BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    छोराको बिहे (भिडियो वाचन सहित)

    नवराज शिवाकोटी, दोलखा नेपालचैत्र १०, २०७४

    नवराज शिवाकोटी

    शिवजीत क्षेत्री उमेरमा मभन्दा १५ वर्ष जेठा भए पनि मेरा निक्कै नजिकका मित्र हुन् । बेलायती सेनामा काम गरी रिटायर्ड भएका शिवजीत र मेरो परिवारको सम्बन्ध निक्कै राम्रो छ । एकै घरमा नबसे पनि हामी एकै परिवारका जस्ता भएर बसेका छौं । उनकी श्रीमती प्रमिला र मेरी श्रीमती निसा पनि सहोदर दिदी–बहिनी नभए पनि सहोदर जस्तै छन् । एक दुई दिन मात्रै पनि भेट नहुँदा हामी दुबै परिवारलाई न्यास्रो लाग्न थालिहाल्छ । निसाको त फुर्सदको क्षण विताउने ठाउँ नै शिवजीतको घर हो ।

    ६५ वर्ष पार गरिसक्दा पनि शिवजीत स्वास्थ्य छन् । बोलाई पनि बडो मिजाशिलो खालका भएका शिवजीतकी अहिलेकी श्रीमती प्रमिला कान्छी हुन् । प्रमिला भन्दा अगाडिका दुई श्रीमती पोइला गएका रे । सन्तानकै लागि उनले तेस्री श्रीमतीको रुपमा प्रमिलालाई भित्र्याएका हुन रे !

    मेरो र शिवजीतको भेट पनि संयोगले नै भएको थियो, डेरा खोज्ने क्रममा । कलेजमा पढाउन थालेपछि आफू बसेको कोठा ठीक नलागेकोले म अलिक राम्रै घरमा डेरा खोज्दै हिँड्दा संयोगले उनको घरमा डेरा बस्न पुगेको थिएँ । त्यही संयोगले मेरो जीवनमा अनौठो मोड ल्याइदियो । मैले शिवजीतको घरमा मलाई यत्ति माया गर्ने शिवजीत जस्तो मित्र पाएँ र आफूबाहेक अरुलाई भन्न समेत नमिल्ने अव्यक्त पिडा समेत पाएँ ।

    सबैसँग घुलमिल हुन रुचाउने शिवजीतको घरमा डेरामा बस्न थालेको केही समयमा नै उनीसँग अत्यन्त राम्रो सम्बन्ध कायम भयो । शिवजीत मलाई कहिले भाई, त कहिले मास्टर बाबु भनेर सम्बोधन गर्न लागे । हामीबीच छिट्टै घरवेटी र डेरावालको सम्बन्ध पारिवारिक सम्बन्धमा परिवर्तन भयो । रक्सी पिउने बानीबाहेक उनका अरु कुनै अवगुण थिएनन् । यो बानी मैले उनकै संगतबाट आर्जिएँ । प्रमिला पनि निक्कै फराँसिली खालकी थिइन् । गुरुङ भएकीले पिउने काममा उनलाई राम्रै साथ दिन्थिन् ।

    वर्षको एक–दुई पटक छुट्टि मिलाएर शिवजीत नेपाल आउँथे र विदा सकिनासाथ फर्कि हाल्दथे । घर आउँदा परिवारका सदस्य जस्तै मलाई पनि विभिन्न खालका उपहार ल्याइदिने गर्दथे । मलाई उपहारप्रति कुनै रुचि थिएन । यो थाहा पाएर पनि उनि आँउदैपिच्छे उपहार ल्याईदिन्थे । उनको अनुपस्थितिमा प्रमिला भाउजू र म एकै परिवारका देवर भाउजू जस्तै मिलेर एक अर्कालाई सहयोग गरेर बसेका थियौं ।

    शिवजीत प्रमिला भाउजुदेखि निक्कै खुसी र आशावादी थिए । अघिल्ला श्रीमतीहरु पोइल गएकोले उनी प्रमिलालाई असाध्यै माया गर्दथे । उनका हरेक इच्छा पूरा गर्न पछि पर्दैनथे । छुट्टि सकिएर फर्कने बेला उनि भन्थे “ ल है माष्टर बाबु, भाउजूको ख्याल गर्नु । तपाईंलाई सहोदर भाई ठानेको छु । तपाईं यो घरमा भएकोले म ढुक्क छु ।”

    म पनि शिवजीतलाई आफ्नो दाई जस्तै मान्न थालिसकेको थिएँ । प्रमिलालाई दुःख विमार पर्दा सक्दो सहयोग गरिनै रहन्थें । तर विस्तारै उनको अनुहारमा विषादका रेखाहरु देखिन थाले । उनको अनुहार जहिले पनि चिन्तित जस्तो देखिन थाल्यो । मलाई शंका लाग्न लाग्यो, कतै उनलाई ठूलै रोग त लागेन ? तर सबै कुरा बताउने प्रमिला आज भोलि किन मसँग त्यत्ति राम्रोसँग कुरा गर्दिनन् ? यस्तैमा दुई चार दिन विते तर उनको अवस्था अझै नराम्रो भए जस्तो लाग्यो । एकदिन उनको कोठामा नै गएर भनें “ भाउजू तपाईंलाई आज भोलि के भएको छ ? सञ्चो भएन कि ? जाउँ डाक्टरकहाँ ?”

    “हैन मलाई केही पनि भएको छैन । ” उनले बेवास्तासँग जवाफ दिइन् ।

    “किन ढाट्नु हुन्छ भाउजू ? तपाईंको अनुहारले नै भनिरहेको छ कि तपाईलाई सञ्चो छैन ?” मैले गम्भिर भएर भनें ।

    “बाबु त माष्टर मान्छे ! अनुहार हेरेरै कस्लाई के भएको छ  थाहा पाउनु हुन्छ होला नि ? मलाई के सोधेको त ? ” उनको ब्यंग्यात्मक जवाफपछि “ लौ त्यसो भए ठिकै छ ” भन्दै म आफ्नो कोठातर्फ लागें ।

    दिनहरु वित्दै जान थाले । उनको ब्यवहार झनै रुखो हुनथाल्यो । शिवजीत दाई मलाई बेलाबेला फोन गर्ने गर्थे । भाउजुको व्यवहारमा परिवर्तन आउन लागेपछि उनी दिक्क मान्दै भन्थे,

    “उनलाई अचेल के भएको छ माष्टर बाबु ? फोनमा जहिले पनि झर्किएर बोल्छिन । जसरी भए पनि राम्रो डाक्टरकोमा लगेर जचाई दिनुस् न ?”

    शिवजीतको फोन आउनेक्रम बाक्लिन लागेको थियो । फोनमा हुने कुराहरु एउटै हुन्थे । प्रमिलाको स्वास्थ्य, व्यबहार, उपचार आदि । उनको आग्रह अनुसार नै प्रमिलालाई डाक्टरकोमा जान कर गरिरहन्थें । उनी डाक्टरको नाम सुन्न पनि चाहन्नथिन् । उनको ब्यबहार हेर्दैजाँदा उनको रोग शारीरिक होइन भन्नें कुरामा मलाई विश्वास लाग्न थाल्यो । आफ्नै परिवारको सदस्य जस्तो मान्नें, मनका सबैकुरा खुलस्त बताउने प्रमिलाको व्यवहारमा दिनदिनै आइरहेको चिड्चिडाहट देख्दा मलाई डर लाग्न लाग्यो । उनी के समस्यामा छिन्, बेलैमा समाधान गर्न सकिएन भने यसले नकारात्मक रुप लिन पनि सक्छ । उनको समस्या के हो सकेसम्म छिटो पत्ता लगाउनु नै मैले बुद्धिमानि ठानें ।

    कुरै कुरामा एक दिन प्रमिलालाई भाउजू दाई आउने कहिले हो नि ? भनेर प्रश्न मात्र के गरेको थिएँ उनको अनुहार को रङ्गमा तत्कालै परिवर्तन आयो ।

    “मलाई के सोध्नु हुन्छ ? तपाईलाई पनि  त दाई बेलाबेला फोन गरिरहनु हुन्छ नि ? सोध्नुस न उहाँलाई नै ?” रुखो स्वरमा उनले भनिन् ।

    उनको व्यबहार दिन प्रतिदिन अझै रुखो हुँदै जान थाल्यो । एक मन त लाग्थ्यो आखिर यो घरसँग मेरो नाता नै के छ र ? डेरा त जहाँ पनि पाइहालिन्छ नि ! अन्यत्रै किन डेरा नसरौं ? फेरि लाग्दथ्यो प्रमिलालाई यो अवस्थामा छोडेर डेरा सर्दा शिवजीत दाइले के भन्लान् ? यसैले छोडिहाल्न पनि सकिन । विस्तारै विस्तारै मैले पनि उनलाई त्यत्ति वास्ताखोजी गर्न छाडिदिएँ । डेरामा बस्नें अरुसँग भने उनको ठाकठुक परि नै रहन्थ्यो । मसँग भने आजभोलि उनी आवश्यक पर्दा मात्र बोल्थिन । म पनि त्यसै गर्थें ।

    एक दिन बिहानै म कलेज जान कोठाबाट निस्कदा उनी बाहिर व्यायाम गरिरहेकी थिइन् । म उनलाई देखेको नदेख्यै गरी गेटबाट निस्कनै लागेको थिएँ । उनले सोधिहालिन,

    “ए माष्टर बाबु आज यति बिहानै कता नि ?”

    अब मैले नबोली सुखै पाइन ।

    “आज कलेजमा मिटिङ छ । त्यसैले….” मैले छोटो जवाफ दिएँ । उनलाई हेरें । फुङ्ग उडेको, उत्साहहीन अनुहार, सुनिएका आँखा, फूलेको मुख । उनी एकटकले मलाई हेरिरहेकी छन् । मैले फेरि सोधें,

    “रातभरि निदाउनु भएन कि क्या हो भाउजू ? आँखा त निक्कै सुन्निएका छन् नि ?”

    “कि अलि बढी नै पिउनु भयो ?” मेरा प्रश्नले उनको अनुहारमा तत्कालै परिवर्तन देखियो । गाला केही राता भए अनि आँखा केही कठोर । उनी उही रुखो शैलिमा भन्न थालिन्,

    “हो, आज रातभरी निदाइन अनि पिउन पनि शरीरले थाम्नसक्ने जति पिएँ । नपिएर के गरौं त ! मेरो एकान्तपन यसैले मेटाइदिन्छ । मनका पिडाहरु केही क्षणकालागि भएपनि यसैले भुलाइदिन्छ । मेरो एक्लोपन हटाउनकै लागि त होला नि श्रीमानले यति धेरै खालका रक्सी मेरा लागि ल्याइदिन्छ । नखाएर के गरौं त ?”

    उनी थरथर काँप्न लागिन् ।

    “ल ठिकै छ भाउजू, अहिले मलाई अली हतार छ । भरे कलेजबाट आए पछि फुर्सदमा कुरा गरौंला नि । म लागें है !”

    म गेट तर्फ बढें ।

    “यो घरमा मात्र नभर्इ संसारमा नै फुर्सद हुने त म मात्रै छु नि, हगी माष्टर बाबु ?”

    उनी खित्का छोडेर हाँस्न थालिन । अाँखिर प्रमिलालाई आजभोलि के भइरहेछ ? म छक्क पर्दै कलेजतर्फ लागें ।

    बेलुका कलेजबाट पाँच बजेतिरै फर्कें । कोठाको ताला खोल्न खोज्दा झसङ्ग भएँ । ढोका त ढप्काएको मात्रै छ । लौ खा ! चोरले सबै सिध्याएछ क्यारे ! हत्तपत्त ढोका घचेटें । ढोका त खुल्दैन । गजब छ बा ! चोर त कोठा भित्रै पो छ कि क्या हो ? म छक्क पर्दै ढोका ढक्ढक्याउन लागें । करीव पाँच मिनेट पछि ढोका खुल्यो । हेर्छु त ढोकामा आँखा मिच्दै गरेकी प्रमिला ! म हेरेको हेर्यै भएँ । मलाई लाग्यो अब चाहिँ  उनि पक्कै बहुलाउन लागिछन् ।

    “भाउजू के गर्नु भएको ?”

    उनी हाँस्दै भन्न थालिन्,

    “के गर्नु माष्टर बाबु तपाईलाई आफ्नो कोठा सफा गर्न पनि कहिल्यै फुर्सद हुँदैन । यसो कोठा सफा गरिदिएकी नि । मैले पनि त तपाईंको हेर विचार त गर्नै पर्यो नि ! तपाईंले मेरो यस्तरी हेरविचार गरे पछि…………………………….।”

    “ किन दुःख गर्नु पर्यो र भाउजूले ? म आफैं गरि हाल्थें नि । ”

    “यो त भएन नि । यत्रो उमेर भइसक्यो बिहे कहिले गर्ने अब त गर्नु पर्छ है बाबु, यसरी त कति दिन चल्छ ? ”

    “गरौंला नि के बितेको छ र ? शिवजीत दाई ले पनि त ढिलै बिहे गर्नु भएको हो नि । तपाईं जस्ती असल श्रीमती पाउनु भएकै छ । मैंले पनि कसो एउटी  नपाउँला त ?” मैंले हाँस्दै भनें । मेरो जवाफले धेरै दिन पछि उज्यालो देखिएको उनको अनुहारमा अचानक विषादका रेखाहरु देखिए ।

    “ हुन त हो नि हगी बाबु, बुढै भएपनि लोग्नें मानिसलाई तरुनी पाउन के गाह्रो हुन्छ र ? ” उनी अँध्यारो मुख लगाउँदै बाहिर निस्किइन् ।

    एकैक्षणमा फेरि केही सम्झिएझैं गरी फर्किइन् ।

    “माष्टर बाबु आज मेरो स्पेशल दिन हो नि ।” उनले भनिन् ।

    “किन, आज के हो र भाउजू ? ”

    “सबै कुरा अनुहार हेरेर नै थाहा पाउने मानिसले पनि यस्तो सोध्न मिल्छ र ? तपाईँलाई त यो कुरा थाहा हुनु पर्ने होइन र ? ” उनले फेरि ब्यंग्य गरिन् ।

    मलाई अनौठो लाग्यो । किन उनी मलाई बारम्बार यही प्रश्न राख्दैछिन् ?

    मैले बुझ्न सकिन ।

    “ठट्टा नगर्नुस न भाउजू । के हो भनीहाल्नुस न ?” मैले सोधें ।

    “अहिले त भन्दिन । भरे भनौंला । अँ आज खाना बनाउने कष्ट नगर्नु होला नि । आज मेरो मै खाना खानेंं फेरि हुन्न चाहिँ नभन्नु होला है । ”

    “लौ भाउजूले भनेपछि कसरी हुन्न भन्नु ? अँ बरु अरु चाहिँ को को आउँछन् नि ? ”

    “आउँछन् नि, दुई चारजना साथीहरु ।” यति भनेर उनी सरासर आफ्नो कोठातिर लागिन् ।

    म आफ्नो कोेठा हेर्न लागें । सिनिक्क बढारिएको छ । छरपस्ट किताब तथा लुगाफाटो मिलाइएको छ । बिछौना पनि मिलाइएको छ । हैन ! आज प्रमिलालाई के भएको छ ? बिहानसम्म त खाली रिसाएर मात्र बोल्थिन्, अहिले किन यस्ती भएकी छन् ? कारण के हुनसक्छ ? मैंले सोच्नै सकिन ।

    साँझ परेपछि उनी माथीबाटै चिच्याइन,

    “माष्टर बाबु ! आउने बेला भएन ? किन ढिला गर्नु भएको ?”

    “ हवस् म आइहालें ।”

    म उनको फ्ल्याट तर्फ लागें । उनी बैठककोठाको ढोकैमा सजिएर बसेकी थिइन् । ल बाबु यता आउनुस भन्दै उनले मलाई बैठक कोठाभित्र लिएर गइन् । कोठा भव्यरुपमा सजाइएको थियो । त्यही भव्य कोठाको विचमा एउटामा टेबलमा बर्थडे केकको वरीपरी मैनबत्तिहरु बाल्न ठिक्क पारेर राखिएको थियोे । अर्को टेबलमा खानाका विभिन्न परिकार सजाइएको थियो । मैंले छक्क पर्दै सोधें,

    “भाउजू आज तपाईंको बर्थ डे हो कि क्या हो ? बिहानै भन्न पर्दैन ? म आफ्नी भाउजूका लागि केही उपहार त ल्याउन पाउनें थिएँ ।” उनले आफ्ना गुलावी गालामा अझ रङ्ग भर्दै भनिन्–

    “माष्टरबाबु ! तपाईं नै यहाँ भएपछि मलाई अरु के उपहार चाहियो र ? तपाईं आउनु भयो, यही नै ठूलो कुरा भयो । दाईले पनि अघि नै फोन गरेर बधाईं दिइसक्नु भयो । अब एक डेढ महिनापछि आउनु हुन्छ रे । ”

    दाईको कुरा गर्दा भने उनी अलि निराश जस्तो देखिन्थिन् ।

    “अरुलाई पनि बोलाएको छ भन्नु हुन्थ्यो नि, खै अरु त कोही पनि देख्दीन त ?”

    मेरो प्रश्नले उनी पूनः उदास बन्दै भन्न थालिन्,

    “बाबु मेरो मनले आफ्नो ठानेको नै तपाईँ हो । त्यसैले मैले तपाईँलाई मात्रै बोलाएकी । अघि त तपाइँले अन्यथा मान्नु हुन्छ कि भनेर ढाँटेको मात्र हो ।” उनका आँखाबाट आँसु खस्न खोजे । मलाई पनि नरमाइलो लाग्यो ।

    “ भाउजू मेरो आसय तपाईँको चित्त दुखाउनु थिएन । म पनि त तपाइँलाई आफ्नै मानिस ठान्छु नि ।”

    उनले आँखाबाट बग्नै लागेका आँसुलाई भुईंमा खस्न नदिई रुमालले पुछिन् ।

    त्यसपछि हामी दुबै बैठक कोठामा पस्यौं । मैनबत्ति बालियो, केक काटियो । मैले उनको पच्चिसौं जन्मदिनको शुभकामना दिएँ । हामी खाना खान लाग्यौं । उनले आफ्नो जन्मदिनको उपलक्ष्यमा केही पिउन आग्रह गरिन् । मैले पनि अस्विकार गर्न सकिन । हामी दुबै पिउन लाग्यौं । विस्तारै उनी नशामा चुर हुँदै जान थालिन् ।

    भनिन्छ मानिसहरु सामान्य अवस्थामा आफ्ना मनका कुराहरु खुलेर भन्न सक्दैनन् तर नशामा लठ्ठिए पछि सबै सत्य कुराहरु खोल्दछन् । यहाँ पनि यही कुरा लागु भयो । प्रमिला आफ्ना निराशाका कारणहरु सबै मेरा सामु खोल्न थालिन् । सम्पत्तिको लोभमा प्रमिलाका आमा बाबुले आफ्नी बीस बर्षे छोरी प्रमिलालाई चालिस वर्षे शिवजीत क्षेत्रीलाई दिएका रहेछन् । आफू सरहको नौजवानसँग बिहे गरी हरक्षण उसँगै विताउन चाहने प्रमिला आफ्ना पतिबाट सन्तुष्ट रहिनछन् भन्नें कुरा त्यस दिनमात्र मलाई थाहा भयो । एक त उमेर नमिल्दो पति, त्यसमाथि पनि  प्रायः विदेशमा रहने । एउटी नौजवान युवतिलाई यस्तो स्थितिमा अप्ठ्यारो हुनु र निराशा छाउनुु स्वाभाविक नै हो जस्तो लाग्यो । स्त्री जातिलाई उमेर बढ्दै जानलागे पछि मातृत्वको भोकले पनि त्यत्तिकै समात्छ । बिहे भएको चार पाँच  वर्ष वितिसक्दा पनि उनका सन्तान नहुनु उनको निरासाको अर्को कारण थियो । कुराकानीकै क्रममा शिवजीतमा सन्तान जन्माउने क्षमता नभएकै कारण उनका पहिलेका दुई श्रीमती पोइल गएको कुरा उनले बताईन । पोइला गएको ठाउँमा त उनीहरुका छोरा छोरी जन्मिएका छन् रे !

    म सोच्न लागें मानिसको जीवन बाहिरबाट हेर्दा जस्तो देखिन्छ भित्र त्यस्तो नहुने रहेछ । बाहिरबाट हेर्दा प्रमिलासँग के छैन तर सबैथोक भएर पनि उनी कति रित्ति छन् । मलाई उनको अवस्थाप्रति ज्यादै सहानुभूति जाग्यो तर म के भनौं ? मसँग भन्नें शब्द नै रहेन ।

    “बाबु मेरो धन दौलत देख्दा सबै रानी जस्तै भन्दछन् तर म भित्र भित्रै खरानी भइसकेको छु । मेरो कुरा कस्ले बुझि दिने ?” उनी सुक्क सुक्क रुन थालिन म उनलाई सम्झाउन थालें ।

    यसैगरी हामी धेरैबेर कुरा गरेर बस्यौं कति पियौं थाहै भएन । म नशामा यति चुर भइसकेछु कि कोठामा पुग्न समेत नसक्नें अवस्थामा पुगी सकेछु । उनकै साहाराले त्यही बैठक कोठामा रहेको खाटसम्म गएँं । त्यसपछि उनले पनि होस गुमाइन । मैले पनि होस गुमाएँ । जब म होसमा आएँ प्रमिला र म एक अर्काको बाहुपासमा बलियो गरी बाँधिइरहेका थियौं ।

    म झसङ्ग भएँ, हत्तपत्त उनको बाहुपासबाट आफूलाई मुक्त गरेर आफ्नो कोठा तर्फ लागें । मनमा उथलपुथल भइरह्यो । अञ्जानमै नशाको सुरमा मबाट अक्षम्य अपराध हुन पुग्यो । हे भगवान ! मलाई बचाउ । म भगवानसँग पुकारा गर्न लागें । के दशा लागेर प्रमिलाको निम्तो मान्न गएँछु । हरे ! शिवजीत दाईको विश्वासमा कत्रो तुषारापात भयो ? अब कसरी मैले मुख देखाउने ? मेरो मनले आफूलाई नै धिक्कार्न लाग्यो ।

    एकै छिन पछि कसैले मेरो ढोका ढक्ढक्यायो । म झस्कीएँ । अपराधी जस्तै डराई डराई ढोका खोलें । प्रमिला रहिछन् ! उनलाई देख्नासाथ तिब्र घृणा जागेर आयो । तर उनी आज निक्कै प्रफुल्लित देखिन्थिन् । उनको अनुहारमा चिन्ताको लेस मात्र पनि थिएन । मलाई भने आत्मग्लानि भइरहेको थियो ।

    “माष्टर बाबु किन आत्तिनु भएको ? म त आँत्तिएको छैन । सम्पत्ति, शरीर, माया–प्रेम, अलग कुरा हुन् । हुन त तपाइँ माष्टर जस्तो मान्छेलाई मैंले यस्तो कुरा के बताइरहनु तर पनि सबै मानिसका आफ्नै खालका विचारहरु हुन्छन् । त्यसैले मैले आफ्नो विचार मात्र तपाइँलाई बताएकी हुँ । म मेरो श्रीमानलाई सुरुमा माया गर्दैनथें तर विस्तारै माया गर्न लागें तर बेलायतमा बस्नें श्रीमानको नाम जप्दैमा मेरो मातृत्वको भोक त मेटिँदैन नि ! तपाईँ त धेरै पढेको मान्छे । अनुहारले नै सबैकुरा बताउँछ भन्ने मान्छे । यति कुरा पनि बुझ्नु हुन्न ?”

    उनी हाँस्दै गइन् । म अकमक्क परें तर मलाई आफूबाट अपराध भएको छ भन्नें कुराले पोलिरह्यो ।

    कोठाको ढोका बन्द गरें । चुपचाप ओछ्यानमा पल्टिएँ । मेरो मनमा पूनः विभिन्न कुरा खेल्न लागे । एक मनले भन्दथ्यो कस्ती नकचरी आइमाई श्रीमान घरमा नभएको बेलामा परपुरुषसँग यस्तो गर्ने । चरित्रहीन, पथभ्रष्ट, पतित ………। यस्ताको त मुख पनि के हेर्नु । फेरि उनले भनेको सम्झँदा यथार्थतामा आउन बाध्य हुन्थें । वास्तवमा श्रीमानको नाम मात्र जपेर बस्दैमा उनको शारीरिक अनि मातृत्वको भोक त पूरा हुन सक्दैन नि ? यो कोणबाट हेर्दा उनी पनि गलत नै छन् पनि भनिहाल्न गाह्रो थियो । श्रीमानलार्इ सन्तान चाहिएको छ तर जन्माउन सक्षम छैनन् । अर्कोतिर आफूलाई पनि शारीरिक अनि मातृत्वको भोकले सताएको छ भने यस्तोमा उनलाई दोषी ठहर्याइहाल्नु अन्याय नहोला र ? एउटी विवाहित नारीलाई मातृत्वको भोक जति कडा भोक अरु के हुन सक्छ र ? पतिबाट यो भोक पूरा नहुने भएपछि नारीले बैकल्पिक बाटोबाट गन्तब्यमा पुग्न खोज्नुलाई अपराध भन्न मिलिहाल्ला र ? मेरा मनमा यस्ता प्रश्नहरु पनि मडारिन थाले । अब उनी पनि दोषि हुन वा होइनन् म यसै भन्न नसक्नें भएँ । अनि म आफू नि ? जे भए पनि यो घटनामा मलाई आफूले भने अपराध गरे जस्तो लागि नै रह्यो ।

    यस पछिका दिनहरुमा मैंले प्रमिलालाई वास्ता गर्न छाडिदिएँ । आवश्यक परेमात्र बोल्दथें नत्र बोल्न पनि मन लाग्दैनथ्यो । उनी पनि आवश्यक पर्दा मात्र बोल्दथिन् तर अब उनी पहिला जस्तो निरास देखिन्नथिन् । करीव एक महिना पछि एक दिन उनी हतारिँदै मेरो कोठामा पसिन् । मैले उत्साहहिन दृष्टि उनीतिर फ्याकें ।

    प्रमिलाको अनुहार आज तेजले धपक्कै बलेको छ । मैले यो घरमा आइकन उनलाई आज जति खुसी कहिल्यै देखेको थिइन । आज के भएछ यसलाई ? फेरी के उपद्रो मच्चाउने भई ? मेरो मनमा यस्तै सोच आउन थाल्यो । तै पनि औपचारिकताका लागि उनलाई भनें

    “अँ आज के गर्ने विचार छ र आउनु भयो त भाउजू ?”

    “माष्टर बाबु मेरो त दुई हप्ता अगाडिनै  हुनु पर्ने महिनावारी रोकियो । शंका लागेर आज डाक्टरकहाँ जचाउन गएकी………। म त आमा बन्नें पक्का भयो नि !”

    उनले एकै सासमा हाँस्दै भनिन् ।

    म एकै चोटी रुखबाट खसेको बाँदरजस्तै भएँ । मेरो ओठमुख सुक्यो, निधारमा चिट्चिट् पसिना आउन थाल्यो । लौ सत्यानास भयो ! एक क्षणको गल्तिले गर्दा अब म समाजमा मुख देखाउन नालायक भएँ । मेरो इज्जत मान प्रतिष्ठा धुलोमा मिल्नें भयो । हे ईश्वर ! म के गराैं ? यसले मेरो जिन्दगी बर्बाद पार्ने भई ।  मेरो अवस्थादेखि उ अझैं हास्न थाली ।

    “ए माष्टर बाबु ! किन आत्तिनु भएको ? लोग्नेमान्छे भएर पनि….. कि मुटु नै छैन ? खै छामी हेरौ त ?” उ मेरो छाति तर्फ हात बढाउन लागि । मेरो क्रोधको सिमा रहेन । म चिच्याएँ,

    “चुप” मेरो ब्यवहार देखेर उनी पछि हटिन् ।

    “मेरो जीवन अब सत्यनास हुने भयो तिम्रो कारणले गर्दा । खुरुक्क अहिले नै डाक्टरकोमा जाऔं एबोर्सन गर्न, दाई आउनु अगाडि नै यो काम गर्नु पर्दछ अन्यथा यसको परिणाम राम्रो हुने छैन ।” मैले आदेशात्मक स्वरमा भनें ।

    मेरो व्यबहार देखेर उनले गम्भिर हुँदै भनिन्,

    “माष्टर बाबु, किन आत्तिनु भएको यस्तरी । मैंले तपाईंसँग बिहे गर्नका लागि यसो गरेको हो र ? तपाईं ढुक्क हुनुस तपाईंलाई यसबाट कुनै अप्ठ्यारो हुने छैन । धेरै समयपछि बल्ल ममा छाउन लागेको खुसीलाई किन म बाट छिन्न खोज्नु हुन्छ ? यो सन्तान तपार्ईं को र मेरो हो भन्नें कुरा तपाईं र म बाहेक अरु कसैलाई पनि कहिल्यै थाहा हुने छैन । समाजले देख्दा यो सन्तान शिवजीत क्षेत्री र प्रमिलाको हुने छ । चिन्ता नगर्नुस तपाईंको शिवजीत दाई भोलि आउनु हुँदैछ ।” यति भनेर उनी सरासर हिँडिन् ।

    म अवाक भएँ । नारी जातिको मातृत्वको भोक कति कडा हुँदोरहेछ; मैले त्यस दिन मात्र थाहा पाएँ ।

    बेलुका शिवजीत दाईले फोन गरेर भने,

    “भाई, म भोलि आउँदैछु । लिन आउने हैन ?”

    “कति बजे आइपुगिन्छ दाई ? म किन आउँदिनथें ?”

    “बेलुका चार बजे प्लेन आइपुग्छ होला ।”

    “हुन्छ दाई, म आइहाल्छु नि ।” उनले फोन राखिदिए । मेरो मुटुको धड्कन तेज हुन थाल्यो । हे भगवान ! अब शिवजीतसँग मैले कसरी मुख देखाउने ?

    भोलिपल्ट शिवजीत आइपुगे । आज प्रमिला निक्कै खुसी देखिएकी थिइन् । पत्निलाई यति धेरै खुसी देखेर शिवजीत पनि खुसी देखिएका थिए । मेरो भने ओठमुख सुकिरहेको थियो । मेरो हालत देखेर शिवजीत ले भने,

    “भाई तपाईंलाई चाहिँ सञ्चो छैन कि कसो ? ”

    “ठिकै छ दाई ।” मैले छोटो जवाफ दिएँ । ठिक छैन भनौं भने पनि के भएको छ भनौं र ?

    यस पटक शिवजीत दुई महिनाको छुट्टि लिएर आएका रहेछन् । प्रमिला पनि यस पटक उनीसँग खुसी देखिन्थिन । मलाई भने असाध्यै डर लागिरहेको थियो । उनी आएको डेढ महिना पछि एकदिन शिवजीतले मलाई बेलुका खाना खान निम्तो गरे । म डराउँदै गएँ । आज पनि भब्य पार्टीको आयोजना उही बैठक कोठामा । त्यही कोठा जहाँ एक रात प्रमिला र मैले मेरो विचारमा गलत काम गरेका थियौ । मन झसक्क भयो । तर आज त्यहाँ प्रमिला र म मात्रै हैन उनका श्रीमान् शिवजीत पनि छन् ।

    “हैन दाई, आज के को खुसीयालीमा यस्तो पार्टी ?” मैले ओठमा कृतिम हाँसो ल्याउँदै सोधें ।

    “भाई आज जीवनमा म सबै भन्दा खुसी भएको दिन, जीवनमा कुर्दाकुर्दा बल्ल भगवानले हेरेछन् । म पनि बुढेसकालमा बाबु बन्नें भएको छु है ।” शिवजीतले हाँस्दै भने ।

    मेरो मनको बोझ पनि अलि हल्का भयो । टेबलको उतापट्टी बसेकी प्रमिला मलाई कर्के आँखाले हेर्दै थिइन् ।

    यसपछि खानपिनको कार्यक्रम सुरु भयो । कुराकानी कै क्रममा शिवजीतले मलाई पनि विवाह गर्न आग्रह गरे । प्रमिलाले आफ्नै काकाकी छोरीसँग विवाह गर्न आग्रह गरिन् । मैले ठिकै छ एकपटक हेरौं भनेर त्यो कुरालाई त्यस दिन त्यत्तिकै थन्काएँ । आज यतिञ्जेलको मेरो मनको बोझ हल्का भएकोले मैले पनि शिवजीतसँग जमेर पिएँ । सन्तुष्ट भएर आफ्नो कोठा तर्फ लागें ।

    समय वित्दै जान लाग्यो । समयचक्रसँगै मैले पनि उनीहरुकै छनोटकी केटी निशासँग विवाह गरें । शिवजीतको छोरा जन्मियो । शिवजीत र प्रमिलाको खुसीको सिमा रहेन । मैले पनि छोराको अनुहार हेरें । काटिकुटी मेरै जस्तो थियो । दुनियाँका नजरमा शिवजीतको छोरा कहलिए पनि यथार्थताको ज्ञान भएको मेरो नजरमा उ मेरो वंश थियो । त्यसैले मलाई उस्को अनुहार हेर्दा अपुर्व आत्मतृप्ति भयो; जस्को सुख अवर्णनीय थियो । यस्तो अनुभव जीवनमा मलाई पहिलो पटक भयो ।

    शिवजीत जागिरबाट रिटायर्ड भए । उनकै सहयोग र सद्भावले मैले पनि काठमाडौमा एउटा घर जोडें । निशा र म आफ्नै घरमा सर्यौं । हाम्रा दुई परिवारमा कहिल्यै खट्पट परेन, बरु सम्बन्ध अझै प्रगाढ बन्दै गयो । शिवजीतको छोरा हुर्कदै गयो तर मेरा सन्तान भएनन् । जँचाएको निशामा कम्जोरी देखियो । उनले मलाई अर्को विहे गर्न कर गरिन तर म उनलाई असाध्यै माया गर्थें त्यसैले मैले मानिन । उनले धर्मपुत्र पाल्न कर गरिन् तर मैले शिवजीत दाईको छोरालाई नै आफ्नो छोरा मान्न आग्रह गरें ।

    समय आफ्नै गतिले अगाडि बढिरह्यो । हामीमा बुढ्याइँका लक्षणहरु प्रस्ट देखिन लागे । शिवजीत त बुढा नै भइसके । हाम्रो यौवन सायद अव छोरामा सरीसकेको थियो । उ पढ्नमा पनि निक्कै मेघावी निस्कियो। पढाई सकेपछि राम्रो नोकरीमा लाग्यो । सायद अब उसको विहे गर्ने उमेर पनि भयो ।

     

    विशवर्षपछि …

    शिवजीतले आज बिहानै फोन गरेछन् । निशा दौडदै आएर भनिन्,

    “ए हजूर उठ्नुस न भिनाजुले फोन गर्नु भएको छ ।”

    म हतार हतार फोन उठाउँछु । “ किन के भयो दाई ?”

    “माष्टर भाइ, आज मेरो छोराको लागि केटी हेर्न जाने । ल झट्ट तपाईं र निशा तयार भएर आइहाल्नु पर्यो । हामी त तयार हुनै लाग्यौं ।”

    “ल यत्रो कुरा रहेछ । हामीलाई किन पहिलेनै खबर नगर्नु भएको ? कहाँकी केटी हो ? कस्ती केटी हो ? बिहे जस्तो कुरो हतारमा निर्णय गर्नु हुँदैन है दाई ।”

    “ल ल बढी कुरा नगर, यहीँ आएपछि सब थाहा भइहाल्छ नि । छिटो आउने काम गर ।”

    शिवजीतले फोन राखि दिए ।

    समय पनि कति चाँडो वित्नें । छोराको बिहे गर्ने बेला पनि भइसके छ ।

    हामी पनि झट्पट तयार भएर शिवजीतको घर तर्फ लाग्यौं । उनीहरु हामीलाई नै कुरेर बसिरहेका थिए । हामी पुग्नासाथ सुदिपले भन्यो, “अंकल हजुरहरुले कति ढिला गर्नुभएको ? हामी तयार भएर बसेको कतिबेर भइसक्यो ?” “यस्तै हो नि बाबु तयार हुँदा केही ढिला भयो । हैन तिमीलाई निक्कै हतार लागेको छ कि क्या हो ?” निशाले जिस्क्याइन् ।

    उस्ले लाजले टाउको निहुर्यायो । “अंकल” यो शब्दले मलाई भने मनमा नराम्रोसँग घोच्यो ।  यो संसार पनि कति विचित्रको छ ? मानिस कत्ति भ्रममा बाँच्न विवस छन् । सत्यलाई झुट र झुटलाई सत्य मान्नु पर्ने बाध्यता छ यहाँ । मेरो आफ्नै छोरो आफ्नो बाबु नचिनेर अंकल भनिरहेछ । म आफ्नै छोरालाई छोरो भन्न सक्दिन । शिवजीत जो बाबु बनाइएका छन्, अर्काको छोरालाई आफ्नो भनेर सर्वस्व लुटाइ भ्रममा बाँचिरहेका छन् । प्रमिला एउटाको छोरालाई अर्कैको छोरा बताएर सबैलार्इ ढाँटिरहेकी छन् । आफ्नै छोरालाई उस्को बाबु चिनाउन सक्नें सामेर्थ्य उनमा छैन । कति भ्रमपूर्ण छ यो संसार ? भ्रमलाई नै सत्य मानेर बाँच्नु पर्ने बाध्यता छ यहाँ ।

    म आफ्नै सोचाइमा डुबिरहेको थिएँ । शिवजीतले हकारे,

    “हैन, तपाईँ त कहाँ हराउन लाग्नु भयो, हतार भइसक्यो । ल अब जाउँ ।”

    “कतै हराएको छैन दाई । समय पनि कति चाँडै वित्दोरहेछ भनेर विगतका बारेमा कही सोच्न मन लागेकोले म त विगतमानै पुगेछु , त्यसैले… । ल दाई अब जाऔं ।”

    हामी केटीको घर तर्फ लाग्यौं । ठूलो कम्पाउन्ड भएको भव्य घर, देख्दा यिनीहरु निक्कै सम्पन्न परिवार हुन् भन्ने कुरामा कुनै शंका थिएन । हामी पाँचैजना बैठक कोठामा गएर बस्यौं । कन्याले चिया ल्याएर दिइन् । मैले उनको अनुहार हेरेंं । उनी निक्कै राम्री र सुशिल देखिन्थिन । कुराकानी चल्न लाग्यो । सबैले केटी मन पराए । तै पनि मलाई छोराको मनमा केही छ कि सोध्नु पर्यो जस्तो लागेर  शिवजीतसँग भनें, “दाई बिहे जस्तो कुरा तपाईं अनुमति दिनु हुन्छ भने म एकछिन बाहिर गएर सुदिपको विचार के छ बुझ्छु है ?”

    “के भनेको बाबु, सुदिप तपाइँको पनि त छोरा हो नि । उस्को विचार बुझ्न पनि तपाइँले हामीसँग अनुमति लिइरहनु पर्छ र ?” यतिञ्जेल मौन जस्तै बसेकी प्रमिलाले भनीन् ।

    अहा ! कहिलेकाहिँ अनायसै मुखबाट सत्य कुरा निस्कन्छ । हो, अहिले प्रमिलाले भनेको कुरा सत्य हो तर उनका र मेरा निम्ति मात्रै । किनकी यो सत्यको जानकारी उनलाई र मलार्इ मात्र छ । मेरो मन प्रफुल्लित भयो र सुदिपलाई लिएर छतमा गएर सोधें,

    “बाबु तेरो विचार के छ ? बिहे त तेरो गर्ने हो । हतारमा बिहे गरेर फूर्सदमा पछुताउनु भन्दा अहिले नै सोचविचार गरेर निर्णय गर्नु राम्रो हुन्छ ।”

    “ यो त मेरै छनोट हो अंकल । मेरो छनोटलाई नै ड्याडी ममीले स्वीकार गर्नु भएको हो । यो कुरा पनि अस्ति मात्र मैले बताएकोले आजै हामी हेर्न आउने निधो गरेको ।” सुदिपले केही लजाएर भन्यो ।

    पख्, कहिँको फटाहा भन्दै मैले उस्को गालामा हल्का स्पर्श गरे । ओहो ! अहिले उस्को गाला स्पर्श गर्दा मलाई किन यत्ति आनन्द आएको ? सन्तानलाई स्पर्श गर्दा पनि कत्ति आनन्द आउने । मेरो छोरो कति चाँडै बुहारी खोज्नें भइसकेछ । मलाई असिम आनन्द आयो । हामी हाँस्दै तल ओर्लियौं ।

    “छोरो के भन्छ त बाबु ?” प्रमिलाले हाँस्दै भनीन् ।

    आहा ! फेरि सत्य कुरा उनको मुखबाट निस्कियो । छोरो अर्थात प्रमिलाको र मेरो छोरो । अब केही दिनमानै उस्को विवाह हुनेछ । म आफैंभित्र हराउन लागें । “हैन बाबु तपाइँ त फेरि हराउनलाग्नु भयो नि ?” प्रमिलाको आवाजले म झस्किएँ र भनें, “के भन्थ्यो र, उस्लाई मनपरेको रहेछ । अब कुरा पक्का गरे भइहाल्यो नि !”

    बिहेको कुरा पक्का भयो । बिहेको तयारी धुमधामका साथ हुन लाग्यो । आफ्नो एक्लो छोराको बिहे भव्यसँग गर्नमा शिवजीतले कुनै कसर बाँकि राखेनन् । उनलाई बिहेको चाँजो पाँजो मिलाउन निशा र मैले पनि भरपुर सहयोग गरिनै रहेका थियौं । लगभग एक महिनाको अवधि पछि बिहेको तयारी पूरा भयो ।

    बिहेको दिन आयो । सिंगारिएको दुलहा शिवजीतको घरबाट निश्कियो । आहा ! कत्ति सुहाएको ? उस्लाई देख्दै मेरो हृदय हर्षले गद्गद् भयो । आफ्नो छोराको बिहेमा कुनचाहिँ बाबु बिखुसी हुन सक्छ र ? बरियात घरबाट निस्कियो । म र शिवजीत सँगै छौं । उनी हर्षले गद्गद् छन् आफ्नो एक मात्र सन्तानको विवाहमा । म पनि उनी भन्दा कहाँ कम खुसी छु र !

    विवाह दुलहीको घरमा पुग्यो । विवाहका विधानहरु सम्पन्न हुन लागे । म चुपचाप हेरिरहेको छु । मनमा एक किसिमका अवर्णनीय आनन्द आइरहेछ । जन्ति आउने ठिटाहरु रमाइलो गरिरहेका छन् । हेर्दा हेर्दै विवाहका विधानहरु सम्पन्न भए । अब सम्धि सम्धिनीसँग ढोगाभेट फुकाउने तयारी गर्न लागियो । मेरा मनमा रहेका खुशिहरु फेरि बिलाउन लागे । म फेरि झस्किएँ ।

    शिवजीत सम्धि सम्धिनीसँग ढोगाभेट फुकाउन लागे । अर्को भ्रमको सुरुवात । वास्तबमा यो ढोगाभेटको असली हकदार त म हैन ? मेरो छोराको बिहेमा शिवजीत पो ढोगाभेट गर्दै छन्, किन ? तर के गर्नु, जे भए पनि मैले यो भ्रमलाई लुकाएर राख्नै पर्छ । ढोगाभेट पछि शिवजीतले मेरो परिचय आफ्ना सम्धि सम्धिनीसँग गराए । मैले पनि औपचारिताकालागि उत्साहहीन हाँसो ओठमा ल्याएर आफ्नो परिचय दिएँ ।

    छोराको विवाह समाप्त भयो । बिहे घरमा भित्र्याएपछि निशालार्इ अलि सञ्चो भएन भनी घर तर्फ लागिन् । पाहुनाहरु पनि विस्तारै विदा हुँदै गए । अब त्यस घरमा शिवजीतको परिवार र म मात्र रह्यौं ।  बातावरण शान्त भए पछि शिवजीत र म आनन्दले पिउन लाग्यौं । आज उनी निक्कै प्रफुल्लित छन् । म पनि खुशीनै छु । रात निक्कै छिप्पिन लागेकोले म शिवजीतसँग विदा भएर घरतर्फ लाग्न लागें । शिवजीतले उही फौजी पारामा मेरो हात करक्क समात्दै भने, “माष्टर बाबु, छोराको बिहे धुमधामसँग गर्ने मेरो विचार थियो । सोचे जस्तै धुमधामसँग भयो हैन त ?”

    मैले आफ्नो घरतर्फ लाग्दै भनें,  “हो दाई, छोराको बिहे सोचे जस्तै गजबको भयो ।” घर आउँदा बाटामा सोचें , वास्तवमा छोराको बिहे निक्कै भव्य भयो । छोराको बिहेबाट म सन्तुष्ट छु ।

    घर पुगें, निशा ओछ्यानमा वर्कीफर्कि गरिरहेकी थिइन् । मैले मायालु भावले उनको फुल्न लागेका केशराशिलाई सुम्सुम्याउँदै सोधेँ,  “नानु निद्रा लागेन ?” मेरो प्रश्नको बारेमा ध्याननैं नदिई उनले आफ्नो पिडा पोखिन “हाम्रो पनि त सन्तान भइदिएको भए अहिले यसैगरी बिहे गर्ने बेला हुन्थ्यो नि हगी ?” उनका आँखा रसाउन लागे । मैले सम्झाउँदै भनें, “ हेर दैबले नै नदिएपछि कस्को के लाग्छ ? फेरी शिवजीत र प्रमिलाको सन्तान सुदिप पनि त हाम्रै सन्तान जस्तै छ नि ।”

    “हाम्रै जस्तै भए पनि हाम्रै त होइन नि ।”

    उनी सुक्क सुक्क गर्दै  थिईन । म निशालाई कसरी जवाफ दिउँ ? सुदिप हाम्रो सन्तान नभए पनि मेरो चाहिँ सन्तान हो भनेर । निशा, तिम्रा सन्तान नभएकोमा तिमीलाई पिडा छ । तिमी त सन्तान नजन्मिएर सन्तानहीन छौ तर म आफ्नै अगाडि आफ्नो सन्तान भएर पनि सन्तानहीन छु ।

    इति

     

    १०४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad