BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    शिवरात्रीको डोरी, जनयुद्ध र धनयुद्ध

    नीलकण्ठ तिवारीफागुन १, २०७४

     

    महान जनयुद्धको वलमा राजनैतिक सन्तुलनमा भएको उथुलपुथुल संगै २०६२÷६३ को जनआन्दोलनलाई संयोजन गर्ने तहसम्म आइपुग्दा शक्तिकेन्द्रहरुको चलखेल निकै प्रभावी वन्यो । मोहन बैद्य र सीपी गजुरेलहरु पक्राउ पर्नु, बाबुरामलाई भारतको दलाल र प्रचण्डलाई राजाको दलालसम्म आरोप प्रत्यारोप हुनु जस्ता असामान्यस्थिति छिचोल्दै जनयूद्धलाई शान्तिपूर्ण अवतरण गराएपछि माओवादी नेताहरुमा धनयूद्धको प्रतिस्पर्धा पो हो की भन्ने अनुभुति भयो । जस्ले पैसा उठाउँछ र नेतालाई टक्रयाउँछ उसैको गनितो र मनितो पार्टीभित्र हुन थाल्यो ।

    आज घरबाट फुत्त के निस्केको थिए, डोरी टाँगेर पैसा उठाउँदै गरेका छिमेकका बच्चाबच्चीले पैसा नदिइ सुखै दिएनन् । मैले झट्ट २०४४ को शीवरात्रीलाई संझे जतिबेला म १७ वर्षको हुँदै थिए । १७ वर्षमा त मैले डोरी टाँगेर पैसा उठाउन उद्दत थिए भने आज बिहान मलाई छेक्नेहरु १५ नाघेका कोही देखिदैनथे । म डोरीमा सँगै उभिदा उभिदै आफैंले तुलना गरें, ए त्यो काम त मैले संगठनको पैसा उठानका लागि पो गरेको थिए । यि बच्चाहरुले त वाल क्लवलाई पनि होइन् र संगठनलाई पनि होइन । दिउँ की नदिउँ भन्दा भन्दै मेरो मनले भन्यो सांस्कृतिक पर्वको अवसरमा गरिएको यो आग्रहलाई धेरै थोरै जे भएपनि सम्बोधन गर्नै पर्छ । अन्तत मैले खल्तीमा रहेको खुद्रा खाराखुर गरेर ३० रुपियाँ दिएपछि डोरीले बाटो खुलायो ।
    ‘शिवरात्री, ऐतिहासिक र सांस्कृतिक हिसावले निकै महत्वको छ…’ म आफु बाटोमा गम्दै गए । कुन्नी किन हो, मलाई अप्रमाणित र विज्ञान सम्मत पृष्टि नभएको कुरामा धेरै गन्थन मनन गर्न मन लाग्दैन । तर, धर्मलाई अफिम भन्दै जनजीवनमा पद्दति बनिसकेको संस्कृति प्रति अपमान गर्न पनि कहिल्यै सकिनँ ।

    शीवरात्री पर्वसँग जोडिएका आफ्नै विगतलाई मैले संस्मरण गरें । शीवरात्री पर्वको शाब्दिक शुद्धता मलाई खासै थाहा थिएन । हामी केटाकेटी हुँदा ‘शीउरात्री हेर्न छाङछाङदी जाने’ भन्ने कुरा भने मेरो मानसपटलमा अझै याद छ । त्यहि मेलाको अवसर पारेर त्रिबेणी माथिको बगरमा ‘सुपो रिंगाउने खेल’ खेलाइन्थ्यो । आफ्नै उमेर समुहका धेरै संगी साथीहरु नजिकै जोडिएका स्टलमा रिङ खेलेर रमाइलो गर्थे भने १५ वर्षकै उमेरमा सुपो रिँगाउने खेल खेलाएर संगठनलाई पैसा जोरजाम गर्नुपर्छ भन्ने चिन्तनका कारण मेलाको मुख्य दुइदिन यहि काममा व्यस्त भइन्थ्यो । मेलाका बेला यस्तो गर्नुपर्छ भनेर मलाई उदयराज, दिनेश भुसाल र कृष्ण गौतम दाइले सिकाउनु भएको थियो । एसएलसी पास गरेपछि कृष्ण गौतम (साइलदाइ) पढ्न जानु भयो ।, शायद त्यसपछिको १ वर्ष आफैँले योजना बनाएर पनि ‘सांस्कृतिक अर्थ संकलन गरिएको रहेछ ।’

    मेरो मानसपटलमा २०४४ तिरको सम्झना पनि झलझली आउन थाल्यो । डोरीवाला बच्चाहरुलाई छोडेर पत्रिकाको अफिस आउन्जेल २०४४ ताकाको अस्कल र सरस्वती अगाडि डोरी टाँगेर पैसा झारेको तथा त्यहि क्रममा आफ्नो खुट्टा मर्केको सम्झना नमिठो बनेर आयो । तोयानाथ थपलिया र भानु शर्माहरुले अगुवाई गर्दै आएको अहिले (हालको क्रान्तिकारी) का लागि म जस्ता धेरै साथीहरु डोरी टाँगेर पैसा संकलन गर्ने काममा निकै सक्रिय हुने गथ्र्यौ त्यतिबेला ।

    जनयुद्धको राजनैतिक पूर्वाधारलाई नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र सँग जोडेपनि र चौथो महाधिबेशनलाई बैचारिक आधार भनिएपनि तत्कालिन मशाल नै जनयूद्धको राजनैतिक प्रस्थानविन्दु हो । त्यहि मोटो मशालको विद्यार्थी संगठनमा सक्रिय भएर नयाँ जनवादी क्रान्तिमा भाग लिँदै देश र जनताको मुक्ति तथा मानव सभ्यताको नयाँ आयाम स्थापना गर्ने सोँचमा म र म जस्ता धेरैको सहभागिता बृद्धि हुँदै गएको थियो । परिवार र संगतको प्रभाव पनि महत्वपूर्ण त छ नै त्यो भन्दा प्रधान कुरो मुक्तियात्राको सपना बनेको थियो । त्यसैले व्यक्तिका लागि होइन, संगठनका लागि सुपो रिंगाउने र डोरी टाङने काम गरिएकोमा मलाई कहिल्यै पनि आत्मग्लानी भएन ।

    ‘२०५२ फागुन १ गते नयाँ जनवादी क्रान्तिको विगुल फुक्नु अगाडि हामी संलग्न आन्दोलनलाई खासै कसैले पत्याउँदैनथ्यो । त्यसैले हरेक गतिविधिमा जसले ग¥यो उहि प¥यो जस्तो धेरै हुन्थ्यो । हुन त उतिबेलै पनि संगठनको नाउँमा मस्ति गर्ने एकाध प्रवृत्ति हुन्थ्यो । तर, त्यतिबेला नैतिकतालाई निर्मम ठानिन्थ्यो र रुपान्तरण नहुने मान्छे संगठनबाट पत्तासाफ पनि हुन्थे र कतिपयले नेतृत्वको चाकडी गर्दै मोजमस्तिको प्रणाली टिकाउन पनि सकिरहेको हुन्थे । जे भए पनि आम बुझाइ, मान्यता र व्यवहार सर्वहारा वर्गिय संस्कृति र आचरणमा हुन्थ्यो । जसका कारण संगठनले गतिशीलता पक्रिरहन सकेको थियो ।

    नैतिकता–आचरण र व्यवहार सकारात्मक होउन्जेल विस–पचास र सय सम्म सहयोग गरेर जनयूद्धको बैचारिक–राजनैतिक र सांगठिनक आधार बनाउन सक्रिय मध्ये बाँचेका अभियन्ताहरुलाई अहिले सपना जस्तो भएको छ । डोरी टांग्ने, संगठनको सम्पर्क समितिका धेरै छाप बनाएर देउसी भैलोबाट पैसा संकलन गर्ने, पसलहरुमा गएर सहयोग माग्ने, आफू नजिकका साना कर्मचारीबाट दसैं लगायतका भत्ताबाट विशेष सहयोग माग्ने काममा आ–आफ्ना मोर्चाबाट संलग्न रहनुभएका कतिपय साथिहरु अहिले पनि सक्रिय नै हुनुहुन्छ ।

    २०४६ अगाडि भन्दा पछिको खुकुलो र सम्पर्कका कारण पैसा हुने र दिने स्थिति बढ्दै गयो । जनयुद्ध शुरुवातीकै बेलामा पनि पैसा र हतियारको भकारी बनाएर शुरुवात भएको थिएन । मुक्ति या मृत्युको शपथमा उच्च मनोबल बनाएर नेपाली कम्युनिष्ट आन्दोलनको एक टुकुडीले जनयूद्धको विगुल बजाएको हो । २०५२ देखि २०५६ सम्म आइपुग्दा एकाध मनि एक्सन र सहयोगले पनि आर्थिक व्यवस्थापन सहज गर्न सकेको थिएन बरु २०५६ देखि २०५८ सम्म उर्लेको जनलहरले एउटा ऐतिहासिक उभार सृजना गरेको थियो । पार्टी र आन्दोलनभित्र बढेका व्यक्तिवाद, सैन्य अराजकतावाद, कतिपय ठाउँमा देखिएका यूद्ध सर्दारवादी चिन्तन र मानसिकतासँगै कब्जा गरिएको पैसा समेतमा आँखा लाग्ने र एकअर्कालाई सिध्याउन चाहाने सम्मका घटनाक्रमबाट आन्दोलन अछुतो रहेन ।

    महान जनयूद्धको वलमा राजनैतिक सन्तुलनमा भएको उथुलपुथुल संगै २०६२÷६३ को जनआन्दोलनलाई संयोजन गर्ने तहसम्म आइपुग्दा शक्तिकेन्द्रहरुको चलखेल निकै प्रभावी वन्यो । मोहन बैद्य र सीपी गजुरेलहरु पक्राउ पर्नु, बाबुरामलाई भारतको दलाल र प्रचण्डलाई राजाको दलालसम्म आरोप प्रत्यारोप हुनु जस्ता असामान्यस्थिति छिचोल्दै जनयूद्धलाई शान्तिपूर्ण अवतरण गराएपछि माओवादी नेताहरुमा धनयूद्धको प्रतिस्पर्धा पो हो की भन्ने अनुभुति भयो । जस्ले पैसा उठाउँछ र नेतालाई टक्रयाउँछ उसैको गनितो र मनितो पार्टीभित्र हुन थाल्यो ।

    विपीले गरेको सुकिलो मुकिलोको चिन्ता समेत माओवादी नेताहरुबाट खासै देखिएन । विधि–नीति र पद्दतीको आवाज उठेपनि त्यसलाई पूरै अपेक्षा गरियो । आचारसंहिता र अनुगमनका कुरा कथा मात्रै बने । आफू,आफ्ना र आफन्तहरुमा श्रोत साधन दिइन् थाल्यो । नभएकाहरुलाई श्रोत भएकाहरुसँगको प्रतिस्पर्धामा जाउ भनेर ऐलान गर्न सुरु गरियो । मंत्री, पावर र श्रोतमा सहि भागवण्डा नभएको मनोमालीन्य नयाँ राजनैतिक दस्तावेजका रुपमा फुटको तहसम्म पुगेर आफ्नै नेताको पुत्ला दहन भयो । श्रोत साधनकै नियतमा देवत्वकरण र राक्षसिकरण भयो । पैसा नभएकाहरु संसदीय चुनाव मात्र होइन पार्टीभित्र पनि टिक्न नसकिने डरलाग्दो स्थिति देखा पर्यो । २०६३–०६५ र २०७० मा पटक–पटक सत्ता स्वाद पाएकाहरुलाई नै नेता र पत्नीका नाउँमा २०७४ मा समेत कोटा बाडिएकै छ । घोेषित र अघोषित रुपमा ल्यहारक्यालहरुको ताण्डव बढाउँदै जाने स्थिति देखा पर्यो।

    व्यक्तिगत सम्पत्ति नै किन चाहियो र भन्दै एउटा निष्ठामा समर्पित भएकाहरुको कथा अहिले पीडाका बिच घस्रीरहेको छ । बाँच्दै रहे–देख्दै गरौंला भन्ने नेपाली उखानको कुरुपताले घीन र आक्रोश हदैसम्म उब्जाएको त छ तर परिस्थिति हेरेरै चल्नुपर्ने बाध्यताले बहश–दवाव र रुपान्तरणको पुरानै सुत्र समात्नु बाहेकको अर्को भरपर्दो विकल्प पनि तयार छैन । जनयुद्धको २३ औं दीवशका अवसरमा  क. प्रचण्डलाई रुपान्तरणीय व्यवहारसहित गंभीर बन्न, क. मोहन बैद्यलाई आवेग–आक्रोश र उत्तेजनामा नबगेर क्रान्तिकारी व्यवहारिकता देखाउन, क. विप्लवलाई आजको सापेक्षतामा क्रान्तिको बाँकी कार्यभार तय गर्न तथा नेकपा एमाले भीत्रको क्रातिकारीपंक्तिलाई व्यवस्था परिवर्तनको मुख्य आधार ठम्याउँदै बृहद एकताको पक्षमा उभिन हार्दिक अनुरोध गर्दछु ।

    ८७३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad