BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन २ गते
    Headlines :
    Ad

    बाध्यता, उमेर र गरिबी

    प्रतिभा पौडेल, इलाम, नेपालफागुन ५, २०७४

                                        कथाकार

    ‘आम्मै नानी ! कति धेरै दिनपछि पाल्नु भएछ ? नदेखेको धेरै भएको थियो ।’ मलाई देख्नेबित्तिकै हरिनाथ बाले प्रशन्न मुद्रामा भने । हो नि हरिनाथ बा, म त कामको सिलसिलामा शहर तिरै छु । घर नआएको पनि गोडा तिनेक महिना भैसकेछ । यसो आएको बेला हजुरलाई पनि भेटुँ भनेर आएकी भन्दै हरिनाथ बाको सिकुवामा गएर बसेँ । हरिनाथ बा गाँउका गन्यमान्य मान्छे, मैले जान्ने उमेर देखिनै उनलाई गाउँका सबैले मान्ने गरेको थाहा छ ।

    गाउँमा सानातिना घटना र मुद्दा मामिला पर्दा उनैलाई बोलाउने गर्थे सबैले । उनले पनि कुशलता पूर्वक ती झगडाहरु मिलाइदिन्थे । उनी प्राय गाँउ घुमीरहन्थे र कहाँ के हुँदैछ, कस्को ब्यवहार कस्तो छ, क कस्का छोरा वा छोरी कति र कस्ता छन् सबै थाहा हुन्थ्यो उनलाई । मीठो बोली वचन थियो उनको । हामी गाँउलेहरुका लागि देउतै थिए उनी । बाहिरका मान्छेसँग पनि उनको चिनजान र ओहोर दोहोर भैरहन्थ्यो । उनले गाँउका थुप्रै केटा वा केटीको विवाह गराउनमा पनि तालमेल मिलाइदिएका थिए । उनी केटा वा केटीको मुल्याङ्कन गर्न सिपालु थिए त्यसैले उनले अड्कल गरेर कुरा चलाएको ठाउँमा प्राय बिहे पनि निस्की नै हाल्थ्यो । त्यसो त उनी निकै धूर्त र चलाख पनि भएकाले निकै जग्गा जमिन पनि जोडेका थिए ।

    ‘हन कता सोच मग्न हुनुभएको नानी चिया समात्नुस् न ।’ भन्दा पो म त झसङ्ग भएँछु । हरिनाथ बाकी दुलहीले चिया लिएर आएको पनि पत्तै भएनछ मलाई । हैन हैन, हजुरले यो गाँउमा लगाएको गुणहरु सम्झदै थिँए के म । हजुरले कति परोपकारी कार्यहरु गर्नु भएको छ यो गाँउमा भनेर सोच्दै थिएँ, अनि सञ्चै हुनुहुन्छ आजभोलि ? भन्ने मेरो स्पस्टीकरण सहितको प्रश्नको जवाफमा हरिनाथ बाले अब आफू बूडो हुँदै गएको उमेर पनि ६० वर्ष पुरा भएको र काम गर्न सक्न छोडेको बताए । ‘गाँउलेका हिताँ थुप्रै काम गरियो नानी !  अब त सक्न पनि छोडेँ, जति गरे पनि कसैले गुन मान्ने होइनन् ।’ उनी भन्दै थिए ।

    हात खुट्टा सलक्क परेका, अग्लो जीउडाल, सुकिला दौरा सुरुवालमाथि अस्कोट चट्ट लगाएका, निधारमा सुर्के चन्दन, रातो वर्णको पोटिलो अनुहार, उनको जीउडाल हेरेर बूडो भएको अनुमान गर्न नसकिने ।अर्थात यसो भनुँ झलक्क हेर्दा उनी ६० वर्ष पुगेझैं नलाग्ने । आफूले काम गर्न नसकेर अचेल एउटा काम गर्ने मान्छे राख्न थालेको बताउँदै उनी भन्दै थिए, ‘एउटा काम गर्ने मान्छे राखेको नानी त्यो पनि भने जति चित्तबुझ्दो कामै गर्दैन । ती हेर्नु नि, बिहान उठेर घाँस काट्न गएको यतिबेला ८ बजेसम्म आएकै छैन । त्यतिमै बिहान बिताइदिन्छ खानाँकाल ! फेरि दिउँसो पनि कहाँ खुरु खुरु काम त गर्छ र, आफू गोठालै लाग्नु पर्छ, खाएको रोजसम्म उठाउँदैन । के गर्नु आफू भने सक्न छोडिहाल्यो ।’

    उनका कुराले मलाई कता कता समाजले देख्ने हरिनाथ बा र व्यवहारिक हरिनाथ बामा निकै अन्तर छ जस्तो लाग्यो । उता उनकी दुलहीलाई हेर्दा निकै पीडाहरु मनमा लुकाएर बाहिर मात्र हाँसेको अनुमान लगाएँ मैले । किनकि आफू पनि एक नारी भएको कारण अर्की नारीको पीडालाई म सजिलैसँग बुझ्न सक्थेँ । उनका अव्यक्त कुण्ठाहरु म देखिरहेकी थिएँ । उनको अनुहारले नै असन्तुष्टिका थुप्रै रङहरु पोखिरहेको थियो । यत्तिकैमा बडेमानको घाँसको भारी बोकेर ठस ठस कन्दै काम गर्ने मान्छे आयो र नजिकैको गोठमा डङ्ग्रङ भारी पछार्यो । खुइय गर्दै लामो सास फेरेर ऊ पनि त्यही भारीमाथि थुचुक्क बस्यो ।

    ‘ती हेरन यति जाबो घाँस लिएर बल्ल मात्रै आयो ।’ हरिनाथ बाले खुसुक्क यति भन्न भ्याइहाले । केही छिनमै ऊ उठेर आयो । होचो होचो शरीर, मैला कट्कटिएको र निकै ठाउँमा फाट्नलाई दुलैदुला परेको उस्को दौरा, थोत्रे छाताको कपडाबाट सिलाएको कालो मुजैमुजा परेको उस्को छोटो ठुटेशुरूवाल, अनि खुट्टामा आधा छिन्न लागेको उस्का चप्पल थिए । म हेर्दै थिँए अनुहार पनि, निकै चाउरी परेको बुढेसकालले छोएको प्रस्टै देखिने, हात र खुट्टाका कुर्कुच्चा चिरा चिरा भएर फुटेको देख्दा मलाई फन्के रोटी पकाएर अन्तिममा पकाउने बाबरको याद आयो, जस्को छिया छिया परेको छेउबाट तप्प तप्प तेल चुहुँदै हुन्छ, तर यहाँ उस्का फुटेका कुर्कुच्चाबाट भने घरिघरि रगत बग्दै थियो ।

    कठै ! मलाई भित्रैबाट नरमाईलो लागेर आयो । मैले उसको उमेर सोधेँ ‘पैसथी वर्ष’उस्ले तोते आवाजमा जवाफ दियो । मान्छे शायद उमेरले भन्दा पहिले सोचाइले बुडो हुदो रहेछ, ६० वर्ष पुगेका हरिनाथ बा काम गर्न सक्न छोडे र ६५ वर्षको मान्छेलाई काम गर्न राखे । मान्छेलाई गरिबीले पनि बुडो हुन दिँदो रहेनछ । ६५वर्षको हुँदा पनि सकिन भन्न पाएको छैन, उस्को अनुहारले नै पीडा असक्तता र बाध्यता झल्काइरहेको छ तथापि उस्ले काममा जोतिनै परेको छ, कस्तो बिडम्बना ! त्यसमाथि पनि गरेको कामको सहि मूल्याङ्कनसम्म पनि ऊ पाउँदैन । मलाई सार्है नरमाइलो लाग्यो । हरिनाथ बाकी दुलहीले हामी तीनै जनालाई सँगै खाना खान बोलाइन् । हरिनाथ बा उस्लाई त पछि दिए हुन्छ नि भन्ने आसयले बुहारीतिर हेर्दै थिए तर उनले कुनै वास्ता गरिनन् । हामी टेबुलमा खान बस्यौं, ऊ भुँईमै काठको सानु पिरा ओछ्याएर बस्यो । दुलहीले खाना पस्किन् । उस्ले खोर्सानी माग्दै भन्यो, ‘के गर्नु मलाई त पिरो बिना खानै रुच्दैन ?’

    यसो भन्दा शायद ऊ मतिर याचनाका आँखाले हेर्दै थियो । दुलहीले खोर्सानी दिइन्, हरिनाथ बाले कर्के आँखाले बुहारीलाई हेरे। म भने यी अव्यक्त रहस्यहरु मनोवैज्ञानिक रुपमा पढ्दै थिएँ । फेरि एकै छिनमा दुलहीले उस्लाई खाना थप्दा हरिनाथ बाले खानको भाँडातिर हेरे निकै कालो अनुहार लागाए र अन्तै आँखा घुमाए । दुलहीले उस्लाई दाल पनि थपिदिईन् । यस पटक भने हरिनाथ बाको अनुहार निकै बिग्रेको थियो, शायद उनलाई खपिनसक्नु भयो क्यारे । बुहारीतिर हेर्दै दाँत किटेर बिस्तारै भने, ‘जति दिए पनि खाइरहन्छ यस्ले त……!’

    मलाई यो सुनेर भित्र कता कता मुटुमा घोचेझैं भयो । मैले त्यो मानिसमा आफ्नु बाबाको रुप देखेँ । बाबा समान नै त छ नि ऊ पनि ? मात्र ऊ गरिब छ । मैले मनमनै सोचेँ । मलाई भने त्यो कटु वाक्य उस्ले नसुनिदिएको भए पनि हुन्थ्योझैं लाग्यो । शायद सरमले वा पीडाले उस्ले सुनेर पनि नसुनेझैं गर्यो । दुलहीले मतिर पुलुक्क हेरिन् । म भित्र भित्रै कुँडिएँ, कठै ! गरिबीले मान्छेलाई कतिसम्म सहन बाध्य बनाउँछ ।

     

    इति

    ११३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad