BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    अमेरिकाको टेक्सासमा ‘ब्लु बनेट फूल’ फुल्दा !

    दशरथ उप्रेती,कलेजस्टेसन टेक्सास चैत्र १०, २०७४

    Dasrath-uprety

    फूलको विशेषता वा स्वभाव नै फुल्ने हो । बास्ना र सुन्दरता छर्ने हो । जंगल.बाटो, फूलबारी र काँडाबीच फुलिदिन्छ । महल र झुपडी दुवैमा हाँसिदिन्छ । कोहि आओस वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ । मुस्कुराई रहन्छ । अरुलाई आनन्दित बनाईरहन्छ । फुल्नु भनेको कुनै पनि जीवनको उत्कर्ष हो । बिउबाट विरुवा हुदै फूलेपछि त्यो जीवन परिष्कृत भयो । सुगन्ध छर्यो र सबैलाई आकर्षित गर्यो । त्यसैले होला नारायण गोपालले गाएको कालजयी गीतमा ‘म त लाली गुराँस भएछु वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु…’भनेर गीतकार कविले भनेका छन् ।
    कतिपय फूलका छुट्टै विशिष्टता र पहिचान हुन्छन । नेपालको लाली गुराँस, जापानको साकुरा वा चेरी, बेलायतको गुलाब, फ्रान्सको कमल जस्तै प्रिय र प्रसिद्ध छ टेक्सासमा बसन्तमा फुल्ने जंगली ब्लु बनेट (Blue bonnet) फूल । आजभोलि अमेरिकाको टेक्सासका रनबन र मानिसहरुका मनहरुमा ढकमक्कै फुलेको छ टेक्सास राज्यको राष्ट्रीय फूल (state flower)ब्लु बनेट ! यस्को बैज्ञानिक नाम  Lupinus texensis  हो । अधिकांश फूलहरु निलो रंगका भएपनि अन्य रंगहरुमा पनि र मुख्यतया अरु पाँच प्रकारमा यस प्रजातिका रंगिबिरंगी प्राकृतिक वनफूलहरु जस्तै  (Lupinus subcarnosus, L. havardii, L. concinnus, L. perennis, L. plattensis) ब्लु बनेटको सुन्दरताले बसन्तमा टेक्सासका हाईवे छेउ, चरन र वनजंगलहरु मनमोहक हुन्छन ।
    मार्चको दोस्रो हप्ता देखि फूल्न थालेर अप्रिलको दोस्रो हप्ता सम्ममा उत्कर्षमा पुग्ने वा फक्रिने यो फूलको मुस्कानले स्वर्गमय देखिन्छन वनजंगल, पार्क उद्यान, बाटोघाटो अनि कतिपय घरका ब्याकयार्ड र आँगनहरु समेत र मन पुलकित बनाएर रमाउछन मानिसहरु यो मौसममा । मानिसहरु टेक्सासको पहिचानसंग जोडिएको छ भनेर गर्व गर्छन यो वनफूल प्रति । ब्लु बनेट फूलको नामबाट विभिन्न स्थानको नामांकन, बिभिन्न ठाउँमा लाग्ने यससंग संबन्धित मेला,पर्ब र कविता, गीतसंगीत साथै व्यापारिक ट्रेडमार्कहरु समेत देख्न र अनुभव गर्न सकिन्छ यहाँ ।
    टेक्सासका राजमार्ग र सडकहरुको सुन्दरता कायम राख्न यो फूललाई राज्य र जनस्तरबाट संरक्षण र संबर्द्धन गरिएको कुरा प्रत्येक वर्ष संबन्धित निकायले विभिन्न जंगली प्रजातिका फूल, बोटबिरुवाहरु रोप्न र हुर्काउन गरेको प्रयासबाट बुझ्न सकिन्छ । साथै विभिन्न विश्वविद्यालयहरुका वनस्पतिशास्त्री र फूलप्रेमीहरुको अध्ययन अनुसन्धान र अवलोकनमा समेत ब्लु बनेट प्रयोग गरिन्छ । टेक्सासको आन्तरिक पर्यटन प्रबर्द्धनमा त यस्को योगदान कम छैन ।
    मार्चको पहिलो सप्ताह पछि बसन्तको बिदा र विशेष गरेर शनिबार र आइतबार छुट्टिका दिन हिडडुल गर्ने मानिसहरु सवारी रोकेर हाईवेका छेउछाउमा फूलेका ब्लु बनेट फूल हेर्न र तस्बिर खिच्न व्यस्त देखिन्छन । धेरै ब्लु बनेट फूल्ने क्षेत्रहरुमा सपरिवार, साथीभाई र प्रेमी प्रेमिकाहरु क्याम्पिन्ङ्ग र पिकनिक गर्न निकै लामो दूरिबाट वा अन्य राज्यहरुबाट पनि भ्रमण गरेर नाचगान र खानेपिउने गरी रमाउँछन् र काममा विदा नमिल्नेहरु समेत आफ्नै कार्यस्थल वा कार्यालयको नजिकैका पार्क र वरिपरि फूलेका ब्लु बनेट फूलहरुसंग बसेर लन्च खाने र तस्बिर खिच्ने गरि प्राकृतिक सौन्दर्यको आनन्द लिन्छन् ।

     

    dashrath-uprety

    सपरिवार,आफ्ना बालबालिका र पाल्तु जनावारहरुको समेत ब्लु बनेट फूलमा तस्बिर खिचेर कलात्मक फ्रेममा सजाएर घरमा राख्न र सामाजिक संजालमा सेयर गर्न अमेरिकनहरु पनि निकै शौखिन छन । यो पंक्तिकार स्वयं पनि प्रत्येक वर्ष परिवार र साथीभाईसंग एकदिन यो फूल र प्रकृतिसँग रमाउने गरेको छ । बाहिरी आँखाले र मनले हाम्रै हिमाली भेगको लाली गुंरास,पहाडी खण्डको टांकी फूल, तराई फाटको तोरी फूल र हाम्रा वनपाखामा फुल्ने प्याउली र सुनाखरी खोजेपनि चेतनाको अाँखाले यिनै ब्लु बनेटमा ति फूलहरु फूलिरहेको हेर्ने र रमाउने प्रयास गर्दैगर्दा मनले फेरि भन्छ ‘फूलको आँखामा फूलै संसार !’ र खुशी थपिन्छ हृदयमा ।
    फूलको चर्चा गर्दैगर्दा अमेरिकीहरु फूल, बोटविरुवा र हरियालीका पारखी हुन्छन भन्न कन्जुस्याँई गर्नु हुदैन । प्रायस ः सहरहरुका प्रत्येक घरले एक वा दुई छायाँ वा शितल दिने बोटविरुवा रोपेर हुर्काउनु पर्ने नीति नियम, अधिकांश घरहरुमा फूलबारि र बरबगैचा अनि प्रत्येक टोल र छिमेकको नजिकै पार्क उद्यानहरु, सड़क छेउमा बोटविरुवा र तिनिहरुको संरक्षण संबर्द्धनमा जनता र स्थानीय सरकारले गरेको काम र हरियाली कायम राख्न, वातावरण सुन्दर बनाउन गरेको प्रयास उल्लेखनीय छ ।
    र अन्त्यमा ब्लु बनेटले छर्ने सौन्दर्यता र आनन्द कालो गोरो, एसीयन अमेरिकन, धनी, गरीब, ठूलो, सानो, ख्याती प्राप्त, सामान्य व्यक्ति सबैलाई एकैनासको छ । विभेदकारि छैन र फूलले विभेद गर्दैन पनि । त्यस्तै सबैमा यो फूल हेर्ने,उस्को समिपमा जान चाहने ईच्छापनि उस्तै छ सत्यम् शिवम् सुन्दरम् जस्तै । यो अस्तित्वको सृजना र प्रकृतिको नियम विचित्रको छ । हरेक प्राकृतिक चिजहरुको स्वभाव अद्वितीय र सुन्दर छ । यो ब्रम्हाण्ड, यो चराचर जगतलाई अनुभुत गर्ने हो भने, अन्तरमुखी भएर चेतनाको भित्री नयनले हेर्ने भने परमात्मा यहि छ, स्वर्ग यहि छ । सत्य यहि छ । प्रेम करुणा यहि छ । चिरस्थायी आनंद यसैमा छ । खाँचों छ त केवल यो अस्तित्व र जीवनको बिज्ञान र रहस्य बुझ्ने दिव्य चक्छु, चेतना र ज्ञानको अनि यो जीवन सुन्दर र प्रेमिल बनाउने कलाको !

    ७१९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad