
कवि
संसारभर खुसीको माहोल छाएको थियो
धेरैले पटका पड्काएर उन्मुक्त उत्सव मनाइरहँदा
म भने बेचैन भएर सन्तापले सुस्ताइरहेको थिएँ
म रोएको त्यो दिन
अर्थात् दुई हजार दस, वैशाख सत्र गते बुधबार ।
न्युजिल्याण्डको एउटा मान्छेले मेरो शिर कुल्चियो
आफ्नै देशको टाउको टेक्ने अर्को
मेरै देशको भरिया थियो
कालान्तरमा ऊ पनि विदेशी नै भयो ।
मैले जानेको सत्य एउटै छ –
हामीभन्दा माथि हिमाल छ
हिमालभन्दा माथि देश
हिमाल र देश भएकैले हामी छौँ ।
तर जुन दिन हिलरीले राख्यो पैताला सगरमाथामा
र तेञ्जिङले टेक्यो आफ्नै टोपीलाई
देशभन्दा माथि अरू नै भए !
देउता मानेको सगरमाथा सर्माएको त्यो दिन
संसारले मुकुट ठानेको
हिमाल हारेको त्यो दिन
महानता मुर्झाएको त्यो दिन ।
हो, त्यसै दिन म रोएँ
मेरो कद सानो भएकोमा म रोएँ
पराई पदचाप परेकोमा म रोएँ
मेरो टाउको टेक्नेलाई नै तिमीले महान बनाएकोमा म रोएँ ।
टाउको कुल्चनेलाई म कसरी महान भनुँ ?
अहिले पनि कुल्चिरहेछन्
र जुठाका पिरामिडहरु थुपारिरहेछन् ।
मेरो प्रश्न छ तिमीसित देश !
मन्दिरको मूर्तिमाथि पाइला टेकेर
मन्दिरमा चढाएको भेटीले
तिम्रा कुन ईश्वर खुसी होलान् र ?
तिमी जे सुकै भन
म मान्दै मान्दिनँ तिम्रो पुरानो संविधान
भन, संसारको कुन कानुनमा शुल्क बुझाएपछि
शरीरको शिर टेक्न पाइन्छ ?
कुन नियममा पैसा असुलेपछि
गजुर कुल्चन पाइन्छ ?
भन, कुन कानुनले
तिरो तिर्दैमा
छाति छेड्न पाइन्छ ?
म अहिले क्षोभ र घृणाले आक्रान्त भिजेको छु
तिम्रो देशको विधानसित ।
इति
साहित्यकार कृष्ण प्रसार्इंका अाधा दर्जन साहित्यिक कृतिहरू प्रकाशन भएका छन् भने उहाँ जारा फाउण्डेसनसँग सम्बन्धित हुनुहुन्छ । – सम्पादक