BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    पीडा सहँदै अधिकारी

    अनिल वाग्ले, झापा चैत्र ११, २०७४

    photo-adhikari

    कम्युनिष्ट आन्दोलनका योद्धा ठूलो दुर्गा अधिकारी नेपाली राजनीतिको चर्चित आन्दोलन ‘झापा आन्दोलन’ मा सकृय मध्येको एक नाम हो । झापा मेचीनगर १२ चारआलीका ७१ बर्षिय अधिकारीले झापा आन्दोलनका बखत जनमुक्ति आन्दोलन सफल बनाउने नाममा राज्यपक्षबाट कैयन चोटी यातनाको सामना गर्नुप¥यो ।
    त्यहि यातनाका कारण उनी यतिवेला नियमित उपचार गराउन बाध्य छन् । उनको मेरुदण्डमा गम्भिर समस्या उत्पन्न भएको छ । नियमित डाक्टरको निगरानीमा बस्नुपर्ने र महंगो औषधी लिनुपर्ने हुँदा उनको परिवारमा ठूलो आर्थिक समस्या देखापरेको छ । उपचारका क्रममा ५ लाख बढी सक्किसकेको उनले बताएका छन् । मासिक रुपमा ४२ सय जतिको औषधी लाग्ने गरेको उनले आर्थिक अवस्था कमजोर हुनु दुभाग्य भएको बताएका छन् ।

    झापा आन्दोलनमा लागेर पञ्चायतको विरोध गर्दै जनमुक्ति आन्दोलन सफल बनाउन उनले पार्टी र सिद्धान्त प्रति निष्ठावान कार्यकर्ताको रुपमा निभाएको कर्तव्यलाई सम्झँदै¬¬ धेरै पुराना नेताले उनलाई कर्तव्यनिष्ट नेताका रुपमा लिन्छन् । तर स्वयम् अधिकारीलाई भने त्यो वेला पार्टी प्रति र देशप्रति आफूले निभाएको भूमिकाको कदर नहुँदा पीडा छ । वि.स. २०२७–२८ ताका झापा आन्दोलनको क्रममा पटक–पटक प्रहरीको चरम दमन र यातनाको शिकार भएका उनी यतिवेला त्यो बेला भोगेको यातनाको पीडा सहन बाध्य मात्र छैनन् बाँकी जीवन कसरी व्यतित गर्ने भन्ने सोचले पिरोलेको छ । शारीरिक पीडा र कमजोर आर्थिक अवस्थाले उनको पीडामा थप पीडा थपिएको छ ।
    देशमा कम्युनिष्ट सरकार छ, सायदै उनी र उनी जस्ता पिडीतले न्यायको अनुभूति पाउन सक्ने झिनो आशा भने उनले अझै मारेका छैनन् । राज्यले जनमुक्ति आन्दोलन सफल पार्न र अरु थुपै्र आन्दोलन सफल बनाउन लागेका जुनसुकै पार्टीका निष्ठावान नेता कार्यकर्ताले राज्य भएको महसुस गर्न सक्ने दरिलो विश्वास उनमा छ । तर पनि देशमा कम्युनिष्ट पार्टीले पटक–पटक सरकार चलाउँदा उनी र उनी जस्ता राजनीतिले पिडीत बनेकाले जनमुक्ति आन्दोलनको न अनुभूत गर्न पाए न त योगदानको स्याबासी नै पाए । पाए त केवल पीडा, बेदना र कठोर यातना ।
    नेपालमा कैयन राजनीतिक उतावचडावहरु आए, विभिन्न आन्दोलनमा पिडीत बनेका र अंगभङ्ग भएका कैयन योद्धाहरु उचित राहत र सम्मानबाट छुटेका छन् । अर्को तर्फ राजनीतिक आन्दोलनमा ज्यान गुमाएकाहरुका परिवारको अवस्थामा सुधार ल्याउन राजनीतिक दल र राज्य पक्षबाट साथ सहयोग प्राप्त नगर्ने परिवार पीडामा पिल्सिरहेका छन् । तर राजनीतिमा लागेर मोटाएकाहरु मस्तछन्, व्यस्तछन् त्यो मस्ती र व्यस्तताले पिडीतको बेदना, पीडा सम्झने फुर्सद सम्म पाएका छैनन् ।
    इलामको शान्तिपुर नैतमा वि.स. २००३ साल फाल्गुण १२ गते बुवा स्व. जनकलाल र आमा स्व. विष्णुमायाको जेठा सन्तानका रुपमा जन्मिएका ठूलो दुर्गा अधिकारी झापा आन्दोलनका क्रममा पार्टीको सिद्धान्तलाई विजयी गराई जनमुक्ति आन्दोलन सफल बनाउन निष्ठापूर्वक लागे । त्यस वेला उनले कैयन यातना सहे तर पनि पार्टीको आन्दोलन सफल बनाई छाड्ने कसम खाएका उनले जनमुक्ति आन्दोलन सफल पार्न कुनै कसर बाँकी राखेनन् ।

    २३ बर्षको हुँदा राजनीतिमा प्रवेश भएको बताउने उनी बुधबारेका खडानन्द वाग्लेबाट राजनीतिमा लाग्न प्रेरणा मिलेको बताउँछन् । वाग्ले त्यसताका विरगञ्ज पढ्न गएका थिए । त्यहाँ उनीहरुले राजनीति सुरु गरिसकेका रहेछन् । विद्यार्थी आन्दोलन गरिरहेका उनी र उनका साथमा भक्तबहादुर धिमाल मेरा घरमा आए । त्यतिवेलाका झाँगो, झम्पल, पञ्चामृत, आलोक, माओको तीन लेक, नौलो जनवाद बारे ‘द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद’, माओत्सेतुङको रेड बुक ‘भोलुम’ ल्याएका थिए । ती पुस्तक तथा पत्रिकाहरु मलाई पढ्न वाग्लेले अनुरोध गरे र राजनीतिका बारेमा उनले धेरैकुरा सिकाएको उनको भनाई छ । ‘जव उनका कुरा सुने र ती किताबहरु पढेँ । अनि सुरुभयो मेरो राजनैतिक जीवन ।’ उनी भन्छन् ‘म राजनीतिमा आउन तिनै वाग्लेबाट प्रभावित भएको हुँ ।’

    उनी भन्छन् ‘मैले त्यो बेला निस्किएका माक्र्सवाद तथा कम्युनिष्ट विचारधाराका कैयन पुस्तक पढें । राजनीतिमा लागेका सहपाठीहरुको संगतले राजनीतिमा निखार थपियो । जुन जुन पुस्तक मैले पढेँ त्यही पुस्तक अरु साथीहरुले पनि पढेर नै राजनैतिक चेतनाको विकास गरेका हुन् । तिनै पुस्तक पढेपछि मैले नयाँ संसार देखेँ ।’

    अर्काको घरबाट सियो र धागोको टुक्रासम्म पनि नलेऊ, लिएको अ‍ैँचो पैँचो तुरुन्त फर्काउ, सजिलो काम अर्कालाई देऊ अपठ्यारो आफु गर, सदैव नम्र र विवेकी बन, सिद्धान्तमा पारदर्शी व्यवहार गर, कसैको बाली नबिगार, अर्काका छोरीचेलीलाई दिदीबहिनी आमा सरह व्यवहार गर, गोपनियता कहिल्यै नखोल भन्ने माक्र्सवादी सिद्धान्तबाट प्ररित बनेका उनले त्यसताका कम्युनिष्ट पार्टीमा यही कुराहरुबाट पार्टी अनुशासन चल्ने गरेको बताए । तर अहिले शक्तिका भरमा पार्टी र नेता चलिरहेका बताउने उनले पार्टी सिद्धान्तत् चल्नुपर्ने धारणा राखेका छन् ।

    १२ वर्ष जति जेल जीवन विताएका उनले भने ‘सहीद राम प्रधान र म सँगै–सँगै ११ चोटी प्रहरी हिरासतमा परेका हौँ । एक पटक प्रहरी हिरासतमा १२ देखि १८ दिन सम्म बस्नुपथ्यो । ८४ किसिमका यातनाका साधन प्रयोग गरेर यातना दिने काम हुन्थ्यो । त्यो बेला हातका औँलामा सियो घोप्थे, खोसार्नी हालेर पानीले भरिएको भाँडामा चोबल्थे, कतिवेला वेहोस हुइन्थ्यो पत्तो समेत पाइँदैन थियो । नाङ्गो शरीरमा भाटाले दमाहा ठोके जस्तो ठोक्थे । तुरुङमा खुट्टा हालेर मुढाले थिच्थे । दिशापिसाव त्यहिँ हुन्थ्यो । होस् खुलेपछि फेरी यातना दिन्थे । एक पटक मनकुमार गौतमको त कपालै उखालेर चिन्डो पारिदिएका थिए ।’
    त्यतिवेलाको गम्भिर यातनाका कारण उनी यतिवेला पीडामा छन् । ‘राजनीतिमा लागेर जनमुक्ति आन्दोलन सफल भयो । नेपाल अब आर्थिक विकासको चरणमा पुगेको छ । यो त्यही आन्दोलनको प्रतिफल हो । सामन्तवाद अन्त्य भयो । यो ठूलो उपलब्धी हो ।’ उनले आफूले राजनीतिमा लागेर पाएको उपलब्धी बताए लगत्तै राजनीतिमा लाग्दा आफूले गुमाएको कुरा पनि गरे । ‘आन्दोलनको बखत प्रहरी दमनमा परेर शरीर थाङ्थिलो छ, आर्थिक अवस्था कमजोर हुँदा पीडामा बाँच्नुपरिरहेको छ । काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत् छु, खर्च गर्दा गर्दा बाँकी उपचार गर्ने पैसासम्म छैन ।’ – उनले भने ।

    उनले विगतलाई सम्झदै भने ‘मैले त्यो बेला नै सेन्ट्रल जेलमा ८ बर्ष सँगै जेल बसेका वर्तमान प्रधानमन्त्री केपी ओली, राधाकृष्ण मैनाली, सीपी मैनाली, मोहनचन्द्र अधिकारी लगायतका नेतालाई थिँए, ‘अब हामी छुट्यौँ भने हाम्रो हालत के होला ?, जग्गा जमिन नभएका, विवाह भएर बिग्रेकाको पुनरउत्थानका लागि के गर्ने हो ?’ त्यो बेला केपी ओलीले राजनीति गर्नुपर्छ भनेका थिए । त्यो बेलाका साथी धेरै ठूला नेता भए । सयौँ कार्यकर्ता पिडीत छन् । मरेका सहीद र ज्यूँदा सहीदलाई पार्टीले के ग¥यो ? पार्टी र देशप्रति योगदान गर्नेको सम्मान खोई ? राजनीतिक रुपमा पिडीत भएकाको खोजी गरी उचित सम्मान दिनुपर्छ, बाँच्नसक्ने बनाउनु पर्छ, जुनसुकै पार्टी तथा आन्दोलनका पिडीतलाई राज्यले हेर्नुपर्छ ।’
    उनले आफू र आफू जस्तै राजनीतिक रुपमा पिडीत जुनसुकै पार्टीका नेता कार्यकर्तालाई सम्बन्धित पार्टी र राज्य पक्षले हेर्नु पर्ने धारणा राखेका छन् । राजनीतिमा लागेर पिडीत बनेकालाई वेवास्ता गर्दा राजनीतिको मर्म र भावना स्थापित भएको मान्न नसकिने उनको तर्क छ ।

    ३३४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad