BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    आरोही

    वविता घिमिरे, उर्लाबारी मोरङ नेपालमाघ २१, २०७४

     

    कार्यालयमा कामको चाप निकै थियो । केही फोटो बनाउने र भिजिटिङ कार्ड डिजाईन गर्ने ग्राहकहरु आरोहीलाई कुरिरहेका थिए । सधैँ भन्दा निकै ढिलो गरेर आरोही आमालाई लिएर आईपुगी । लीलादेवी सिँडी उक्लिन नपाउँदै मलाई देखेपछि झस्किइन् । गलत ठाउँमा आइएछ कि झैँ गरेर फनक्क फर्किइन् । आरोहीले ममी यही हो मैले अहिलेसम्म कम्प्युटर सिकेको ठाउँ भन्दै भित्र पसी । उसलाई ग्राहकहरुले घेरिहाले । म पनि एकदमै व्यस्त थिएँ । आरोहीकी आमाले मलाई देखेर शिर उठाएर आँखा जुधाउन सकिनन् । मैले यो अवस्थालाई सामान्य बनाउन मुस्कुराउँदै नमस्कार गरेँ र भित्रै आउन अनुरोध गर्दै कुर्सी दिएँ । उनले कुर्सीमा बसेर अचम्म मान्दै वरिपरि नियालिन् । भित्तामा टाँगिएको मेरो तस्बिरमा निकैबेर हेरिन् । उनी निकै असहज महसुस गरिरहेकी थिईन् । मैले उनको असहजताको कारण बुझिसकेकी थिएँ । व्यस्तताका बाबजुद पनि उनीसँग कुरा गर्दै काम गरिरहेँ । ग्राहकहरु पातलिँदै गएपछि आरोहीले आज अलि चाँडै निस्किनु छ भन्दै बिदा मागी । लिलादेवी हिँड्ने बेलासम्म पनि सहज हुन सकिरहेकी थिईनन् । हिँड्ने बेला आँसुले टिलपिल भरिएका आँखाले मतिर हेर्दै बिदा मागिन् । आँखा तर्नै लीलादेवी र आँसुले टिलपिल भरिएका आँखाले मतिर हेर्दै बिदा हुने लीलादेवी सम्झेर मेरा पनि आँखा रसाए ।

    मैले स्नातकको अध्ययन सुरु गरेसँगै शिक्षण पनि सुरु गरेँ । एउटा प्राईभेट स्कुलमा । प्रविधिको विकास र विस्तारले सिकाइमा चुनौति थपिदिएको थियो । म शिक्षण बाहेक कम्प्युटर सेन्टरमा ग्राफिक्स डिजाईन सिक्न जान्थेँ । कलेज पनि भ्याउँथें वा भनौँ मसँग फुर्सदी समय निकै कम थियो । सानोमा पनि पिताजीले ‘खाली दिमाग सैतानको घर हो’ भन्नुहुन्थ्यो र हामीलाई सकेका र जानेका काममा व्यस्त राख्नुहुन्थ्यो । त्यसैको प्रभावले होला म हरेक काम आनन्द मानेर गर्थेँ । कहिलेकाहिँ समूहमा टिभी सिरियलका कुरा हुँदा म अक्क न बक्क बन्थेँ किनकि ममा सानैदेखि सिरियलको लत बस्दै बसेन ।

    शिक्षणका क्रममा निकैवटा वर्षहरु पत्तै नपाई बितिसकेछन् । सुरुका वर्षहरुमा भन्दा पछिल्ला वर्षहरुमा क्रमशः प्रविधिले निकै अगाडि फड्को मारिसकेको थियो । अब बालबालिकालाई किताबी ज्ञानले मात्र पुग्न छाडेको थियो । एन्ड्रोइड मोबाइल, ल्यापटप वा कम्प्युटर जस्ता उपकरणमा सूचना, प्रविधि र मनोरञ्जनका सामग्रीहरु प्रयोग गरेर बढी भन्दा बढी ज्ञान दिनु र यी साधनहरुलाई शिक्षकले सहजताकासाथ प्रयोग गर्न जान्नु अनिवार्य जस्तै बनिसकेको थियो । वा भनौँ अब एउटा शिक्षक उत्तीर्णको प्रमाणपत्रले मात्र सर्वज्ञ बन्न सक्दैनथ्यो ।

    म कक्षामा प्रवेश गरेपछि विद्यार्थीहरुले सरस्वती मातालाई सम्झेर एक मिनेट ध्यान गर्नुपथ्र्यो । उनीहरु बानी परिसकेका थिए । साँच्चै नै एकाग्र भएर हात जोेडेर, आँखा चिम्लेर एक ध्यान हुन्थे । एक मिनेट भएपछि म ‘धन्यवाद’ भन्थेँ तबमात्र आँखा खोल्थे । त्यत्तिबेरसम्ममा कक्षामा भएको अनियन्त्रित होहल्ला नियन्त्रण भै सकेको हुन्थ्यो र विषयबस्तुमा प्रवेश गर्न सहज हुन्थ्यो ।

    शुक्रबारको कक्षा विशेष हुन्थ्यो । म पढाउँदिनथेँ । शुक्रबार कविता सुन्ने, गीत गाउने, कथा भन्ने जस्ता कार्यक्रमहरु हुन्थे । कुनै हप्ता मैले कथा सुनाउनु पथ्र्यो । कहिले स्मार्ट बोर्डमा मनोरञ्जनात्मक भिडियोहरु हेर्थे । कुनै शुक्रबार चाहिँ कुनै एउटा वर्ण जस्तै ‘च’ वर्णबाट सुरुहुने शब्दबाट बन्ने सामग्रीहरु ल्याउन भन्थेँ । उनीहरु हप्ताभरिमा जतिसक्दो नौलो र साथीहरुको भन्दा फरक सामग्रीहरु खोजी गरेर ल्याउँथे । ल्याउन सम्भव नहुने सामग्री छ भने चित्र बनाएर भएपनि ल्याउँथे । आफूले ल्याएको सामग्री सकेसम्म गोप्य राख्थे र खेल सुरुभएपछि अगाडि ल्याएर प्रदर्शन गरेर आश्चर्य चकित बनाउथे । खेल सुरु नहुन्जेलसम्म कसले के ल्यायो होला भन्ने खुलदुली हुन्थ्यो । कुनै कारणवश शुक्रबार स्कुल लागेन भने थकथकाउँथे त्यसैले पनि उनीहरुलाई यस्ता कुरामा रुचि छ भन्ने बुझेकी थिएँ । विद्यार्थीसँग एकप्रकारको दुरी कायम हुनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यसैले हरेक खेल खेल्दा निकै कडा अनुशासनको पालना गर्नुपथ्र्यो ।

    हरेक वर्ष नयाँ विद्यार्थी थपिने र केही बाहिरिने क्रम चलेकै थियो । त्यस वर्ष म कक्षा चारकी कक्षा शिक्षिका । कक्षा चारमा थपिएकी एकमात्र विद्यार्थी थिई आरोही ।
    “ए, पुकुली तिमीलाई तिम्रा बाबा ममीले गृहकार्य गर्न सहयोग गर्नु हुन्न ? प्रश्न मात्र सारेकी छ्यौ उत्तर खोई त ?” “मेम मेरी ममी त रीता आन्टी बिरामी भएर हस्पिटल जानुभएको कत्ति दिन भै सक्यो भोलि मात्र आउनुहुन्छ रे । बाबा त विदेशमा हुनुहुन्छ कसरी होमक सिकाउनु र ?” आरोहीको छेउमा बसेकी गरिमा बोली “मेम, मेरो बाबा पनि विदेश जानु भाछ तर जहिले बेलुका ७ बजे भिडियो कल गरेर मेरो होमक हेर्नुहुन्छ, सोध्नुहुन्छ र सिकाई पनि दिनुहुन्छ ।” पछाडिबाट रबि बोल्यो ‘मेम मेरो पनि……मेरो पनि……………मेम, मेरो पनि । पछाडिको बेन्चबाट कुन्दन बोल्यो “मेम मेरो बाबाको त राती १० बजेमात्र ड्युटी सकिन्छ रे म त सुतिसकेको हुन्छु ।” रमेश बोल्यो मेम मेरो पनि ………मेरो पनि……. “अँ ल ल भयो सबैको बाबा ममीको बारेमा थाहा छ मलाई ।”

    प्रायः गृहकार्य नगर्नेमा आरोहीको नाम आउँथ्यो । ऊ धेरैजसो ममीलाई दोषी बनाउँथी । गृहकार्य नगर्ने, अक्षर सफा नलेख्ने भए पनि चित्र चाहिँ खुब राम्रो बनाउँथी । यो कुरामा चाहिँ खुलेरै प्रशंसा गर्न पाइन्थ्यो । प्याउले स्वरमा मेम कथा भन्नु न भनिरहन्थी । मैले कथा भन्न लागेँ भने चुप लाग मेमले कथा भन्न लाग्नु भो भनेर सबलाई चुप बनाउँथी ।
    “आरोही आजचाहिँ गृहकार्य किन गरिनौ हँ ?” “मेम ममी ठुलोममीको घरपूजामा जानुभएको थियो बिहान मात्र आउनु भयो सिकाउनै भ्याउनु भएन ।” “गृहकार्य गर्न किन ममी चाहियो र, आफैँ प्रयास गर्ने गर न ।” ऊ ठुस्किँदै रुन्चे स्वरमा बोली–“अनिकि मेम मलाई ममी घरमा नहुँदा केही गर्न मन लाग्दैन ।”

    मैले बुझिसकेकी थिएँ, आरोहीलाई अभिभावकको साथ जरुरी छ । उनकी आमा लिलादेवीले यो बुझ्नुपर्छ कि बच्चाहरुलाई पढ पढ भनेर र स्कुल पठाएर मात्र केही हुन्न । स्कुलमा बिताउने ६ घण्टा भन्दा घरमा बिताउने १८ घण्टा महत्वपूर्ण हुन्छ । जसरी बोटबिरुवालाई हुर्कन, बढ्न, फुल्न र फल्न मलजल चाहिन्छ त्यसरी नै बालबालिकाहरु भनेका बिरुवा हुन् उनीहरुका लागि उचित वातावरण तयार पारिदिने हो भने उनीहरु भित्र रहेका कुनै न कुनै क्षमता आफैँ विकास भएर जान्छन् ।

    “आरोही आजचाहिँ ममी कता ? गृहकार्य गरिनौँ त ?” “मेम बेलुका ममी नागिन हेर्नु हुँदै थियो ममीलाई नागिन खुब मन पर्छ । मैले गृहकार्य सिकाइ मागेँ भने नागिन हेर्न पाउनुहुन्न थियो नि त त्यसैले ।” “खुब ठुलो त्याग गरिछौ ममीको लागि सधैँ यसै गर्नु ।” केही विद्यार्थी बोल्दै थिए, हुन्न मेम त्यसो गर्नु राम्रो होईन । “आरोही, तिम्रो पढाइ निकै कमजोर छ भोलि ममीलाई लक्ष्मी मेमलाई भेट्नु अरे भन है ।”

    “खै त आज ममीलाई लिएर आइनौँ ?” “मेरो पढाइ कमजोर छ रे लक्ष्मी मेमलाई भेट्नु रे भनेकी थिएँ । मलाई आजदेखि टिउसन हाल्दिनु भाछ ।”

    प्रथम त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक गर्ने दिन थियो । कक्षा चारको नतिजाको फायल वितरण गर्दै थिएँ । मैले प्रायः अभिभावक चिनेकी थिएँ । कारणवश फायल लिन आउन नभ्याउनु हुने अभिभावकको पनि अनुहार याद थियो । फायल लगभग सकिनै लागेको थियो । परबाट आरोहीले औँलाले मतिर इशारा गरिरहेको देखेँ । सायद आरोहीकी आमा हुनुपर्छ । ठ्याक्कै आरोहीसँग मिल्दो अनुहार । सम्झेँ  यिनलाई मात्र चिन्न बाँकी रहेछ ।

    उनको हाउभाउले बताउँथ्यो उनी निकै हतारमा छिन् । “बस्नोस् न दिदी ।” उनी केही नबोली उभिएर उत्तर पुस्तिका पल्टाउँदै केही बेर नियालिन् र बोलिन् “इङ्लिसमा बी प्लस, नेपालीमा सी, साइन्समा सी, सोसियलमा बी, गणितमा डी प्लस, ड्रइङमा ए…… । होइन चित्र मात्रै बनाएर मेरी छोरीले के गरिखान्छे ? अरु विषय किन पढाइ भएन, यो कुराको जवाफ चाहियो मलाई । पहिलाको स्कुल राम्रो थिएन । यो स्कुल राम्रो छ भनेर नानीहरु भर्ना गरें । तीन तीन महिना भइसक्यो रिजल्ट चाहिँ सी र डी मात्र ?” “दिदी, छोरी पढाइमा अलि कमजोर नै छिन् । यसबारे सरसल्लाह गरौँ भनेर अस्ति नानीलाई खबर पनि पठाएकी थिएँ । बस्नोस् न एकैछिन् सल्लाह गरौँ ।” “के सरसल्लाह गर्नुपर्छ ? कमजोर छे भनेर ट्युसन हालेकै छु । मासिक रुपमा फि तिरेकै छु । खाजा पठाएकै छु । मैले गर्नुपर्ने कुरा सबै गरेकी छु । अब रातदिन मिहिनेत गरेर घरमै पढाउने हो भने स्कुलमा शिक्षकको काम के ? अहिलेसम्म न शुद्ध लेख्न जानेकी होस् न पढ्न ।” “त्यसो होइन दिदी अभिभावकले बच्चालाई समय दिनुपर्छ । संस्कार र वातावरण पाए भने आफैँ पढ्छन् । तपाईँ हामी मिलेर बाटो देखाउने हो ।” म लिलादेवीसँग निकै कुराहरु गर्न चाहान्थेँ तर उनले केही सुन्न चाहिनन् । उनी बच्चा कमजोर हुनुमा शिक्षकको कमजोरी देखाउँदै निकै चर्को स्वरमा केही बेर बोलिन् र आँखा तर्दै त्यहाँबाट निस्किईन् । मैले केही लज्जित महसुस गरेँ । सबैभन्दा खड्किएको कुरा त आरोहीले के सोचिहोली । विद्यार्थीका अगाडि त शिक्षक सबै कुरा जानेको सबै भन्दा ठूलो मान्छे । तर आमाले सजिलै गाली गर्ने मामुली मान्छे पो रहेछन् भन्ने सोचिहोली । उनको पढाइ त कमजोर छ नै व्यवहार पनि खराब भयो भने ? यस कुराले मलाई चिन्तित तुल्यायो ।

    भोलिपल्टको कक्षामा मैले आरोहीलाई एक थप्पड लगाएँ र भने “के अब तिम्रो गृहकार्य सिकाईदिन पनि तिम्रो घरमै आउँ ?” उनले ठ्याक्कै हिजो आमाले हेरेझैँ आँखा तरिन् । सम्झेँ बच्चा त हो दुख्यो होला । अनि एकैछिनमा सामान्य भइदिएँ ।

    लीलादेवी दोस्रो र तेस्रो त्रैमासिक परीक्षाको नतिजा लिन आईनन् । एकैचोटी बार्षिक परिक्षाको नतिजा लिन सरासर प्रधानाध्यापकको कोठामा पुगिन् । आरोहीले बनाएका केही सुन्दर तस्बिरहरु प्रधानाध्यापकको अफिसको भित्तामा सजिएका थिए । उनले बनाएका सुन्दर चित्रहरु देखेर प्रधानाध्यापकले पुरस्कृत पनि गरेका थिए त्यसो त ।
    लीलादेवीले आफ्नो बच्चाको पढाइ राम्रो नभएको कारण विद्यालय परिवर्तन गर्न चाहेको बताइन् । म आरोहीको रिजल्टको फायल बोकेर लीलादेवीको छेउमा उभिएकी थिएँ । उनले कुनै दुश्मनी भएझैँ आँखा तरेर हेरिन् तर मभित्र केही थिएन जवाफमा म मुस्कुराएँ । प्रधानाध्यापकले उनलाई सम्झाए । “हेर्नुस् बैनी, स्कुल परिवर्तन गर्दैैमा र पैसा खर्च गर्दैमा चरित्र र संस्कार किन्न सकिन्न । बच्चाको भविष्य अभिभावकको व्यवहारमा पनि भर पर्छ । सानोमा बच्चाले अभिभावकको नक्कल गरेर धेरै कुरा सिक्छ । हरेक बच्चाले केही न केही गर्ने वा बन्ने भविष्य आफैँ लिएर आएको हुन्छ । यसका लागि तपाईँ वातावरण बनाईदिनुहोस्, हामी सहजकर्ता बन्छौँ । संघर्ष र संस्कार सिकाउनुहोस् बाँकी सबथोक भोगाइले सिकाउँछ ।” मैले बोकेको नतिजाको फायल उनले बिना अनुमति तानिन् र हेर्दै बोलिन् “तपाईँ भन्नुहुन्छ नि सर अहिलेको जमानामा मेरी छोरीले ए प्लस ग्रेड पनि ल्याईनन् भने के गरि खालिन् र ?” “हेर्नुस् बैनी हामी घोकाएर, कुटेर, पिटेर र तर्साएर जबरजस्ती ए प्लस ग्रेड ल्याउने चाहिँ बनाउँदैनौँ । तर अहिलेको प्रविधि र परिस्थिति अनुसार स्मार्ट बोर्डको व्यवस्था गरेका छौँ, पढाइ बाहेक बच्चाहरुलाई नाँच्ने, गाउने, खेलकुद, साहित्य र चित्रकला सबै क्षेत्रमा सिक्ने अवसर दिएका छौँ । भोलि गएर बच्चा कुनै न कुनै क्षेत्रमा दखल होस् र यो देशको गहना बनोस् भन्ने हाम्रो चाहाना हो । आरोही पनि पछि गएर एउटा राम्रो चित्रकार बन्छिन् भन्ने कुरामा हामी ढुक्क छौँ । हामी जे गर्छौँ तपाईँहरुको साथ र सहयोग पाएमा मात्र सफल बन्छौँ । बरु पटक पटक हामीलाई भेट्नुहोला, सल्लाह, सुझाव दिनुहोला । स्कुल परिवर्तन गरेर बच्चाको मनोविज्ञानलाई नखल्बल्याइदिनुहोला ।” सायद उनले प्रधानाध्यापकको कुरालाई सकारात्मक रुपमा लिइन् । एक गते स्कुल सुरु भएपछि नानीहरु पठाउने शर्त गर्दै बिदा भईन् ।
    समय बितेको पत्तै भएन ।

    शिक्षणका १० बर्षहरु कति सजिलै बितेछन् । शिक्षारुपि महासागरका हामी माझी, डुङ्गा तार्दै हात हल्लाईरह्यौँ । सिंगान पुछेर, ताते गराउँदै अक्षर सिकाएका नानीहरु जवान भएका थिए । आरोही पनि माथिल्ला कक्षामा पुगेकी थिई । माथिल्ला कक्षाहरुमा मेरो कक्षा पर्दैनथ्यो । शिक्षकहरु कुरा गर्नुहुन्थ्यो आरोही निकै सन्की, उत्ताउली र घमण्डी बनेकी छे । १० बर्ष पूरा भएसँगै मैले स्कुल छाडेर आफ्नै व्यवसाय चलाउने निर्णय गरेँ । मेरो उमेरको उर्वर समय बिताएको ठाउँ छाड्नुपर्दा केही पीडा पनि थियो । मेरो मन मस्तिष्कभरि निकैजना शिक्षक, विद्यार्थी, अभिभावक र तिनका चरित्र अटाएका थिए । त्यसमा आरोही पनि विशेष थिई ।

    कार्यालयमा खासै काम थिएन । दिउँसोको समय आकाश धुम्म भएर पानी पर्न पर्न लागेको थियो । म कार्यालयको पछाडि फोहोरहरु बटुलेर डढाउने तरखरमा थिएँ । अचानक मेरा आँखा नजिकैको ठुलो कदमको रुखमुनि छिल्लिरहेका जोडीमा पर्यो । हेर्न अलि असहज लाग्ने यो डेटिङ हाम्रो कार्यालयको छेउछाउ नभए हुन्थ्यो । उनीहरु त्यहाँबाट हिँडुन् भन्ने लागेर अलि छेउमा के पुगेकी थिएँ म छाँगाबाट खसेझैँ भएँ । दृष्टिभ्रम भयो कि भनेर मजाले नियालेँ म सही थिएँ, त्यो आरोही नै थिई । झट्ट सम्झेँ उसँग छिल्लिरहेको त्यो केटो चुरोट तान्दै यही बाटो हिँडिरहेको निकै पटक देखेकी थिएँ । किन किन त्यो दृश्य हेर्न मेरो मनले पटक्कै मानेन । सारै नरमाईलो लाग्यो । एकैछिनमा ठूलो पानी पर्यो । बिचरी भिजी होली भन्ने लागेर फेरि पछाडि गएर चिहाएँ, उनीहरु छाताले पानी होईन लाज ढाकिरहेका थिए ।

    त्यस रात म निदाउन सकिनँ । ती पुक्क परेका गाला, प्याउलिदै मेम…मेम भन्ने बालसुलभ बोलि अनि साना हातहरुले कोरेका सुन्दर तस्बिरहरु, म सुतिरहेको पलङको माथि भित्तामा झुन्डिएको त्यो मेरो तस्बिर जुन उसले महिनौँ लगाएर बनाएकी थिई र मेरो जन्मदिनमा उपहार दिएकी थिई । भन्थी –“मेम ममीले पढ पढ भनिरनुहुन्छ यसरी महिनौँ लगाएर चित्र बनाको था पाउनुभो भने त मार्नुहुन्छ । लुकाएर बनाकी । प्यारेन्स डे आउन लाग्या छ, त्यसदिन चाहिँ बाहिर राखौँ है मेम । प्यारेन्स डेमा चाहिँ ममीलाई देखाउने मन थियो त्यही दिन ममी काठमाडौँ जाने काम छ रे हप्ता दिनको लागि ।” अभिभावक दिवसको दिन बाहिर राखिएको त्यो तस्बिरले मोनालिसालेझैँ चर्चा पाएको थियो । अब आरोहीलाई कसरी असल बाटोमा फर्काऊँ, म के गरौँ यो सबै सबै कुराले मेरो छाति पोलिरह्यो ।

    भोलिपल्ट आरोहीलाई त्यही रुखको फेदमुनि कसैको प्रतिक्षा गरिरहेकी देखेँ । हतारिँदै छेउमा गएर बोलाएँ । आरोही ! ऊ फर्केर पुलुक्क हेरी । ऊ यसरी झस्किई कि मानिलिऊँ उसका अगाडि डरलाग्दो जन्तु देखा पर्यो । अत्तालिएर भाग्न भाग्न पनि खोजी । मैले उसको हातमा समातेँ र बडो प्रेमले फकाएँ । मानौँ कि मैले जादु टुना गरेर उसलाई प्रेमजालमा पारेँ उम्किन नसक्ने गरी । ऊ हतार भएको बाहाना बनाएर उम्कन खोज्दै थिई । “कति समयपछि तिमीसँग भेट भयो म यति खुसी छु नि तिमीलाई भेट्दा यति खुसी हुन्छु भन्ने कुरा कहिले सोचिनछु । के तिमी खुसी छैनौँ ?” “म पनि एकदमै खुसी छु मेम ।” “त्यसो भए आऊ मेरो कार्यालयमा एकछिन बसेर जाऊ ।” मैले उसको हात समातेर लिएर आएँ । ऊ अलि अप्ठ्यारो मान्दै आई । त्यसदिन दिनभरि ऊ अल्मल्लिई । सँगै नास्ता खायौँ । वाइफाईको पासवर्ड दिएकी थिएँ । केही गीत र भिडियोहरु डाउनलोड गरी र हिँड्ने बेलामा मैले भने–“आरोही भोलिदेखि तिमी यहाँ सधैँ आए पनि हुन्छ । तिमी राम्रो चित्रकार हौ म तिमीलाई कम्प्युटरमा ग्राफिक्स डिजाईन सिकाईदिन्छु । मलाई केही दिनु पर्दैन । तिमीले मलाई यस्तो उपहार दियौ नि मैले तिमीलाई कुनैदिन भुलेकी छैन ।” “मेम! त्यो तस्बिर कहाँ छ ?” “भोलिदेखि यही कार्यालयमा हुने छ ।” ऊ निकै खुसी भई र फेरि आउने वाचा गर्दै बिदा मागी ।

    त्यसपछिका दिनमा आरोही कहिलेकाहिँ आउन थालेकी थिई । अचानक ऊ केही दिनदेखि दस देखि पाँच बजेसम्म कार्यालयमा बस्न थालेकी थिई । मैले उसलाई कहिल्यै उसका नराम्रा वा कमजोरीहरुका बारेमा कुरा गरिन । उसलाई हौसला, प्रेरणा र प्रेमले प्रभावित बनाएर ग्राफिक्स डिजाईन सिकाउन थालेकी थिएँ । उसले यो काममा पूरै ध्यान र जाँगर लगाउन थाली । चित्रकलामा पारंगत उसले ६ महिनामै फ्लाक्स डिजाईन, भिजिटिङ कार्ड, लगायतका डिजाईनहरु अत्यन्तै कलात्मक र सुन्दर बनाउन थाली । मैले उसलाई कार्यालय समय बाहेकका समयमा पनि खराब संगत र नकारात्मक सोचाइहरु नआउन भनेर मेरी आमाको फोटो दिएर चित्रको रुपमा बनाउन भनेकी थिएँ । हामी आश्चर्यचकित भयौँ उसले आमाको चाउरी परेका निधारका धर्साहरु, आँखाको छेउको सानो खत सबै दुरुस्तै उतारेकी थिई । त्यो तस्बिरलाई पनि मैले कार्यालयको भित्तामा झुन्ड्याएकी थिएँ । त्यसपछिका दिनमा त कार्यालयमा आउने ग्राहकहरुले फोटो बनाउने अर्डर दिन थाले । कसैले आफ्ना पुर्खाको पुरानो फोटो ल्याउँथे कोही आफ्नो बच्चाको फोटो बनाई माग्थे । प्रायः हप्ताको एउटा चित्र बनाउने अर्डर आउन थाल्यो । ऊ दिनभरी कार्यालयकै काममा व्यस्त रहन्थी । घरमा बाँकी रहेको समयमा फोटोहरु बनाएर ल्याउँथी । जस्तोसुकै फोटोलाई पनि दुरुस्तै उतार्ने उसलाई ग्राहकले राम्रै रकम दिन्थे । फोटो बनाएर आएको पैसा उसले मलाई दिदै थिई मैले उसलाई यो तिम्रो कमाई हो आवश्यक खर्च गर, बचत पनि गर भनेकी थिएँ । उसले सहकारीको दैनिक बचतमा जम्मा गर्न थालेकी थिई ।

    हामी श्रीमान् श्रीमतीले सल्लाह गर्यौँ, आरोहीले हाम्रो कार्यालयमा आधा भन्दा बढी काम गर्छे । अब उसलाई कर्मचारीको रुपमा तलबमा काम दिने ।  आरोहीसँग केही सरसल्लाह गरौँ भन्ने लागेर ३ बजे नै कार्यालय बन्द गर्दै थिएँ । कार्यालय पछाडिको त्यही कदमको रुखमुनि एकजोडी देख्दा झस्किएँ । पहिला उसँग हुने केटोले अर्की कुनै केटीलाई चुम्मा गरिरहेको देखेँ । आरोहीलाई चिच्याएर बोलाएँ के नै भयो भन्ठानिछे तान्दै गरेको सटर छोडेर कुदेर आई । मैले औँलाले ईशारा गरेर देखाएँ । ऊ छिः मेम पनि भन्दै भित्र पसी ।

    हामी किचनमा गयौँ । आरोहीलाई त्यही बाहिर देखिएको दृश्यलाई लिएर जिस्काउन थालेँ । “आरोही तिम्रो त त्यस्तो गर्ने ब्वाई फ्रेन्ड पनि छैन होला है । अचेल त डिजाईन भन्दा अरु कुरा हेर्नै छोडेकी छ्यौ । फेरि अहिले त तिमीलाई एक घण्टाको समय निकाल्नु पर्यो भने पनि दुई दिन अघि देखि योजना बनाउनु पर्छ । तिम्रो त बिहा नै नहुने होकी मलाई त पीर लाग्न थालिसक्यो ।” मैले यसरी जिस्काईरहँदा ऊ अलि गम्भिर हुँदै भनी– “मेम रिसाउनुहुन्न भने एउटा कुरा भन्छु है ।” “भन न कहिले चाहिँ मलाई रिसाएको देखेकी छ्यौ र ?” “मेम…………मेम…” “भन न केही अप्ठ्यारो नमानी सबै कुरा बताऊ ।” मेम म ९/१० कक्षा देखि नै निकै बदमास भएकी थिएँ । एसईई परीक्षा दिएपछि त झन् त्यत्तीकै बरालिएर डुल्न थालेँ । मलाई केही कुरामा रुचि नै थिएन । ममी त जहिल्यै रुनुहुन्थ्यो । बुबा विदेशबाट २/२ jर्षमा आउँदै जाँदै गर्नुहुथ्यो । ममीले बुबालाई मेरो बारेमा कहिल्यै नराम्रो कुरा सुनाउनु भएन । म सुध्रिन्छु कि भनेर आफैँ आएर स्मार्ट कम्प्युटर सेन्टरमा पन्ध्र हजार तिरेर मेरो एडमिसन गरिदिनुभएको थियो तर म कुनै दिन कम्प्युटर सिक्न गईन । साथीभाइसँग घुमघाम गर्ने, डुल्ने, मोबाइलमा मात्र झुम्मिने गर्थे ।” “अनि ?”

    “मेम हजुरले अस्ति कदमको फेदमा देखाउनुएको थियो नि म त्यो केटासँग कुलतमा फसिसकेकी थिएँ, एकदिन ऊ र उसका साथीहरुले मलाई बलात्कारको प्रयास गरे । धन्न भागेर ज्यान बचाएँ । मलाई त मरुँ कि झैँ भएको थियो । सम्झेँ, हजुरले मलाई सधैँ आऊ है भन्नुभएको थियो र सुरुसुरुमा पीडा भुलाउन आएकी थिएँ । अहिले पश्चात्ताप लाग्छ । हजुरले मलाई यहाँसम्म ल्याउनु भयो । नयाँ बाटो देखाउनु भयो । म साह्रै भाग्यमानी रहेछु मेम । एकबर्ष भित्रमै मेरो नर्क जस्तो जिन्दगी स्वर्ग बन्यो । मैले मेरो बुवाको पसिनाको मोल चिनेँ । जीवनमा गुरुको महत्व बुझेँ मैले । तपाईँ जस्तो गुरु पाउनु नै मेरो भाग्य हो मेम । सानोमा तपाईँले गुरु र शिष्यको कथा खुब सुनाउनुहुन्थ्यो । मैले बिर्सेकी छुईन अर्जुन र दोर्णाचार्यको कथा, कृष्ण र अभिमन्यूको कथा । कति निस्वार्थ भावना हुन्छ गुरुमा । आज म सही गलत सबै छुट्याउन सक्ने भएकी छु । मेम, म हजुरलाई यो गुन कहिले तिर्न सक्दिन । मेम, यी सबै कुराहरु मैले आजसम्म कसैलाई सुनाकी थिर्इनँ ।” “ अनि आमालाई पनि भनेकी छैनौँ र ?” “मेम, आमालाई त म यहाँ कम्प्युटर सिक्छु, भन्ने कुरा केही थाहा छैन । आमाले निकै जनासँग मेरी छोरी स्मार्ट कम्प्युटर सेन्टर पठाउन थालेपछि पूरै सुध्रेकी छे । बरु घरमै चित्र बनाएर बस्छे कतै बरालिएर हिँड्दिन भनेर भनेको सुनेकी छु ।”

    “अब तिमीले सबै कुराहरु आमालाई सुनाउन डराउनु पर्दैन । केही नलुकाई सबै कुरा आमालाई भन । यहाँ पनि लिएर आए हुन्छ नि । हामीले तिमीलार्इ यही रोजगारी दिने निर्णय गरेका छाैं । बधार्इ छ र तिम्रो पहिलो भोलि हो ।”

    इति

    २६१४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad