BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन २ गते
    Headlines :
    Ad

    यो घर मेरो पनि हो

    खगिन्द्रा खुसी, झापा नेपालमाघ २७, २०७४

     

    “कति आँटिली तिमी?” निर्माणले हातको सिरानीमा राख्दै भनेको थियो दमन्तालाई ।

    दमन्ताले निर्माणको हातबाट टाउको निकालेर देब्रे हातको टेको लगाएर टाउको अड्याउँदै निर्माणसँग आँखा जुधाउँदै भनी “एक्काइसौं शताब्दिकी नारी हुँ, …म पनि ।”
    हो हो, माने मैले, यस्तो काम अरु कसैले गर्न सकेका छन् र?
    कसरी आयो यो आँट ?
    यो आँट उनैले दिएका हुन् मलाई ।
    के?
    अँ….उठेर सिरकले शरीर छोपेर बस्छे दमन्ता ।
    कसरी? नर्माण पनि दमन्तासँग बसाइको सन्तुलन मिलाउँछ ।
    “धोका दिएर ।”
    हँ??? निर्माणको निधारको बिच भाग खुम्चिन्छ ।
    “भो नगरौं ती कुरा ।” भन्दै आफ्ना लुगा मिलाउँछे दमन्ता ।
    “किन नगरौं ? यति भैसकेपछि पनि तिम्रो बारेमा थाहा नपाउनु मैले ?
    “मैले पनि त तिम्रो बारेमा सोधेकी छैन नि, तै पनि आवश्यक जानकारी छ तिम्रो बारेमा”
    “के ?”
    “तिमी अझै पनि अविवाहित छौ”
    “अँ…त्यति त थाहा रहेछ”
    “अर्को कुरा पनि थाहा छ”
    “के?”
    “कुमार चैं हैनौ ।

    हा हा हा हा दमन्तालाई हातले कस्दै हाँस्यो निर्माण । हाँसो रोकेर भन्यो“सही अनुमान लगाउँछौं”
    हँ….भन्दै दुईवटै कुम उचाल्छे दमन्ता ।

    “भन न तिम्रा उनीले तिमीलाई कसरी यस्तो गर्ने आँट दिए ?” निर्माणले दमन्ताको हात समाउँदै भन्यो ।”
    “तिमीलाई भनेर के फाइदा ?” दमन्ताले प्रतिप्रश्न गरी ।
    “यति भैसकेपछि पनि फाइदा र वेफाइदाका कुरा गर्छाै ?”

    “म जस्ता कति महिला सँग रात काटिसकेका छौं, अझै पनि त्यसरी नै रात काट्न जानेछौ, यसबेला मैले तिमीलाई आफ्नो सम्झेर भनेका मेरा अन्तर्मनका बेदनाहरु त्यस बेला तिम्रो मनको पाइताला मुनि पर्नेछन्, म मेरा भावनाहरुलाई शिरमा राखेर पुज्न चाहान्छु” ।

    “तिमीलाई म प्रति विश्वास थिएन भने यसरी सँगै रात काट्ने इजाजत किन दियौ त?”
    “मैले तिमी प्रतिको अनुरागले, वासनाको मातले, यौनको आगोशले तिमीसँग रात बिताएको हैन, तिमीबाट छोइएकी हैन ।”
    “किन बितायौ यो सिङ्गो रात म सँग । किन छुन दियौ मलाई..?”
    “बदला लिनलाई”
    “कोसँग?”
    “किन सुन्न चाहान्छौ मेरो कथा? निर्माणको हात समाएर भन्छे दमन्ता“नढाँटी भन, जिज्ञासा मेटाउनका लागि मात्रै हो भने केही भन्दिनँ म, साँचो भन”
    निर्माण दमन्ताको दुबै हातलाई अाफ्ना हत्केलाभित्र राखेर भन्छ“ढाँट्तिन, कसम हो !, अब ढाँट्ने उमेर गैसक्यो, धेरै ढाँटे, झुक्याएँ, ठगें र क्षणभरको लागि धेरै साथीहरु बनाएँ, रोमान्स गरें, त्यसैले आजसम्म एक्लै बनें, अब पनि ढाँटेर हिंडे भने म सधैं एक्लो हुनेछु । अब बाँकी जिन्दगी बाँच्नको लागि साथी चाहिएको छ । जीवनसाथी सँगको, पारिवार सहितको जिन्दगी बाँच्ने इच्छा भएको छ । अब मैले अबिबाहित साना, कलिला केटी बिहे गर्ने उमेर पनि छैन, रहर पनि छैन, त्यस्ता केटीहरुसँगको सम्बन्ध पक्का होला भन्नेमा विश्वास पनि छैन, मलाई व्यवहारिक, सबै कुरा बुझेकी भोगिसकेकी जीवनसाथी चाहिएको छ । तिमी जस्तै ।”

    दमन्ता पलङ्गबाट निस्किएर सोफामा बस्छे “तर मेरा तिमीसँगका भविष्यको कल्पना छैनन्, सपना र योजनाहरु पनि छैनन् । म त मेरा श्रीमानसँग बदला लिन चाहान्थें, त्यसैले तिमीलाई यहाँ आउने इजाजत दिएँकी थिए ।” उसले यथार्थ बोलेकी थिई ।

    “सबै कुरा भन, विश्वास गर, म कसैसँग गएँछु भने पनि तिम्रा भावनाहरु जतन गरिराख्ने छु, झर्न दिने छैन । अलपत्र पार्ने छैन ।”निर्माणले विश्वास दिलाउँछ ।

    “पहिला पहिला यसरी नै विश्वास दिलाउँथे मेरा श्रीमान्ले पनि, कस्तो विश्वास लाग्थ्यो उनको, म सात जन्मसम्मसँगै हुन पाऊँ भन्थें, उनी सात जन्ममा विश्वासै गर्दैन थिए, तर मलाई दिने मायामा कमी थिएन । अगाध माया गर्थे उनी मलाई, खुसी थियौं एक अर्कामा । विश्वास थियो, प्रेम थियो । विवाह पछि नै दुई जना मिलेर दुःख गरेर सम्पत्ति कमायौं जग्गा जोड्यौं । कम दुःखले बनाएको घर हो यो ? उनको र मेरो बराबर पसिना छ हाम्रो सृष्टीमा । दुःख गरे पनि मानसिक सुख थियो । आपसी प्रेम थियो । यो घर बनाइसकेपछि मात्रै आमा बाबु बनेका थियौं हामी । छोरी भइन हाम्री । छोरीलाई लक्ष्मी भन्थे उनी । लक्ष्मी जस्तै उज्याली थिई छोरी, अझै पनि उस्तै छ । मैले त यत्ति भए हुन्छ भनेकी थिएँ । तर उनी मानेनन्, घरबाट पनि कर गर्नु भयो । दुईटा सन्तान त चाहिन्छ भन्नु भयो ।

    परिवार र श्रीमानको खुसीलाई आफ्नो खुसी मान्दा रहेछौं हामी महिलाहरु । त्यही खुसीका लागि अर्को सन्तान जन्माएँ । छोरा भयो । १७ वर्षकी हुँदा बिहे गरेकी थिएँ उनीसँग, २२ वर्षकी हुँदा त दुई वटै सन्तान जन्माइसकेकी थिएँ । यतिबेला त बिहे गर्ने बेला नै भएको हुँदैन त्यो उमेरमा । २५ वर्ष पुगेपछि मात्रै बिहे गर्छन् आजभोलि, त्यतिबेला पनि विश वाइसको भएर मात्रै गर्थे गर्न ता । मेरो त १७ वर्षकै हुँदा माग्न आए, राम्रो कुटुम्ब भएकोले बाबा आमाले पनि उम्काउन मन गर्नु भएन । मलाई पनि मन परेका थिए उनी । सबै कुरा मिलेपछि किन पर्खिनु थियो र? त्यसरी बिहे भएको थियो हाम्रो ।

    पहिला दुई जना नै बाहिर काम गथ्र्यौं हामी, छोरा छोरी भएपछि म घरमै व्यस्त भएँ । छोरा छोरी र घर स्याहार्ने काम मेरो भयो । उनी एक्लै काममा जान थाले । बेलुका गलेर आउँथे । उनको गलेको अनुहारले पीडा हुन्थ्यो मलाई । त्यसैले उनकै लागि भनेर तागतिला खानेकुरा पकाएर राख्थें म । बेलुका आएर त्यही खाएर सुत्ने काम मात्र थियो उनको । म ढुक्क थिएँ उनी प्रति । उनी पनि म प्रति सन्तुष्ट थिए, खै कहिलेदेखि मबाट असन्तुष्ट बन्न थालेछन् मलार्इ थाहै भएन । म त उनको मायाले अन्धो भएकी रहेछु क्यार, उनका अनुहारमा आएका म प्रतिका घृणा र वितृष्णाका भावहरु देख्नै नसक्ने गरी अन्धो भएँछु । पछिल्लो समयमा उनी साँझमा घर आएर बिनाकारण रिसाउँथे, गाली गर्थे, उनको दिनभरिको थकान अनुहारका रेखामा देख्थें म । उनी दुर्लभ हुन थालेका थिए मेरालागि । विहान उज्यालो हुँदा निस्केर साँझमा देखा पर्ने जुन जस्ता बन्दै थिए उनी ।

    त्यही भएर उनको उपस्थिति नै महत्वपूर्ण थियो मेरो लागि, त्यही भएर होला उनका गालीहरुले दुखाउँदैन थिए मेरो मन । उनको गालीमा आफ्नोपन र आत्मियता भेट्थें म । त्यही मेरो भ्रम थियो । उनी त साँच्चै रिसाउँदा रहेछन् मसँग, घृणा गर्दारहेछन् मलाई । उनको प्रेम त अर्कैसित सरिसकेको रहेछ । उनलाई शंका गर्न नसक्नु मेरो भूल थियो । त्यही भएर एकैचोटी त्यति ठूलो घात सहनु पर्यो । एक साँझ नयाँ श्रीमती लिएर आए उनले । मेरो भावना, मेरो प्रेम, विश्वास र उनी प्रतिको आस्थालाई पैताला मुनि राखेर बेपर्वाह नयाँ श्रीमती भित्यार्ए उनले । उनले कहिल्यै आँशु झार्न दिएका थिएनन् मेरो आँखाबाट । त्यही समयलाई साँचेका रहेछन् । भए जति सबै आँशु पोखियो त्यहाँ । कति बिन्ती गरें उनलाई, उनका खुट्टामा समाएँ तर अलिकति पनि दया राखेनन् म प्रति, म प्रति भन्दा पनि उनको प्रेम प्रति । कि सबै लोग्ने मान्छेले गर्ने प्रेम त्यस्तै हुन्थ्यो कि ? सबै लोग्ने मान्छेको मुटु यति नै कठोर हुन्थ्यो कि ?

    मेरा लागि त उनी सागर थिए म माछा बनेकी रहेछु, उनी छाल बनेर मलाई तातो बालुवामा हुत्याइदिए, उनीभित्र हजारौं माछाहरु छन् तर मेरो सागर त्यही एउटा थियो । मेरो छटपटी उनको रोमान्चक दृष्य बनेछ क्यार । (दमन्ताको घाँटिमा भक्कानो भएर आयो बोल्नै सकिन । एक छिन चुप लागेर फेरि वोल्न सुरु गरी)मैले सन्सारको सबै भन्दा बढी सुखानुभूति लिने गरेको उनको अँगालो अरुलाई नै दिए उनले । कति सहजै दिए, मेरो ओछ्यान दिए, सिन्दूर दिए, मैले मेरो भनेको सारा कुरा अर्कीलाई दिए । मेरा जीवनका सारा खुसी खोसेर अर्कैलाई दिए । मलाई आँशु मात्र दिए उनले, दुःख र पीडा मात्र दिए, एउटै छाना मुनी आफ्नै लोग्ने अर्की आईमाईसँग रात बिताउँदाको क्षण सहन नसकिँदो रहेछ, निर्माण । तर हरेक रात, हरेक दिन त्यही कुरा सहँदै बसें म । मेरो आँशु पुछिदिने मान्छेले नै अब हरेक रात आँशुको पोखरोमा डुबाउन थाल्यो मलाई ।

    दमन्ताको घाँटीमा गाँठो परेर रहेको पीडा बाहिर निस्कियो, उ रुन थालि, जति रोक्न खोज्दा पनि रोकिएन । उ घुँक्क घुँक्क गर्दै रोइरही, धेरै बेरसम्म रोई, रुनु हुन्न भनेन, सम्झाएन तर जति आँशु झरे पनि पुछीदिई रह्यो निर्माणले । धेरैबेर पछि टेबलमा रहेको बोतलको पानी दियो ।  पानी पिएपछि फेरि बोल्न थाली दमन्ता ।

    विवश र लाचारीसँग नयाँ जीवनको सुरुवात गरेँ मैले । एउटै छतमुनि आफ्नो लोग्नेको अर्की श्रीमतीसँगको रसलिला हेर्दै अमिला आँशुका घुट्का निल्दै जीवन बाँच्न बाध्य भएँ म । पहिला पहिला लाचारीसित, विवश भएर बेदना पिडा र छटपटिसँग बाँचे । पछि आफैं मन बुझाउन थालें । रोए पनि पीडा कम नहुने रहेछ, जति मन दुःखाए पनि दुखाइ कमगर्ने औषधी अर्कोले ल्याएर नदिँदो रहेछ, त्यसैले आफैं आफ्नो मनको दर्दको औषधि बन्न थालें, मन बुझाउन थालें । घरदेखि बाहिर निस्किएर काम गर्न थालें, आफैं कमाई गरेर आफ्नो लागि खर्च पुर्याउन थालें, म सम्पूर्ण कुरामा आत्मनिर्भर बन्न थालें । तर यो घरबाट निस्कन सकिन, त्यो घर उसको मात्र थिएन । यो घर बनाउन उसको मात्र पसिना गएको छैन, मैले पनि रातदिन भनी, भोक तिर्खा नभनी काम गरेर, पसिना बगाएर बनाएको घर हो यो । त्यसपछि मैले अधिकार बुझें कानुन र नियमहरु बुझें । अनि त झन् दह्री भएर बसें यस घरमा । अब जसरी उनी म हुँदाहुँदै निर्धक्क बनेर अर्की श्रीमती ल्याएर वेप्रबाह यो घरमा बसीरहेका छन् त्यसरी नै अर्को श्रीमान् ल्याएर उनी जसरी नै यही घरमा बस्ने मन छ मलाई । तिमीलाई जस्तै मलाई पनि एउटा अशल र व्यावहारिक पुरुषको आवश्यकता छ । तर यस्तो पुरुषको आवश्यकता छ जसले हरेक पटक एउटी नारीको कुमारीत्व भङ्ग गरेर आफू पुरुष भएकोमा गर्वमात्र नगरोस् ।

    दमन्ताले निर्माणलाई आफ्ना यथार्थ सुनाइसकेर लामो सास तानी । निर्माण केही भन्न खोज्दै थियो । कसैले ढोका ढक्ढक्यायो । दमन्ताले ढोका खोली । उसको श्रीमान रहेछ । उसले निर्माणलाई हेरेर सोध्यो
    “को हो त्यो ?”
    “निर्माण” दमन्ताले सहजै उत्तर दिई ।
    “किन आएको यहाँ ?” श्रीमानले रिसाएर सोध्यो ।
    “मैले बोलाएकी थिएँ” दमन्ताले उस्तै सरल उत्तर दिई ।
    “किन बोलाएकी त ?” श्रीमान्ले खाउँला जस्तो गरेर अनुहारको छेउमै आएर करायो । दमन्ताले धेरै बेर एकोहोरो निर्माणलाई हेरी अनि एउटा लामो स्वास लिएर भनी
    “पैले कसैसँग बदला लिनु थियो र बोलाएकी थिएँ तर अब त उनलाई श्रीमान् बनाउने निर्णय गरिसकें ।”

    “के भनिस् रे ?” भन्दै श्रीमान्ले हात उजायो । दमन्ता निडर भएर त्यहीं उभिइरही । श्रीमानका हात च्याप्प समाएर भनी ।
    “तपाईले तपाईंबाट माया पाउने मेरो अधिकारबाट वञ्चित गर्नु भएको छ, माया बिना उजाएको हात, गरेका गाली कानुन बिपरित हुन्छन् ।”
    श्रीमानले हात मुठ्ठी पारेर तल झार्यो र रिसाउँदै भन्यो “दुई दुईवटा नानीका आमा यस्तै हुन्छन्, छोरा छोरीको माया नभएकी आर्इमार्इ ?

    दमन्ताको रीसको पारो तात्यो, कहिल्यै ठूलो आवाज पनि गर्न नसकेको श्रीमानलाई औंला ठड्याउँदै भनी “पहिलो कुरा मैले श्रीमान राख्दैमा मेरा नानीहरु विस्यार हुँदैनन्, मलाई मेरो जिम्मेबारी कर्तव्य र बिवेकको पूर्ण ज्ञान छ । अर्को कुरा ती नानीहरु त तपाईँका पनि थिए नि तपाईले दुई दुईबटा सन्तान हुँदाहुँदै किन बिहे गर्नु भयो, माया गर्ने श्रीमती हुँदाहुँदै किन बिहे गर्नु भयो ? तपाईं जस्तै हैन म पनि ? आफ्ना इच्छा चाहना चाहिं शिरका अरुका चैं पाउका ?”

    श्रीमान रीसले बौलाहाझैं भएर दमन्ताका पाखुरामा समाउँदै “यहाँबाट निस्कीहाल ! यो तमासा यहाँ हैन बाहिर गएर गर, जे जे गर्न मन लाग्छ उतै गएर गर !!”भन्दै ढोकाबाट बाहिर निकाल्न खोज्यो । दमन्ताले आफ्नो हात झडकारेर श्रीमानबाट अलग भएर रीसले चिच्याउँदै भनी“कहीं जान्न म ! यो घर मेरो पनि हो, यो घर बनाउन तपाईले जति दुःख गर्नु भएको छ त्यति नै दुःख मैले पनि गरेकी छु, त्यसैले यसमा जति तपाईँको अधिकार छ त्यति नै अधिकार मेरो पनि छ ! तपाईंले अर्की श्रीमती ल्याएर यही घरमा बस्ता हुन्छ भने मैले किन हुँदैन ?

    तपाईले अर्की श्रीमती ल्याउँदा चैं इज्जतको कुरा भयो मैले ल्याउँदा चैं तमासा ? म कतै जान्न !” ढोकामा आएका छोरा र छोरीलाई ल्याएर आफूसँग टाँस्छे, अनि निर्माणलाई पनि ल्याएर सँगै राखेर निर्माणलाई देखाउँदै भन्छे–“अबदेखि यी मेरा श्रीमान् हुन्, यिनैसँग यही घरमा बसेर यी छोरा छोरीहरुको लालन पालन गर्दै जीवन बिताउँछु !! बुझ्नु भो ! यहाँ बस्न मन छैन भने तपाईंले निस्कँदा हुन्छ नि ! मैले नै निस्कनु पर्छ भन्ने छ र ? श्रीमान् रीसले भाउन्न हुन्छ, तर केही बोल्न सक्दैन । अर्की श्रीमती टाँसिदै उसको छेउमा आउँछे । रिसले भाउन्न भएको श्रीमान्ले कान्छी श्रीमतीलाई ठेलेर भित्तामा पुर्याउँछ र खुट्टा बझार्दै त्यहाँबाट निस्कन्छ ।

    इति

     

    १०२२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad