BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ४ गते
    Headlines :

    बच्चासँग खेल्न हिनताबोध नगर्नुहोस्

    उदय राज गौतम , हाल डेनमार्कमाघ २३, २०७४

    करिब ७ र ८ बर्ष भन्दा मुनिका बच्चाहरु आफ्नै आमाबाबुलाई सर्व शक्तिमान, सर्व ज्ञाता ठान्दछन । मेरा बाबु आमालाई सबै कुराको ज्ञान छ भन्ने बुझाइ उनीहरुको हुन्छ । यथार्थमा सबै त्यस्तो सर्बग्य हुने कुरा पनि भएन । प्रविधि सम्पन्न मुलुकमा किताबी कुराको ज्ञान भन्दा प्राबिधिक ज्ञान र सीपमा अबिभावकहरुले पनि सामान्य रुपमा आधारभुत प्राबिधिक ज्ञान हाँसिल गरेको हुनु पर्दछ । बच्चाले चढ्ने साइकल पन्चर भयो भने उसले त्यस्को सूचना पहिला अबिभाबकलाई दिन्छ । सहज ढंगबाट त्यसको समाधान आफ्नै ज्ञान सीपले गर्न सकियो भने बच्चाले सहज महशुस गर्छ, मेरो मम्मी वा ड्याड्डी लाई पनि केहि कुरा गर्न आउँछ भन्ने आभास उसमा हुन्छ । तर, धेरै दिन आफ्नो बेफुर्सदिले हल हल पर्खि पर्खि भन्दै टार्न थालियो भने बच्चाको मनोविज्ञान तितर बितर हुन्छ । पश्चिमाहरू यस्तो मामलामा निकै संबेदनशील हुन्छन । हामीहरु त्यस्तो कुरामा कम प्राथमिकता दिन्छौं । बच्चाको गृहकार्य सिकाइ दिंदा सानो कुरामा शिक्षकको तरिका भन्दा फरक पर्यो भने अनि फेरी फेरी बच्चाले बिश्वास गर्न छाड्छ । स्कुलले गलत सिकायो भने पनि त्यहि ठिक हो भन्ने उसलाई लाग्छ । अनि बिस्तारै अविभावकको चाहना भन्दा बच्चाको स्वभाव बदलिन्छ । हुँदा हुँदा खाने कुरा पनि घरमा नखाने तर त्यहि चिज स्कुलमा शिक्षकले दिंदा खाने हुन्छन । यसरि सानो छंदा आफ्ना बाबु आमालाई सर्वेसर्वा ठान्ने बच्चाहरु स्कुल जान थालेपछि र अलि ठूलो भएपछि भनेको नमान्ने, आँफै निर्णय गर्ने,उसले चाहेको कुरा दिनु किन्दिनु पर्ने हुन्छ । बिस्तारै घरको मालीक बच्चा भै सकेको अविभावकले पत्तै पाउंदैनन् ।
    अब के गर्ने त ? के जे जति कमजोरी पक्षहरु देखिए यसमा बच्चालाई दोष देखाएर हामी उम्कन सक्छौं त ? कदापि सकिंदैन । बच्चाको अनुशासन, शिक्षा, आचरण, आनीबानी सुधार्न अबिभाबक, स्कुल, समाज, साथीभाई सबैको जिम्मेवारी हुन्छ । नियमित विद्यालयको सम्पर्कमा रहने, समान उमेरका बच्चा हुने अबिभावाकहरु बेला बखतमा समय निकाली आपसमा बच्चाहरु खेलाउने र एक आपसमा अनुभव आदान प्रदान गर्ने गर्दा धेरै साना–साना बच्चाहरुको ज्ञान, सीप र कलामा सुधार भएको पछिल्लो अनुसन्धानले देखाएको छ । अमेरिका र युरोपेली शैक्षिक संस्थाहरुले गरेको अनुसन्धानमा अबिभावाकहरुले अनुभव सेयर गर्दा झन्डै ३५ प्रतिशत बच्चाहरुको ब्यबहारमा परिबर्तन आएको देखिएको छ । कम्तिमा पनि १० बर्ष मुनिका बच्चा हुने अविभावकले बच्चाको निम्ति निश्चित समय छुट्ट्याउनै पर्ने हुन्छ । तपाइको बच्चाले आई प्याडमा गेम खेलेको छ भने पनि त्यसमा सहभागी बन्नुस् । रमाइलो मान्नुस् । जित्यो भने ताली बजाएर सेलिब्रेट गर्नुस् । साथि बन्नुस् । अनि आँफू खेल्नुस्, उसलाई हेर्न लगाउनुस् । यसो गर्दा तपाईं छोरा छोरीको साथी बन्नु हुन्छ । बच्चाहरु साथीको कुरा मान्छन् । अनि तपाईं आँफै साथी बनेपछि भनेको कुरा पनि मान्छन् । आफ्नो बच्चासँग साथी बन्नु परेकोमा हिनताबोध भने पटक्कै नगर्नुस् ।

    ‘मेरो छोरी एक जना उसको रैथाने साथीको घरमा गै रहन्छे , बच्चा हो ६ बर्षकी नजा भन्ने कुरा पनि भएन । उसलाई पठाउँदा साथीको आमाले बच्चासँग हाम्रो घरको व्यक्तिगत ,ब्यबहारिक घरायसी सबै कुरा सोध्ने, बच्चालाई फकाई–फकाई बाउ आमालाई नजाती बनाउने हैरानै भयो । हुँदा हुँदा स्कुलले चिठ्ठी नै काटेर मिटिङ्गमा बोलायो एकजना प्रबुद्ध अविभावकले म संग आफ्नो ब्यथा पोख्नु भयो गएको साता । आगन्तुक नागरिकका बारेमा रैथानेहरु अलि बढिनै चासो चिन्ता, चियो चर्चो गर्ने गर्छन भनेको यत्र–तत्र सुन्न पाइन्छ । कतिपय अवस्थामा बच्चाहरु विभेदको (चबअष्ब िदष्बक० को शिकार पनि हुन सक्छन । यस्तो भयो भने बच्चाहरुमा नैराश्यता बढ्ने, घरमा रिसाउने, एकान्त मन पराउने, बिस्तारै कुलतमा लाग्ने सम्भावना रहन्छ । यी बिबिध प्रकारका हैरानीको संकेत पाउना साथ स्कुलमा सिधै सम्पर्क गर्ने, सम्बन्धित शिक्षकसँग आइपरेका समस्याका बारेमा खुलस्त कुरा गर्ने गरियो भने अवस्थामा सुधार आउँछ । शिक्षकले त्यस्तो हुन नदिने तर्फ बाताबरण निर्माण गर्न सक्ने कुरा हुन्छ । प्राय ः नव आगन्तुक अबिभावाकहरु बच्चा पुर्याउन मात्र स्कुल जाने अन्य कुरामा कम वास्ता गर्ने गर्दा पनि समस्याहरु आउँछन् । जब बच्चाहरु अलि ठूला हुन्छन अनि स्कुल पुर्याउन जाने दुःख पनि गर्नु नपर्ने हुँदा झन् अबिभावक र स्कुलको सम्पर्क टुट्छ । स्कुल गएकै छ, पढेकै होला भन्ने बिश्वास हुन्छ । यति बेला पनि स्कुलमा समय समयमा इमेल पठाउने, टेलिफोन गर्ने, प्रत्यक्ष सम्पर्क स्थापित गरेर आफ्ना बच्चाहरुको पढाइ, सिकाइ र अन्य गतिविधिको बारेमा जानकारी लिनु पर्ने हुन्छ । स्कुलको समय बाहेक अन्य समयमा खेलकुद, चित्रकला, बाद्य बादन, डिबेट कम्पिटेसन, आदिमा क्लबहरुमा आबद्ध गराएर बच्चाहरुलाइ ब्यस्त राख्न सकिन्छ । सानो उमेर समुहका बच्चाहरुलाई युरोपका विभिन्न ठाउँमा मातृभाषा सिकाइका कक्षाहरु संचालन भएका छन् त्यसमा पनि संलग्न गराउन सकिन्छ ।

    ‘मेरो छोरा घरबाट बाहिरै निस्कदैन, सामाजिक गतिविधिमा संलग्न हुँदैन’ भन्ने अबिभावाकहरुको गुनासो सुनिन्छ । घरभित्रै बसेर अध्ययन जारीनै राख्ने बानी हुन्छ कसै कसैको । यस्तो स्वभाव हुने बच्चाहरु प्राय ः अन्तर्मुखी हुन्छन । युरोपको खुला समाजमा यस्तो प्रवृतिलाइ अलि असहज मानिए पनि उमेर बढ्दै जाँदा स्वभावमा परिबर्तन हुन सक्छ । सामाजिक नेटवर्क स्थापित गर्न सक्यो भने भविष्यमा आफ्नो करियर राम्रो बनाउन सहज हुन्छ । यसैले सकेसम्म बच्चालाई एक्स्पोज गराउनुस् । उसका मन मिल्ने, उमेर समूह मिल्ने १–२ जना साथीका अविभावक सँग सम्पर्क स्थापित गर्ने र सकेसम्म खुला गतिविधिमा केहि समय लगाउँदा राम्रो हुन्छ । खेलकूद सबै भन्दा राम्रो विकल्प हुन सक्छ ।

    बच्चाहरुलाई खाना खुवाउँदा असाध्यै कर गरि गरि खुवाउने समुदायको खोजि गर्दै जाँदा एउटा रमाइलो कथा बनेको छ । मैले ३ जना पाकिस्तानी २ जना इण्डीयन, ३ जना सोमाली, २ जना इराकी १ जना इरानी, २ जना म्याक डोनियन, २ जना सर्बियाली १ जना ग्रीक, २ जना ताञ्जानियन महिला (आमा बनि सकेका) संग एउटै प्रश्न राखें ।

    ‘बच्चालाई खाना खुवाउँदा कत्तिको कर गरि गरि खुवाउनु हुन्छ ?’ पाकिस्तानी एक जना महिला बाहेक सबैको एउटै जवाफ आयो । ‘खाना दिने हो खाँदैन भने कसले कर गर्छ, भोक लागे पछि खाइ हाल्छ नि । यसबाट मैले सानो निष्कर्ष निकालें । बच्चालाई धेरै कर गरि गरि खुवाउने नेपाली आमाहरु हुन् कि ! प्राय ः हाम्रो घरमा पनि यस्तै लफडा भएको सुनी रहन्छु मैले । अन्य थुप्रै नेपाली दाजु भाइकोमा पनि यस्तो देखेको हुँदा निष्कर्ष निकाल्न सजिलो भयो । बच्चाले खान नमानेर बाहिर फाल्ने मम्मीहरु भित्र पठाउने ।

    कुरा फेरी अर्को पनि छ । बच्चाले जति खाने कुरा मागे पनि मम्मिहरु दिई राख्ने । यस्तो भयो भने झन् कुपोषण हुन्छ बच्चालाई । कुपोषण धेरै खानाले पनि हुन्छ । किनकी त्यसमा उपयोगीता ह्रास नियम लागु हुन्छ । अत्यधिक वजनको समस्या आइ लाग्छ । बच्चा धेरै मोटो भयो भने उ संग अन्य साथीहरु खेल्न मान्दैनन् । बच्चा क्लासमा बुलिंगको शिकार बन्छ । विश्व स्वास्थ्य संगठनको सन् २०१६ को रिपोर्टमा उल्लेख भए अनुसार ४२ वटा देशमा गरिएको सर्बेक्षणमा डेनमार्क सबै भन्दा कम वजन हुने (११–१३ बर्षका) देशमा पर्छ जहाँ ९ प्रतिशत बालकहरु र १५ प्रतिशत बालिकाहरु पर्दछन । त्यस्तै डेनमार्क कक्षामा उच्च बुलिंग हुने देशमा पर्छ । ३६ वटा सरकारी स्कुलमा कक्षामा हुने बुलिंग रोक्न अहिले सम्म पनि कुनै उपाय अपनाएको देखिंदैन। (रेड बार्नाको पछिल्लो रिपोर्ट) यस्तै ग्रीनल्याण्ड बढी वजनहुने (obesity) उच्च देशमा पर्छ । जहाँ ३९ प्रतिशत छात्राहरु (१० देखी १६ बर्ष) र २३ प्रतिशत छात्रहरु छन् । सर्बेक्षणले देखाएको अर्को कुरा के हो भने ४२ देशमध्ये सबै भन्दा कम साथीभाई सँग बच्चाहरु घुलमिल हुन नपाउने देश पनि डेनमार्क हो । समग्रमा ८५ प्रतिशत छात्र छात्राहरु समान उमेरका साथीहरु सँग फुर्सदको समय बिताउन पाउदैनन् । मोबाइल र आइ प्याडमा रमाउने बच्चाहरुको निम्ति संगै खेल्ने साथीहरुको ब्यबस्था मिलाउने काम स्कुलको भन्दा अविभावकको हुनु पर्ने कुरा शिक्षा विदहरुको राय रहेको छ ।
    हामी सबै आफ्ना बच्चाहरुलाई असाध्यै माया गर्छौं यसमा दुई मत छैन । बच्चाले हामीबाट माया पाएको अनुभूति गर्यो कि गरेन त्यो ज्यादै महत्वपूर्ण कुरा हो । सबैकोमा केहि न केहि समस्याहरु हुन्छन । जादुको छडी कसैसँग पनि छैन । एउटै साइजको जुत्ता सबैलाई मिल्दैन । एउटा परिवारको कुरा अर्को संग मिल्दैन । एउटा अचुक उपाय के हो भने तपाइँ रोल मोडेल बन्नुस्, अनी छोरा छोरी तपाइकै हुन् बन्छन बनाउन सकिन्छ । क्रमश…

    बच्चाको खेलौना फुटाउनु पनि घरेलु हिंसा मानिन्छ युरोपमा

    ४१८२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad