BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    गुणातीत

    ज्यो. तारानाथ भण्डारी, दिल्ली भारतचैत्र २७, २०७४

    तारानाथ भण्डारी

     

    सकेमा गुणातीत बन्नू पुजारी
    गुणाधीनताले बनायो भिखारी ।
    सुधीतुल्य राजा भएनन् र हुन्नन्
    त्यसैले गुणातीत साना हुँदैनन् ।। १ ।।

    न ता लालसा छन् न ता कामना छन्
    न षट्कर्मका ती कुनै बासना छन् ।
    उसैमा जगत् यो समाविष्ट हुन्छ
    उसैभित्र आस्था समाधिस्थ हुन्छ ।। २ ।।

    जहाँ वेदनाको कुनै ठाम छैन
    त्यहाँ उष्णदाता कुनै घाम छैन ।
    दया भावनाले सदाचार बढ्छ
    सदाचारताले दुराचार घट्छ ।। ३ ।।

    छ संसार एक्लो बिना प्रेमको यो
    सबै दुःखको मूल अज्ञानता हो ।
    जहाँ सोच भैदिन्छ तेरो र मेरो
    त्यहाँ शोक बर्सन्छ कालो अँधेरो ।। ४ ।।

    छ सन्तप्त मान्छे अहंकारबाट
    छ विध्वस्त मान्छे कुलाचारबाट ।
    छ धेरै चनाखो सुरापान गर्न
    छ धेरै बिरानो सुधापान गर्न ।। ५ ।।

    इति
    छन्दः भुजङ्गप्रयात

    जन्म स्थानः  पाल्पा नेपाल, स्थार्इ निवासः मणिग्राम रुपन्देही  नेपाल हालः दिल्ली भारत ।

    ९४० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad