उहाँहरु आमसभा सकेर जानु भयो । लामै लफडा भयो त्यति बेला ।

    कांग्रेस अथवा पंचको कार्यक्रममा सहभागी भएर भाषण गर्नु हुँदैन त्यो छुट्टै वर्ग हो । संगै कार्यक्रम ग¥यो भने सिद्धान्त मिल्दैन बिटुलो भइन्छ भन्ने शिक्षा स्कुल भन्दा बाहिरबाट पाइन्थ्यो ।

    २०७४ बैशाख ३१ र असार १४ दुई चरणमा गरि स्थानिय निकायको निर्बाचन सम्पन्न भयो । त्यतिबेला नेपाली काङ्ग्रेस र माओबादी केन्द्रको बीचमा चुनाबी तालमेल थियो । र, यो चुनाबी तालमेल प्राकृतिक थियो कि अप्राकृतिक त्यो छुट्टै बहसको बिषय होला । मात्र यहाँ प्रसङ्ग किन निकालेको भन्दा संगै भाषण गर्न पनि नहुने संगै चुनाबी तालमेल भयो र स्वं गिरिजा प्रसादको सपना पुरा गर्ने शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने एउटा जीवित साक्षी आँफु भएको प्रसङ्ग क प्रचण्डले यदा कदा उप्काही रहनु भयो । जुन जग जाहेर छ ।

    स्थानिय निकायको निर्बाचन सकिए लगत्तै प्रतिनिधिसभा र प्रदेशको चुनाबमा समिकरण बदलियो । यसपटक बाम गठबन्धन बन्यो चुनाब सम्म मात्र होइन की पुरै माओबादी र एमाले मिलेर छुट्टै कम्युनिस्ट पार्टी बनाउने र त्यसमा शंका नगर्न भनियो । शंका नगर्न भनिएको थियो र गरिएन पनि । दिन बित्दै गए । आज भन्दा भोलि एकता कहाँ पुगे होला भन्यो, कहिले नेपाल तिर आफ्नो पहुँच पुग्ने ठाउँमा फोन गर्यो । जवाफ आउँछ एकता त नभई छाड्दैन रे । टाइम लाग्छ रे । फेरी कमरेड प्रचण्डले २ र ३ ठाउँमा भन्नु भयो पुल भत्काई सकिएको छ । फर्केर जाने ठाउँ कतै पनि छैन । त्यसैले पार्टी एकता हुन्छ । हुँदा हुँदा झट्ट मैले कान्छाबा को गुरे सम्झें । कतै यो पार्टी एकता पनि करेसामा गुरे च्यापीए जस्तै यता न उता हुने त हैन ? अब पुलै भत्काए पछि अगाडी बढ्ने छाँट आएन भने नदीमै हाम फाल्न पर्ने हो कि ? गुरे बरु आफ्ना जुक्तिले जिऊमा घाउ बनाएर पनि निस्कन्थ्यो । पार्टी कता जाने हो ?

    २८८१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad