BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    लघु कथा : अन्तिम निर्णय

    मन्दिरा मधुश्री, काठमाण्डौ फागुन १२, २०७४

     

    साँझ ढल्केपछि उस्तै गरी लोग्ने आयो । अनि उही दैनिकी शुरु भयो । छोराछोरीको रुवाइको आवाज उसैगरी चर्कियो । लोग्नेले लर्खरिएको बोलिमा भन्यो, ‘म तेरो लोग्ने सङै हुँदाहुँदै दिउँसो फिलिम हलमा कसलाई हेर्दै मस्किँदै थिइस् है नकच्चरी …? स्वास्निले पनि धारे हात पारेर रुँदै सराप्दै सँधैझैँ अन्तिम निर्णय सुनाइ, ‘पख न तँ जस्तो पापी भँडुवालाईँ भोलि नै छोडेर हिँडिन भने त …!’

    बल्ल तल्ल पैसाको बन्दोबस्त गरेर स्वास्नीले बेलुकीलाई सामान किनी । भोलिका लागि कसरी जोहो गर्नेहोला पैसा सोच्दै आइपुगी घरमा । ऊ नभएको बेला लोग्ने आइसकेको थियो । ‘यतिबेला कुनचाहिँ नाठोसँग लहस्सिएर आइस है नकच्चरी !’ रक्सिले मातेको लोग्नेले लड्खडाउँदै वाणी वर्षा ग¥यो । ‘तिमीले पो कुकुरको मुत घिचेर आयौ त । हामिलेचाहिँ खानु पर्दैन कि के हो ?’ स्वास्नीले लोग्नेतिर आँखा तर्दै आक्रोश पोखी । ‘के भनिस अरे ?’ कपाल जगल्ट्यायो लोग्नेले स्वास्नीको । डाङ्डाङ डुङडुङको आवाज आयो । छोराछोरी काँ काँ कि कि गर्न थाले । एकछिन पछि कोठा बाहिर निस्के आमा र छोराछोरीहरू । रुँदै सराप्न थाली स्वास्नीले लोग्नेलाई । लोग्ने पनि लर्खराउँदै बाहिरै आयो र झम्ट्यो स्वास्नीलाई । रक्सिले मातेको भएपनि पुरुष बलको अगाडि निरीह भई स्वास्नी ।
    लोग्नेचाहीँले हात, बात र लात बराबरी प्रयोग गरेकोले रक्ताम्य भए नाक र मुख । पुर्लुक्कै ढली स्वास्नीचाहिँ । एकैपोको परेर आमाबाबुको क्रियाकलाप टुलुटुलु हेरेर रोइरहेका छोराछोरीको रुवाइको गति झन बढ्यो आमा ढलेपछि । लोग्नेले झम्टेर छोराछोरीलाई पनि एक एक थप्पड लगायो । भुइँमा लडेकी स्वास्नीलाई पनि एक लात बजार्दै भन्यो, ‘साला बेइमान ! तेरा यी हरामका औलाद लिएर अहिले नै गेट आउट भैहाल त । नत्र म सबैलाई सिध्याइदिन्छु ।’ अङ्ग्रेजी हिन्दी नेपाली सबै भाषामा गाली गर्दै भित्र पसेर सुत्यो । यस्तो जँड्याहा र भँडुवा बज्यालाई पख् न … । म भोलि नै छोडेर नगए त …! एक्लो ज्यान त के जहाँ गएर र जसरी पनि पाल्छु के …। बुझ्ने भैसकेका छोराछोरीले मुखामुख गरे र आमामाथी नै घोप्टिएर एकैपोको परेर रुन थाले । कतिबेला उनिहरु उठेर भित्र गए थाहा भएन ।

    भोलिपल्ट बिहान भात खान धेरै बेर कुरी स्वास्नीले । बिहान ढल्केपछि हातमा एउटा सानो प्लाष्टिकको झोला लिएर आयो लोग्ने । दुईचारवटा जिलेबी र चुरा, टीका, लिपिस्टिक, क्रीम, पाउडर फिँजिए । केही बेर पछि स्वास्नीले बेलुकी लोग्नेको मुड्किले किचिएको ओठमा लिपिस्टिक पोती । निलडाम भएको ठाउँमा क्रिम पाउडर घसी । चिटिक्क परेर दुबै मस्कँदै फिल्म हेर्न गए । बेलुकी स्वास्नी अलिक छिटो आई । खाना कुरेर बसी । साँझ ढल्केपछि उस्तै गरी लोग्ने आयो । अनि उही दैनिकी शुरु भयो । छोराछोरीको रुवाइको आवाज उसैगरी चर्कियो । लोग्नेले लर्खरिएको बोलिमा भन्यो, ‘म तेरो लोग्ने सङै हुँदाहुँदै दिउँसो फिलिम हलमा कसलाई हेर्दै मस्किँदै थिइस् है नकच्चरी …? स्वास्निले पनि धारे हात पारेर रुँदै सराप्दै सँधैझैँ अन्तिम निर्णय सुनाइ, ‘पख न तँ जस्तो पापी भँडुवालाईँ भोलि नै छोडेर हिँडिन भने त …!’

    ११८६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad