BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन १० गते
    Headlines :
    Ad

    सपनामा स्वर्गीय ठूलीअामा

    तारा कँडेल, बेल्जियममाघ १८, २०७४
    अस्ति बेलुकामात्र देखेको
    एक भयानक सपना
    भेडाबारिबाट म र आमा
    मिठामिठा सपना साँचेर
    नारायणगढ आउँदै थियौं
    सानी म सपनाकी
    नानी म सपनाकी
    हातमा एक पछ्यौरी
    झुम्के जामा र मैला चप्पल
    तर कल्पनामा थिइन् ठूलीआमा
    केहि नखाइकन पनि
    अजिवको स्वाद थियो जिब्रोमा
    कौतुहलताको बीच
    अजीवको छट्पटाहट
    मनको हातले समातेको
    सुनौलो ममताको आसाफूल
    ठूलीआमाको काख सम्झेर
    अविरल यात्रा अघि बढ्यो
     
    मिनीबसका सहचालक
    आमाको नजिक आए
    आमाको काखमा बसेकी म
    आमाकै इशाराले उठेँ
    पटुकीको छेउमा बाँधेको
    थैली फ़ुकाउँदै आमाले
    मिनिबसको भाडा तिरिन
    ख्याल्नै गरिनँ कति दिइन
    ‘भाडा ! भाडा !’ को स्वर चर्कियो
    पछाडिबाट एक आवाज आयो
    शोक धुन र आरती जस्तै
    धमिलो तर अनिष्ट आवाज
    सपनाको मन तरङ्गीत भयो
    आमाको मुखमा पुलुक्क हेरें
    आमाको साहिली औंंलाको औंठी
    ठूलीआमाकी बहिनीको स्नेह
    टक्रक्क भुर्इंमा खस्यो
    एकतमासको शोकधुन गुन्जिइरह्यो
    म सपनामै फेरि झस्किएँ
    आमा,आमा ! मैले पुकारें
     
    व्युँझिन लागेको सपना
    फेरि झाँगियो
    सपनाको मनले बाटो भेट्टायो
    सपनामै सम्झिन मिल्ने रहेछ क्यारे
     
    मैले सम्झिएँ मेरी ठूलीआमालाई
    लंकु पुगेर दुई बहिनी गफ़िएको
    आमाको शिरमा हात राखेर
    मेरी बैनी भन्दै अँगालोमा बेरेर
    पटकौं पटक आमालार्इ म्वाइ खाएको
     
    सपनाले पनि कल्पना जन्माउन थाल्यो
    ठूलीआमाले मलाई काखमा लिँदा
    बुबाको यादले नि अत्याएझैं भयो
    अँध्यारो वादल आएन
    दुःख त अँध्यारो छदै थियो
     
    ठूलीआमा, दिदी र दाजुहरुकै मायाले
    पुल्पुलिएको बिपनाझैँ
    सपनामा पनि नि ठूलीआमा
    तिम्रै ममताले भरिएँ म
    यो कुरा तिमीलाई भन्न पाइनँ
     
    कल्पनाले रङ्ग फेर्दा पनि ठूलीआमा
    सपनामा पनि चिनें लंकुको घर
    तिम्रो के भनुँ हाम्रो माइतिघर
    यो कुरा तिमीलाई भन्न पाइनँ
     
    लंकुको सानो उकालो काटेपछि
    आमाको हात समाउँदै
    चुम्बकले तानेझैं तानिरहेँ आमाको हात
    त्यो तिम्रै काखको लालाचाले थियो
    ठूलीआमा !
    जुन कुरा तिमीलाई मात्र थाहा थियो
    केवल तिमीलाई मात्र
    त्यो कुरा नि तिम्रो कानमा
    अझै साउती गरेर भन्न मन थियो
     
    सपनाको मन खिन्न पनि हुनेरहेछ
    मेरो मन पनि खिन्न भयो ठूलीआमा
    आमाले किनिदिएको पाँच पैसाको बेलुन
    सपनामा तिम्रो काखमा प्वाट्ट फुट्यो
    सपनाको संसारमा म अत्तालिएँ
    झस्याङ्ग हुँदै म व्युँझिएँ
    म भक्कानिएँ ठूलीआमा !
     
    बिहान सरिताले खबर दिइँन
    ‘तँलाई ममताले रुझाउने
    तँलाई काली, पोक्ची र डल्ली भन्दै
    नाकमा हात राखेर एकमुठी
    चिसा लोर्काहरु ममताले फ़्याकिदिने
    मेरी ममताकी खानी ठूलीआमा
    बाल जीवनको सहारा
    अभागी बैनीको उभिने लौरी
    हामीलाई छोडेर डेरा सरिन रे’
     
    बिपनाको चेहरा सम्झेँ
    करुणामय जीवनका
    टुटेका हातका रेखा सम्झेँ
    तिनैले त भरिदिन्थिन पटक पटक
    मेरो खाली अन्जुलिमा आशिषहरु
    तिनैले त राखिदिन्थिन सधैँ
    फाटेको जामाको गोजीमा ममताको खट्टे
    मलाई दाजु र दिदीहरु दिएर
    सहाराले मालिक बनाएकी ठूलीआमा
    तिमी हिँडिसक्यौ रे तर मेरो मन
    विक्षिप्त भित्रको विक्षिप्ततामा
    त्यसै त्यसै पाकिरहेछ
    अब कसलाई तन पोखेर
    सपनाको कुरा भनिदिउँ ठूलीआमा
     
    तिम्रो देह पार्थिव, प्राण पार्थिव
    शाश्वत सत्य
    कालकुञ्जबाट टाढा
    यो धराबाट
    प्रथम जीवनबाट उन्मुक्ति
    ठूलीआमालार्इ परम पद प्राप्त होस्
    चराचर जगतबाट उज्यालिदै
    जननी जगत व्याप्त छौ तिमी
    छ जहाँ करुणा
    दया र स्नेहको गङ्गा
    उसै गरी मेरो हृदयमा
    ममतामयी बात्सल्यकी मुर्ति
    मेरो मन, कल्पना र सपनाभरि
    ठूलीआमा जीवन्त छौ तिमी
     
    इति
    १४३८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad