BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    अवचेतन मनबाट निस्किएको शब्दले नै जिवित छौं हामी

    लक्ष्मी गौतम चैत्र २३, २०७४

    laxmi-gautam

    उफ्, कस्तो भयावह अवस्था थियो त्यो ! आधा जिन्दगीका हरेक मिनेट आँखाबाट टाढा हुँदा पनि मन, मस्तिक र मुटुमा रहने आफ्नो सन्तानको नामको अगाडी स्वर्गीय लेख्न बाध्य हुनु परेको थियो । यो बाध्यता एउटी आमाका लागि अकल्पनिय, असहनिय र मर्माहत अवस्था थियो । म आमा ! मेरो पहिलो सन्तान ! जसलाई मैले ९ महिना कोखमा राखेर असह्य पिडाका बाबजुद जन्म दिएँ । जन्मनासाथ उसलाई पहिलोचोटी आफ्नो हातमा लिएर काखमा राख्दा सोचेकी थिएँ कि, यही मेरो सर्वश्व हो र यो नै मेरो भविष्यको साहारा हुनेछ । तर, मेरो दुर्भाग्य ! सारा सपना चकनाचुर हुन पुग्यो । उसको २८ बर्षको जोशिलो उमेरमा सडक दुर्घटनामा परेर उसको मृत्यु भयो ।

    म स्तब्ध भए । रोए । कराएँ अनि छटपटाएँ । पुरै पागल सरी चिच्याएँ तर नहुनु भई सकेको थियो । मेरो रोईकराईले केही भएन र अन्तमा म आफूलाई सम्हाल्न तिर लागें । समय बलवान थियो । उसको ईच्छा विपरित न म रोकिन सक्थे न संसार रोकिन्थ्यो । त्यसैले संसारभर घटेका र घटिरहेका विश्मयकारी घटनाहरुलाई हेर्दै, सुन्दै र भोग्दै जीवन र जगत भनेको यस्तै रहेछ भन्ने सोची चित्त बुझाउँदै थियौं । तर, उसको बरखी नसकिदै निर्दयी कालले पुन : हामी माथि आक्रमण गर्यो ।
    अमेरिकामा पढाई सकेर आफ्नो क्यारियर बनाउँदै गरेको २६ वर्षको अर्को तन्नेरी छोरो चुँडेर लग्यो । एकबर्ष भित्र आ–आफ्नै क्षेत्रमा दक्षता हासिल गरेका कर्तव्यपरायण २ जवान छोराहरुको गुमाएर उनिहरुको नामको अगाडी स्वर्गीय लेख्नु पर्दा म आफु दुनियाँकै सबैभन्दा अभागी आमा बन्न पुगें । कुनै दुःस्वप्न जस्तो ! हो यस्तै भयो । आफूले जन्माई हुकाई आफ्नो सारा सपना साकार हुने कल्पना गरेकी मैले मेरो पुत्रद्वय कुमार गौतम (२८) र बलराम गौतम (२६) लाई फरक फरक देशमा घटेका, फरक–फरक सडक दुर्घटनामा गुमाउदाको अशिम पिडा भोग्न बाध्य भएँ ।

    उनीरुलाई जन्म मैले दिएकी थिएँ । तर उनीहरुको लालन पालन गर्ने र उनीहरुलाई हुर्काउने काममा म मात्र थिईनँ । त्यसको लागि मेरा ससुरा बुबा र सासु आमा र मेरो श्रीमानको पनि उतिकै योगदान थियो । उहाँहरुले पनि मैले जस्तै मेरा पुत्रद्वयमा आ–आफ्नो सुखद भविष्य देख्नु भएको थियो । त्यसैले हामी मात्रै होईनौं, हाम्रा अरु दुई साना साना छोरा र छोरी समेतलाई यो असामयिक र अप्रत्याशित घटनाले आँसुको आहालमा डुबायो । कुमार बलरामको अकल्पनिय मृत्युको पीडाले हामीलाई निष्प्राण तुल्य मात्र बनाएन जिन्दगीमा नै पूर्णविराम लागे झैँ भयो ।

    phoot3
    यसरी क्रमश : शोक थपिंदा हाम्रा रात र दिन कसरी बिते मलाई केही थाहा भएन । कुमारको शोकले सम्हालिंदै गरेको अवस्थामा बलरामको निधन भए पश्चात त म लगायत मेरा परिवारका सबै सदस्यहरु करिब करिब पागल भएका थियौं । हरसम्भव सम्हालिन प्रयास नगरेका होईनौं, तर सम्हालिनँ धेरै गाह्रो भैरहेको थियो । बलरामको १३ औं दिनसम्म आँखामा आँसु नदेखाएर एकोहोरिईनु भएका मेरा श्रीमान त्यो दिन बिहानैदेखि आज दोलालघाट जाऔं, अहिले जाऔं, गईहालौं भन्दै जिद्धी गर्न थाल्नु भयो । उहाँको ईच्छा टालल्ने हाम्रो अवस्था थिएन र हामी जाने तयारीमा लाग्यौं तर दोलाघाट जानुको पछाडीको रहस्य वा कारण हामीलाई थाहा थिएन । ( धेरै पछि थाहा भयो, उहाँको दोलालघाट जान हतारिनु पछाडीको रहस्य पीडाले असह्यै भएकाले बाँच्न नसकिने ठानी भोटेकोसीमा गाडी सहित सपरिवार डुबाई आत्मघात गर्ने मनशाय रहेछ ।) तर हामीलाई बाँच्न लेखेको रहेछ, सायद मृत्युको संघारमा पुग्ने सोच राख्नु भएका उहाँलाई त्यतीबेला नेपाल टेलिभिजनमा प्रसारित गोरखामा घटेको एउटा घटनाले बिउँझायो । दृश्यमा बस दुर्घटनामा परेको र घाईतेहरुको उपचार गर्ने ठाँउ नजिक नभएको समाचार टेलीभिजनबाट प्रशारण भैरहेको थियो । यो देखेपछी मैले अनायासै उहाँलाई भन्न पुगेछु, ‘यस्तो दुर्गम ठाउँमा सानो भए पनि अस्पताल बनाउन सके यसरी दुर्घटनामा परेकाहरुको उपचारमा ठुलो योगदान पुग्ने थियो ! त्यो पुण्य कर्मले हाम्रा स्वर्गिय छोराहरु कुमार बलराम सायद सधैं जीवित हुने थिए होलान ।’ त्यसबेला अवचेतन मनबाट निस्किएको मेरा ति शब्दहरुले मेरा श्रीमानलाई सकारात्मक दिसातर्फ मोड्दा आज हामी यस संसारमा जीवित छौं ।
    मेरो त्यो कुरा सुनेर उहाँको बिचारमा एक्कासी परिवर्त आएछ र उहाँले भक्कानिदै मेरो नजिकै आएर भन्नु भयो, ‘लक्षु, अब तिमी रुदैनौ र रुनु हुँदैन ।’ म अवाक बनें । उहाँले फेरि भन्नुभयो, ‘तिमी रुन्न भनेर मलाई बाचा गर ! म पनि अब आईन्दा कहिले रुने छैन । हेर हिजो तिम्रो कोखबाट जन्मिएका हाम्रा प्रिय छोरा कुमार र बलराम भौतिक रुपमा यो जगतमा नभए पनि अब तिम्रै नामरुपी संस्थाबाट उनीहरुलाई अमर बनाउन चाहान्छु । प्लिज मलाई साथ देऊ ।’ भन्दै अश्रुधारा बर्साइरहेका उहाँले मेरो हात समाउदै आशु पुछनु भयो । त्यतिबेला मैले उहाँको आँखामा देखेको चमक र आत्मविश्वास प्रति आशावादी हुँदै उहाँको हातलाई आफ्नो दुवै हातले बलियोसँग समाउँदै भनें, ‘मेरो अन्तिम सास रहेसम्म म तँपाईंलाइ साथ दिने छु र हामी सबै मिलेर यस्तो काम गर्नु पर्दछ कि हाम्रा दुई छोराहरु तारा सरी चम्की रहुन् ।’ मेरो कुरा सुनेर उहाँ फेरी भक्कानिएर रुन थाल्नु भयो । मैले उहाँको आँखाबाट झरिरहेका बलिन्द्रधारा आँशुलाई पुच्छदै उहाँलाई स्नेहपूर्वक आफ्नो छातीमा टाँसे ।
    समय संगै हाम्रो आत्मविश्वास बलियो हुदै गयो । केहीदिन पछि आफन्त तथा शुभचिन्तकहरुसँग छलफल गरी एउटा टिम तयार गरेर संस्था गठनको काम अगाडी बढाईयो । सबैको मत अनुसार मलाई हिम्मत र सान्त्वना दिन संस्थाको नाम लक्ष्मी प्रतिष्ठान राख्ने निर्णय भयो र संस्थाले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण तथा सवारी सचेतनाका क्षेत्रमा काम गर्ने भनेर विधानमा उल्लेख गरियो र विधिवत कुमारको प्रथम बार्षिक कार्यक्रमका दिन २०६६ पुष २ गते लक्ष्मी प्रतिष्ठानको स्थापना गरियो । त्यतिबेला लक्ष्मी प्रतिष्ठानको रुपमा गठित यस संस्थाले अहिलेसम्म हजारौं कुमार र बलरामलाई जन्माई सकेको छ । भने त्यतिबेला हामीले देखेको सपना र संकल्प पुरा गरि रहेको छ ।

    आफ्नो ब्यापार ब्यवसायमा मस्त हाम्रो परिवार माथि परेको बज्रपातले विक्षिप्त भै हामी सामाजिक काम तिर मोडीयौ । यधपी केही समय हामी सम्हालिनै लाग्यो । समय संगै सम्हालियौं पनि तर ब्यापार व्यवसायको मात्र ज्ञान भएका हामी संस्थाको कार्यक्रमलाई कसरी अगाडी बढाउने भनेर अलमलमा पर्यौ । जसो तसो काभ्रे जिल्लाको अनेकोट गाविस ८ मा रहेको बालप्रतिभा निमाविको लागी एउटा भवन निर्माण गर्ने निर्णय गरेर प्रतिष्ठानको सामाजिक क्षेत्रमा पहिलो पाईला चालियो त्यसपछी अविछिन्न हाम्रा सामाजिक कार्यहरुले निरन्तरता पाउन थाले । दिन दुईगुना रात चौगुना भनेझै गाउँघरका गृहिणीहरुका लागि साक्षरताका कक्षाहरु देखि युवालाई आत्मानिर्भर गराउने सिप तालिम, सयौं बृद्ध बृद्धाहरुको मोतियाबिन्दुका कारण गुमेको दृष्टिलाई निःशुल्क शल्यक्रियाद्वारा दृष्टि फर्काउने काम लगायत सामुदायिक बिद्यालयहरुमा पुस्तकालय स्थापना, पिउने पानी व्यवस्थापन, शौचालय निर्माण लगायतदेखी अहिलेसम्म चितवनको चुलीमा (कान्दा) बस्ने अति सिमान्तकृत चेपांगहरुका बसोबासका लागि घर निर्माण, बाख्रा पालन, मौरीपालन, तरकारी खेती तथा फलफुल खेती, सौर्य उर्जाको व्यवस्था र उनीहरुका सयौं बालाबलिकाहरुका लागि सुविधा सम्पन्न कुमार बलराम स्मृति छात्राबास समेत निर्माण र संचालन गरिरहेका छौं ।

    ८ घण्टा पैदल हिडेर पुग्नु पर्ने छात्रवासमा दैनिक २०० जनाले संगै खान्छौं । उक्त परिसरमा उपयोगिता अनुसार १६ ब्लक निर्माण गरिएको छ जुन हेर्दा पनि पहरामा फुलेको फूलझै लाग्दछ । शुरुका दिनमा आफुसँग भएको केही रकम र पाँचखालमा रहेको आफ्नै जमिन बिक्रि गरी थालिएको मानविय सामाजिक कामहरुलाई अहिले संसारभरबाट सहयोगी मनहरुले सहकार्य गरिरहनु भएको छ । सबैप्रति हामी कृतज्ञता प्रकट गर्दछौ । हिजो हाम्रा २ छोराहरु कुमार र बलरामको विछोडको पिडामा स्थापित प्रतिष्ठानमा आज हजारौं कुमार बलरामले पुनर्जीवन पाएका छन् भन्ने लाग्दछ । तिनको ओठमा फूलेको मुस्कान देख्दा अहिले म छक्क परेकी छु । हिजो आँसुको भेलबाट किनारा लाग्दै शून्य श्रोत र सम्पत्तीमा स्थापित लक्ष्मी प्रतिष्ठान आज सर्वत्र चर्चामा छ

    p4

    । मन वचन कर्मले गरिने मानवीय कर्महरु अगाडी बढाउन कर्तव्यनिष्ठ पदाधिकारीहरु, कर्मचारीहरु, स्वयंसेवकहरु र सहयोगी मनहरुको एकतामा प्रतिष्ठानले लिएका हरेक कार्यक्रमहरु सफल भईरहेका छन् । यो संस्थाले गरेका जुनसुकै योजना पनि लक्षित वर्गमाझ पुगेर सकारात्मक परिणाम दिन सफल भएको छ । हाम्रा पवित्रकर्महरुलाई मिडियाकर्मीहरुले पनि संसार सामु पुर्याई परिचित गराउनुभएको छ । शिक्षा, स्वास्थ, सिप विकास, सवारी सचेतना तथा महिला सशक्तिरणमार्फत गरिएका मानवियसेवाले यतिबेला आफूलाई हजारौं छोराछोरीहरुको माझ आमा बनेर उभिन पाएकी छु । त्यतिमात्रै होईन हजुरहरु सम्पूर्णको साथ र सहयोगले आफन्त गुमाएर दुःखमा रहेकाहरुलाई जीवन र जगतको बारेमा सम्झाएर हौसला दिई बाँच्न सुझाव दिन सक्ने भएकी छु । मलाई यो अवस्थासम्म ल्याई पुर्याउने सबैको जय होस् ।
    लेखक : गौतम लक्ष्मी प्रतिष्ठानकी संरक्षक हुन् ।

    २९१९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad